छिँडीको पुरानो भर्याङ चढेर मटान पुग्ने बित्तिकै पूजा चौकी थियो। पूजा चौकीसँगै जोडाएर राखेको आमाको बिहेको दराज। त्यो दराजमाथि सिसाको गिलास अनि गिलासमा सजाएर राखिएका थिए केही कलमहरू।
घरमा बेला बखतमा आउने पाहुनाहरू चौकामा राखिएको त्यो दराजको खुब तारिफ गर्थे। गोलो सिसा भएको, साह्रै राम्रो छ भन्थे।
अरूले दराजको बखान गाउँदा, म ठाडो घाँटी लगाएर त्यो दराज माथिको सिसाको गिलास कल्पिएर हेर्थेँ। तन्किएर, उफ्रिएर र आफूभन्दा सानी बहिनीलाई उचालेर गिलास झार्ने प्रयास गर्थेँ। बल्लबल्ल ४ फिटको दराज, जति कोसिस गरे पनि गिलास भेट्टाउनै नसकिने।
मेरो रुचि गिलासमा भन्दा पनि त्यसमा सजाएर राखिएको कलममा थियो। कलमहरू बाले कताबाट जम्मा पार्नुभयो होला, कहाँ पाइन्छ होला मलाई जिज्ञासा लाग्थ्यो।
'आमा, यो कलम कहाँबाट लेराएको?'
'खै एक–दोडा तेरा बाले अफिसबाट लेराउनु भएको हो क्यार, अरू मामाघरबाट ल्याएको।'
बल्लबल्ल आफ्नो नाम लेख्ने मेरा बालाई कलम जोड्न भने निकै सौख थियो। खै किन हो मलाई बाको यो सौख उदेक लाग्दो लाग्थ्यो।
'लेख्न नजान्नेलाई कलम किन चाहियो, मलाई दिए भैगो नि।'
'तँ ठुली भएपछि दिउँला।'
छिँडीको आँखीझ्यालमा बसेर शिशिर वसन्तको कथा पढ्दै म आमालाई भन्ने गर्थेँ। यो कथा पनि बाले नै किनिदिनु भएको, शिशु कक्षामा प्रथम भएको भएर। आमा मेरो शिक्षक, श्रोता अनि साथी हुनुहुन्थ्यो।
'मिसले भन्नुभएको, म कक्षामा सबैभन्दा बढी जान्ने अनि बाठी रे। अनि म ठुली पनि रे।'
'लौ लौ'
'साँच्ची क्या आमा, ठुलीआमाले पनि छोरी ठुली भई भन्नु भयो।'
'अँ कत्ति न ठुली भाकी, कलमले लेख्न ४ कक्षा पुग्नु पर्छ। सग्लो लेख्नु पर्छ। दुनोट सबै जान्नु पर्छ, २ एकाने २, २ दुना ४... खै त, दुनोट १० सम्म आउँछ? त्यत्तिकै... पख् न बेला आउँछ क्या।'
आमा सँगको जुहारी चली नै रहन्थ्यो। मेरी आमालाई मेरो कलमप्रतिको रुचि रमाइलो लाग्थ्यो।
आज त एउटा नलिई छोड्दिनँ भन्ठानेर बिरालो चालले मटानमा उक्लिएर दराज माथिको गिलासलाई झार्न एकपल्ट उफ्रियो, बा कहिले मटान भित्रको कोठाबाट कहिले छिँडीबाट कराउनु हुन्थ्यो- 'ए त्यो नचला, भोलिपर्सि मसीले लेख्ने भएपछि चाहिन्छ।'
'ए साइँला कत्ति कराको, ठुली कलमको तिर्सना गर्छे, एउटा दे न, भैगो नि,' हजुरआमा मेरो पक्षमा वकालत गर्नुहुन्थ्यो।
'यिनीहरूलाई बेला न कुबेला बजिनेला। दिउँला नि भोलिपर्सी। अहिले किन? पछि किन्न परे दमौडी चाहिन्छ, भन्ने बित्तिकै गिरिक्कै। जेको नि जोहो गर्नु पर्छ आमै, संहार गर्न जान्नुपर्छ।'
बा कराएपछि सबै चुप। आफू त बालख मान्छे, अब मार्ने भए भन्यो टाप कस्यो। एवम् रीतले गिलासले मलाई र मैले बालाई जिस्काउने क्रम चली नै रह्यो।
