२०७५/०७६ साल तिर हो, मेरी आमा बिरामी हुनु भयो। उहाँको पूरै शरीर विशेष गरी छातीको पछाडि दुख्दो रहेछ। भैरहवा मेडिकलमा जँचाएर एक हप्ताको औषधि खानु भएको रहेछ। औषधि खाँदा दुख्न कम भए पनि औषधि सकिएपछि दुख्न कम भएन।
बुवाको सल्लाहमा आमा काठमाडौँ आउनु भयो। काठमाडौँको वीरेन्द्र सैनिक हस्पिटलदेखि अल्का, सिभिल, वयोदा हुँदै ग्रण्डी हस्पिटलमा डा. जावेद खानलाई भेटेपछि बल्ल थाहा भयो मेरी आमालाई कहिल्यै निको नहुने फोक्साको क्यान्सर भएको रहेछ।
आमा बिरामी भएदेखि बिहान आमासँग हस्पिटल जाने अनि घर आउने मेरो दैनिकी जस्तै भएको थियो। अर्को दिन ४ बजे रिपोट देखाउन हामी बुढाबुढी हस्पिटल गयौँ। रिपोर्टमा फोक्सोमा क्यान्सर भएको पुष्टि भयो। ‘अप्रेसन गर्न नमिल्ने बिचमा छ, भोलि नै बायोप्सीको लागि तयारी गर्नुहोस्’ भन्ने त्यो शब्दले मलाई पृथ्वी नै भासिए जस्तै भयो।
‘यहीँ बायोप्सी गर्नुभयो भने रिपोर्ट आउन १२ देखि १४ दिन लाग्छ, इन्डिया जानु भयो भने छिट्टै हुनसक्छ’ डाक्टरले भनेपछि हामीले इन्डिया लैजाने निर्णय गर्यौँ।
बुवा रातारात काठमाडौँ आउने कुरा भयो। आमालाई के भन्ने होला यस्तै मनमा कुरा खेलाउँदै आउँदै थिएँ, बाटोमा आमाको फोन आयो। पक्कै रिपोर्ट के आयो भनेर सोध्न गर्नु भएको होला। के थाहा बिचरी मेरी आमालाई! मुटु दह्रो बनाएर फोन उठाएँ। अरू दिन म हस्पिटलबाट आउँदा खुसी भएर बोलेँ भने रिपोट राम्रो रहेछ छोरी खुसी भएर बोलेकी छ भन्ने लाग्थ्यो रे आमालाई, मेरो झुटो खुसीमा आफ्नो सबै पीडा भुल्ने मेरी आमाको त्यो पीडा सम्झिन पनि सक्दिनँ। कति दुख्थ्यो बिचरा तैपनि खुसी भएर बोल्यौँ। ‘जाँगर लाग्यो आज त खाना पनि बनाइसकेँ’ भनेर घर पुग्न बित्तिकै सुनाउनु हुन्थ्यो।
‘रिपोट ठिक छ, हामी आइपुग्न लाग्यौँ नि’ भनेर फोन राखेँ। घर पुगेँ। अब के भन्ने? कसलाई सुनाउनु? दाइ र बुवासँग हस्पिटलदेखि नै कुरा गरिसकेका थियौँ। भाइ र बहिनी नेपाल बाहिर थिए। आफूलाई जति पीडा भए पनि आफूभन्दा साना भाइ-बहिनीलाई सुनाउन सकिनँ। आमाको ती निर्दोष आँखामा आँखा जुधाएर हेर्न सक्ने मेरो हिम्मत हराइसकेको थियो। टाउको दुख्यो भनेर म सुतेँ। के निद्रा लाग्थ्यो मलाई रातभरि छटपटीमा कोल्टे फेर्दाफेर्दै।
बुटवलदेखि नाइट बसमा बुवा पनि बिहानीको मिरमिरेसँगै काठमाडौँ आइपुग्नु भयो। बुवालाई देखेपछि झन् मुटु भक्कानियो। उता आमा ‘मलाई के भयो र श्रृजना, बुवा त रातारात आउनु भएछ?’ भनेर सोध्नु हुन्छ। त्यसको मसँग कुनै उत्तर नै थिएन। म नाजवाफ भएँ।
इन्डिया जाने निधो भयो। मम्मीलाई लिएर दाइ र बुवा जानुभयो। बायोप्सी गर्दा तेस्रो स्टेजको फोक्सोको क्यान्सर भएको पुष्टि भयो। अपरेसन गर्न नमिल्ने भयो, किमोथेरापी दिनु पर्ने भयो। २१ साइकल किमोथेरापी दियौँ। छोराछोरीको लागि भए पनि म बाँच्नु पर्छ भनेर हिम्मत बटुलेकी मेरी आमाको दैवसँग केही लागेन। उनले हारिन् र हामीलाई टुहुरो बनाएर गइन्।
