म एक पटक मुम्बईको यात्रामा निस्किएकी थिएँ। मुम्बई जाने पहिलो पटक अवसर पाएर होला निकै उत्सुक थिएँ। नयाँ ठाउँ, परिवेश अनि ट्रेनको यात्रा पनि पहिलो नै थियो। खुबै रमाइलो मान्दै यात्रामै रमाएँ।
शुक्रबार बिहान ११ बजे मेरो परीक्षा थियो। मनमा चिन्ता, डरले सताइरहेको थियो। त्यसैले ढिलो पुगिएला भन्ने सोचेर ८ बजे नै होटेलबाट निस्किएँ। कति ठुलो सहर, कति धेरै मान्छे तर पनि व्यवस्थित देख्दा कास हाम्रो देश पनि भन्ने मनमा आयो। करिब २० मिनेट जतिको पर्खाइपछि ट्रेन आइपुग्यो। हतार हतार चढेँ र पहिलो सिटमै बसेँ।
मेरो छेउपट्टि एक अधबैँसे महिला थिइन्। हेर्दा त नेपाली जस्तै देखिन्थिन् तर बोल्ने आँट भने आएन। आफूलाई भने परीक्षा हलमा के हुने हो भने पिरले मन पिरोलिरहेको थियो। एक छिनमा उनको फोन बज्यो।
'हेलो, अँ आमा म आज नै घर आउँदै छु। के रे? किन? छोरी चाहिँ सन्तान हैनन् रे? म निस्किसकेँ ११ बजेको फ्लाइट छ चिन्ता नलिनुस्।'
ती महिलाले यति भन्दै फोन राखिन्। मैले कुरोको मेसो भने पाइनँ। नेपाली नै रहेछिन् भन्ने कुरामा विश्वस्त भएँ।
'दिदी, केही समस्यामा पर्नु भएको छ कि?'
'बहिनी नेपाली हो?' खुसी हुँदै सोध्नुभयो।
'हजुर दिदी,म नेपाली हुँ।'
'हो नि, त्यसैले त आजै नेपाल जाँदै छु।'
धेरै गहिरिएर सोध्न मन लागेन भनौँ या हामीसँग धेरै समय नै थिएन कुरा गर्न। तर जे होस् राम्रो परिचय भयो। दिदी पनि पश्चिमकै हुनुहुँदो रहेछ। मन झनै गद्गद् भयो। मेरो स्टेसन आउनै लागेकाले अरूको बाहिरी देशमा पनि यसरी भेट हुन पाएकोमा खुसी प्रकट गर्दै छुट्न पर्ने कुरा बताएँ।
म पनि हतारमा अनि उहाँ पनि हतारमै हुनु भएकाले हामीबिच धेरै कुरै भएन। मैले २/४ दिनमै नेपाल फर्किन्छु भनिरहँदा उहाँले नेपाल आएपछि सम्पर्क गर है भनी मोबाइल नम्बर दिनुभयो।
केही दिनको मुम्बई बसाइपछि म फर्किएँ। म खुसी थिएँ, नतिजा राम्रो आएको थियो। काठमाडौँ पुगेको भोलिपल्ट नै घर जानलाई बस टिकट लिएँ। घर पुग्दा सबै खुसीले प्रफुल्लित हुनुहुन्थ्यो। मेरो प्रगतिदेखि खुसी भएका बाउआमाको मुहारमा चन्द्रमाकै चमक थियो।
अर्को दिन मलाई ट्रेनमा भेटिनु भएकी दिदीको याद आयो।
फोन लगाएँ, संयोगवश दिदी घरमै हुनुहुँदो रहेछ। म घर आएको कुरा बताएँ। दिदीले पनि भेट्ने इच्छा भएको कुरा राख्दै, 'भोलि नै समय मिलाऊ शुभ काममा ढिलो सुस्ती किन' भन्नुभयो। तर कहाँ भन्ने एकछिनमै निधो गरी मेल गर्ने र अर्को दिन भेटिने वाचासहित फोन राख्नुभयो।
म भने उहाँको त्यस दिन फोनमा भएको कुराको रहस्य बुझ्नमा आतुर थिएँ। उहाँले मलाई होटेलको ठेगानासहित पठाउनु भएको मेल बेलुका मात्रै पाएँ।
समय- बिहान ११ बजे
स्थान- सिद्धार्थ होटेल, कर्णाली चिसापानी।
