जेठको मध्य गर्मीमा लखरलखर गर्दै बानेश्वरतिर हिँडेकी छु। साँझ र बिहान भए त मौसम पनि आनन्ददायी नै थियो। तर मध्याह्नको सूर्य छिप्पिएर मलाई खलखली पगाल्दै छ।
हतारमा हिँड्दा छाता बोक्न पनि भुसुक्कै बिर्सिएछु। समयमा पुग्न हतारो भएको छ। विशेष काम ‘अविश्रान्त लखरलखर’ किताबको विमोचन कार्यक्रम छ। प्रश्नकर्ता उदय अधिकारी र उत्तरदाता अविश्रान्त यात्रामा लखरलखर हिँडिरहने चर्चित लेखक खगेन्द्र संग्रौला हुनुहुन्छ।
चितवनबाटै निम्तो आएको छ उदय अधिकारी सरको।
मध्य घाममा मण्डला थिएटरतिर मेरा पाइला दगुरेका छन्। समयमा पुग्नुपर्ने आदत छ। चर्को घामको रापले आँखा तिरिमिरी भएर मण्डलालाई नदेखेर म त निकै माथि नै पुगेछु। कालो चश्मा लगाएको पनि केही सार भएन। पुनः पाठशाला स्कुलको मुखबाट मण्डलाको मण्डपतिर आर्लिएँ।
मण्डलाको द्वारबाट भित्रपट्टि चिहाएँ, रूखको शितल छायामा उदय अधिकारी सर एक्लै बसेर आफैसँग प्रश्न कोर्दै हुनुहुँदोरहेछ। हार्दिकताका साथ मलाई स्वागत गर्नुभयो, मैले पनि सम्मानका साथ अभिवादन गरेँ। हालखबरपछि साहित्यिक कुराकानी आरम्भ भयो।
कुराको सिलसिलालाई थाँती राखेर केहीबेरमा हामी माथि थिएटरको मुखैमा उक्लियौं। हेर्दैछु मण्डलाको मनोरम चहलपहल। चिया, कफीको सुगन्धले मण्डलाको आँगन सुवासिलो छ। त्यही वातावरणमा अनुहारभरि उही मुसुमुसु हाँसो बोकेर खगेन्द्र संग्रौला पनि माथि नै आउनुभयो। हामी तीन जना एउटा टेबललाई साक्षी राखेर तीन वटा कुर्सीमा आनन्दले बसेका छौं। मान्छे आउने क्रम जारी छ। तर पनि भीडले छोपेको छैन मण्डलाको मण्डपलाई। कोही तल छन्, कोही माथि। उदय अधिकारी सरले मेरो परिचय खगेन्द्र संग्रौलासँग गराउनुभयो।
उहाँलाई मैले नचिन्ने कुरै थिएन तर अचम्म खगेन्द्र संग्रौलाले पनि मलाई नचिनेको जस्तो गर्नुभएन। घाघडान लेखक संग्रौलासँग मेरो पठन र लेखनको बारेमा उदय सरले कुरा गर्दा मलाई हुनसम्म असजिलो भएको छ।
लेखन, पठनको विषयमा कुराकानी निकै रमाइलो तरिकाले हुँदैछ, संग्रौलाले कफीको अफर गर्नुभयो।
मलाई सोध्नुभयो, ‘के खाने?’
मैले भनेँ, ‘सरले जे भन्नुहुन्छ त्यही खाने।’
उदय सरले त सोझै केही नखाने भन्नुभयो। म अलमलमा परेँ। हेर्दाहेर्दै टेबुलमा आयो कालो न कालो अमेरिकानो त्यो पनि ठूलो कपमा। सुरूप्प पारेँ झन्डै हुरूक्क भइनँ! तीतो न तीतो कलविष। पुलुक्क खगेन्द्र सरको मुखमा हेरेँ। कफीको स्वादमा आनन्दका छाल मडारिएका छन् अनुहारभरि। मैले पनि मुख त बिगार्नु भएन भनेर मरेर हाँस्दै त्यो तीतो झोल घुट्याउन थालेँ।
पठन र लेखनको मीठा कुराकानीले त्यो कलविषलाई पनि सजिलै निलेँ। कुरा गर्दैगर्दा मेरो पठन आरम्भका कुरा उठे, मैले सरल किसिमले भनिदिएँ , ‘सर मान्छेले कदेखि पढ्न आरम्भ गरेर ज्ञतिर जान्छन् तर मैले त उल्टो काम गरेकी रहेछु। 'ज्ञ'देखि 'क'तिर पो पढ्न थालेँ। मेरा श्रीमान, तपाईं र नारायण ढकालको लेखनको ठूलो फ्यान, घरमा तपाईंहरूकै किताबहरू आउँथे। केही बुझ्दिनँ थिएँ। केही नजान्दा पनि तपाईंहरूलाई मरेर पढेँ त्यो पनि श्रीमानका खातिर, दिक्क पनि लाग्थ्यो केही नबुझेर। तपाईंको किताब पढेर जम्माजम्मी दुई वटा शब्द जानेकी थिएँ, गोपिक्याँच र बिलखबन्द अरू फेद टुप्पो केही थाहा पाइनँ।’
मेरो कुरा सुनेर संग्रौला सर मज्जाले हाँस्नुभयो र मलाई प्रश्न गर्नुभयो, ‘के कस्तो विषयमा लेख्नुहुन्छ?’
