२०४० साल भाद्र ५ गते त्यस बखतको राष्ट्रिय राजधानी र हालको संघीय राजधानी काठमाडौँमा पहिलो पटक पाइला टेक्दा मलाई नौलो दुनियाँमा पुगेझैँ लागेको थियो। काठमाडौँ प्रवेश गरेपछि पिताजीले मलाई ललितपुरको पाटनढोकाको अलि दक्षिणतर्फ रहेको चाकुपाट भन्ने ठाउँमा लैजानुभयो, जहाँ आफ्ना घनिष्ठ मित्र भाडाको घरमा बस्नुहुन्थ्यो।
सात वटी छोरी र एक जना छोराका बाबु हुनुहुन्थ्यो पिताजीका मित्र। त्यति बेला रोल्पाबाट काठमाडौँ छिर्नेमध्ये म सातौँ वा आठौँ व्यक्ति थिएँ। काठमाडौँमा रोल्पाका धेरै मान्छे छैनन्, चार/पाँच जना होलान् भन्ने सुनेको थिएँ। पिताजीका मित्रका सात वटी छोरीहरूमध्ये पछिल्ला छोरीहरू क्रमशः सुनिता, सुष्मा र मिनालाई घरमा बिहान बेलुका पढाउन थालेँ।
एक महिनापछि अर्थात् २०४० साल असोज ९ गतेदेखि आइकम अध्ययनका लागि म नमुना मच्छिन्द्र क्याम्पस लगनखेलमा जान थालेँ। त्यसै दिनदेखि नै कार्यालयमा हाजिर पनि भएँ। पढाइ र जागिर एकै दिन सुरु भयो र मलाई दुवै कुरा नौलो-नौलो लागिरहेको थियो।
चिल्ला सडकमा सलल गुड्ने टोयोटा कारहरू धेरै देखिन्थे त्यस ताका काठमाडौँमा। प्राइभेट नम्बरका कारहरू पनि टोयोटाका नै देखिन्थे भने ट्याक्सीहरू पनि टोयोटा कम्पनीका नै देखिन्थे। सडकमा केही सङ्ख्यामा मर्सिडिज गाडीहरू पनि फाट्टफुट्ट देखिन्थे। सैनिक रङका रसियन जिपहरूको संख्या पनि ठिकठिकै थियो। मित्सुविसीका गाडीहरूको पनि पातलो उपस्थिति थियो त्यति बेला। पछि मारुती सुजुकीका जिपहरू पनि देखिन थाले, गाडीमा मारुती सुजुकी जिप्सी लेखिएको हुन्थ्यो। मारुती सुजुकीको अधिकृत विक्रेता खिचापोखरीको अरुण कण्टिनेण्टल थियो।
काठमाडौँमा त्यस बखत मोटरसाइकलहरू पनि होण्डा र सुजुकीबाहेक अरू देखिँदैन थिए। कतिपयले कुनै पनि मोटरसाइकललाई होण्डा नै भन्थे, अहिले कुनै पनि कम्पनीको मनी ट्रान्सफरको कारोबारलाई आइएमई गर्ने भनेझैँ। २०४२/४३ तिर भने भारतमा उत्पादित इण्ड-सुजुकी मोटरसाइकल नेपालमा भित्रिन थाले। त्यसका लागि अधिकृत विक्रेताको रुपमा कमलपोखरीस्थित गणेश इन्टरप्राइजेज थियो। त्यसपछि भारतमै उत्पादित हिरो-होण्डा मोटरसाइकलहरू पनि काठमाडौँमा भित्रिए। भारतमा निर्मित राजदूत मोटरसाइकलमा पेट्रोल धेरै लाग्ने भएको हुँदा मान्छेहरू राजदूत मोटरसाइकल चढ्न छाडे।
हालका दिनहरूमा काठमाडौँमा साइकलहरूको संख्या ज्यादै न्यून देखिन्छ। धेरैले ऋण लिएर भए पनि मोटरसाइकल चढ्ने चाहनाले गर्दा सहरका सडकहरूमा साइकलहरू देखिन छाडे। स्वास्थ्यका हिसाबले पनि साइकल धेरै नै उपयुक्त साधन हो। यति मात्र होइन पर्यावरण सन्तुलनमा साइकल यात्राले धेरै नै सघाउ पुर्याएको हुन्छ। सहरको दूषित धुवाँ न्यूनीकरणका लागि साइकल सवारले महत्त्वपूर्ण भूमिका खेल्दछ।
२०४० सालतिर काठमाडौँका सडकहरूमा पूर्णतया भारतमा बनेका साइकलहरू चल्थे। एटलस सबैभन्दा बढी देखिने साइकल थियो। त्यसपछि हिरो र एवन साइकल पनि देखिन्थे। पछि आएर चिनियाँ फोनिक्स साइकल पनि विक्री हुन थाल्यो। असनको कमलाक्षीस्थित अष्टनारायण पञ्चनारायण साइकल पसल नै काठमाडौँको मुख्य वितरक थियो ती सबै प्रकारका साइकलहरूको।
