कक्षा १२ को परीक्षा सकिनु अगावै विद्यार्थीहरू कुन देश जाने भनेर खोजी गर्न थाल्छन्। नेपालको सपनालाई विदेशको सफा सहर, राम्रो कक्षाकोठा, झिलिमिली बत्ती, सेवा सुविधाले जितेको हो र? के अब युवालाई नेपालमा रोकेर राख्ने कुनै सम्भावना छैन?
रोकेर राख्ने भन्नु नै मेरो मूर्खता हो, रोकेर रोकिन्नन् आजका युवा। जीवन जिउँदै हिँडेको चरोलाई रुख विश्राम गर्ने साधन मात्रै हो, थाकेको बेला, हरेस खाएको बेला। विदेश गएका तमाम युवा त्यही होलान् सायद, जीवन जिउन हिँडेको चरो जो अब नेपाल त्यही हरेस र थाकेको बेला मात्रै फर्कने छ। यो परिस्थिति किन आयो?
समय परिवर्तनशील छ, समयको गतिभन्दा अगाडि जानु नि दुर्घटना हुन्छ र पछि पर्नु पनि दुर्घटना हुन्छ। मध्यम धार अपनाउन अझ कठिन हुँदो रहेछ। मध्य धारले सधैँ जीवनमा एउटा उकुसमुकुस छाइदिने रहेछ। न अझ प्रगतिको बाटा जान साहस आउने न सामान्य नै रहने जोस हुने। त्यो अन्योलले सधैँ जसो खाने रहेछ, पोल्ने रहेछ। आज विदेश कि नेपाल त्यही दोधारको सँगालो हो।
के मान्छेले सपना देख्ने छाडेको हो? त्यो अवश्य पनि होइन। मान्छे आज हिजोको भन्दा अझ सपना देख्ने भएको छ, कल्पशीलता अझ ठुलो भएको छ। विज्ञान र प्रविधिले आज हामीलाई जुन सुविधा दिएको छ, त्यसले आज हाम्रो सपनालाई अझ बृहत्तर बनाएको छ। त्यही सपना पूरा गर्न आज लाखौँ युवा विदेशमा छन्। तर के त्यो युवा सपना पूरा गर्न दौडेका हुन् कि देश छोड्न भागेका हुन्? त्यसको उत्तर त्यति सजिलो नहोला।
प्रत्येक युवा जसले आज जतिसक्दो छिटो देश छोड्नु पर्छ भन्ने गर्छ। आज उसमा सपनाको खडेरी छ। हाम्रो सामाजिक, आर्थिक र राजनीतिक पक्षले हाम्रो सपनालाई बन्देज लगाएको छ। कल्पना गर्नुस् त, आजभन्दा १० वर्ष अगाडि तपाईंले देखेको सपना के थियो? सपनाहरूले समयसँगै आकार लिँदै जाने हो। तर आज त्यो सपनालाई हामीले पछ्याउन एक रत्ती पनि समय दिन्नौँ। सोच्ने चेष्टा पनि गर्दैनौँ। हाम्रो सपना त्यति कमसल थिए होलान् र!
कसैको सामान्य शिक्षक, कसैको तल्लो तहदेखि भए पनि लोक सेवा दिने, सामान्य जागिर र सुखी जीवन। अधिकांशको यही सपना थियो भन्ने म अनुमान गर्न सक्छु। तर आज शिक्षक होस् कि लोक सेवाको हाकिम नै किन नहोस्, सबैमा विदेशी सपना हाबी भएको छ। किन हामीमा त्यो सपना हाबी भएको हो?
अनुमान लगाउनुस्, १० वर्ष अगाडि तपाईंले लोक सेवा, शिक्षक र राम्रो जागिरको सपना देख्दै गर्दा हाम्रो समाजमा त्यसको उदाहरण कति थियो। मेरो विचारमा धेरै नै थियो। ६/६ महिनामा बिदामा आउने ती हाकिम, स्कुलको शिक्षक भएरै आर्थिक र सामाजिक रूपले राम्रै हैसियत बनाएको मान्छेहरूको समाजमा राम्रो उदाहरण हुन्थ्यो। तर आज समयको चक्रले नयाँ बाटो लिएको छ। अब त्यो सपनाहरू विस्थापित हुँदै छन्।
आजको समाजले नयाँ मानकहरू स्थापित गर्दै छ। अब गाउँघरमा शिक्षक, लोक सेवाको कथा होइन, २/४ वर्षमा त्यसले घर जोड्यो, बुबा-आमालाई घुमाउन लाग्यो, मनग्य पैसा कमाएको कथा हाबी भएको छ। समाजले आफ्नो कथाहरू आफै बुन्ने हुन्। त्यही भएर आज १२ सकेको विद्यार्थीलाई आउने जीवन कसरी जिउने भन्ने कथाको कमी भएको छ। आज विदेशको कथा हामी माझ हाबी भएको छ।
नयाँ नेपाल बनाउने नेताहरूको कथा कथनमै रहला तर जनता र सामान्य मानिसले आफ्नो कथा आफै बुन्ने हुन्छन्। अझ समाजले आफ्नो कथा आफै खोज्दै अग्रसर हुन्छ। अहिले नेपाली युवामा त्यही सपना र कथाको खडेरी लाग्या छ। उद्यम गर्नेको कथा, कृषि कर्म गर्नेको कथा, शिक्षक बन्नेको कथा, लोक सेवा दिएर भ्रष्टाचार रहित कर्म गर्ने कथा, प्राज्ञिक कर्म गर्नेको कथा हामीमाझ ओझेलमा परेका छन्। अब बाँकी छन् त भ्रष्टाचारको कथा, ठेक्कापट्टामा लागेर केही समयमै मनग्गे कमाएको कथा, अवसरको कमीले राम्रो विद्यार्थीले भोग्नु परेको व्यथाको कथा, जागिरको खोजी गर्दागर्दै घर-व्यवहार बिग्रिएको कथा।
अब कसले बुन्नेछन् ती राम्रो कथाहरू? यो जिम्मा समाजलाई छोड्नु नै उचित होला तर हामीमाझ एउटा प्रश्न खडा भएको छ, के हामी हाम्रोमाझ भएको राम्रो कथालाई अगाडि ल्याउन कति अग्रसर छौँ? अब त्यो जिम्मा हाम्रो पुस्तामा आएको छ; आफ्नो कथा आफै बुन्ने, हामीमाझ भएको कथालाई प्रोत्साहन गर्ने, ऊर्जा थप्ने नत्र कोही किन विदेश नजाओस्!