मैले भनेँ, ‘मैले देखेका भोगेका विषयमा लेख्छु।’
पुनःओठ खोलेर हाँस्दै मलाई अर्को प्रश्न गर्नुभयो, ‘अनि बहिनी लेख्न बस्दा कतिको स्वतन्त्र भएर लेख्नु हुन्छ त ?’
मैले फेरि सहज उत्तर दिएँ, ‘मनमा आएका जम्मै कुरा लेख्न त कहाँ सकिँदो रहेछ र! लेख्दाखेरि कतिपय कुरा मनमै रहन्छन्। अलिअलि डर हुने रहेछ। अरूले के भन्लान् भन्ने पीर एकातिर छ अनि अर्कोतिर नारीका समस्या लेख्दा त समस्या धैरै आउँछन्। साझा विषयमा लेख्दा पनि यो त पक्कै लेखककै जीवन हो भन्ने मानसिकता छ।’
मेरो उत्तर सुनेर खगेन्द्र सर मुसुमुसु पुनः हाँस्नुभयो। मैले त भुसुक्कै बिर्सिएछु निर्भीक, निडर र स्वतन्त्र लेखकको स्वभाव। खगेन्द्र सरले बडो रसिक पारामा भन्नुभयो, ‘लेख्दा कोसँग डराउने! निर्धक्क भएर लेख्नुपर्छ। देखेको, भोगेको कुरा स्पष्ट रूपमा बोल्नुपर्छ, लेख्नुपर्छ। बुझ्नुभयो बैनी मैले डराएर लेखेको भए त ३०० पटक म मरी सक्थेँ।’
एकैछिन हाँसोको मूल फुट्यो।
उहाँले पढ्नुपर्ने किताबहरूको लामो फेहरिस्त बताउनुभयो मलाई जसमध्ये पारिजात, बानिरा गिरी, नेपाली साहित्यका क्लासिक पुस्तकहरूका साथै विश्व साहित्य। हाम्रो कुराकानी हुँदै थियो। डाक्टर बाबुराम भट्टराई पनि आउनुभयो। गीता रेग्मी दिदी र म सँगै बसिरहेका छौं। कुराकानीको सिलसिलामा भट्टराई सरले पनि चिनारी बिर्सिएको जसरी हामीतिर हेर्नुभयो, मैले फ्याट्ट बोलेँ, ‘तपाईंलाई मैले चिनेको छु तर तपाईंले मलाई चिन्नुभएको छैन।’
गीता दिदी मुसुक्क हाँस्नुभयो। दिदीको चिनारी गोरखामै भएको रहेछ। अनि मैले आफ्नो परिचय दिएँ।
अविश्रान्त लखरलखरको विमोचनका लागि उपस्थित हुनेहरूको सङ्ख्या बाक्लिँदैछ। वक्ताका रूपमा डाक्टर बाबुराम भट्टराई, बसन्त बस्नेत र धन कुमारी सुनार हुनुहुन्छ। श्रीमान् सुभाष ढुङ्गेल पनि आइपुग्नुभयो। आफूलाई मनपर्ने लेखकसँग भेट्न पाउँदा सुभाष सरको मुहार पनि उज्यालिएको छ। नारायण ढकाल पनि आउनुभएको छ। चिरपरिचित मुहारहरू देखिँदैछन्। विमोचन कार्यक्रम समयमा आरम्भ भयो। निकै रमाइला रमाइला प्रसङ्गहरू उठ्दै छन्। बौद्धिक र विनोदी छ वातावरण। लखरलखर शब्द उदय अधिकारीको र अविश्रान्त शब्द चाहिँ खगेन्द्र संग्रौलाको भन्दै टिप्पणी हुँदैछ।
डाक्टर बाबुराम भट्टराई आज निकै हँसिलो मूडमा प्रस्तुत हुनुभएको छ। यस्तो भव्यताका साथ कार्यक्रम भइरहेको बेला अचानक मलाई लड्छु लड्छु जस्तो भयो। प्रेसर लो हुने मान्छेले त्यो अमेरिकानोको तीतो झोल खान हुन्थेन क्यार, मलाई त उकुसमुकुस भएर हलबाट बाहिर निस्किएँ। धन्न त्यहीँ रेष्टुरेन्ट भएकाले आँट आयो अनि माथिल्लो तलामा गएर एक कचौरा फलफूल खाएँ अनि बल्ल घुमाउन छोड्यो र आँखा देखेँ तर कान सुन्न नसक्ने अवस्थामा पुग्यो। त्यही पनि कार्यक्रमभरि मण्डलाभित्र मन थामेर बसेँ। कार्यक्रमको समापन राम्रोसँग भयो। चिया र कुकिजले हामीलाई स्वागत गर्यो। चिया र कुकिज खाएपछि कानले पनि सुन्न थाल्यो, आँखाले पनि देख्न थाल्यो। अनि किताब बोकेर घरतिर हिँड्यौं।
