जेठ महिनाका अन्तिम दिनहरू चल्दै थिए। घामको रापले काठमाडौं अलिक बढी तातेको थियो। लैनचौरस्थित ब्रिटिस काउन्सिलको एक कार्यक्रम सकाएर साँझ केहीबेर केशरमहल हेर्न रोकिएँ। पुस्तकालय समेत रहेछ। आफ्नो रूचिअनुरूपका थुप्रै पुस्तकहरू पनि भेटेँ। टिनको बार राखिएको, अलिक अव्यवस्थित भने थियो।
अमेरिकी इतिहासकार एवम् लेखक वाल्टर आइज्याकसनद्वारा लिखित 'स्टिभ जब्स' को जीवनीबारे पुस्तकमा निकैबेर आँखा गढे।
निस्कने बेला केशरमहलको भव्यता देखेँ। प्रवेशद्वारको दायाँ-बायाँ दुवैतर्फ काला सिंहका मूर्ति, सामुन्ने प्राङ्गणमा स्वर्णमय प्रतिमाहरू, त्यसअगाडि हरियो दुबोले घेरिएको स्वचालित पानीको फोहोरा (वाटर फाउन्टेन)।
आदिम युरोपेली शैलीको झल्को दिने, विशेष काठका झ्याल-ढोका जडित, सेतो चुनले टल्किएको केशरमहल निकै मनमोहक देखिन्थ्यो। केही क्षण नजिकबाट नियालेपछि गोजीबाट फोन निकालेँ र बन्दै गरेको भवन र त्यस आसपासका मूर्तिहरूको तस्बिर लिने प्रयत्न गरेँ।
त्यहाँ रहेका पालेले तस्बिर लिन नमिल्ने बताएपछि फोन बन्द गरेर प्राङ्गणमै उभिइरहेँ। राणाहरूको विलासिता नै सही, तिनीहरूले गरेको विकास, छोडेर गएका दरबार, भवन र महलहरू एक-एक गर्दै मस्तिष्कमा कुदे।
मण्डला बुक पोइन्टबाट केही आवश्यक पुस्तक लिनको लागि थोरैबेर रोकिनुपर्ने थियो। पुस्तक पारखी भएकोले हरेकपल्ट यो बाटो हिँड्दा, पुस्तक पसलमा पस्ने गर्छु। राम्रो कलेक्सन छ यहाँ, विशेष गरी ऐतिहासिक एवं दार्शनिक शैलीका पुस्तकहरूको।
केशरमहलबाट मण्डला पुग्नुअगावै, दरबारमार्गतर्फ मोडिएँ। कफीको शौखिन भएकाले, सम्भवत, रोकिन मन लाग्छ, हरेक कफी सपमा। हराउँछु पनि, आफ्नै धूनमा।
नारायणहिटी दरबार अगाडिको मार्ग आफैमा धेरै घटनाहरूको मुकदर्शक हो। शान्त वर्तमानमा, अहिले भने यसले धेरै पुँजीपति वर्गलाई आड एवम् आश्रय दिएको छ। एउटा चाहना थियो, यो ठाउँमा एकछिन रोकिएर शाही लगायत् विराट नेपाली इतिहासको साक्षी बाटोलाई नियालेँ, आऊजाऊ गर्ने मानिसहरू हेरेँ। सोही मनसायका साथ नजिकैको क्याफेमा प्रवेश गरेँ।
निकै मिठो कफी, एप्पल पाई र फ्रेन्च क्रोसा (पाउरोटी) को स्वाद लिने अवसर मिल्यो। समय रोकियो, या भनौं रोकेँ, एकैछिन दरबारमार्गमा।
क्याफेमा लाट्टेको स्वादमा भुल्दै झोलामा राखेका पुस्तक हेर्दै थिएँ। यत्तिकैमा, पछाडि दुई मानिस हिमालबारे गफिएको सुनेँ। अमेरिकी डलरमा केही हजारको हिसाब गर्दै थिए। दिन छिप्पिदै गयो। अलिक बेरमा उनीहरू निर्मल पुर्जाबारे र उनको हालै निस्किएको हिंसाको प्रसंगमा अलमलिए।
