जेठ २९ गतेको दिन मनमा छुट्टै खुलदुली थियो। भोलि बिहानै शे–फोक्सुण्डो यात्रामा निस्किने कुरा मानसपटलमा राखी सुतेकोमा बिहान सखारै निन्द्रादेवीको काखबाट उठियो। यात्राका लागि चाहिने अत्यावश्यक सर–समानको बन्दोबस्त मिलायौँ। बिहानको सवा ११ बजे शे–फोक्सुण्डो लागि ‘यात्रा एक, दृश्य अनेक’ भन्ने सोचेर म लगायत सबैजना यात्राको लागि तयार भयौँ।
हामी यात्राको प्रारम्भमै बाटोमा पर्ने कुपिण्डे दहको मनोरम दृश्यमा रमायौं। कुपिण्डे दहमा तस्बिर लिई हाम्रो यात्रा सल्यानको सदरमुकामतर्फ सोझियो। बाटोमा गुँहेली, काफल, ऐसैलु चुत्रा, आलुबखडाको स्वाद लिँदै सल्लाघारीको सिरसिर हावाको सुमधुर आवाज र बाटोमा देखिने टिमुर, सुन्तला बगानको दृश्यहरूलाई आँखाले नियाल्दै सल्यानको सदरमुकाम पुग्यौं।
सल्यान सदरमुकाम खलंगाको दृश्यहरूले मन लोभियो। हामी सल्यान सदरमुकाम खलंगाबाट श्रीनगर हुँदै राप्ती राजमार्गमा हिँड्यौं। राजमार्गमा बराला गाउँ पर्छ। त्यहाँ एलिसा होटलमा गएर खाजा खायौं।
एलिसा होटलका साहुजीको होटल व्यवस्थापन, होटलमा आउने ग्राहकलाई गर्ने सत्कारले खुशी बनायो। बागचौरका सुन्तला बगैँचा हैर्दै हाम्रो यात्रा सल्यानको सिद्धकुमाखतर्फ मोडियो।
त्यतैबाट दार्मा गाउँपालिकातर्फ लाग्यौं। सल्यान जिल्लाका विभिन्न रमणीय स्थान अवलोकनपछि रूकुम पश्चिमको चौरजहारी नगरपालिका पुगियो। भेरी नदीको किनारमा अवस्थित भूगोल भएको चौरजहारी पर्यटकीय हबका लागि सम्भावित क्षेत्र रहेको महसुश भयो।
संघीयता पछिको गाउँमा भएको विकासलाई चौरजहारी पुगेर हेर्ने मौका मिल्यो। विकासका हिसाबले चौरजहारीलाई नमुनाका रुपमा बुझ्न सकिनेरहेछ। हुन त यहाँ मध्यपहाडी लोकमार्गमा निर्माण गरिने सहरको अवधारणामा अघि बढेकाले पनि होला। यद्यपि चौरजहारीको विमानस्थलमा भने सन्नाटा छाएको लामो समय भएछ। कालोपत्र भएर टलक्क देखिने विमानस्थलमा विमान अवतरण र उडान हुन छोडेका रहेछन्।
चौरजहारी छोडेपछि हामी रूकुमपश्चिमकै आठविसकोट नगरपालिकाको रिम्ना दोभान हुँदै जाजरकोटको सदरमुकाम खलंगा पुग्यौं। हाम्रो हाम्रो शे–फोक्सुण्डो यात्राको पहिलो साँझको बसाई जाजरकोट खलंगामै भयो। पहिलो दिनको मेरो गाडी यात्रा कल्पना गरेको भन्दा अलि भिन्न थियो। बीचमा मौसमका कारण भोग्नुपरेको कठिनाईले पनि सहज महसुश भएको थिएन।
यात्राको दोस्रो दिन हामीले जाजरकोट दरबार अवलोकन गर्यौं। दरबारबाट जिल्ला प्रशासन कार्यालय र मातहतका अरू निकायले पनि केही समयअघिसम्म कार्यालय चलाएका रहेछन्। २०८० को भूकम्पले ती कार्यालय अन्यत्र स्थानान्तरण गरिएको रहेछ। दरबार भत्किनै लागेको रहेछ। १८५२ सालमा निर्माण गरिएको जाजरकोट दरबारले १९९० सालबाट यता तीन वटा भूकम्प खेपेको रहेछ। आफ्नै मौलिकता, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको पुर्खाको नासोको रुपमा रहेको दरबारलाई यात्राको दोस्रो दिन नजिकबाट अवलोकन गर्ने मौका मिल्यो।