गाडीमै पढ्न थालेँ उदय अधिकारी सरको भूमिका, ‘म यसो टुच्च प्रश्न सोध्या जस्तो गर्छु, दाइ यसो किरेमिरे जाली रूमालजस्तो उत्तर हानिदिनु न! जम्मा पच्चिस प्रश्न, उत्तर दिन दाइलाई जाँगर चले पच्चिस दिन, नचले एक महिना।’
‘पठाउनुस्, जाँगर नचल्दा पाँच दिन फाइदा हुने रहेछ।’
केही प्रश्न बढे, केही उत्तर बढे।
धन्यवाद, खगेन ब्रो ! ( भूमिका )
उदय अधिकारीका प्रशनहरू रमाइला, चोटिला र गम्भीर छन्। साहित्यिक परिवेशमा संग्रौलाको जीवन, संघर्ष, पठन, अध्ययन, जागिर, विचार, राजनीति, चिन्तन, परिवार र प्रेमको वरिपरि प्रश्नहरू उठेका छन्।
खगेन्द्र संग्रौलाका उत्तरहरू अझ रमाइला, सटिक, निर्भीक भएर आएको यथार्थको दस्ताबेज रहेछ अविश्रान्त लखरलखर। उदय अधिकारी सरको यो भन्दा अगाडि ‘प्रश्न’ पढ्ने अवसर पनि मिलेको थियो। जहाँ नेपाली साहित्यका घाघडान साहित्यकारहरूको समसामयिक विचार विमर्श, साहित्यप्रतिको रूझान, विश्व साहित्यको अध्ययन, अनुवाद र अभ्यास। पठन र लेखनका चुनौतीहरू आएका छन् जीवनका पृथक क्षेत्रमा गर्नुपरेको संघर्षसँग सम्बन्धी बौद्धिक कुराकानीमार्फत् उहाँहरूको विचारलाई आम पाठकसम्म पुर्याउने काम बौद्धिक चिन्तक उदय अधिकारीले गर्नुभएको छ। यस कृतिमा खगेन्द्र संग्रौलासँग मात्र प्रश्न गरिएको छ। संग्रौलाकै शैलीमा उदय सरका प्रश्नहरू पढ्दा पाठक आनन्दित हुने पक्का छ। कतिपय प्रश्नहरू विनोदी छन्। ती प्रश्न र उत्तर पढ्दा पाठकको मुहारमा हास्यरस पक्कै मडारिन्छ।
प्रश्नको आरम्भ, गोर्कीसँग कसरी जम्काभेट भो? भन्नेबाट गरिएको छ भने प्रश्नको अन्त्य यसरी गरिएको छ, ‘कहिले रत्नपार्कतिर मिटरब्याज पीडितको लागि लखरलखर, कहिले माइतीघर, मण्डलातिर निर्मलाको न्यायको लागि लखरलखर, कहिले रूकुमतिर नवराज विकको लागि लखरलखर?’ कोको सँग, कहिले कहिले खगेन्द्र संग्रौला कहाँ कहाँ किन लखरलखर हिँडे भन्ने प्रश्नहरूको ओइरो छ। उत्तर पनि निकै मार्मिक र उत्कृष्ट छन्। पाठकहरू खगेन्द्र संग्रौलाको उत्तरबाट पक्कै सन्तुष्ट हुने छन्।
बीस वर्षे ठिटोको प्रारम्भिक पठनका कुराहरू यहाँ आएका छन्। त्रिचन्द्रको लाल सागरमा गोर्कीको नाम सुनेका संग्रौला भन्नुहुन्छ, ‘गोर्कीको ‘आमा’ हिन्दुहरूको गीता, मुसलमानको ‘कुरान’ र इसाईहरूको ‘बाइबल’ जस्तै लाल युवाहरूको पवित्र ग्रन्थ रहेछ।’
