मेरी श्रीमतीले व्यापार गर्न थालेको १ वर्षभन्दा बढी समय भइसक्यो। सुरूमा व्यापार वा जागिर गर्नुपर्छ भन्ने उनलाई लागेको थियो। मैले व्यापार गरौं कि भनेपछि उनी एकदमै उत्साहित भइन्।
उनकै उत्साहमा सुर्खेतको वीरेन्द्रनगरस्थित स्थानीय बजारमा व्यापार गर्न थालिन्। उनको व्यक्तिगत आर्थिक स्वतन्त्रताका लागि निकै महत्वपूर्ण भएकोले पनि उनी त्यसमा निकै चासो दिएर लाग्छिन्। म पनि सहयोग गर्छु। छोरीलाई समय दिन सकिँदैन वा भ्याइँदैन भनेर पसल गर्न छाड भन्दा उनी मानिनन्। उनको सबैभन्दा ठूलो सरोकारको विषय पनि व्यस्तता र आर्थिक स्वतन्त्रताकै हुन्छ। किनकी छोरीलाई समय दिन मैले जागिर छोड्ने न उनले कल्पना गर्न सक्छिन्, न त मैले नै! उनले व्यापार छोडेर खाली बस्ने सर्तमा उनी राजी छैनन्। र म पनि उनको सर्तमा राजी भएँ।
उनले व्यापार गर्न थालेको एक वर्षभन्दा बढी समय हुँदा भने मलाई ग्राहकहरूसँगका अनौठा वार्तालापहरू सुनाउँथिन्। नेपाली समाज विशेषगरी कर्णाली प्रदेशमा महिलाहरूको व्यापार, व्यवसाय तथा उद्यमशीलतामा कम सहभागिता र सक्रियताका कारण पनि धेरै त्यस्ता कुराहरू मलाई सामान्य लाग्थेँ।
एकदिन एक जना ग्राहक पसलमा आएछन्। पसलमा सुरक्षाको लागि भनेर सिसिटिभी क्यामरा जडान गरिएको थियो। कानूनअनुसार सिसिटिभी क्यामरा राखिएको ठाउँमा जानकारी राख्नुपर्ने हुनाले ‘तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ’ लेखेको स्टिकर पसलमा टाँसिएको थियो।
पसलमा सिसी क्यामरातिर हेर्दै उनले सोधेछन्, ‘बहिनी तपाईंको श्रीमान विदेशमा हुनुहुन्छ?’
आश्चर्य मान्दै उनले सोधिछन्, ‘किन?’
ग्राहकले भनेछन्, ‘यहाँ सिसी क्यामरा राख्नुभएको रहेछ। विदेशबाट तपाईंको श्रीमाले हेरिरहनुभएको होला जस्तो लागेर नि!’
नेपालमा वैदेशिक रोजगारी एउटा ठूलो मुद्दा हो। एउटा जबरजस्त सवाल पनि हो। तर यो सवालसँग जोडिएको पारिवारिक र सामाजिक मानसिकताको जबाफ उनको त्यो जिज्ञासा सुनेपछि मलाई महसुस भयो।
उनीहरू सोच्थे श्रीमान विदेश भएरमात्रै श्रीमतीले यहाँ व्यापार गरिरहेकी छन् वा श्रीमान घरमा हुँदाहुँदै श्रीमतीले व्यापार गर्नै पर्दैन। वा गर्नै आवश्यक छैन। उनीहरूलाई लाग्थ्यो होला, विदेशमा रहेका श्रीमानले नेपालमा व्यवसाय गरिरहेकी श्रीमतीको निगरानी गरिरहनुपर्छ।
वा उनीहरूलाई लाग्थ्यो होला, सिसी क्यामराको प्रयोजन सुरक्षा प्रयोजनभन्दा पनि इमानदारिता र कसैको क्रियाकलाप नियन्त्रणमा प्रयोग हुन्छ।
पसलमा मेरो र मेरी श्रीमतीको सँगै फ्रेममा राखिएको फोटो देखेर ‘तपाईंको श्रीमान कहाँ हुनुहुन्छ ?’ वा 'तपाईंको श्रीमान विदेश हुनुहुन्छ?' भन्नेहरू त धेरै थिए।
यहाँ सवाल वैदेशिक रोजगारीको मात्रै थिएन, व्यक्तिगत स्वतन्त्रताको पनि थियो। श्रीमान घरमै वा स्वदैशमै रहुन्जेल कुनै पनि श्रीमतीले आफ्नो आर्थिक स्वतन्त्रताको लागि व्यापार गर्न सक्दिनन् वा गर्न आवश्यक नै पर्दैन भन्ने खालको बुझाइ पनि हुनसक्छ।
अर्को अचम्मको कुरा के थियो भने नचिनेका ग्राहक जब पसलमा आउँछन्, सधैं उनीहरूले सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘साहुजी खै?’ वा ‘साहुजी कतिबेला आउनुहुन्छ?’ वा ‘खै को हुनुहुन्छ यहाँ?’