म काठमाडौँ प्रवेश गर्दा सुनको मूल्य प्रतितोला १ हजार ७ सय मात्र थियो। २०४६ सालमा मैले विवाह गर्दा प्रतितोला छ हजारका दरले दुई तोला सुन किनेको थिएँ।
पुतलीसडकमा रहेका सम्झना होटेल र झापाली होटेलमा मासिक २५० मा खाना खाने गरेको थिएँ। डिल्लीबजारको ओह्रालोमा पनि एउटा पाल्पाली होटेल थियो। पछि भने काठमाडौँमा लुम्बिनी नाम गरेका होटेलहरू बढ्न थाले, अहिले थकाली होटेलहरू बढेझैँ।
२०४१ देखि २०४३ सालसम्म म डिल्लीबजारमै बसेको हुँदा मैले डिल्लीबजार कालिकास्थान चोकनिर रहेको एउटा मासु पसलबाट मासु किन्ने गर्दथेँ। त्यति बेला कुखुराको मासु किलोको ३५ रुपैयाँ थियो भने खसीको मासु ३२ रुपैयाँ थियो। अहिले भने कुखुराको मासुभन्दा खसीको मासु धेरै नै बढी छ। शाकाहारी बनेको दश वर्ष हुन लागेको हुँदा हालको मासुको मूल्य बारे अनभिज्ञ छु।
२०४० सालमा फोटोकपी गरेको दुई रुपैयाँ लिन्थे। केही वर्ष अघिसम्म पनि दुई रुपैयाँ नै कायम रहिरह्यो। दुई रुपैयाँबाट बढेर पाँच रुपैयाँ भएको धेरै वर्ष भएको छैन। पुतलीसडकमै पुरानो प्रविधिबाट फोटोकपी गर्ने पसल पनि थियो। प्लेटबाट प्रकाश दिएर अर्को अलि पर रहेको उपकरणबाट फोटोकपी भएर कागज निस्कने पुरानो प्रविधिको मेसिन थियो।
काठमाडौँमा त्यति बेला सिनेमाघरहरू थोरै थिए। काठमाडौँमा जयनेपाल, विश्वज्योती, रञ्जना थिए भने ललितपुरको अशोक र भक्तपुरको नवदुर्गा सिनेमा हलहरू पनि सञ्चालनमा थिए। म २०४० सालमा काठमाडौँ छिर्दा कुमारी हल निर्माणाधीन अवस्थामा थियो। रञ्जनामा मैले जिन्दगीमा पहिलो पटक सिनेमा हेरेको थिएँ। सिनेमाको नाम थियो 'खुदा कसम'। डेरामा फर्केर गएपछि साथीहरूले सोधे कुन सिनेमा हेर्नुभयो। मैले जवाफ दिएँ रञ्जना। खासमा रञ्जना हलको नाम थियो। सिनेमाको नाम त खुदा कसम थियो। काठमाडौँमा बसेर अनुभव बटुलेका साथीहरू म नौलो मान्छेका कुरा सुन्दा हाँस्नु स्वाभाविकै थियो।
सिनेमा हेर्ने टिकट थर्ड क्लासको ५० पैसादेखि बल्कोनीको ७ रुपैयाँसम्म थियो। टिकट ब्ल्याकमा पनि बिक्री हुन्थ्यो। ब्ल्याक वालाले काउन्टरबाट टिकटको ठेली नै लैजान्थे। प्रहरीले थाहा पाएर पनि केही गर्दैन थिए। शनिबारका दिन सिनेमा हेर्नेहरूको भिड हुन्थ्यो। कहिलेकाहीँ प्रहरीले लाठीचार्ज गर्ने अवस्था पनि हुन्थ्यो। मान्छेमाथि मान्छे खप्टिएर काउन्टरको झ्यालको डन्डी समाएका पनि देखिन्थे।
मैले अशोक सिनेमा हल पाटनमा हेरेको पहिलो सिनेमा 'बाँसुरी' थियो। त्यसमा अधिकांश कलाकारहरू दार्जिलिङका थिए। ‘मिर्मिरे साँझमा सिमसिमे पानी सातैरंगी इन्द्रेणी रानी’ बोलको उक्त सिनेमाको गीत अहिले पनि कर्णप्रिय छ। ‘हिमाल जलेर ज्वाला भएछ’ बोलको गीतलाई भने त्यति बेला प्रतिबन्ध लगाइएको थियो।
विश्वज्योति सिनेमा हलको पुरानो भवनमा पहिलो पटक हेरेको सिनेमा भने 'तक्दिर' हिन्दी सिनेमा हो। नयाँ भवनमा भने नेपाल र पाकिस्तानको संयुक्त लगानीमा बनेको सिनेमा ‘हामी एक हौँ’ हो। जसमा मुख्य कलाकारको रुपमा शिव श्रेष्ठले अभिनय गरेका थिए।
एक जना साथीका भाइ चन्द्रलाई खासाबाट ज्याकेट ल्याइदिन दुई सय रुपैयाँ दिएको थिएँ। ज्याकेट आउला भन्ने आशामा बस्दा बस्दा ज्याकेट नै नआएपछि साथीसँग गुनासो गरेँ।