जाजरकोटका सुन्दर र मनोरम दृश्य नियाल्दै सदरमुकामबाट हाम्रो यात्रा डोल्पातर्फ सोझियो। ठूलीभेरी र सानीभेरीको संगमस्थल रिम्ना दोभान बिहान साढे ८ बजे पुगियो। बिहानपखको खाजा रिम्ना बजारमा खायौं। त्यहाँबाट डोल्पा जान ठूलीभेरी नदीको किनारैकिनार सडक रहेछ। नदी र आसपासका दृश्य निकै सुन्दर रहेछन्। वारिपारी ठूला पहाड, बीचमा नदी, नदीको छेउमा सडक। हामीले पहाड छिचोल्दै, नदीलाई दाहिने र देब्रे पार्दै यात्रालाई निरन्तरता दियौं।
बिहानको साढे ११ बजे जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने तल्लुबगर पुगियो। हामीले त्यहीँ बिहानको खाना खायौं। सबै भोकाएको भएर होला खानाको बारेमा केही भनेनौं। तर अघिल्लो दिनको खलंगाको बसाई र खानामा केही स्वादको अभाव भएकाले कसैको अनुहारले भने खिन्नता प्रकट गरेका थिए।
मेरो डोल्पा यात्रा दोस्रो पटक थियो। मसँग हिँडेका रोयल सर र खनाल दाजु लगायतका केहीका लागि यो यात्रा नयाँ थियो। उहाँहरूको लागि यो क्षेत्रको भिर, डाँडा, पाखा नदिनालाका दृश्यहरू नयाँ थिए। उहाँहरूका अनुहारमा देखिने उत्साहले त्यो प्रस्ट देखिन्थ्यो। जति सक्दो त्यहाँको हावापानी, मन र माटोलाई खोतल्दै यात्रालाई जीवन्त परिपक्क बनाउन खनाल दाजुले टिमुरको सुगन्ध लिँदै देउडा गीतको लयमा रमाइला टुक्का हाल्नुभयो। देउडाको टुक्का र रोयल सरको यात्राभरको मिठो मुस्कान यात्रा अविस्मरणीय हुने निश्चित थियो।
सडकको छेउछाउमा पाइएको कलिलो सिस्नोले सबैको मन लोभ्यायो। डोल्पा सदरमुकाम दुनै पुगेपछि कलिलो सिस्नो र हरियो सागसब्जी खाने कुरामा हामी सबैले सहमति गर्यौं। हामीले गाडी रोकेर केही टिप्यौं पनि। कलिलो सिस्नोको टुप्पा टिप्न रोयल सरले साह्रै मन लगाउनुभयो। सडक आसपासका दृश्य, सडक सञ्जाल जोडिएपछि खुलेका स–साना पसलमा स्थानीय खानाको स्वाद, यात्रुका रमाइला गफमा हाम्रो यात्रा नै झुम्मियो। बाटोमा तस्बिर लिँदै हामी बेलुकाको साढे ६ बजे डोल्पाको सदरमुकाम दुनै पुग्यौं।
दुनैमा हाम्रो तेस्रो दिन थियो। बिहानी सुर्योदयको लालीकिरणसँगै हामीले दुनै बजार परिक्रमा गर्यौं। भेरी नदीको किनारमा दुनै बजार शान्त, सुन्दर र सफा पनि थियो। दुनै सदरमुकामबाट हामी शे–फोक्सुण्डो पुग्नु थियो। फोक्सुण्डो जान सडक छैन। हामीले पैदल यात्रा सुरू गर्यौं।
हामीले भेरी नदीलाई पूर्व पारेर नदीमा मिसिने सुलिगाडको किनारैकिनार फोक्सुण्डोतिर पाइला बढायौं। भेरीमा मिसिने सुलिगाडको उद्गमस्थल पनि शे–फोक्सुण्डो ताल नै हो। पैदल यात्रा सुरू गर्दैखेरि सिमसिम पानी परेको थियो। हामीले केही समय प्रतिक्षलयमा ओत लाग्नुपर्यो। जेठ महिना भएले आकासे पानीले हामीलाई दु:ख दिन सक्छ भनेर कल्पना कसैले गरेका थिएनौं। त्यसैले छाता, प्लास्टिक लगायतका बन्दोवस्ती पनि गरेका थिएनौं। पानी पर्न थालेपछि हाम्रो व्यवस्थापकले तत्कालै केही छाता र प्लास्टिकको जोहो गर्नुभयो।
