'भ्रष्टाचार' शब्द 'भ्रष्ट' र 'आचार' दुईवटा पद मिलेर बनेको छ। 'भ्रष्ट' शब्दले गिरेको, च्यूत भएको, अपवित्र, खराब, पतित, नियम-कानुनभन्दा बाहिरको, दूषित आदि अर्थ दिन्छ। 'आचार' शब्दले बानीबेहोरा, चालचलन आदि बुझाउँछ।
यसरी भ्रष्टाचार शब्दले खराब, दूषित, गलत आचरण र यस्तै किसिमको कार्यशैली; घुस लिने, छलछाम र जालसाजी गर्ने; राज्यको साधनस्रोत दुरूपयोग गर्ने अचारण बुझाउँछ। सार्वजनिक पद र हैसियत व्यक्तिगत स्वार्थमा दुरूपयोग गरी कानुनविपरीत दस्तुर, इनाम, बकस, नगद वा जिन्सी जुनसुकै रूपमा आर्थिक लाभ लिनु भ्रष्टाचार हो।
अहिले विश्व समुदायमा भ्रष्टाचार सीमाविहीन अपराध बनेको छ। यसले सामाजिक, आर्थिक र मानवीय समृद्धिमा बाधा सिर्जना गरेको छ। भ्रष्टाचार सामाजिक मूल्य-मान्यता र नैतिकता विरूद्धको काम हो; सार्वजनिक हित, दायित्व र आचरणबाट विचलन हो। भ्रष्टाचार सामाजिक न्याय र समानताको शत्रु हो।
सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोतसाधन र अवसर आफ्नो निजी स्वार्थ र फाइदाका लागि प्रयोग गर्नु गैरकानुनी काम हो। यसो गर्नु भ्रष्टाचार हो।
नेपालमा भ्रष्टाचार निवारण ऐन, २०५९ ले भ्रष्टाचार कसुर र सजायको व्यवस्था गरेको छ।
युवा भन्नु अथाह शक्ति, सम्भावना र ऊर्जाको स्रोत भएको उमेर समूह हो। असम्भवलाई पनि सम्भव बनाउँदै परिवार, समाज, मुलुक र विश्व रूपान्तरण गर्न सक्ने अठोट, आँट र ऊर्जा भएको शक्ति युवा नै हो। २०६८ सालको जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेरको युवा जनसंख्या ४०.३५ प्रतिशत थियो। यही उमेर समूहको जनसंख्या २०७८ सालको जनगणनाले ४२.५६ प्रतिशत देखाएको छ।
युवा उमेर जीवनको निर्णायक समय हो। विगत र भविष्य जोड्ने जनशक्ति पनि युवा नै हो। सामान्यतया युवाहरू आशावादी, अवसरउन्मुख, चिन्तनशील, सिर्जनशील, प्रगतिशील, कर्मशील र इमानदार हुन्छन्।
समाज र मुलुकमा व्याप्त भ्रष्टाचारको पहिचान, भ्रष्टाचार हुनुको कारण पहिचान र समाधानको उपायसहित भ्रष्टाचारविरूद्ध अभियान चलाउने जिम्मेवारी युवाको काँधमा छ। युवा आजको साझेदार र भविष्यको कर्णधार हो। भोलिको मुलुकको अजस्र स्रोत र शक्ति पनि युवा नै हो।
मुलुकका तीन तहका सरकार र ती अन्तर्गतका निकायहरूमा भ्रष्टाचार व्याप्त छ भन्ने समाचार सञ्चार माध्यममा दैनिकजसो आइरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालाई धेरै भ्रष्टाचार हुने मुलुकका रूपमा देखाउने गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१९ को प्रतिवदेनमा १८० देशमध्ये ३४ अंक पाएर नेपाल ११३ औं स्थानमा थियो। डेनमार्क ८७ अंकसहित सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक देखियो। सोमालिया ९ अंक पाएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा गनियो।
