‘ओहो! पर्सि त जनै पूर्णिमाको छुट्टी। भोलि पनि शनिवार! कत्ति रमाइलो। तर गणित र विज्ञानको होमवर्क कति धेरै छ।’
शुक्रवार स्कुल छुट्टी हुने बेला साथीसँगको भलाकुसारी।
‘म त आज घर जाने बित्तिकै सबै होमवर्क सक्ने हो अनि भोलि र पर्सि त दिनभरि खेल्ने, रमाइलो गर्ने त हो।’
साथीको यति कुरा सुनेपछि मेरो आफ्नो दिमागमा पनि प्लान बन्न थाल्थ्यो- आज १ बजे छुट्टी हुन्छ अनि घर गएर खाजा खाने बित्तिकै सबै होमवर्क भ्याइदिन्छु। अनि त दुई दिन मोज।
सानो छँदा एउटा कुराको मात्र पिर थियो, होमवर्कको। घर गयो होमवर्क सक्काउन टेन्सन। त्यति सक्केपछि त फुकाफाल। जनै पूर्णिमाबाट सुरु हुने चाडबाड त्यसपछि तीज भन्यो, दसैँ तिहार भन्यो। आहा! अहिले सम्झिँदा पनि मन फुरुङ्ग भएर आउँछ।
तीज आएसँगै विद्यालय छुट्टी हुने। घरमा बेलुका फुपू दिदीहरू पनि आउने रे, बेलुकासम्म नाचगान गर्ने रे, दर खाने रे! कस्तो रमाइलो हुने भयो नि भन्दै दर खाने दिन स्कुलमा बेलुका हुने रमझम सम्झेर मन उत्साहित हुन्थ्यो। त्यसै गद्गद् हुन्थेँ। घर गएपछि उही होमवर्क सक्कायो अनि फुपू दिदीहरूको गफ सुन्यो, रमाइलो मान्यो, बेलुकाको खाना खायो र निद्राले झापझुप बनाउँदा पनि फुपू, ममीहरू राति १२ बजे उठेर दर खाने कुराले आफू निदाएँ भने रातिको दर खान नपाउने कुराको पिर पर्थ्यो।
त्यति बेलाको चलन र अहिलेको चलनमा साँच्चै नै परिवर्तन आएछ। हामीले सुनेअनुसार भोलि तीजको व्रत बस्ने र दिनभरि पानी पनि नखाई बस्ने भएकोले राति १२ बजे तिर फेरि केही खाने कुरा खाएर सुत्ने भएकोले त्यो भोजनलाई दर भनिन्थ्यो। तर अहिले दर खाने भन्यो, एक महिना अघिबाट फलानोकोमा दर खाने आज, अर्को दिन पल्लो घरमा।
यसो हेर्दा आफ्नो इच्छाले दर खुवाउने चलन चले जस्तो लाग्छ। तर पनि अहिलेको दरभन्दा हाम्रो बालापनको बेलाको दर नै मिठो।
समय कति गतिशील छ। उमेर फेरियो, चालचलन फेरियो, भेसभुसा फेरियो। साँच्चै नै, पहिला बालापनमा केही कुरा रहर गरेपछि पूरा हुन समय लाग्थ्यो तर पूरा भने अवश्य हुन्थ्यो। जेनतेन गरेर भए नि बाबा मम्मीले रहर पूरा गरिदिनु हुन्थ्यो।
मलाई अझै पनि याद छ ती बाल्यकाल, जब आफ्नो स्कुल बिदा भए पनि मम्मीको अफिस बिदा नहुने, मम्मी आज एक दिन त अफिसबाट छुट्टी लिएर बसिदिए नि हुन्थ्यो नि भन्ने लाग्थ्यो। आज आएर म आफैँले बुझ्दै छु बिदाको महत्त्व।
सबै साथीहरू कपाल राम्ररी बाटेर आउँथे। आफ्नो नि मम्मीले कपाल बाटिदिएर अफिस गइदिए नि हुन्थ्यो नि झैँ लाग्ने। बिचरा मम्मीलाई अफिस जान हतार हुने अनि हतार-हतार गरेर खाना पकाएर सबै घरको काम सक्काएर जानुहुन्थ्यो तर कपाल बाटिदिन भ्याउनु हुन्थेन। घरकै कामले जाने बिहानको समय। हामी मम्मीलाई कत्ति भन्ने गर्थ्यौँ, कहिले त बिदा लिएर घर बस्नु न भनेर ।तर अफिस र बिदाको बारेमा बल्ल बुझ्दै छु।
आज जे जति पनि छौँ पक्कै पनि बाबा-मम्मीको मेहनत र त्यागले छौँ। आफ्नो पहिचान बनाउन सफल भएका छौँ। आफ्नो भविष्यको बारेमा सोच्दासोच्दै मेहनत गर्दा गर्दै आज घरभन्दा टाढा आइपुगेकी छु।
सानोमा मम्मीलाई बिदा लिनु न भनेर कर गरेर किचकिच गर्ने म, आज आफैँ कम बिदाका कारण घर जानलाई पनि दिन हेरेर जाने अवस्था छ। एक दिन या दुई दिनको बिदा भएका चाडबाड त्यसै छुट्टिन्छन्। एक दिन जान र एक दिन आउन मात्र छुट्टाउने हो भने पनि बस्नका लागि बिदा कम पर्न जान्छ। यसो भनिराख्दा, चाडबाड बाहेक बिदा हुँदैन भन्न खोजेको भने होइन। अन्य बिदा पनि हुन्छ, तर आफ्नो घर परिवारसँग धित मरुन्जेल बस्न नपुग्ने भन्ने गुनासो, जुन बिदाअनुसार मिलाउन पर्ने।
पहिला बाल्यकालमा एक दिन बिदा भए नि कतै घुम्न जान पाए नि हुने नि भन्ने इच्छा राख्ने म, अहिले घर नै जान पाए नि हुने नि भन्ने रहर जागरूक हुन्छ। पहिलेका रहर पूरा पनि हुन्थे। पहिला समय थियो, अन्य कुराको चाँजोपाँजो मिल्थेन, अहिले अन्य कुराको चाँजोपाँजो मिल्छ, समय मिल्दैन। त्यसैले नै होला समय बलवान् छ भनेर भनिएको।
यसपालि पनि घुमिफिरी तीज आइसक्यो। तर खै घर जान नपाएपछि चाडबाड नै खल्लो लाग्ने। आफू बसेको टोल छिमेकमा राता र हरिया साडी लगाएर महिलाहरू नाचगान गरेको देखिन्छ। जम्मा भएर रमाइलो गरेको देखिन्छ। तर घरभन्दा टाढा भएपछि आफूलाई चाडबाड आउँदा हर्षभन्दा बिस्मात धेरै।
त्यो स्कुलबाट फर्केर बेलुका दर खाने, नाचगान गर्ने पल नै रमाइलो। अहिले आफू बसेको ठाउँमा घर सम्झिँदै ती चाडबाड र रमाइलो सम्झेर चित्त दुख्ने पल के पो रमाइलो होला र खै! त्यसैले चाडबाड र समय साँच्चै नै बाल्यकालकै रमाइलो।