डाक्टर र परिवारको हेरचाहले बिरामी भएको ३ वर्षसम्म मात्र हामी सँगै बस्न पायौँ। ठुलो प्रयासले दिन, साता, महिना वर्षौँमा परिणत भए। त्यो दिन म हस्पिटलमै थिएँ। ब्लड डोनेसनको लागि गएकी थिएँ शिक्षण हस्पिटल, मेरी आमा भरतपुर क्यान्सर हस्पिटलमा। शुक्रबार गएर आइतबार मात्र २ दिन बसेर काठमाडौँ फर्किएकी थिएँ।
‘नानी मलाई एक्कासि सुगर बढ्यो रे, किन होला? सिस्नोको धुलोले कम हुन्छ भन्छन्। धुव्र दाइ नि आउँछु भनेको छ सँगै दुई बहिना आउनू’ भन्दै आइतबार बिहान टीका लगाएर मलाई बिदा गरेकी मेरी आमालाई भेट्न जान मेरो जीवनमा न त शुक्रबार कहिल्यै आयो न त सुगर घटाउने सिस्नोको धुलो लिएर तिमीसँग आउन पाएँ।
त्यो कालो दिन कसरी भुल्नु आमा? हस्पिटलमा नै थिएँ, नआओस् भनेर चिताएको फोन आयो- ‘आमालाई एकदम गाह्रो भयो, भ्यान्टिलेटरमा राख्दै छौँ...’ दैवसँग हाम्रो केही लागेन।
२०७७ साल फागुन १९ गते हाम्री आमा परमधाम हुनुभयो। जीवनमै नसोचेको बज्रपात हामीले खेप्नु पर्यो। बिछोडको पीडालाई प्रकृतिको नियम र संसारको रीत सम्झेर बुवाको आफूलाई आफ्नो कामप्रति समर्पित गर्न तिर लागेँ। म निकै कमजोर भएँ।
सोमबार दिउँसो आमाछोरीको कुरा भएको थियो। ‘सास फेर्न गाह्रो भएको छ नानी, पछि कुरा गरौँला नआत्तिनू, शुक्रबार आऊ है’ भन्ने शब्द नै अन्तिम हुन पुग्यो र मैले आमाको आवाज कहिल्यै नसुन्ने गरी उहाँ सदाको लागि यो संसारबाट बिदा भएको खबरले मेरो आँखाअगाडि कालो पर्दा छायो। जे नहुनु थियो, त्यही भइदियो। मैले जति चाहे र पुकार गरे पनि मेरी आमा फर्किनु हुँदैन भन्ने कुरा मनन गर्दै बाँकी काम सम्हालिएर रीतपूर्वक गर्नु थियो र गरियो पनि।
आमा तिम्रो अभावमा जिन्दगी शून्य लाग्यो। आशाहरू सबै निराशामा परिणत भए। निद्रा, भोक, प्यास, तिर्खा सबै हरायो। मात्र उराठ, उदास र वितृष्णाले घेरिएको जीवन जस्तो महसुस हुन थाल्यो। समय न हो, जो सर्वशक्तिमान् छ, जो धेरै बलवान् छ, कसैले चाहेर पनि रोक्न सक्दैन र न कुनै आज्ञा सुन्छ न कुनै बिन्ती। यो त नियमित धारा प्रवाह वेगमा चलिरहने प्रक्रिया रहेछ आमा।
आमा अहिले हामी माझ हुनुहुन्न तर हजुरसँग जोडिएका हरेक पल हरेक क्षण मेरो मनभरि छ, मेरो हृदयभरि छ। हजुरसँग बिताएका हरेक समय मानसपटलमा अझै ताजा छ। जति जति हजुरलाई सम्झन्छु, बालापनसँग जोडिएका मेरा यादहरूले सताउँछन्। अनि मन भक्कानिन्छ, आँखाहरू यसै रसाउन थाल्छन्। तिम्रो हँसिलो अनुहार आँखा अगाडि डुलिरहन्छ। लाग्छ हजुर मेरै सामु हुनुहुन्छ, श्रृजना भनेको झैँ हजुरको आवाजको स्पर्श गर्छु। हजुरको न्यानो काखमा मस्त निदाएको अनुभूति गर्छु। तर यी सब मेरा कल्पना मात्रै हुन आमा।
कसलाई सुनाऊँ यी मनका कुरा आमा? जब तिम्रो धेरै याद आउँछ, एल्बम पल्टाउन थाल्छु। अब त आमा कुनै पनि फोटोमा हामीसँग हुने छैनन् भन्ने भान हुँदा लाग्यो, अबका सबै चाड र फोटाहरू अपूर्ण हुनेछन्। पुराना तस्बिर पल्टाइरहँदा तीज, दसैँ, तिहार जन्मदिन सबै कति पूर्ण सबैमा हजुर पाएँ, अबको यी चाडपर्व सबै अपूर्ण भए। तस्बिर माहौल रमझम सबै अपूर्ण भए। हजुरबिना कसरी पूर्ण हुन्छ र? हजुर त जानुभयो आमा, म विवश छु अपूर्णता स्विकार्न। मेरा तस्बिरहरू अब सदा अपूर्ण रहने छन्।
