हाम्रा दिदीहरू दश बहिनी रे। दुइटी दिदीहरू सानैमा बित्नु भएछ। जेठी दिदी विवाहको केही समयपछि बित्नु भएको रे। उहाँलाई हाम्रो पुस्ताका कसैले देख्न पाएनौँ। बाँकी सात जना दिदीहरूमध्ये माइली दिदी हामीले थाहा पाएरै खस्नु भयो। पोहोर साल जन्तरी दिदी पनि स्वर्गीय हुनुभयो। अरू दिदीहरू हुनुहुन्छ।
हामी बा/काका बाका दिदी-बहिनीलाई ’दिदी’ भन्दै हुर्कियौँ। हामी दिदीबहिनी दाजुभाइ कसैले पनि आजसम्म हाम्रा सात वटी, अन्तरे हजुरबाका पाँच वटी र सानीमा हजुरआमाका तीन वटी छोरी समेत जम्मा पन्ध्र वटी फुपूहरूलाई ‘फुपू’ भनेनौँ; दिदी नै भन्यौँ। यसै गरी गाउँका अन्य दिदीहरूलाई पनि हामीले हम्मेसि फुपू भनेनौँ. त्यो भन्ने बानी नै भएन।
अलि टाढा दिएकी जेठी छोरी विवाहपछि अल्पायुमै बितेको तोडले हो कि, हाम्रा हजुरबा हजुरआमाले दिदीहरूलाई टाढा दिन रुचाउनु भएनछ। माइली, साइँली, काइँली, ठाइँली र अन्तरी दिदीलाई तीनपाटन फाँटकै गाउँहरूमा दिनु भएछ। जन्तरी दिदीलाई भने एक दिनको बाटो कमलाखुँजमा र कान्छी दिदीलाई भने अलि टाढै मधेसमा दिनु भएछ।
तीजमा भौगोलिक दूरीका कारणले ठाइँली दिदी र कान्छी दिदी उति आउनु भएन; परिवारले अंगीकार गरेको मूल्यमान्यता कारणले जन्तरी दिदी कहिल्यै आउन पाउनु भएन। बाँकी दिदीहरू तीनपाटनमा हाम्रो संयुक्त परिवार कायम रहुन्जेल प्रायः आउनु हुन्थ्यो। भिनाजुहरू सहृदयी हुनुहुन्थ्यो/हुनुहुन्छ। ती दिनमा कुनै दिदीले ‘यस पटकको तीजमा आउन नपाउने भएँ’ भनेर खबर पठाउनु भएन।
दर खाने दिन आफ्ना दिदीहरूलाई परैबाट चिनेर हामी केटाकेटी दिदीलाई लिन दौडिन्थ्यौँ। दौडिँदा धान वा काँसमा अजल्टिएर वा आलीमा चिप्लेर पछारिए पनि खासै दुख्दैनथ्यो। दिदी भएको ठाउँमा पुग्न अरूले उछिन्ने हुन् कि भन्ने मात्र ध्याउन्न हुन्थ्यो। दिदी माइततर्फ पाइला सारेपछि मुस्कुराउनु हुन्थ्यो कि माइतीघर देखेपछि मुस्कुराउनु हुन्थ्यो। हामीले भेट्दा मुस्कानसहितकी दिदीलाई भेट्थ्यौँ।
दर खाने दिन बेलुकाका लागि प्रायः चाम्रे पकाइन्थ्यो। हजुरआमा जुनसुकै तरकारी पनि धेरै मिठो पार्नु हुन्थ्यो। त्यसमा पनि आलुको तरुवा बनाउन बिछट्टै सिपालु हुनुहुन्थ्यो। हजुरबा आफै पनि भान्सामा सहभागी हुन रुचाउनु हुन्थ्यो। उसो त बा पनि भान्सामा सहभागी हुने मौका पर्खेर बस्नु हुन्थ्यो। आमा र दिदीहरू परिकार तयारीका विविध भूमिकामा हुनुहुन्थ्यो।