सन् २०२३ मा नेपाल ३५ अंकसहित १०८ औं स्थानमा पर्यो। नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायत अंगहरू छन्। संविधान र कानुनले आवश्यक व्यवस्थाहरू गरेको छ। सबै अंग र कानुनी प्रबन्धहरू समन्वयात्मक र प्रभावकारी परिचालन नहुँदा भ्रष्टाचार बढ्दो क्रममा छ।
भ्रष्टाचार हुने अनेक कारणहरू छन्। खराब आचरण भएको व्यक्तिबाट परिस्थिति र मनस्थिति (इच्छा र अवसर) मिलेसम्म जहाँ, जहिले र जसरी पनि भ्रष्टाचार हुन्छ। भ्रष्टाचारको मुख्य कारणमा राजनीति नै जोडिन आउँछ। भ्रष्टाचार नियन्त्रणमा राजनीतिक प्रतिबद्धता र इच्छाशक्तिको अभाव देखिन्छ। भ्रष्टाचारको राजनीतीकरण र राजनीतिको भ्रष्टीकरण देखिएको छ। राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण बढेको छ।
यस्तो परिवेश भ्रष्टाचारका लागि सहज भएको छ।
सत्ता गठबन्धन जुट्ने र फुट्ने खेलले पनि भ्रष्टाचार बढाउन मद्दत गरेको छ। राजनीतिमा असल संस्कारको अभाव बढ्दै जाँदा राजनीतिक शक्तिको आडमै भ्रष्टाचार बढेको छ। सरकार नै नीतिगत भ्रष्टाचारमा संलग्न भएको भनेर आलोचना हुने गरेको छ। राजनीतिक व्यक्तिहरू नै भ्रष्टाचारमा संलग्न हुने क्रम बढ्दो छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डाले भ्रष्टाचारमा परोक्ष सहयोग पुर्याएको छ।
समाजमा व्याप्त अभाव, बेरोजगारी, गुजारा चलाउन नपुग्ने न्यून बेतन, स्रोतको अपारदर्शी परिचालन, छिटो धनी बनुपर्छ र जसरी पनि धन कमाउनुपर्छ भन्ने मानसिकता पनि भ्रष्टाचारका कारणहरू हुन्। राजस्व चुहावट, करछली, राजनीति र प्रशासनमा व्याप्त कमिसनतन्त्र, धनका माध्यमबाट उच्च तहमा प्रभाव पार्ने प्रवृत्ति पनि भ्रष्टाचार हुनुको आर्थिक कारण हो।
सम्पत्ति हुने व्यक्ति समाजमा स्वतः सम्मानित हुने मनोवृत्ति सामाजिक रोग बनेको छ। सम्पत्तिको स्रोत खोजी नभई सम्मान बढ्नुले भ्रष्टाचार प्रोत्साहित गरेको छ। यसैबाट बढदो तडकभडक, उपहार, फजुल खर्च आदि भ्रष्टाचारका सामाजिक कारणहरू हुन्। त्रुटिपूर्ण कानुन; कानुन कार्यान्वयमा बेवास्ता; कानुनको अपहेलना; सरकारी अधिकारीहरूको तजविजी अधिकार; कानुनको अपव्याख्या; सार्वजनिक पद धारण गरेको व्यक्तिमा सदाचारिता, इमान र नैतिक चरित्रको अभाव कानुनसँग सम्बन्धित कारणहरू हुन्।
भ्रष्टाचार विरूद्ध ऐक्यबद्धताको अभाव, सेवा प्रवाहमा सूचना प्रविधिको न्यून प्रयोग, सूचना प्रविधिको दुरूपयोग, सामाजिक चेतनाको कमी र गोप्य सरकारी सूचना चुहावट पनि भ्रष्टाचार बढ्नुका कारणहरू हुन्। यस्तो भ्रष्टाचारले समाज र मुलुकमा नकारात्मक प्रभावहरू पारेको छ। समाजमा समाजमा धनी र गरिबबीचको अन्तर बढ्दो क्रममा छ। शिक्षित युवा जनशक्तिमा व्याप्त निराशाले विदेश पलायन बढेको बढ्यै छ।