तीज आमा र छोरीका लागि एउटा महत्त्वपूर्ण चाडको रूपमा मानिँदै आइएको छ। महिलाहरूको चहलपहल र रमाइलो माहौल सृजना हुनु स्वाभाविक हो। तर आमा नभएको घर र आमा नभएको तीज चिनी नभएको चिया जस्तै हुँदो रहेछ। आमा नभएको घरमा सबै थोक भए पनि कहीँ कतै केही अभाव र अपूर्णता महसुस हुँदो रहेछ।
आमाको माया र सहकार्यले पनि पर्वको माहौललाई खुसी बनाउँथ्यो। हुन त भाउजू पनि अर्को रूप आमाको भन्छन्। माइती घरमा मेरी प्यारी भाउजू, बुहारी हुनुहुन्छ। उहाँहरूको मायामा पनि कुनै कमी महसुस गरेकी छैन। तर मेरो मनको आत्माले तिमीलाई नै खोज्छ आमा। तिमी आज धेरै टाढा छौ।
दर खाने दिन छोरी आउने बाटो हेर्नु तीजको रौनक हुन्थ्यो। हो, आज त्यही छोरी आउने बाटो हेरेर बस्ने मेरी आमा छैनन्। त्यसैले पनि होला मन बिग्रिन्छ, आँसु झर्छ, मन पनि दुखी हुन्छ। छाती पोल्छ आमा, तीज आउँदा आज माइतीघर शून्य लाग्छ। तिमी हुँदा जोडिएका ती सबै नाताहरू पराई हुँदै गए। तिमी हुँदाको माइतीघर, मामाघर सबै पराई भए आमा। कहिलेकाहीँ हजुरको ज्वाइँ रिसाउँदा ठुस्किएको नाटक गरेर माइती जाने बाटो परारैदेखि बन्द छ आमा।
जब जब उमेर बढ्दै जान्छ, आफ्नो जिम्मेवारी र कामको बोझले थिचिँदै र समय साँघुरिँदै गरेको महसुस जो कोहीले गरिरहेकै हुन्छन्। त्यसका बाबजुद पनि चाडपर्वमा समय छुटाएर घुम्न जानु, आफन्त परिवार जम्मा भई रमाइलो गर्नुमा एक खालको छुट्टै आनन्दपनको महसुस हुन्छ। समयले हरेक कुरालाई यसरी महत्त्वपूर्ण बनाइदिन्छ कि त्यो कुराको कसैले न त आकलन गर्न सक्छ न त अनुमान। मात्र भोगाइ नै एउटा सिकाइ हो र सत्य पनि हो।
जिन्दगी भनेको सुख दुःखको चक्र हो भन्ने कुरा धेरैबाट सुनेकी थिएँ। हो पनि रहेछ। हरेक समय सधैँ कहाँ एकनास रहन्छ र? हरेक खबर शुभ हुँदैनन् भन्ने कुरा मेरो जीवनमा पनि एक्कासि परेको बज्रपातले मानसपटलमा कहिले नमेटिने गहिरो छाप छोडेर गयो। हामीले मात्र आमा बिनाको जीवन भोगेका छैनौँ, यो मजस्ता हजारौँ लाखौँ परिवारका छोराछोरीहरूको कथा होला। म केवल त्यही कालो दिन सम्झिन्छु र रङविहीन इन्द्रेणीको कल्पना गर्छु।
अहिले आमा नभए पनि दर पाक्छ, क्याटरिङ र रेस्टुरेन्ट अनि पार्टी प्यालेसमा पनि तीज धूमधामले मनाइन्छ तर पारिवारिक सहकार्य र प्रेम अनि अपनत्व नजिकबाट अनुभूति गर्न पाइँदैन। मेरो वरिपरि अहिले तीजको रौनक छ, सुन्दर र उत्साहित माहौल छ। तर म भने एउटा घना जङ्गल बिचको पातहरू झरेर ठिङ्ग उभिएको उजाड रुखजस्तै छु।
यो तीज मात्र होइन, मेरा २/३ तीज यसरी नै बितेका कुराले पनि मलाई पिरोलिरहन्छ र मेरो छेउछाउ यो तीज पनि नपरोस् भन्ने लागिरहन्छ। यो चाडले मलाई जस्तै सम्पूर्ण टुहुराहरूलाई पनि यसरी पिरोलिरहेको होला भन्ने मनमा खेलिरहन्छ।
खैर केही छैन, सबैको भाग्य एकनास हुँदैन। तपाईंहरू रमाउनुहोस्, समय फेरि आउँदैन। आफ्नो र आफन्त बिचको जमघटलाई अविस्मरणीय बनाउनुहोस्। सुक्खा, धमिलो र अमिलो मनबाट टाढा रहनुहोस्। तीजको सम्पूर्ण दिदी-बहिनीमा शुभकामना।