मलाई पनि रहर छ; क्यानडाको नायग्रा फल्स पुग्न, युएसको नर्थेन लाइट अगाडि सेल्फी खिच्न अनि बालीमा स्विमसुटमा घाम ताप्न। तर यी सबै रहर पूरा गरेर मलाई फर्कनु यही देश नै छ। विदेश चक्कर मारेर आएको थकान पखाल्नु हाम्रै हिमनदीहरूकै पानीले छ।
असार मासमा रोपाइँको बेला टनाटन पानीले भरिएका खेतहरूमा बाउसे गरेर मलाई पुगेकै छैन। क्रिसमस मनाएर, सान्टाको गिफ्ट लिएर मलाई आउनु यही देश नै छ। निधारभरि राता अक्षता बोकेर ठुला-बादेखि कान्छा-बासम्मका घर पुगी आशिष् थाप्न मलाई पुगेकै छैन।
कुवाको पानीमा मुख डोबेर तिर्खा मेटाउने बानी परेको मलाई बोतलको पानीले आँत हरर बनाउँदैन। मिलमा कुटेको चिउराको कुरुम कुरुमलाई जति नै महँगो चिप्सले पनि जित्न सक्दैनन्। आमाले हालेको सेलरोटीको बास्ना र बाले ओडलेको ढिँडोको स्वाद म केही वर्षसम्म त विदेशमा रहेर आफूलाई रोक्न सकूँला तर जीवनभर म सक्दिनँ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए- 'घर चिन्न घर छोड तर घर नबिर्स।'
हो, परिस्थितिको पाङ्ग्रामा गुड्दै जाँदा म केही समय घर छोडिहिँड्न सक्छु तर घर बिर्सन सक्दिनँ। घर पनि बिर्सिएर बिर्सिइन्छ र कहीँ? आफू जन्मेको घर, खेलेको आँगन, हुर्केको गाउँ, डुलेको बस्ती! यो मस्तिष्कलाई चिरफार नै गरे पनि यो मानसपटलबाट ती अतीत मेटिन सक्दैन। टुक्रा-टुक्रा बनेर बाँडिएका छन् प्रत्येक कोष-कोषमा।
म ढाँट्दिनँ। मलाई पनि डलरमा कमाउन मन छ, पाउन्डमा गन्न मन छ तर खर्च भने रुपैयाँमा गर्न मन छ। अर्थात् बुझ्नु भयो होला, रुपैयाँमा खर्च गर्न कुन भूगोलमा फर्किनुपर्छ। म ढाँट्दिनँ; यो देशमा भ्रष्टहरूको कमी छैन, राज्यलाई लैनो भैँसी झैँ दोहेर आफ्नो स्वार्थको कराई भर्ने मानिसहरूको पनि कमी छैन। तर म फेरि ढाँट्दिनँ; यो देशमा हरेक क्षेत्रमा सच्चा, इमानदार, कर्मठ मानिसहरू पनि छन् जो आफ्नो दायित्व मरेर पूरा गर्छन्, समाजलाई दुःख पर्दा पग्लिने गर्छन्। यी पहिलो वालालाई पाखा लगाउन र दोस्रो वालालाई प्रोत्साहन गर्न पनि बिदेसिएकाहरू फर्कनुपर्छ।
कतिलाई देश छोड्नुपर्ने बाध्यता छ त कतिलाई रहर। कति आफ्नो खुसीको मापन आफ्नै जिन्दगी हेरेर गर्लान् त कति अरूको खुसीसँग तुलना गरेर गर्लान्। त्यो फरक कुरा हो तर तौलिनेहरूले रहर र बाध्यतालाई एकै तुलोमा राखेर काँटा उठाउनुहुँदैन। यो कुरा भने शाश्वत हो।
मलाई पनि रहर छ विश्वका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न, बढ्दो प्रविधिसँग अप टु डेट हुन अनि विकासका विभिन्न मोडेलहरू अवलोकन गर्न। तर त्योभन्दा ठुलो रहर मलाई ती आफूले सिकेका, देखेका, पर्गेलेका सबै-सबै प्रविधि र ज्ञानहरू आफ्नै देशको माटोमा छर्ने भोक छ।
यो भोक अहिलेको होइन, पहिलो पटक 'क' देखि 'ज्ञ' सम्म लेख्न सकेको बेलादेखिको हो। पहिलो पटक सरल गरेको उत्तर मिलाएदेखिको हो। पहिलो पटक नेपालको नक्सा सादा पन्नामा उतारेदेखिको हो। र, पहिलो पटक गुरुले 'स्याबास, ठुलो भएर देशको लागि केही गर्नू है' भने देखिको हो।
मलाई थाहा छ बाउआमाले पढाउन गर्नुभएको लगानीले थुप्रिएको ऋण तिर्न, भविष्यमा हुने बालबच्चाहरूलाई हाम्रो पुस्ताले भन्दा राम्रो शिक्षादीक्षा दिन मैले डलरमा कमाउनु पर्छ। तर कमाउनु र रमाउनु अलग पाटा हुन्। यिनको बिक रोचक अन्तरसम्बन्ध पनि छ। अहिलेको युगमा बिना कमाइ रमाई हुन सक्दैन भने बिना रमाई कमाइको पनि केही अर्थ छैन। म कमाउन सकूँला तर विदेशमा सधैँ रमाइरहन सक्दिनँ। किनकि साँझपख झ्याउँकिरीको संगीत नसुनी मलाई अझै निद्रा पर्दैन। टिमुरको अचारमा डोबेर उसिनेको मकै नखाँदासम्म मेरो पेट अझै अघाउँदैन। नागपञ्चमीमा लाखे नाच नहेरी, तिहारमा भैलिनीको देउसिरे नसुनी मेरो मन पुलकित हुन सक्दैन।
त्यसैले मलाई थाहा छ, म जहाँ भए पनि हराउने छैन। कहीँ जानी बाटो बिर्सिएँ भने पनि मेरो गाउँका जुनकिरीहरू बत्ती बाल्दै मलाई खोज्न निस्कनेछन्। सानामा मैले उडाउँदा उडाउँदै धागो चुँडिएर बेपत्ता भएका चंगाहरूले आफ्नो मालिक खोज्दै आउनेछन्। भिरालो चउरमा गुडाउँदा गुडाउँदै च्यातिएर धुजा-धुजा भएका बाँसका सुप्लाहरूले आफ्नो ड्राइभर खोज्दै आउनेछन्। म हराउनै सक्दिनँ। भाग्नै सक्दिनँ, देशदेखि गाउँदेखि।
त्यसैले विदेश जानु मेरो रहर होला, पलायन हुनु कदापि होइन। किनकि पटक-पटक बरु म पलाउन सक्छु तर एक पटक पनि पलायन हुन सक्दिनँ।