स्नातकको पढाइ पनि सकियो। कलेजले शुभकामना तथा बिदाई कार्यक्रम राख्यो। फोटोहरू खिचियो। 'वेस्ट अफ लक, स्टे कनेक्टेड' है भन्दै साथीहरू छुट्टिए।
केही साथीहरू 'नेपाल मा बसेर भविष्य छैन यार विदेश जानु पर्छ' भन्थे। केही 'हैन यार यहीँ बसेर केही गर्नुपर्छ, लोकसेवा लड्नुपर्छ' भन्थे। केहीको पुर्ख्यौली व्यापार व्यवसायलाई निरन्तरता दिने सोचाइ थियो त केही बिहे गरेर घरजम गर्नेसम्म सुरमा थिए।
स्नातकको पढाइ पूरा भएसँगै करियरको जिम्मेवारी बोध भयो। आफ्नो भाग्य र भविष्य बनाउन गाउँबाट सहर पसेको नि ६ बसन्त पार भएछ। ६ वटा बसन्त फेरिए तर मेरो जीवनमा केही फेरिएको थिएन। देशमै बसेर केही गर्नुपर्छ भन्ने लाग्यो। लोकसेवा तयारी गर्न थालेँ।
दुई चार वटा परीक्षा दिएँ। मेहेनेत पुगेन या भाग्यले साथ दिएन नाम निस्किएन। लोकसेवामा मेरो भविष्य रैन रैछ अब गन्तव्य बदल्नु पर्छ जस्तो लाग्यो। लोकसेवा छोडेर विदेशको बारेमा सोच्न थालेँ। आम नागरिकहरूले जस्तै अमेरिकाको सपना देख्न थालेँ।
कस्तो होला अमेरिका? कसरी जाने होला? जान सकिएला कि नसकिएला? आदि कुराहरू मनमा खेल्न थाले। अमेरिका जाने अनेक उपायहरू सोच्न थाले।
विद्यार्थी भिसामा जाऊँ भने अंग्रेजी भाषासँग सानैदेखिको दुस्मनी। कामदार भिसामा जाऊँ अमेरिकाले कोरियाले जस्तो श्रमिक नलाने। बिजनेस भिसाको आइडिया भएन।
तल्लो बाटो भएर अमेरिका जाऊँ कि जस्तो लाग्यो। फेरि सोचें, 'रत्नपार्कबाट लगनखेल गएजति मात्रै त हैन अमेरिका'। मेक्सिको र पानामाको जंगलमा नेपालीहरूले पाएको सास्ती सम्झिएँ। आँट गर्न सकिनँ।
यता फेसबुकमा अमेरिकामा हुने साथीभाइ, इस्टमित्रहरूले फोटो हालेको देख्दा मनमा छटपटाहट हुन्थ्यो। म पनि अमेरिका जान पाए यसरी नै समुन्द्रको छेउमा उभिएर मुसुक्क हाँसेर आइफोनले पोज पोजको फोटो खिच्थेँ। फेसबुकतिर पोस्ट गर्थें। अमेरिकामा पाको दुःख फेसबुकमा नहाले भैगो। जिन्दगी बिन्दास हुने थियो जस्तो लाग्थ्यो।
बिना अर्थका सपनाहरू सजाउँदै कयौ दिन बिताएँ।
एकदिन बागबजारतिर डुल्दै जाँदा 'जाने हैन अमेरिका '? 'यहाँ डिभी भरिन्छ' लेखेको देखेँ। म अचम्मित भएँ। ढुङ्गा खोग्दा देउता मिले जस्तो भो।
ओहो! अमेरिका जाने उपाय त अरू पनि रैछ नि! म खुसीले फुरुङ्ग भएँ। सरासर कन्सल्टेन्सीभित्र पसेँ। फोटो खिचेँ। निःशुल्क डिभी भरिदिन्छौं भने। म झन् खुसी भएँ। बिना पैसा डिभी भर्न पाउँदा। ढिला नगरी डिभी भरेँ।
डिभी भरिसकेपछि मलाई डिभी परिसक्यो जस्तो भो। कसरी जाने होला अमेरिका? कुन राज्यमा जाने होला? के के सामान लाने होला? जस्ता कुराहरू मेरो दिमागमा खेल्न थाले। साथीभाइहरूले 'के गर्दैछस्?' भनेर सोध्दा 'अमेरिका जाँदैछु' भनेर जबाफ दिन थालेँ।
डिभी भरेको दिनदेखि यसको नतिजा कहिले आउला भनेर दिन गन्न थालेँ। कन्सल्टेन्सीमा गएर बुझेँ। रिजल्ट आउन ५/६ महिना लाग्छ भने। नतिजाको प्रतीक्षामा समय बिताउन थालेँ।
एकदिन सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउँछ भन्ने थाहा पाएँ। राति अबेरसम्म बसेर नतिजा जाँच गरेँ। मध्यरातमा नतिजा आयो। हतारहतार रिजल्ट हेरेँ तर अफसोस! मेरो नाम टाइप गर्दा त 'यु ह्याब नट बिन् सेलेक्टेड' भन्यो।
मलाई सात रेक्टर स्केलको भूकम्प गए जस्तो भो। ओठमुख सबै सुक्यो। सारा सपना चकनाचुर भो जस्तो लाग्यो।
आफूले आफूलाई सम्झाएँ। नसम्झाउनु विकल्प पनि थिएन। चिन्ता लिएर हुने होइन, एकपटक डिभी नपरेर के भो त फेरि अर्को वर्ष खुलिहाल्छ नि! अर्को वर्ष भर्छु।
यसै गरेर डिभी पर्छ कि भन्ने आसैआसमा लगातार केही वर्ष डिभी भरिरहेँ। तर नतिजा सधैं 'यु ह्याभ नट बिन सेलेक्टेड' भनेर आयो।
साथीभाइहरूले 'तिमी त अमेरिका गैसकेउ होला भनेको त यतै छौ' भनेर भन्थे। अनुहार लाजले रातो हुन्थ्यो।
'थोरै डकुमेन्ट मिल्न बाँकी छ' भनेर जबाफ फर्काउँथें। मलाई साथीभाइसँग बोल्न पनि मन लाग्न छोड्यो। तर्केर हिँड्न थालेँ।
लगातार डिभी नपरे पनि अमेरिका जाने मेरो इच्छा १०० बाट ९९ मा झरेन।
म अवाक् भए। सबैतिर निराशा मात्र देख्न थालेँ।
फेरि सोचें 'कालो बादलभित्र पनि त चाँदीको घेरा हुन्छ '। २/४ चोटि डिभी परेन भन्दैमा किन निरास हुनु ? १० औं वर्षमा पनि त डिभी परेका उदाहरण छन्। म डिभी भर्छु। कुनै दिन पर्न सक्छ। किनकि समय सधैं एकनास हुँदैन। मेरो उत्कट इच्छाको अगाडि एकदिन भाग्य र परिस्थति गल्नेछ!