जसरी तरबारलाई तिखो बनाउन ढुंगाको आवश्यकता पर्दछ, उसरी नै मस्तिष्कको लागि पुस्तक। – जर्ज आर.आर मार्टिन
पुस्तकले संसारलाई शासन गर्दछ। – भोल्टेएर
विभिन्न समयमा विश्वका महान दार्शनिक, लेखकहरूले समाजमा पुस्तक र पुस्तकालयका बारेमा आफ्ना विचारहरू राखेका छन्। जसले पुस्तक र पुस्तकालयको महत्वलाई दर्साउँछ।
मानव जीव अन्य प्राणीभन्दा सर्वश्रष्ठ हुनुमा उनीहरूको ज्ञान/अनुभवको संग्रह र पुस्तान्तर प्रमुख हो। जब मानवले आफ्ना संग्रह गरेका ज्ञानलाई विभिन्न माध्यममा लिपि गर्न थाले, त्यतिबेलादेखि मानव समाज विकसित रूपमा निरन्तर अघि बढ्दै आएको छ। ज्ञानको संग्रह नै उच्चतम विकसित रूपमा पुस्तकलाई लिन सकिन्छ। जुन समाजमा पुस्तक र पुस्तकालयको विकास भएको छ, त्यो समाज अन्य समाजभन्दा अघि बढेको इतिहास छ।
कुनै पनि समाजको चेतना मापनमा उक्त समाजमा कति पुस्तकालय छन्, वर्षमा कति पुस्तकहरू प्रकासित हुन्छ साथै साहित्यिक बहस कत्तिको हुन्छ भन्ने कुरालाई आधार मान्न सकिन्छ। किनकी विश्वका प्रख्यात लेखक, दार्शनिकहरूले आफ्नो व्यक्तित्व निर्माणमा कुनै बेला पुस्तकालय गएर विभिन्न किताब अध्ययन गरेको साथै विभिन्न साहित्यिक छलफलको प्रभावलाई उल्लेख गर्ने गर्छन्।
विश्व व्यापीकरणले विश्वमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ। वर्तमान समयमा उक्त प्रतिस्पर्धामा सर्वश्रेष्ठ हुनुपर्ने बाध्यता सबैलाई छ। सर्वश्रेष्ठता हासिल गर्न अध्ययनको महत्वपूर्ण भूमिका हुन्छ। अध्ययनशिलताले हरेक व्यक्तिलाई इतिहास, विभिन्न घटनाक्रम, वर्तमान अवस्था, भविष्य साथै सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक लगायत विभिन्न दृष्टिकोणबाट विश्व र समाजलाई बुझ्न मद्दत गर्छ।
हरेक व्यक्तिहरूसँग विभिन्न प्रकारका धेरै पुस्तक किन्न सक्ने आर्थिक अवस्था नहुन पनि सक्छ। यस्तो अवस्थामा पुस्तकालय अध्ययनको प्रमुख स्रोत हुन सक्छ। आज नेपालमा केही सीमित सहर बाहेक अधिकांश ठाउँमा सामुदायिक पुस्तकालय नै छैन। विभिन्न युवा क्लब, संघसंस्थाले स्थापित गरेका पुस्तकालयहरू पनि समयक्रम सँगै बन्द भएका छन्।
हामीले पुस्तकालय संस्कृतिलाई व्यवस्थित एवम् प्रभावकारी बनाउने हो भने स्थानीय तहहरूले नै विशेष भूमिकासहित जिम्मेवारी लिनुपर्दछ। किनकी वर्तमान समयमा स्थानीय तहहरूसँग आफ्नै स्रोत साधन र अधिकारहरू हुने भएकाले आफ्नो पालिकाभित्र पुस्तकालय स्थापनासँगै त्यसलाई दीर्घकालीन रूपमा सन्चालन गर्न सक्छन्।
नेपालको संविधान २०७४ को अनुसूची ८ मा स्थानीय तहलाई एकल अधिकार २२ वटा र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार १५ वटा रहेको छ। साथै संविधानको भाग–४ को धारा – ५१ उपधारा– ज (४) मा नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्द्धन गर्ने, भनेर स्पष्ट उल्लेख गरेको छ।
प्रायजसो स्थानीय तहहरूले भौतिक विकासमा जोड दिएको देखिन्छ। यदि समाजलाई विकास गर्ने हो भने, अग्रगामीतिर लैजाने हो भने। प्रतिस्पर्धी युवा समूह निर्माण गर्ने हो भने, मानवीय विकासमा पनि लगानी गर्न जरूरी छ। आज हामीले समाजमा के कस्तो लगानी गर्छौं, त्यही अनुरूप केही वर्षमा समाजको निर्माण हुने गर्दछन्।
नेपालमा पुस्तकालयको इतिहास तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको पालाबाट भए पनि आधिकारिक रूपमा वि.स. २०६५ साल भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो।