दर खाने दिनको बेलुकाको खानपिन अलि चाडै हुन्थ्यो। यो खानपिनमा ‘कसले बढी घिउ खान सक्ने’ भन्ने होड हुन्थ्यो। हामी केटाकेटी पनि आफ्नो वर्गमा यो प्रतिस्पर्धा चलाउँथ्यौँ।
दरको स्मरण हुनासाथ म ढकने र खल्पी सम्झिन्छु। दरमा अनेकौँ प्रकारका अचार बनाइन्थ्यो तर खल्पी सधैँ हुन्थ्यो। बा आफ्ना बहिनीहरूलाई औँल्याएर भन्नु हुन्थ्यो— दर खान उठाउँदा यिनीहरू राम्ररी ब्युँझिएकै हुँदैनन्। यिनीहरूलाई अमिलो खल्पी दिनु पर्छ, अनि ब्युँझिन्छन्।’
राति सुत्न लाग्दा दिदीहरू दर खाने ठिक समयमा नब्युँझिने पो हो कि भन्ने आशङ्का व्यक्त गर्नु हुन्थ्यो। त्यो आशङ्काको तरङ्गले हामी केटाकेटीलाई पनि स्पर्श गर्दथ्यो। तर हुन्थ्यो के भने दिदीहरू परस्परमा यति गफिनु हुन्थ्यो, यति हाँस्नु हुन्थ्यो, यति रुनु हुन्थ्यो कि उहाँहरू ननिदाउँदै वरपर हल्लखल्ल प्रारम्भ हुन्थ्यो। दर खाने समय कहिल्यै घर्किन पाएन।
तीनपाटनका कतिपय गाउँमा तीज सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएको थियो। विशेषतः हाम्रो गाउँ कदमेमा नेवार जनजातिको पनि बाक्लो बसोबास थियो। उनीहरू तीजलाई पर्वका रूपमा लिँदैनथे। तर नेवार परिवारकै पछिल्लो पुस्ता तीजको दरमा र नाचगानमा सामेल हुन थालेको थियो।
तीजको दिन गाउँ र वरपरका महिलाहरू प्रायः रातो वस्त्रमा सजिएर एकै ठाउँमा जम्मा हुन्थे र गाउँ-टोलका खोल्साखोल्सी छाडेर वारिपारिको साझा ठुलो नदीको रूपमा रहेको चँदाहा खोलाको किनारमा जान्थे। तीनपाटनका हरेक गाउँका सिधा चँदाहा खोलामा महिलाहरूका झुण्ड-झुण्ड हुन्थे। यही चँदाहाकै बगरमा हुन्थ्यो— महिलाहरूको स्नान र पूजाआजाको कार्य। अनि सुरु हुन्थ्यो— सँगिनी नृत्य।
सँगिनीमा महिलाका अनेकन् अवस्थाका दुःख र पीडाहरू अभिव्यक्त भएका हुन्थे। जस्तै तीनपाटन फाँटमा प्रचलित एउटा सँगिनी गीतमा गर्भवती अवस्थाकी महिला, जोगी र ती महिलाकी छोरी पात्रका रूपमा रहेका छन् र सँगिनीमा तिनकै कथा छ।
गर्भवती महिला जोगीको बारीमा पुगेकी हुन्छे। उसलाई सुन्तला जस्तो अमिलो जातको फल खाने तीव्र इच्छा हुन्छ। जोगीले सुन्तला टिपेर दिन्छ। महिला दङ्ग पर्छे र भन्छे— ‘छोरो पाए मितेरी लाउँला, छोरी पाए दिउँला है।’
छोरी जन्मिन्छे। हुर्किँदै आउँछे। जोगी भीख माग्न आउँछ। मुठ्ठी, माना, वा पाथी कति भन्छ। अन्नको भीख दिन आमाले छोरीलाई अह्राउँछे। तर जोगी अन्नको भीख अस्वीकार गर्दछ र भन्छ— ‘पाथीको भीख म किन लिन्थेँ, अघिको कबोल के थियो है!’