यात्रामा सुलिगाड खोलाको पानीको आवाजले मनलाई हलुका बनाउँदै हाम्रो यात्रा कागेनीतिर लाग्यो। कागेनीमा दिउँसोको खाजा खायौं। साँझपख सालदाङ बस्ने तय भएको थियो। पैदल यात्राका क्रममा वारिपरिका प्रकृति, बादल माथि सुक्खा डाँडाले हामीलाई मोहित बनाएका थिए। कागेनी र सालदाङको बीचमा कतै पनि बासस्थान नभएकोले यात्रालाई कि त कागेनी कि त साल्दाङमा बस्नेगरि अघि बढाउनु थियो।
सालदाङ पुग्नुअघि नै रात परिसकेकाले हामीले मोबाइलको फ्लास लाइटको सहायता लियौं। दिउँसो ३ बजे दुनैबाट सुरू भएको हाम्रो यात्रा त्यस दिनका लागि सालदाङमा रोकियो। सालदाङ पुग्दा रातिको साढे ८ बजिसकेको थियो।
आज हाम्रो यात्राको चौथो दिन। बिहान सात बजे नै हामीले शे–फोक्सुण्डो यात्रालार्य निरन्तरता दियौं। हाम्रो अघिअघि करिब ५२/५३ वर्षको आमा अघिअघि हिँडिरहनुभएको थियो।
उहाँलाई देखेर हामीलाई पनि हिँड्ने आँट थपियो। यात्रा चौथो दिन पनि रमाइलो भयो। बास बसेको ठाउँ सालदाङदेखि हिँड्दा हामीले बाटोमा भिडिओ, फोटो खिच्दै, डाँडामा देखिने हरियाली कैद गर्दै छेप्का भन्ने ठाउँमा पुग्यौं। त्यहाँ खाजा खायौं। बाटो वरपर उवा, फापर लगायतका खेती गरिएको थियो। स्याउ, ओखर, आलुवखडा जस्ता बोटबिरुवा पनि देख्न पाईयो। रेयाचीमा रहेको पाहुनाघरमा १ बजेतिर बिहानाको खाना खायौं। खानामा भएको सिमीको दाल, आलुको तरकारी, रायोको सागले आनन्दित बनायो।
आजै शे–फोक्सुण्डो पुग्ने हाम्रो लक्ष्य थियो। रेयाचीमा हाम्रो यात्रामा हुनुभएको एक जना आमाका खुट्टा दुख्न सुरू भएछ। बाटोमा थप समस्या हुन्छ कि भन्ने हामीलाई चिन्ता थपियो। रेयाची छोडेपछि अर्को बास बस्न मिल्ने ठाउँ भेटाउन ३–४ घण्टा लाग्थ्यो। बीचमा फोनको नेटवर्क पनि थिएन। हामीले शे–फोक्सुण्डो यात्रामा आफूलाई चाहिने औषधि, हल्का खानेकुरा, न्यानो कपडा, लठ्ठी अनिवार्य लिनुपर्ने हुन्छ। बाटोमा शे–फोक्सुण्डो ताल पुगेर फर्केका मानिसहरू भेटिन्थे र आमाको खुट्टाको समस्याले पुग्न सक्नु हुन्न, बाटो सारै अप्ठ्यारो भनेर हामीलाई सुनाउँथे।
हाम्रो साथमा भएका रोयल सरको कुराले आमाको मनमा आँट जागेको थियो। रेयाचीबाट तापीसेरासम्मको यात्रा स्थानीयको लागि दुई घन्टाको रहेछ। तर हामीलाई चार घन्टाभन्दा बढी लाग्यो। तापीसेरामा बासको लागि होटेलहरू छन्। त्यतै आजको यात्रामा आराम गरे पनि हुने थियो। तर हामीलाइ यात्रा छोट्याउनुपर्ने थियो। आमाको खुट्टाको दुखाई झन बढेको थियो।
शे–फोक्सुण्डो ताल पुग्न लगभग डेढ घन्टा जति बाँकी थियो। हावाहुरीसहित आकासबाट पानी पर्न थाल्यो। उकालो बाटो र आकाशबाट पानी परिरहेकाले हाम्रो हिँडाइको गति सुस्त बन्यो। उकालो बाटो, आकाशे पानी, हावाले गर्दा सबैको अनुहारमा थकान भेटिन्थ्यो। भिरको अप्ठ्यारो बाटोका कारण हाम्रो यात्रा त्यति सहज लागेन। यद्यपि शे–फोक्सुण्डो ताल आउनुभन्दा अगाडि सुन्दर शे–फोक्सुण्डो झरना, बेलाबेलामा देखिने इन्द्रेणी, चिसो वातावरण, रमाइलो गफगाफको अगाडि अरू सबै कुरा गौण भए।