उमेरले मभन्दा ४३ वर्ष जेठा मेरा बाको काँध अलिकति कुप्रिएको र गाला मुजा परेको, हेर्दा ६० वर्ष जस्तै देखिने। ४२ औँ वसन्तमा आफूभन्दा २४ वर्ष कान्छी मेरी आमालाई उहाँले सहयात्रीको रूपमा घर भित्राउनु भएको थियो रे। जाय जन्मसँगै हाम्रो परिवार भयो, हजुरआमा, बा, आमा, म, बहिनी र भाइहरू।
वर्ष फेरियो, कक्षा फेरियो अनि कलमले लेख्ने पालो आयो। फुरुङ्ग हुँदै दराज माथिको गिलासलाई हेरेर सोचेँ, अब यो सबै मेरै।
बाले दंग परेर कामेका हातले दराजको माथि राखेको सिसाको गिलास निकालेर मतिर फर्किँदै भन्नुभयो, 'लौ अब मसीले लेख्ने बेला भयो। मैले जतन गरेको यसै हो र? तिमीहरूकै लागि त हो। ल लि एउटा।'
आहा! कति रमाइलो। अब त मसीले लेख्न पाइने भइयो। सेतोमा निलो धर्का भएको डटपेन बोकेर कुद्दै मटानबाट छिँडीमा आएर नयाँ कापीमा नाम कोर्न खोजेको त खाली धर्का मात्रै देखिन्छ!
'ए बा, लौन कलमले लेखेन,' मेरो उत्साहमा रोदन मिसियो।
'खै यता ले त ले' भन्दै बाले कामेका हातले कलम समाएर कापीमा कोर्नु भयो। चाउरी परेको निधारमा मुजा बढाउँदै एक/दुई पल्ट झट्कार्नु भयो। 'ए मसी सुकेछ क्यार, पख् म अर्को ल्याउँछु' भन्दै गिलासका सबै कलम झिकेर ल्याउनुभयो।
एक-एक गर्दै कापीमा कोर्न थाल्नुभयो।
एक, दुई, तीन गर्दै सबै कलमको पालो आउने भयो।
'छिटो लेख्नु न क्या, किन नलेखेको यो कलमले? भन्नु न भन्या,' मेरो पिन्चे रोदनले बालाई पोल्यो सायद बाले कापीमा एकोहोरो कोरिरहनु भयो।
'भयो के बा, नगर्नु न, मेरो कापी पनि च्यातिन्छ। म केमा लेख्नी नि अनि,' मैले बालाई रोक्न खोजेँ।
'नकरा न, एउटा न एउटाले त लेख्ला नि,' एवम् रीतले सबै कलमको पालो सकियो। अनि बाको हात पनि रोकियो।
'हेर् त सबै सुकेछ,' ती कलम हेर्दै भन्नुभयो।
'अनि अब म के ले लेख्ने त? मिसले मसीले लेख्नु भन्नु भएको छ क्या।'
'पख् र पख्, नयाँ फुल्टिन किन्दिम्ला।'
'कहिले किन्दिनी, कस्तो किन्दिनी, मलाई त सेतोमा निलो धर्को भएको चाहिन्छ, त्यो अघिको जस्तै।'
'लौ, लौ त्यस्तै किन्दिउँला भो अब, पख् एकछिन,' बाले ती कलमहरू जम्मा पार्नु भयो, गन्नु भयो र गिलासमा हालेर फेरि जतनले दराजमाथि राख्नु भयो।
'ए बा, यो नलेख्ने कलम किन राख्न पर्यो फेरि? फाल्दे हुन्न भन्या?'
'खाली गिलास राख्न हुन्न क्या। हेर् त, गिलासमा कलम कति शोभा देखिएको, सुकेर के भो त? अब भोलिपर्सी तिमीहरूले लेख्ने कलम ल्यार त्यसमा राख्नू।'
उज्यालो अनुहार लगाउँदै बा मेरो लागि कलम किन्न पसलतिर लाग्नुभयो। जामाको फुर्का खेलाउँदै म बाको पछि लागेँ– नयाँ फुल्टिन किन्न।