जोगीले सबै परिमाणका भीख अस्वीकार गरेपछि छोरीले त्यो कबोल भेउ पाउँछे र भन्छे— ‘हामरी आमा पापिनी रहिछ्यौ; गर्भै बेची खाइछ्यौ है।’
यसरी यस सँगिनीले गर्भवती महिलाको अवस्था, उसको तृष्णा, तृष्णा मेट्न पाउँदा फुरुक्क हुने प्रवृत्ति, छोरो पाए मितेरी गाँस्ने र छोरी पाए त्यो तृष्णा मेटिदिने पात्रलाई ज्वाइँ नै बनाउने भावुकता, जोगी/भोगी जे भए पनि बालिकालाई विवाह गर्न र नियन्त्रणमा लिन चाहने इच्छा र बालविवाहको अवस्थालाई अभिव्यक्त गरेको छ।
त्यस्तै, तीनपाटन फाँटमा प्रचलित अर्को सँगिनी गीतमा नन्द र भाउजूको घोचपेच छ।
नन्दको बाउ नेपालमा छ। उसले आफ्नी छोरीका नाउँमा गहना कमाएर पठाइदिएको छ। घरमा गहना पुगेपछि त्यो भाउजूले राख्छे; नन्दले लगाउन पाउँदिन। नन्दले यी सबै गुनासो अभिव्यक्त गरेपछि भाउजू बेरसिली भएकाले नन्दले गहना लगाउन नपाएकी हो भन्छे र दोष नन्दकै बिरसिलो स्वभावको हो भन्छे।
सँगिनीमा सवाल जवाफ यस्तो छ—
नन्द— ‘नेपालबाट बाबाले ढुङ्ग्री कमाइ पठाए, किन दिन्थिन् भाउजूले राखिन् आफैले।’
भाउजू— ‘रसिली हुँदी हौ, आफै झिकी लाउँदी हौ; बिरसिली नन्द उसै लर्की जाऊ।’
यसरी यस सँगिनीमा छोरी चेलीको सम्पत्तिमाथिको अधिकारको प्रश्न मुखरित भएको देखिन्छ। पैतृक सम्पत्तिमा छोरीको हक हुँदै हुँदैन, छोरीचेलीले पैतृक सम्पत्तिलाई हक लाग्ने वस्तुको दृष्टिले होइन दया मायाबाट मात्र प्राप्त हुनसक्ने वस्तुका रूपमा हेर्नु पर्छ भन्ने अर्थ यस सँगिनीले बोकेको देखिन्छ।
तीजलाई अझै पनि कठोर व्रतका रूपमा लिने गरिन्छ। ती दिनमा पनि तीजमा महिलाहरू दिनभर पानीधरि नखाईकन व्रत बस्ने गर्दथे। निराहार व्रतका क्रममा कतिपय कमजोर महिलाहरू हिँड्दाहिँड्दै, नाच्दानाच्दै बेहोस भएर ढल्ने गर्दथे।
यसरी ती दिनमा तीज विवाहित छोरीचेलीले माइत आउने, दिदीबहिनीका बिचमा भेटघाट हुने, विभिन्न प्रकारका शाकाहारी परिकारहरू तयार गरेर खाने पिउने, राति कुखुरा बास्नुअघि उठेर दर खाने, राता वस्त्र लगाउने, महिलाका दुःख पीडा उनिएका सँगिनी गीत गाएर नाच्ने, निराहार व्रत बस्ने पर्वका रूपमा देखिन्छ। समय क्रममा दर खाने समय, ढङ्ग ढाँचा र दरका परिकार आमूल परिवर्तन भएको देखिएको छ। तीजका सन्दर्भमा सँगिनी गीत भने हराए जस्तै भएका छन्।