शे–फोक्सुण्डो नजिक पुग्दा पहिलोपटक अग्लो ठाउँमा आएको अनुभूति भयो। कल्पना गरिने स्वर्ग पुगेजस्तो। यी अनुभूतिले बाटोमा भोगेका कतिपय समस्या भुलाइदिएका थिए। हामी बेलुका साढे ७ बजे मात्र ताल छेउमा पुग्यौं।
तालको छेउमा रहेको हिमालयनमा आजको बास हुने भयो। होटलमा पाकेको खाना खाइसकेपछि हामीले केही समय आगो ताप्यौं। सुत्ने बेलामा मेरो र रोयल सरको बेड एउटै भयो। बेलाबेलामा सामाजिक सञ्जालमा भेटिएका मिमलगायतका रमाइला सामग्रीहरूले दिनभरिको थकाई मेटाउने प्रयास गर्यौं। बीचबीचमा रोयले सरले चुट्किला पनि सुनाउनुभयो। करिब ३६०० मिटर अग्लो स्थानमा रहेको शे–फोक्सुण्डो पुग्दा कसैकसैलाई स्वासप्रस्वासमा समस्या आउन सक्नेरहेछ। यो समस्या हाम्रो समूहको रोयल सरलाई भएको थियो। भोलिपल्ट तालको मनोरम दृश्यलाई अवलोकन गर्ने, तस्बिर कैद गर्ने सपना सजाउँदै कतिबेला निदाइएछ पत्तो भएन।
आज हाम्रो यात्राको पाँचौं दिन। हामीले बिहानै आफ्नो नित्र्यकर्म सकायौं। बिहानको सात बजिसकेको थियो। सूर्यको किरणले छुनै लागेको कर्णालीकै अग्लो शे–फोक्सुण्डो तालको दृश्य मनमोहक थियो।
तालछेउको सिरसिरे हावा र काञ्जिरोवा हिमालको काखबाट बग्ने तालको पानीको कञ्चन दृश्यको संयोजन हाम्रा लागि उपहार बन्यो। यो दृश्य हेरेर न मेरा आँखा थाकेका थिएन, न मेरो मन अघाएको नै थियो।
साथै मनमा केही समय मौनता छायो, खुसी थाम्नै सकिएन। दृश्यले शरीरमा उर्जा ल्याएको थियो। वरिपरी पहाड, बीचमा ताल, तालमा जम्मा भएको सङ्लो पानी, ग्रीष्म ऋतुको शिताम्मे बिहानी, चिसो हावा, निहुँरिएर मुस्कुराउँदै गरेका सुन्दर फूलका बोट झन् हावाको झोँकामा लहराउँदा संसारको स्वर्गीय आनन्द लिन पाइने रहेछ फोक्सुण्डो छेउमा। रिग्मोगाउँ, कान्जिरोवा हिमाल मात्र होइन, हिमसृङ्खलाको काखमा अवस्थित बस्ती, बस्तीको संस्कार र संस्कृति, फापर, कोदो, जौं, स्याउका बगैंचा नजिक पुग्दा हामी सबै मोहित बनेका थियौं। फोक्सुण्डोबाट झर्ने सुलिगाड झरनाजस्तै मनमोहक झरना नेपालमा सायदै होलान। तर यो झरनाको अवलोकन गर्न कठिन भिरको बाटो हिँड्न र त्यसैमाथि जोखिम मोल्न मुटु बलियो बनाएर हिँड्नुपर्ने रहेछ।
हामी सबैले तालको सुन्तरतालाई पृष्ठभूमि बनाएर आ–आफ्ना तस्बिर खिचायौं। शे-फोक्सुण्डोको सुन्दरतालाई नजिकबाट नियाल्न एक दिन तालको वरिपरी घुम्न समय मिलाउन सके अझ आनन्द मिल्ने थियो। हामीले भने यस्तो समय मिलाउन सकेनौं। हामी दुई घण्टा शे–फोक्सुण्डोको सुन्दरतामा बिताएर फर्किने तयारीमा लाग्यौं। हामीले सडमार्ग भेटाउन फेरि दुई दिनको पैदल यात्रा गर्नु थियो।
फर्किंदा हाम्रो समूहमा रहनुभएको आमाको लागि घोडाको व्यवस्था गर्यौं। हाम्रो यात्रामा डोल्पाका स्थानीयसँग पुरानो चिनजान भएका जुम्लाका एक जना बिन्दास सर पनि भएकोले सबै कुराको चाँजोपाँजो मिलाउन सहज भएको थियो।