दिदीको घर कैलाली अनि मेरो घर बर्दिया भएकाले दुवैलाई सहज हुने गरी भन्नु भएको रहेछ।
भोलिपल्ट बिहानै म निस्किएँ। मलाई दिदीभन्दा अलिक छिटो पुग्नु थियो। त्यसैले घरबाट पनि ९:३० मै निस्किएँ। उहाँकै सल्लाह अनुरूप कर्णाली नदीको छेउमै अवस्थित सिद्धार्थ होटेलमै गएँ।
करिब ३० मिनेटको पर्खाइपछि दिदी आइपुग्नु भयो। मैले स्वागत स्वरूप नमस्कार टक्राएँ। कुर्न परेकोमा क्षमा याचन गर्दै बस्न आग्रह गर्नुभयो।
अनुहारको चमकले नै देखिँदै थियो पक्कै पनि केही शुभ छ। यसरी पुनः मिल्ने अवसर पाएकोमा दुवै मक्ख थियौँ।
'कस्तो रह्यो बहिनी मुम्बईको बसाइ?'
'रमाइलो रह्यो दिदी मेरो त। अनि हजुरको कस्तो हुँदै छ?'
'मेरो पनि राम्रै भयो नानी। कामले आएकी थिएँ अब भोली नै फर्किनु पर्ने छ। त्यसैले तिमीलाई आज भेट्न बोलाएकी।'
'साँच्चै दिदी हजुरलाई केही समस्या थियो हो?
'ए, अँ नानी त्यो घरको कुरा हो। मेरो बाबा बित्नु भएको ५ वर्ष भयो। हामी दुई बहिनी अनि मम्मी मात्रै हुनुहुन्छ। मेरो बाबाको ३ भाइ अहिले पैतृक सम्पत्ति छुट्टाउन खोज्दा मेरो जेठो बुबाले मम्मीलाई तिम्रा छोरा छैनन् किन चाहियो सम्पत्ति भन्नुभएछ।'
'हो र? अनि दिदी?'
'अनि के हुनु नि, म कर्तव्य निभाउनमा कहिल्यै छोरोभन्दा कम भइनँ। भलै प्रकृतिले मलाई लैङ्गिक रूपमा छोरी बनाइदिएको छ र म छोरी हुनुमा गर्व पनि गर्छु। तर मैले मेरी बहिनीलाई दाइको कमी महसुस हुन दिएकी छैन। मेरी आमालाई कहिल्यै छोरो भएन भन्ने कुरामा पछुतो छैन र हुन दिने पनि छैन। म मेरो परिवारको ढाल बनेकी छु भने लैङ्गिक असमानता देखाई पन्छ्याउन खोज्ने को हुन् तिनीहरू?'
'हो नि दिदी। अनि तपाईंले आफ्नो अंश पाउनुभयो?'
'मलाई लोभ सम्पत्तिको थिएन। मलाई घृणा छ त्यो सोचप्रति जुन यी मान्छे र यो समाजले आज पनि राख्दै आएको छ। हो बहिनी, मैले जितेँ। फलानाका छोरा छैनन् भन्ने यो समाज र मान्छेका मुखमा आज टालो लागेको छ।'
'साँच्चै भन्दा दिदीको र मेरो पारिवारिक समस्या एउटै भएकाले अझै बुझ्ने मन भएरै हजुरलाई भेट्न मन लागेको मलाई। आजको दिनमा पनि लैङ्गिक भेदभाव बोक्ने यो समाज देख्दा मात्रै पनि दया लागेर आउँछ।'
'हो नि कतिपय देश छोरीकै प्रतिनिधित्वमा चलिरहेका छन्। यहाँ हाम्रो देश भने अझै अंश र वंशमै अड्किरहेछ। सबै बुझ्दा बुझ्दै, देख्दा देख्दै पनि अझै भिन्नता छुट्टाउने यो सङ्कुचित सोचलाई हटाउनै पर्छ बहिनी।'
दिदीको परिवर्तनशील विचार सुनेर खुसी लायो। करिब डेढ घण्टाको बसाइपछि एक आत्मिक सम्बन्ध कायम गर्दै पुनः भेट्ने वाचासहित हामी छुट्टियौँ।
बेलुका मम्मीलाई सघाउन भान्सा पसेँ। बुबा पनि भान्सामै हुनुहुन्थ्यो। खाना बनाउँदै गर्दा मैले सोधेँ, 'मम्मी, हजुरलाई कहिल्यै मेरो छोरा भइदिएको भए हुन्थ्यो लाग्यो?'
