मेरो जन्म अर्घाखाँचीको पाणिनी गाउँपालिका मैदान ५ मा सामान्य किसान परिवारमा भयो। सात दिदी-बहिनी र एक छोरा हामी बाबा-आमाका सन्तान। बिहान खाना खाएपछि बेलुका के खाने भन्ने कुराको समस्या त थिएन तर पनि मैले मेरो जीवनमा धेरै अभावका खाडल भेटेकी छु। जहाँबाट उम्कन मलाई निकै गाह्रो भयो।
अहिलेका बालबालिकाले बिताएको जस्तो सरल र सहज बाल्यकाल थिएन मेरो। बा-आमा सधैँ घरको काममा व्यस्त रहने, उकाली ओराली गर्दा गर्दै समय बित्थ्यो। बाले हाम्रा लागि पसिना बेच्नु भयो भने आमाले आफ्नो जीवन बेच्नुभयो र त हामी यहाँसम्म आउन सफल भयौँ।
मैले जान्ने भएदेखि न बाले सुख पाउनु भयो न उहाँले म ठिक छु भनेको नै सुनेँ। न आमाले सुखले सास फेर्नुभएको देखेँ न बा-आमाले कहिल्यै सुकिला लुगा लगाएको देखेँ। सबै हाम्रै लागि गरेको त्यो त्याग हैन र? तर हामीबाट सुख प्राप्त गर्ने बेला हजुरको स्वर्गवास हुनुभयो। हैन भने त बा हजुरलाई नयाँ-नयाँ लुगा त्यो पाल्पाली ढाका टोपी शिरमा लगाएर बहखोर घर गर्दा कति रमाइलो हुन्थ्यो होला है! साँच्चिकै यो दुःख कष्टबाट मुक्ति पाउन के गर्नु पर्छ? कि बजारमा कुनै औषधि किन्न पाउने भए म खरिद गरेर दुःख कष्ट सधैँका लागि पार लगाइदिन्थेँ।
बा हजुरको निधन भएपछि ८४ वर्षे बुढी आमाको काख रित्तियो, हामी छोराछोरी टुहुरा भयौँ। आमाको सिन्दूर पुछियो, चेलीले माइती गुमाए, आफन्तले हजुरको वियोगमा छटपटाए। हामीले सर्वस्व गुमायौँ। कति छटपटायौँ। त्यसको कुनै लेखाजोखा छैन।
बा एक न एक दिन यो धर्तीबाट बिदा हुनु नै पर्छ तर विज्ञानको यो नियमलाई हामीले नकार्न सकेनौँ। बा हजुर हुँदा घर आँगन उज्यालो थियो। चाडपर्वमा सबै जना जम्मा भएर एक अर्काको दुःखसुख साटासाट हुन्थ्यो। मलाई यस्तो भयो उस्तो भयो, यो समस्या छ भनेर सुनाउन पाइन्थ्यो। म छु तँ पिर नगर् भन्दै हाम्रो काँधमा काँध थापिदिनु हुन्थ्यो। बा हुनुन्थ्यो र त ढुक्क थियो। जे पर्दा पनि बा हुनुहुन्छ भन्ने आड थियो।
बा, तपाईंको स्नेह गुमाएपछि हजुरको यादमा भक्कानिएर रोएका थुप्रै पलहरू छन्। आफन्तले लगाएका तुच्छ व्यवहार र मुटुभित्र गाँठो परेर बसेका चोटहरू छन्। छुटेका सपनाले निदाउन नदिएका रातहरू छन्। कयौँ पटक इच्छा मारेर नि बाँच्न गरेका धेरै प्रयासहरू छन्। यी पलहरूलाई म कमजोर बन्नु हुन्न सक्षम बन्नुपर्छ भन्ने आत्मविश्वास र विशाल हृदय राखेर अगाडि बढेका क्षणहरू पनि थुप्रै छन्। दिनभरको थकान मेटाउन हजुरको तस्बिरसँगै गरेका गुनासाहरू छन्।
हरपल हर क्षण हजुरको अभाव महसुस हुन्छ। बा त्रिभुवन विश्व विद्यालयको मैदानमा मैले त्यो कालो कोट लगाएर दीक्षित हुने मेरो सपना पूरा गर्न सकिनँ। बाध्यता, परिस्थिति र जिम्मेवारी मेरो काँधमा आएपछि आफ्नो रहरलाई तिलाञ्जलि दिए।
आमा भन्नुहुन्छ ‘यो सालको तीजमा त घर आऊ न छोरी। किन टाढा भएकी? बा नभए पनि म छु नि।‘ तर बा, नढाँटी भन्नु पर्दा हजुर र बुढी आमा नभएपछि मलाई त्यो घर उजाड लाग्छ। जुन घरमा मैले अभिभावक गुमाएँ, त्यो घरको आँगन बिरानो लाग्छ। खुलेर हाँस्न सक्ने आँट ममा छैन। किन थाहा छ बा? जुन घरको जग हजुरले आफ्नै हातले खनेर बनाउनु भयो, त्यही घरमा आनन्दले एक रात पनि बिताउन नपाई छोडेर जानुभयो।
हार्न हुन्न, जित्ने अठोट राख्नुपर्छ भन्नु हुन्थ्यो नि। किन सबैभन्दा पहिलै हारेर जानुभयो? बा, हेर्नु त हाम्रो नेपाली समाजमा चाडपर्वको रौनक झन् पछि झन् थपिँदै छ। सबैको घरमा खुसीयाली छाएको हुन्छ तर हाम्रो घर सधैँ रित्तो। हजुर भएको भए हामी सबै छोराछोरी, दिदी-बहिनी, नातिनातिनाले घर आँगन ढाक्थे। आहा! सम्झिँदा कति आनन्द लाग्ने है? झन् साँच्चिकै रमाइलो गर्न पाएको भए त संसारको सबभन्दा खुसी परिवार हाम्रै घर हुन्थ्यो होला। तर के गर्ने? न त्यो घरको आँगनमा तपाईंसँगै तीज मनाउन पाएँ न दसैँको टीका जमरामा सजिएर मनाउन।
त्यसैले नि बा, यी चाडपर्व त नआए पनि हुन्छ। हामीलाई सधैँ रुवाएरै जान्छ। मन सम्हाल्नै गाह्रो हुन्छ अनि ती भित्तामा सजायका हजुरका तस्बिरसँगै गुनासो गर्छु र फेरि आफै सम्हाल्ने प्रयास गर्छु। बा, हजुर प्रत्येक रात जून बनेर मलाई हेरिरहनू। म पनि प्रत्येक रात बार्दलीमा बसेर कुरिरहने छु।
कुशे औँसीको धेरै धेरै शुभकामना बा! हाम्रो लागि गर्नुभएको त्यो त्यागको म जीवनभर सम्मान र प्रशंसा गर्नेछु। हार्दिक श्रद्धा सुमन बाबा, धेरै धेरै सम्झना। माथिबाटै भए नि धेरै धेरै आशीर्वाद दिइरहनू।
बाबाले जस्तै माया, ममता र स्नेह दिने सम्पूर्णमा मेरो कोटी कोटी नमन।