एक जना युवती पसलमा बसेको ग्राहकलाई लाग्थ्यो, यो पसलको व्यापारी त पक्कै पनि कुनै एक पुरूष हुनुपर्छ वा उनीहरूलाई लाग्थ्यो होला, व्यापारी त प्राय: पुरूष हुन्छन् नि! कतिपयले त ‘साहुजी खै’ भनी सोध्थे। ‘साहुजी आएपछि आउँछु’ समेत भन्थे।
जब पसलमा नयाँ ग्राहक आउँछन्, अझैसम्म पनि यो क्रम चलिरहेको छ। उनीहरूले खोजेको वस्तु वा सेवा खोज्नुभन्दा पहिले उनीहरूले उक्त पसलमा 'साहुजी' खोज्छन्।
एक महिला व्यापारी जसलाई ‘मै हो साहुजी’ भनेर स्पष्टीकरण दिइरहनुपरेको छ। तर उनी सधैं मसँग भन्ने गर्छिन् कि, आफूलाई ‘मै साहुजी हुँ’ भनेर चिनाउनुमा नै आनन्द महसुस भइरहेको छ।
यो उनको व्यक्तिगत सन्तुष्टिको कुरा पनि हो र उनको आर्थिक स्वतन्त्रतामा यसले निकै ठूलो योगदान गरेको उनले महसुस गर्छिन्।
एक महिलाले व्यापार गर्दैगर्दा ग्राहकहरूले राख्ने अनौठा किसिमका जिज्ञासाहरूबारे उनलाई खासै अनौठो भने लाग्दैन। किनकि उनी यही समाजमा हुर्किएकी हुन्। यस्ता हरेक कुराहरू उनी मलाई सुनाउँछिन्। म यही समाजमा हुर्किएको भए पनि कतिपय कुराहरू भने मलाई अनौठो लाग्छ। उनले गरिरहेको व्यापारका सन्दर्भमा परिवारको साथ भने निकै महत्वपूर्ण छ।
ऋति फाउण्डेसनले वीरेन्द्रनगरमा २०७९ सालमा गरेको अध्ययनअनुसार वीरेन्द्रनगरमा फुटपाथ व्यवसाय गरिरहेकाहरूमध्ये ६० प्रतिशतभन्दा बढी महिलाहरू थिए। महिलाहरूको आर्थिक स्वतन्त्रताका लागि व्यापार/व्यवसायले निकै ठूलो भूमिका निर्वाह गर्छ नै। पारिवारिक आर्थिक विकासका लागि त योगदान गरी नै हाल्छ।
कम पुँजी भएकाहरूले सानो लगानीमा पुँजी संकलन र आर्थिक आम्दानी फुटपाथ व्यवसायबाट गर्न सक्छन्। विशेषगरी महिलाहरूले यसबाट विशेष फाइदा लिन सक्छन्, हाम्रो जस्तो समाजमा उनीहरूको आर्थिक स्वतन्त्रता र पारिवारिक समृद्धिका लागि।
उद्यमशीलता चाहे सानो लगानीको होस् या ठूलो, त्यसले लगानी अनुसारको प्रतिफल दिइरहेको हुन्छ नै। व्यावसायिक अध्ययनमा एउटा कुरा आउँछ, जति जोखिमः त्यति प्रतिफल। समाजमा जुन व्यक्तिले जोखिम लिन तयार हुन्छ त्यसले प्रतिफल प्राप्त गर्छ। त्यसमा कुनै लिंग वा कुनै विशेष व्यक्तिले मात्रै प्राप्त गर्ने भन्ने त पक्कै हुँदैन।