बुबाले पुलुक्क मुखमा हेरेर भन्नुभयो- 'नानी, मेरा तीन छोरी नै कसैका छोराभन्दा कम छैनन् त हामीलाई पछुतो किन लागोस्!'
उहाँहरूको सन्तोषजनक उत्तर पाएर मैले उहाँको मुहार नियालेँ। आफ्ना सन्तान छोरी हुनुमा गर्व झल्किरहेको पाएँ। बुबा-मम्मीको विचारबाट अझै प्रभावित भएर हाँस्दै म पनि आफ्नो कोठातिर लागेँ।
टेबलमा राखेको किताब समाउँदै पढ्ने कोसिस गर्छु तर दिनमा दिदीसँगको भेटमा भएका कुरा मनमा खेलिरहे। किताब बन्द गरेर पल्टिएँ। सम्झिन पुगेँ त्यही अतीत जति बेला छोरा छैनन् भनी मेरी मम्मी आफ्नै परिवारबाट अपहेलित हुनु परेको थियो। हामीलाई पनि पैतृक सम्पत्तिबाट वञ्चित गराइएको थियो। यति सबै हुँदा पनि उहाँहरूको हामीप्रतिको लगाव देख्दा साँच्चै संसारकै भाग्यमानी सन्तान हामी तीन बहिनी नै हौँ जस्तो लाग्छ। म निकै खुसी छु कि मेरो जन्म उहाँहरूको कोखबाट भयो।
बुबाले कहिल्यै भेदभाव गर्नु भएन। अरूले छोरीको त बिहे गरिदिने उमेर भयो है भनिरहँदा पनि मेरो घरबाट मेरो बिहेलाई लिएर कुनै दबाब दिनुभएन। उल्टै मजाक मजाकमै बोल्नेहरूको मुख बन्द गरिदिनु हुन्छ।
कतिपय छोराहरूले बुढेसकालमा बाउआमालाई वृद्धाश्रम पठाएका, बाटोमा बेवारिसे छोडिदिएका देखिरहेको यो समाज अझै पनि किन छोराभक्त भएको? किन चिता जलाउन अझै पनि छोरा नै रोजिन्छ? किन अंशको कुरामा छोरै चाहिन्छ? किन वंश चलाउने कुरामा छोरा नै खोजिन्छ?
छोरी र छोरा जन्मिने बाटो नै फरक हुन्छ हो? कि त ९ महिना बस्ने आमाको गर्भ नै भिन्नै हुन्छ?
म छोरी नै हुँ तर कसैका छोराभन्दा कम छैन। फलानाकी त छोरी मात्रै छन् भन्नेहरूको अघि कहिल्यै छोराभन्दा कम भएकी छैन र हुने पनि छैन।
यसर्थ मैले आफैसँग वाचा गरेकी छु; वंश चलाउन होस् या चिता जलाउन छोरा नै खोज्ने यो समाजमा म एक कुशल छोरी भएर आफ्नो कर्तव्य निभाउने छु। छोरी अर्काको घर जाने जात न हो पढाएर के गर्छस् भन्नेहरूको अघि छोरी हुन् त फलानाकी जस्ती भन्ने बनाउने छु। आजसम्म छोरा छैनन् भनी कहिल्यै नपछुताएको मेरो परिवारलाई अब पनि पछुताउन पर्ने दिन ल्याउने छैन।