१७ औं पुस्तकालय दिवस मनाइरहँदा नेपालमा कति पुस्तकालय निर्माण भई सन्चालनमा होलान्? तिनीहरूको अवस्था कस्तो होला साथै कति स्थानीय तहले व्यवस्थित रूपमा पुस्तकालय सन्चालन गरेका होलान्? प्रश्नको उत्तर खोज्दा अझै पनि त्यति चित बुझ्दो छैन। तसर्थ यदि पुस्तकालयमा सबै नागरिकको पहुँच विस्तार गर्ने हो भने विशेष स्थानीय तहले नै जोड दिनुपर्छ।
स्थानीय तहले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रमहरू निर्माण गर्ने गर्छ। ती नीति तथा कार्यक्रमहरूका माध्यमबाट निश्चित बजेट प्रयोग गर्छ। स्थानीय तहले पुस्तकालय विकासका निम्ति कुरामा विशेष ध्यान दिन जरूरी छ।
नीति तथा कार्यक्रममा नै उल्लेख
प्राय: स्थानीय तहहरूले भौतिक विकासको तुलनामा मानवीय विकासलाई जोड दिएको पाइँदैन। यदि मानवीय विकासमा थोरै जोड दिए पनि पुस्तकालयमा ध्यान दिएको पाइँदैन। यस्तो अवस्थामा स्थानीय तहले स्पष्ट रूपमा आफ्नो नीति तथा कार्यक्रममा नै पुस्तकालयबारे उल्लेख गर्न जरूरी छ। नीति तथा कार्यक्रममा बजेट विनियोजन हुने भएकाले पुस्तकालय स्थापना, सन्चालन, पुस्तक वितरण, विभिन्न छलफल लगायतका कार्य गर्न सजिलो हुन्छ।
तथ्यांक संकलन
स्थानीय तहमा कति वटा पुस्तकालय छन्। उनीहरूको अवस्था कस्तो छ। सरकारी हो कि वा संघसंस्थाद्वारा सञ्चालित हो? विद्यालयमा पुस्तकालय छन् कि नाइँ? कस्ता पुस्तक छन् ? पाठक केन्द्रित विभिन्न दृष्टिकोणबाट अध्ययन गरेर तथ्यांक लिन सक्यो भने पुस्तकालयको वर्तमान अवस्था बुझ्न सहज हुन्छ। त्यही अनुरूप कार्ययोजना बनाएर अघि बढ्न मद्दत पुग्छ।
विशेष निगरानी
प्राय: पुस्तकालयहरूमा आर्थिक सहयोग तथा पुस्तक दिने तर पछि वास्ता नगर्ने प्रवृत्तिले गर्दा कतिपय पुस्तकालय निश्चित समयपछि बन्द भएका उदाहरण प्रशस्त मात्रमा छन्। यस्तो अवस्थामा स्थानीय तहले पुस्तकालय केन्द्रित छलफल एवम् तालिम वर्षको दुई तीन पटक आयोजना गर्दै कार्यविधि र निर्देशिका निर्माण गरी विशेष निगरानी गर्नु पर्दछ।
आफ्नै पुस्तकालय निर्माण
स्थानीय तहले विशेष आफ्नै मातहातमा रहने गरि सुविधा सम्पन्न पुस्ताकालय आफ्नै कार्यलय परिसरमा निमार्ण गर्नुपर्छ। जहाँ विभिन्न विषयका अध्येताले अध्ययन अनुसन्धान गर्न सकुन । साथै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही साथै आम नागरिक पनि आएर पढ्न सकुन । यसरी आफ्नै पुस्तकालय सन्चालन गर्दा सिमित स्रोत साधानले नै सन्चालन गर्न सकिन्छ ।
आर्थिक सहयोग
स्थानीय तहमा सन्चालन भएका विभिन्न पुस्तकालय सन्चालनका निम्ति पालिकाले निश्चित कोष खडा गरि आर्थिक सहगोग गर्नुपर्छ । ताकि ति सन्चालित पुस्ताकालयहरुलाई सामान्य मर्मत सम्भार, नयाँ पुस्तक खरिद, कर्मचारिलाई तलब, विभिन्न विषयमा छलफल गर्न सहयोग पुयोस् । जसले गर्दा सकारात्मक रुपमा पुस्ताकालय सन्चालन गर्न मद्दत पुगोस ।
विद्यालयलाई विशेष जोड
विभिन्न विद्यालयमा सकभर पुस्तकालय नै हुदैन, भएका पनि दराज भित्र धुलो जमेर थन्केका हुनछन् । सरकार एवम् विभिन्न संघसंस्था , व्यक्तिले दिएका पुस्तकको उतिच व्यवस्थापन नहुर्दा कति पुस्तक हराउने, च्यातिने गर्छन । उस्तै परे केहि वर्षमा सुरुवाति चरणबाट निमार्ण गर्नुपर्ने हुन्छ । तसर्थ स्थानीय तहले शिक्षा शाखा द्धारा विशेष निगरानीमा विशेष ध्यान दिन जरुरी हुन्छ ।
विशेष अभियान सन्चालन
स्थानीय तहले आफ्नो नीतिमा नै उल्लेख गरेर उत्कृष्ट पुस्तकालयलाई सम्मान, विभिन्न विशेष दिन जस्तो जन्म दिनको उपलक्ष्यमा विद्यालयलाई पुस्तक उपहार कार्यक्रम, उत्कृष्ट पाठकलाई सम्मान लगायत सृजनशील कार्यक्रम सञ्चालन गर्नु पर्दछ।
(लेखक तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समिति संयोजक हुन्।)