तर हाम्रो सामाजिक सोचले भने निकै ठूलो अर्थ राख्दछ। कुनै एउटा महिलाले आफ्नो आर्थिक स्वतन्त्रताको लागि चाहेको जागिर गर्न सक्दैन। वा चाहेको व्यवसाय गर्न सक्दैन। उनलाई श्रीमान वा परिवारको समेत साथ छ भने पनि सधैं समाजको डर हुन्छ। ‘दुनियाँले के भन्ने हो?’!
हो यही दुनियाँको डरले नै हाम्रो समाजमा धेरै महिलाहरू जोखिम लिन सकिरहेका छैनन्। उनीहरूले आफ्नो आर्थिक स्वतन्त्रताका साथै व्यक्तिगत स्वतन्त्रतालाई समेत गुमराहमा राखिरहेका छन्। र हरेक वर्ष प्रकाशन हुने सरकारी तथ्यांकहरूमा समेत महिला उद्यमीहरूको संख्या निकै कम छ।
महिला उद्यमीहरूका लागि सरकारले विशेष सहुलियत ऋण लगायतका सुविधा दिने भएपछि ‘महिलाका नाममा’ धेरै फर्महरू दर्ता भए। ती कतिपय ‘झोला’ का व्यवसाय थिए त कतिपय पुरूषले चलाएका व्यवसाय। सरकारले त महिला उद्यमशीलता वृद्धि गर्छु भनेरै त्यो नीति ल्याएको थियो। तर त्यसको नतिजा देखिएन।
केही समयअघि कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको तथ्यांक हेर्दा धेरै कुरा स्पष्ट भएको थियो। व्यावसायिक फर्महरू दर्ता व्यापक रूपमा भए पनि नविकरण न्यून मात्रामा भएका थिए। त्यो भनेको अनुदान प्राप्त गर्नको लागि फर्म दर्ता गर्ने, अनुदान प्राप्त गर्ने बन्द गर्ने। त्यस्ता फर्मलाई पछिल्लो समय 'झोला' का फर्म/कम्पनी पनि भन्ने गरिएको छ।
संविधानले मौलिक हकमा नेपालको जुनसुकै ठाउँमा पेशा व्यवसाय गर्ने हक प्रत्याभूत सबै नेपाली नागरिकलाई गरेको छ। कानूनी रूपमा नेपालमा महिला उद्यमशीलतालाई कुनै प्रतिकूल व्यवस्था छैन। तर हाम्रो समाजको मान्यताले ठूलो अर्थ राख्दछ। यसर्थ पनि हाम्रो समाजको मान्यतामा महिला उद्यमशीलताको आवश्यकता बोध गराउन आवश्यक छ। देशको विकासका लागि सामाजिक विकासको पनि निकै महत्व हुन्छ जति पूर्वाधार विकासको महत्व हुन्छ।
देशमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र प्रमुख सचिव जस्ता महत्वपूर्ण पदहरूमा महिलाले नेतृत्व गरिसकेका छन्। नेपालको संविधानमै समावेशी सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरिएको छ। तर हाम्रो समाज अझै पनि पसलमा सामान किन्न जाँदा ‘साहुजी’ खोज्दै छ!