भ्रष्टाचारकै कारण समाजमा नैतिक मूल्यमान्यतामा गिरावट बढ्दै गएको छ। अनुशासनमा क्षयीकरण व्यापक छ। सीमित व्यक्तिले गरेको फजुल खर्चले सामान्य मानिसमा नकारात्मक प्रभाव बढ्दो क्रममा छ। इमानदारी र सदाचारी ओझेलमा पर्दै जाँदा 'चोरलाई चौतारो, साधुलाई शूली' र 'जसले गर्यो धर्म उसको फुट्यो कर्म, जसले गर्यो पाप उसको फलिफाप' भन्ने नेपाली आहान चरितार्थ हुन थालेको छ।
भ्रष्टाचार बढ्दै जाँदा आर्थिक वृद्धिदर निराशाजनक छ। वितरण प्रणालीमा अन्याय बढ्दैछ। वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ। परिणामस्वरूप बेरोजगारी पनि बढ्दै छ। लोकतान्त्रिक व्यवस्था भनिए पनि राजनीतिक र प्रशासनिक प्रणाली अलोकतान्त्रिक बनेको देखिँदै छ। कानुनको शासन बरालिन थालेको, मानवअधिकारको अनादर बढेको र दण्डहीनताले प्रश्रय पाएको देखिँदै छ।
सरकार खासखास किसिमका स्वार्थी समूहहरूको इशारामा चलेको जस्तो देखिने गरेको छ। सामाजिक र साम्प्रदायिक सदभाव खलबलिने र निमुखाहरू अझै हेपिँदै जाने सम्भवना उत्तिकै बलियो छ। सबै किसिमका अवसरहरूमा टाठाबाठा र सम्भ्रान्त वर्गको बोलवाला बढ्ने तथा पिछडिएका वर्ग र क्षेत्र मारमा पर्दै जाने सम्भावना पनि बलियो छ। यसले सामाजिक न्याय र समता प्रवर्द्धन झन् कमजोर बनाउने छ।
यस्तो अवस्थाले सामाजिक, आर्थिक र राजनीतिक संकट पैदा गर्न सक्छ। समाजमा कलह र द्वेष बढाउन सक्छ। अन्ततः मुलुक झन् पछाडि धकेलिने पनि हुन सक्छ। नागरिक असुरक्षा बढ्ने, सरकारप्रतिको जनविश्वास गुम्ने, राजनीतिक अस्थिरता बढ्ने र आपराधिक घटनाहरू बढ्ने सम्भावना झन् बलियो हुँदै जान सक्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापारमा पनि असर पर्न सक्छ।
युवा शक्ति बहुआयामिक सुधार अभियानको संवाहक हो। युवा शरीरमा ताकत, मस्तिष्कमा नवीन सोच र मनमा सपना अनि सपना साकार पार्ने दृढता भएको शक्ति हो, सम्भावना र सिर्जनाको ऊर्जा हो। आजको युवा आजकै र सन्निकट भविष्यको मुलुकको राजनीतिक, प्रशासनिक, सामाजिक, प्राज्ञिक, व्यावसायिक लगायतका सबै क्षेत्रको नेतृत्व हो। यस्तो युवा जनशक्तिलाई सक्षम, प्रतिस्पर्धी, आत्मनिर्भर र सक्रिय बनाई अधिकार र कर्तव्यप्रति सचेत बनाउनु आजको आवश्यकता हो।
युवा जनशक्ति भ्रष्टाचार विरूद्धको अभियानमा एकताबद्ध भएर अघि बढ्न आवश्यक छ। भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक शक्तिलाई दबाब दिन सक्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण विरूद्ध हुंकार गर्न सक्ने जनशक्ति पनि युवा नै हो। राज्यशक्तिको दुरूपयोग र नीतिगत भ्रष्टाचार रोक्न युवा समुदायले निरन्तर खबरदारी गर्नुपर्छ। संवैधानिक अंगहरूका पदाधिकारी नियुक्तिमा दलीय भागबण्डा अन्त्य गर्न बाध्य पार्न सक्ने शक्ति पनि युवा नै हो। युवा जनशक्ति सामाजिक विकृति र विसंगति न्यूनीकरणका दिशामा पनि जागरूक हुन आवश्यक भएको छ।
