धेरै दिन भयो बुवाआमा अनि भाइलाई नभेटेको भनेर म उहाँहरूसँग बस्न गएँ। छुट्टीको दिन, जाडो मौसम, सानो हुँदादेखि नै घरमा घाम तापेर सबै जना बसेर सुन्तला खाने। आज पुराना दिन याद आयो।
ती दिनहरू सम्झेर सबैसँग बस्न जाँदा कौसीको ढोका अलिकति मात्र खुला थियो। छिर्न लागेको त ठ्याक्क बुवाले आमालाई 'छोरीलाई यो कुरा नभन है, आफ्नो घर गृहस्थी बल्ल त सम्हाल्दै छे, अब यताको कुरामा उसलाई धेरै संलग्न गर्नु हुन्न' भनेको सुनेँ।
म स्तब्ध भएँ।
घरको जेठी छोरी, सधैँ सबै कुरा बुवाआमाले मलाई भन्नु हुन्थ्यो। भाइ सानो भएर नि होला, मसँग त सुख दुःख सबैभन्दा पहिले बाँड्नुहुन्थ्यो। यो अनुभव मेरो लागि नौलो थियो।
एकदम नौलो! तर मेरो आँखाबाट झरेका आँसुको लागि एकदमै नरमाइलो र अविस्मरणीय क्षण।
त्यही पनि सायद जिन्दगी यस्तै रहेछ भनेर हतार-हतार आँसु पुछेर सबैसँग बस्न गएँ। सबै जना बसेर बदाम र सुन्तला खायौँ। मेरो मनमा अवश्य पनि त्यो कुरा आइरहेको थियो, सुन्तला अलि अमिलो भए जस्तो लागिरहेको थियो। तर मैले त्यो कुरालाई बेवास्ता गर्ने प्रयास गरेँ।
एक महिनापछि ठुलोबुवाको घरमा खान बोलाउनु भएको थियो। उहाँले एउटा काममा सफलता पाउनु भएको खुसीको अवसरमा भेटघाट थियो। मेरो बुवा र ठुलोबुवाको परिवार मात्र थियौँ। मलाई एकदम माया गर्ने मेरो ठुलोबुवाले 'ओहो! छोरी आयौ? यो खुसीको मौकामा तिमीलाई त मैले सम्झिएर बोलाएको नि' भन्नुभयो।
म बच्चादेखि सबैको प्यारी थिएँ। आहा! अहिले पनि म सबैको प्यारी नै रहेछु जस्तो लाग्यो। तर फेरि ठ्याक्क 'सम्झेर बोलाएको' भन्ने शब्द याद आयो। आजसम्म बुवा, भाइलाई त कहिले ठुलोबुवाले सम्झिन परेकै थिएन। उहाँहरू त कुनै खुसीको मौका भएकी आफै सूचीमा आउनुहुन्थ्यो।
बच्चादेखि जो मेरा आफ्ना थिए, म उहाँहरूको लागि 'पाहुना' भएछु जस्तो लग्यो।
नचाहँदा नचाहँदै पनि मेरो मनमा यी सबै कुरा खेल्न थाले। बुवाको नाममा चुल्है निम्तो आउँदा सधैँ पार्टीमा जान प्रफुल्लित हुन्थेँ, अबदेखि त्यो चुल्है निम्तोमा जान मिल्दैन रे! बुवा त अस्तिसम्म हजुरबुवाको चुल्है निम्तोमा जानु भइरहेको थियो।
ओहो! बरु यो उमेरमा पनि बुवा हजुरबुवासँगै जोडिनु भइरहेको रहेछ। मलाई त यो समाजले आफ्नो बुवाआमासँगको सामाजिक नाताबाट यति सानो उमेरमै स्वतन्त्र गरिदिएछ।
छोरी विवाहित भएपछि नयाँ घर जानुपर्छ, त्यहीँ घुलमिल हुनपर्छ। पछाडि फर्केर आफ्नो माइतीलाई हेर्न हुन्न भनेर बाल्यकालदेखि सिकाइन्छ। अझ पहिलेको जमानामा यस्तो प्रथा कति हुन्थ्यो रे।
म पहिलेदेखि नै 'ह्या, अहिलेको जमानामा नि यस्तो हुन्छ? अहिले सब परिवर्तन भइसक्यो' भनेर कराउने मान्छे। आफू यही परिस्थितिमा हुँदा पनि ठिकै छ नि त, म दुवैतिर हेर्छु भन्ने लाग्थ्यो।
एक दिन म र मेरो श्रीमान् बसिरहेका थियौँ। अनि उहाँ आफ्नो बुवाआमाका एकछिन गफ गरेर आउँछु भन्नुभयो। म धोएर ल्याएको लुगा मिलाइरहेको थिएँ, म आफ्नो काम गर्न लागेँ।
धेरै बेर भइसकेको थियो। खाना तयार थियो। म उहाँहरूलाई खान बोलाउँछु भनेर गएँ। ठ्याक्क कोठा बाहिर धोका ढकढक गर्न लागेको, 'बुहारीलाई यो कुरा नभन है, उसले यो थाहा पाएर नि के गर्छे र' भनेको सुनेँ।
मेरो आँखा अगाडि ठ्याक्क आफ्नो बुवाआमाले कौसीमा भन्नुभएको त्यो कुरा आयो।
आखिर के रहेछ त यो जीवन, कसैले नि मलाई केही कुरा भन्नै नहुने!
चुपचाप भान्छामा गएँ र एकछिनमा फेरि बोलाउन आएँ।
एक मन त लाग्यो कि सायद यो सब नसुनेकै भए हुने रहेछ, मन खल्लो मात्र भयो। तर फेरि लाग्यो कि यो सुन्न मेरो लागि एकदम जरुरी थियो, अंग्रेजीमा भनिन्छ नि 'रियालिटी चेक!'
लगभग ३ हप्तापछि मेरो श्रीमानले एक जना नाता पर्ने बहिनीको बिहेको कुरा एउटा ठाउँमा चलिरहेको र सायद पक्का हुन लागेको छ भन्नुभयो।
‘आमाले कुरा पक्का भएपछि मात्र तिमीलाई भनम्ला भन्नु भएको छ, मैले त खुसीको खबर भएर मन थाम्नै सकिनँ। आमाले तिमीलाई भन्दा आफूलाई थाहा नभएको जस्तो गर है' भनेर थप्नुभयो।
'हस्' भन्दै म आफ्नो काम गर्नतिर लागेँ।
मलाई केही फरक परेन भनेर म झुट बोल्दिनँ, मेरो चित्त दुख्यो। यति सानो कुरा, त्यो पनि खुसीको। मलाई भन्नलाई यति सोच्न पर्ने के थियो र! संसारको लागि छोरीको घर विवाह गरेर गएको घर हुन्छ, तर के आफ्नो घरमा आफूसँग यस्तो व्यवहार हुन्छ र?
जस्तो अनुभव मलाई मेरो विवाह घर र जन्म घरमा भएको थियो, त्यो स-साना कुरा थिए। मैले कसैसँग यो कुरा भन्दा पनि भनिनँ, बढाइचढाइ गर्न सायद केही कुरा नै थिएन। तर यो सबले मेरो मनमा एउटा प्रश्नलाई जन्म दियो- मेरो आफ्नो घर खोइ त?
कृपया मेरो घर खोजिदिनुहोस्।