कुनै समयमा संग्रौला खुदी पुगेको प्रसङ्ग उस्तै रोचक छ। मोटामोटा किताब पढ्ने ख्याउटे मान्छेको जीवन शैली, विचार र चिन्तनको क्रमिकता छ। काटमारको योजनालाई नै वास्तविक क्रान्ति भन्न रूचाउनेहरूसँग खगेन दाइ यसरी प्रस्तुत हुनुभएको छ, ‘सशस्त्र क्रान्ति गर्न त पहिले क्रान्तिको वैचारिक- मानसिक भावभूमि पो तयार गर्नुपर्छ कमाण्डर। पहिल्यै वर्गशत्रुका खुट्टा भाँच्न थाल्ने? मेरो तर्कमा जङले कायरता देखे, जङको तर्कमा मैले उग्रता देखेँ। शीतयुद्ध भएको खासमा मेरो कायरता र जङगको उग्रताको बीच हो (पृष्ठ ६)।’
खगेन दाइको उत्तरहरू पढ्दै गर्दा मैले पनि दश वर्षे जनयुद्धको वैचारिक र मानसिक भावभूमिलाई कतिसम्म पालन भयो भएन भनेर केलाउने असमर्थ प्रयास गरेँ।
खगेन्द्र संग्रौलाको बाल्यकालले मलाई निकै छोयो। बालाई सामन्ती सम्झने संग्रौलाको तर्क पनि निकै मन पर्यो।
खानपिन, समाज र सम्बन्धका कुराकानी पनि कति मीठो छ। काकाहरूसँग बस्दै आउनु भएको संग्रौला काकाहरूले खाएको हेरिरहनुहुँदोरहेछ आफू चोखो भएर। उदय सर प्रश्न गर्नुहुन्छ, ‘अहिले त्यो केटो सत्तरीमा हिँड्दैछ। उसले नखाएको केही छैन। यो समाजवादी सपना देखाउने झोलको आचमनी कहिलेदेखि सुरू भो र यसले जिन्दगीमा ल्याएका रमाइला भेटघाट र सपनाहरूको बारेमा सुनौं न?’
प्रश्नकर्ताको यो प्रश्नमा उत्तरदाता उल्टो रसिक प्रश्न गर्दै कानसम्म मुख च्यातेर हाँस्दै भन्नुहुन्छ, ‘के सत्तरीको त्यो वृद्ध केटाले घुस, चरेस र हरेस पनि खाइसक्यो त?’
म पनि खित्का छोडेर हाँसेँ।
संग्रौला सरका मित बाले खुवाएको राँके झोलको इतिहास बढो रोचक छ। दसैंमा ससुराली जाँदाको संस्मरणमा संग्रौला सर पूर्णरूपमा खुलेर जम्मै घटनाहरू नलुकाई भन्नुभएको छ।
प्रश्नकर्ताका प्रश्न वैयक्तिकदेखि विश्वस्तरसम्मका छन्।
‘मार्क्सवादी सौन्दर्यशास्त्रको पहिचान के हो? यो मार्क्सवादी सौन्दर्यशास्त्रलाई आफू र अरू प्रगतिशील लेखकहरूतिर फर्काउँदा कस्तो चित्र देखिन्छ? के हाम्रो प्रगतिशील भनिने लेखन प्रगतिशील नै छ त?’ यी प्रश्नहरूको उत्तर त किताब पढेपछि पाठहरूले पक्कै जान्नेछन्। स्पष्ट विचार निर्भीक भएर राख्न सक्ने सामर्थ्यले नै होला खगेन्द्र संग्रौलाको नेपाली साहित्यमा छुट्टै पहिचान छ।
अन्त्यमा उदय अधिकारी सरका चोटिला, रसिक र गम्भीर प्रश्नहरूको सहज, सरल र वास्तविक उत्तरहरू आएका छन्। देशको राजनीतिक अस्थिरता, अव्यवस्थित समाज, प्रशासन, कर्मचारी, लेखकदेखि आम मान्छेका हतासा, निराशा, कुण्ठाका साथै समग्र देशको बेथिति र विसङ्गतीलाई उजार गरिएको छ। साथै राजनीतिक विचारहरू कसरी अविश्वसनीय हुँदैछन्? आमूल परिवर्तनको लागि गरिएका त्याग, बलिदान र संघर्षहरू के कति कारणले प्राप्त गर्न असफल भयौं? सम्भावनाको मुहान कता कता टालिए। किन रोकिए?
साथै विश्व साहित्यप्रतिको रूचि लगाव र भाषा साहित्यदेखि अंग्रेजी भाषाप्रतिको मोह, धर्म, संस्कृति, वेद र पुराणप्रति संग्रौलाको दृष्टिकोण कस्तो छ? विश्व साहित्यका स्वरूप र अनुवाद कर्म जम्मै कुराहरू यहाँ आएका छन्।