मेरो सानैदेखिको सोच र उद्देश्य नेपालमै केही गर्नुपर्छ भन्ने थियो। हाम्रो देशमा हामीले नगरे देश पछाडि पर्छ। हामी जस्तो युवाहरू देशमा परिश्रम गर्नुपर्छ भन्ने सोच्ने गर्थेँ।
सपनाको देश अमेरिका रे! स्वर्गभन्दा राम्रो देश अमेरिका रे! धेरै साथीहरू अमेरिका जान डिभी भर्थेँ तर डिभी परेपछि अमेरिका जानै पर्छ भन्ने लागेर मैले कहिल्यै डिभी भरिनँ। किनकि मलाई अमेरिका जानु नै थिएन।
डिभी परेपछि पिआर भयो भने अमेरिकाकै बासिन्दा बन्न पाइन्छ रे भनेर साथीहरू मक्ख परेर कुरा गर्थे तर मैले यस्ता कुराहरू कहिल्यै ध्यान दिइनँ। कति त विद्यार्थी भिसामा पढ्न भनेर जाने अनि उतै कमाउने अनि त्यसपछि घरबार जमाउने सपना देख्थे भने कसैले चोरी बाटोबाट अमेरिका छिर्ने कुरा सुनाउँथे। कतिपयले भुटानी शरणार्थी बनेर अमेरिका जाने सपना देख्थेँ।
मलाई यी मान्छेहरू धनको यति धेरै पछि किन लागेका होलान् भन्ने लाग्थ्यो। किन भड्किलो बन्न मन लागेको होला भन्ने लाग्थ्यो र सोच्थेँ। अहिले पनि यहीँ सोच्छु, यहीँ देशमा कामहरू धेरै गर्न सकिन्छ। म सधैँ साधारण तरिकाले जीवन जिउन चाहेँ।
धेरै साथीहरूले यहाँ बसेर केही हुँदैन, सबै नेताले बिगारे, यहाँ त खत्तम छ, रोजगार छैन जस्ता नानाथरी बनावटी कुराहरू गर्दा मलाई म मात्र एक्लो बिचार भएको सम्झन्छु। किनकि धेरै युवाहरूको मत तथा सोचाइ नेपालमा केही गर्न सकिँदैन भन्ने छ।
मैले यो देशमा धेरै अवसरहरू देख्छु। कृषि व्यवसाय, उद्योग कलकारखाना, जागिर, व्यापार, नयाँ उत्पादन, वैज्ञानिक आविष्कार आदि आदि। मेरा आफन्तले विदेश गएपछि मनग्ये कमाइन्छ भनेर सुझाव नदिएका होइनन्, डिभी भर्ने कुरा पनि गरे। तिमी जस्तो दिमाग भएको मान्छे अमेरिका जस्तो राम्रो देशमा जानुपर्छ भने। तर मलाई अमेरिका जान मन भएन, विदेश मन परेन।
मैले बरु यहीँ भविष्य देखेँ। बोर्डिङमा मासिक ६००० रुपैयाँको भविष्य देखेँ अनि पढाउन सुरु गरेँ। साथै लोक सेवा दिने सपना देखेँ। मैले करिब ७ वर्ष सरकारी स्कुल अस्थायी रूपमा पढाएँ। करिब तीन दर्जन लोक सेवा परीक्षा दिएँ, जसरी दसौँ पटक अमेरिकाको डिभीमा भविष्य देख्छन् त्यसरी ३५ औँ पटक लाक सेवाको जागिरमा भविष्य देखेँ। बल्ल सानोतिनो स्थायी जागिरमा नाम निस्क्यो। अब मलाई यहीँ नेपाल अमेरिकाभन्दा कैयौँ गुणा राम्रो देखेँ। नेपाल सुन्दर देखेँ।
अहिले पनि नेपालमा धेरै काम गरिरहेको छु। कहिले ढुङ्गा बोक्छु। कहिले खेतबारीमा परिश्रम गर्छु। कहिलेकाहीँ गाउँघरमा बिरामी बोक्छु। कहिलेकाहीँ बिदामा श्रमदान गर्छु। कुनै दिन ६/७ वटा फरक-फरक काम गर्नुपर्छ। अमेरिका जस्तो एउटै काम गर्ने यहाँ गाउँघरमा हुँदैन।
मलाई बाँचुन्जेल नेपालमा धेरैभन्दा धेरै पसिना बगाउन मन छ। धेरैभन्दा धेरै नङ्ग्रा खियाउन मन छ। भविष्यको पुस्तालाई केही चिनो छोड्न मन छ। अहिले पनि अध्ययन यहीँ नेपालमै निरन्तर अगाडि बढाइरहेको छु। नेपालबाट पिएचडी गर्न मन छ। नेपाली परिवेश अनुसारको शिक्षा लिन मन छ।
अहिले पनि लोक सेवा अध्ययन गरिरहेको छु। विश्वविद्यालय स्तरीय शिक्षा अध्ययन गरिरहेको छु। बुवाले गरेको खेती र पशुपालनको गहिरोसँग अध्ययन गर्न मन छ। नेपालमा कृषिको भविष्य तथा उद्योगको भविष्यबारे अध्ययन गर्न मन छ। नेपाललाई हरियाली बनाएर जलवायु अनुकूल बनाउन इच्छा छ। यदि म र मजस्ता सबै युवाहरू विदेश गए काम कसले गर्ने? हाम्रो देश विकास कसले गर्ने?
अहिले पनि अमेरिका जानेको घुइँचो छ। जापान, अस्ट्रेलिया, युरोप जानेको घुइँचो छ। यहाँ नेपाल छँदा आफूले खाएको थाल समेत सफा नगर्नेले, आफू सुतेको बिस्तरा मिलाउन नजान्नेले, आफ्नो आमा र बुवाको काममा सहयोग नगर्नेले विदेश गएर के गर्ने हुन बिचरा!
मैले विदेश गएको नराम्रो हो भनेको होइन। विदेशमा कवाडीको काम गर्ने, ट्वाइलेट सफा गर्ने, ज्यालादारी गर्ने अनि आफ्नो देशमा त्यहीँ काम गर्न किन लजाउने? आफ्नो देशमा विदेशभन्दा धेरै काम गरियो भने नेपाल धनी बन्छ। हामी देशभक्ति बन्छौँ। कसैको अपमान सहनु पर्दैन। घर-परिवारसँग मिलेर बस्न पाइन्छ। पारिवारिक सम्बन्ध दृढ हुन्छ। विदेशी विकृतिको आगमन हुँदैन। भावी पुस्ताले परिश्रम गर्न सिक्छन्। हो, म यस्तै कारणले अमेरिका गइनँ।