चीनको सीमावर्ती बजार खासाबाट काठमाडौँमा भित्रिने वस्तुहरूमा सबैभन्दा बढी टेरिकटनको कपडा भित्रिन्थ्यो त्यति बेला। तस्कर गर्नेहरूको अनेक विधिहरू हुन्थे। एक जनाले मिटरका मिटर टेरिकटन कपडा शरीरमा बेरेर पनि ल्याउँथे भने कसै कसैले भित्र सानो र त्यसपछि ठुलो-ठूलो गर्दै दश वटासम्म ज्याकेट लगाएर पनि सीमा पार गर्थे र काठमाडौँ सहरमा बिक्री गर्थे। त्यति बेला रत्नपार्कमा रात्रिकालीन बजार पनि लाग्थ्यो। पूरै सामान खासाका सस्ता-सस्ता खालका हुन्थे।
अरूले स्पोर्ट्स जुत्ता लगाएको देखेपछि मलाई पनि किनेर लगाउन मन लाग्थ्यो। २०४३ सालतिरको कुरा हो, बागबजारमा एउटा पसलबाट मैले वारियर ब्राण्डको स्पोर्ट्स जुत्ता किनेँ। जुत्ता निलो र छेउमा छड्के सेता धर्का थियो। ३५० रुपैयाँमा सो जुत्ता किन्दा मैले आधा महिनाको तलब खर्चनु परेको थियो। पछि एक पटक फेरि खासा जाने रहर लाग्यो र साथीसँग बाह्रबिसेसम्म गएपछि उतातिर पहिरोले बाटो अवरुद्ध गरेको हुँदा खासाबाटै सेतो रङको स्पोर्ट्स जुत्ता किनेँ।
काठमाडौँमा पहिलो पटक प्रवेश गरेपछि मैले पहिलो पटकै पाइन्ट सिलाउन न्यूरोडको ग्लोब टेलरमा गएँ। पुरानो घरमा रहेको उक्त टेलर्समा जान काठको भर्याङ चढ्नुपर्थ्यो। त्यस टेलरमा सिलाएको पाइन्टको ज्याला ७५ रुपैयाँ तिरेको थिएँ।
२०४० देखि २०४२ सम्म काठमाडौँमा काउली किलोको ४ रुपैयाँ थियो। त्यति बेलाको काउली निकै स्वादिलो लाग्थ्यो। अहिलेको काउलीको तरकारी भने मिठो हुँदैन। काउली मात्र होइन हरेक तरकारी त्यति बेलाकै मिठो लाग्ने।
२०४० सालमा जागिर खाएको पहिलो महिनाको तलब बुझेर डेरातर्फ जाँदै गर्दा भृकुटीमण्डपमा चलिरहेको रमाइलो मेलामा छिरेँ। खेल खेलाउनेहरूले यो गरेमा यो जितिन्छ। यो चिट्ठा किनेमा मोटरसाइकल पाइन्छ यो टिकट किनेमा साइकल पाइन्छ भन्न थाले। मैले पनि खेलहरू जितिन्छ भन्ने लोभमा फसेँ। खेल्दै गएँ। पैसा दिँदै गएँ। कहिले सेता डल्ला प्वालमा छिराउन लगाउँथे तर कहिले बिस्कुट साबुन आदिमा रिङ छिराउन लगाउँथे। तर मैले केही पनि जित्न सकिनँ। आखिरमा मेरो गोजी रित्तिँदै गएपछि गाडी भाडा जोगाएर डेरातर्फ लागेँ। भोलिपल्ट कार्यालयका स्टाफहरूसँग सापटी मागेर महिना गरेँ अनि अर्को महिनाको तलबले सापटी तिरेँ।
अन्य
त्यति बेला हेटौँडाको एउटा ब्रुअरीले उत्पादन गरेको मिनिरल वाटरको मूल्य प्रतिबोतल २० रुपैयाँ थियो। त्यो विदेशीहरूले मात्र पिउँथे। नेपालीहरूमा त्यो महँगो पानी किनेर पिउने क्षमता कसै कसैको मात्र थियो। कोकाकोला र फ्यान्टाको मूल्य प्रतिबोतल १।५० मा थियो भने पाउरोटी र दूधको मूल्य पनि त्यहीँ नै थियो। २०४२।४३ सालतिर थाइल्याण्डबाट आयात गरिएको चाउचाउको मूल्य २।५० थियो। चामल ५।- चिनी ५।- मट्टितेल ५।– प्रतिकिलो थियो।
जिन्सको रेडिमेड पाइन्ट १०० मा मैले नै किनेर लगाएको थिएँ। प्राइभेट क्याम्पसमा पढ्दा प्रवीणता प्रमाणपत्र तहका लागि मासिक शुल्क ५० रुपैयाँ थियो भने त्रि.वि. तर्फका क्याम्पसमा २५ रुपैयाँ मात्र थियो। काठमाडौँदेखि दाङसम्मको साझा बसको भाडा जम्मा १०० रुपैयाँ थियो। नेपालमा सबैभन्दा धेरै भाउ बढ्ने गरेको वस्तु नै सुन भएको छ।