आज राजनीति र कर्मचारीतन्त्रमा भ्रष्टाचार व्याप्त भयो भनिरहँदा भोलि यी दुवै क्षेत्रमा पुग्ने पनि युवा नै हुन् र आज पनि धेरै युवा यी क्षेत्रमा छन् भन्ने तथ्य मनन गर्न आवश्यक हुन्छ। भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने, समाजमा सदाचार प्रवर्द्धन गर्ने, कानुन कार्यान्वयनमा सरकारलाई दबाब दिने, भ्रष्टाचार विरूद्ध सामाजिक चेतना अभिवृद्धि गराउने काममा पनि युवा जनशक्तिले संगठित अभियान चलाउनु आवश्यक भएको छ।
सार्वजनिक निकायका कामकारबाही पूर्ण रूपमा पारदर्शी बनाउन पहल गर्ने र विकास आयोजना लगायत अन्य सार्वजनिक खर्चको सामाजिक लेखा परीक्षण अनिवार्य गराउने काममा पनि युवा सक्रियता चाहिएको छ। समाजमा सदाचार र सुशासनको संस्कृति विकास गर्न युवाको जागरूकता चाहिएको छ। समाज, राजनीति, प्रशासन लगायत राज्यका सबै निकायहरूमा रोल मोडल हुन सक्ने पनि युवा नै हो।
भनिन्छ कि मुहान र भर्याङ माथिबाटै सफा गर्नुपर्छ। भ्रष्टाचारको मुहान खोजी गर्ने र सफाइ अभियान चलाउन सक्ने समुदाय युवा नै हो। यही समूहले मात्र सरकारलाई खबरदारी गर्न र बाध्य पार्न सक्छ। देशमा सुशासन कायम गर्न आमसञ्चारका माध्यमहरू बलिया साधन हुन्। सञ्चार माध्यम जति स्वतन्त्र र सशक्त हुन्छन् तिनको प्रभावकारिता पनि त्यतिकै बढी हुन्छ।
यस्ता सञ्चार माध्यमको साथमा युवा जनशक्तिले देशमा सुशासन अभिवृद्धिका लागि अतुलनीय काम गर्न सक्छ। गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गर्नु गम्भीर अपराध हो, सामाजिक बेइज्जत हो भन्ने बोध नहुँदासम्म भ्रष्टाचार भइरहन्छ।
भ्रष्टाचार समाज र राष्ट्रको महारोग हो। विकास र समृद्धिको बाधक हो। समग्रमा गम्भीर अपराध हो। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सार्वजनिक प्रशासन तथा राज्यका जुनसुकै निकायका जतिसुकै उच्च पदाधिकारी भए पनि भ्रष्टाचारको अपराधमा निर्धक्क छानबिन गर्ने र मुद्दा चल्ने सुनिश्चिता हुनुपर्छ।
यस्तो अवस्थाका लागि सम्बद्ध सबैलाई बाध्य पार्ने शक्ति र आँट युवामा मात्रै हुन्छ। भ्रष्टाचार अन्त्यका साथ सामाजिक न्याय, सुशासन र पारदर्शिताबाट मात्र 'समृद्ध नेपाल, सुखी नेपाली' सपना पूरा हुन सम्भव छ।
यसर्थ, 'भ्रष्टाचार नियन्त्रणको मूल आधार जागरूक युवा र जिम्मेवार सरकार' भन्ने मूल मन्त्रका साथ देशले युवाको योगदान खोजेको छ।
(लेखक अधिवक्ता हुन्)