प्रायजसो हँसिलो देखिने बिन्दास सरको मुहारमा फर्किंदा भने भावना बगेको देखिन्थ्यो। सायद अझै दुई दिनको यात्रामा सहभागी सबैलाई सकुसल फर्काउने जिम्मेवारी उहाँमै भएर पनि होला। ओरालो भिरको बाटोमा जस्तोसुकै आँट भएर घोडा सवारी गर्न नसकिने रहेछ। हामीलाई पनि त्यो समस्या भयो। हामीसँग हुनुभएको आमालाई ओरालो कटाएर समथर ठाउँसम्म पुर्याउन भरियाको सहयोग लियौं। त्यसपछि हाम्रो यात्रा सहज भयो। हामी बाटोभर रमाईला गफगाफ गर्दै, प्रकृतिको सुन्दरताको वर्णन गर्दै, जटिल भूगोल, यहाँको रहनसहनमा रमाउँदै यात्राको सातौ दिन बेलुका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्न पुग्यौं।
शे–फोक्सुण्डो पुग्न सहज भने त्यति छैन। सुलिगाड खोलाको तिरैतिर, तलतिर खोला, माथितिर भिरोला पहाडको मसिनो कच्ची बाटो हिँड्नुपर्छ। डोल्पाको सदरमुकाम दुनैबाट दुई दिन हिँडेर मात्र फोक्सुण्डो पुगिन्छ। फोक्सुण्डोसम्म पुगेर दृश्यावलोकन गर्न दुनैबाट नै पाँच निको समय छुट्याउनु उचित हुन्छ। दुनैसम्म पुग्न सुर्खेत वा नेपालगञ्जदेखि दुई दिनको सडक यात्रा गर्नुपर्छ। तालसम्म पुग्न चैत महिनाको अन्तिमदेखि जेठ महिनाको अन्तिमसम्म उपयुक्त समय रहेछ। डोल्पाको माथिल्लो भागमा सामग्री ढुवानीको माध्यम खच्चड र याक रहेछन्।
खच्चड, चौंरी, याक र मानिस हिँड्ने बाटो एउटै भएकोले कतिपय ठाउँमा पैदल यात्रा गर्नसमेत असहजता आउने रहेछ। भौगोलिक कठिनाई र बाटोघाटोको असहजता हेर्दा सरकारले सडक निर्माण गरिदिए हुने भन्ने लागेको थियो। तर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र भएकोले प्राकृतिक सम्पदाको नोक्सान हुन नदिन यहाँ पूर्वाधार नबनाएको होला भन्ने मनमा लाग्यो। हिमालको काखमा बसेर शे–फोक्सुण्डोका मनमोहक दृश्यावलोकन गर्ने सपना धेरैको हुन्छ। देश तथा विदेशमा रहने पर्यटकहरुलाई फोक्सुण्डो आउने कुरालाई मध्यनजर गरेर पर्यटकीय पदमार्गलाई सुधार गर्नु उपयुक्त हुने सुझाव मेरो छ। प्राकृतिक सौन्दर्यताको अनुभूति गर्न तय गरिने यात्रामा ज्यानै जोखिममा राख्नुपर्ने भएकाले पदमार्ग सुधार अनिवार्य पनि छ।
पर्यटकहरूले पनि वातावरणीय प्रदुषणलाई ख्याल गरेर यात्रा गर्नु जरुरी छ। बाटोमा पानीका बोतल, चाउचाउका खोस्टा जथाभावी फालेको पाइयो। यसो हुन नदिन निकायले पर्यटकलाई सचेत गराउनु पनि जरुरी देखियो। बाटोमा निश्चित दूरीभित्र प्रतिक्षालय जस्ता आराम गर्ने पूर्वाधार बनाउनु पनि उत्तिकै जरूरी छ।
शे–फोक्सुण्डो यात्राले नेपालको हिमाली भेगको रहनसहन, भाषा, सांस्कृतिक परम्परा, जीवनशैली आदिको बारेमा जान्ने मौका पनि मिल्छ। यो यात्रामा आकाशलाई पृष्ठभूमि बनाएका हिमचुलीहरु हेर्न पाइन्छ। सेताम्मे कान्जीरोवा हिमाल आगाडि आफूलाई उभ्याउन पाईन्छ। प्रकृतिको मनोरम सुन्दरताको आभास गर्नु र जीवनलाई प्रकृतिसँग घुलमिल गराउन पाउनु शे–फोक्सुण्डो यात्राका फाइदा रहेछन्।