न्युयोर्क टाइम्सले कीर्तिमानी आरोही निर्मल पुर्जा माथि लेखेको 'फर फिमेल क्लाइम्बर्स, डेन्जर गो बियोन्ड एभालान्स्सेज एन्ड स्ट्रोम्स' (महिला आरोहीका लागि हिम्-पहिरो र आँधी भन्दा खतरा अर्कै छ) भन्ने लेखमाथि पनि कुरा गरेको सुनेँ।
केही क्षणमा कफीको गिलास रित्तिएपछि, म पछाडि फर्किएँ। दुवै मानिस गफमै व्यस्त थिए। निर्मल पुर्जाबारे उनीहरूलाई केही सोधपुछ गरेँ।
'तपाईं कानुनको विद्यार्थी पर्नुभो कि?,' सोहीमध्येका एकले सोधे।
मेरो अध्ययनको विधा कृषि रहेको खुलाएपछि, पहिले सशंकित उनी, केही शान्त देखिए। हिमाल आरोहण, पर्यटन व्यवसाय, निर्मल पुर्जा लगायत् विविध विषयमा रोचक एवम् गहन कुराकानी भयो।
लामो संवादपश्चात्, सोहीमध्ये एकले मेरो प्रश्नको जबाफमा, आफ्नो परिचय खुलाए। नाम याद नभए पनि, यति थाहा भयो कि, उनी सगरमाथा चढ्ने पहिलो हवाई पाइलट रहेछन्।
'अनि हजुर?,' आडमा बसेका अर्का मानिसलाई सोधेँ।
'मिङ्मा शेर्पा,' जबाफ फर्काए।
विश्वका १४ ठूला शिखरसहित सगरमाथा समेत चढेका आरोही परेछन्। अचम्मित भएँ।
'तपाईं स्कुल नजाँदै मैले माउन्ट के-टु चढें हुँला,' सन् २००४ को प्रसङ्ग निकाल्दै मिङ्माले भने।
प्रत्येक पल्ट हिमालको कुरा गर्दा उनको मुहार उज्यालो हुन्थ्यो, मानौं मध्यदिनको घाम उनको अनुहारमा परेको छ। लाग्थ्यो, निकै प्रेम गर्छन् हिमाललाई। नगरून् पनि किन! उनलाई हिमालले सबथोक दिएको छ। आफ्नो विशेष परिचय, जीविकोपार्जनको माध्यम, उल्लासमय जीवन, सयौं मानिससँगको भेट, आदि।
मलाई लाग्छ मिङ्माले आफ्नो जीवन अर्थपूर्ण बनाए। उनको आँखामा टल्किने खुसी, उनको ओठमा अडिएको हाँसो, त्यसकै प्रतिबिम्ब हो।
हिमालको बीचमा मानवस्पर्शविहीन रहेर शिखरतर्फ हेर्दाको अनुभूति कस्तो होला। मैले एकछिन कल्पना गरेँ। मलाईभित्र केही भयो। आँखाका नानीहरू ठूला भए, छाती ढक्क फुल्यो, हातमा काँडा उम्रेको भान भयो, रौं अलिक ठाडा भए। मेरा सामुन्ने कैयौंपल्ट सो अनुभव हासिल गरेका विश्वविख्यात आरोही थिए।
उनले शान्त हिमाल देखेका थिए। सायद जुनेली रातमा सेता-एक्ला हिमाल हेर्दा मानिसमा अस्तित्वगत प्रश्न तेर्सिंदा हुन्।
हिमालको मौनताले कति प्रश्नहरूको जबाफ पनि दिँदो हो। मलाई लाग्यो उनले रिक्तता पनि राम्ररी चिनेका छन्। जीवनको गहिराइ नापेका छन्। यसो भनौं, उनले जीवनलाई चारैतिरबाट हेरेका छन्। उनमा अस्तित्वप्रतिको अधिचेतना व्याप्त थियो, किनकि हिमालमा मृत्यु समिप हुन्छ। अझ यसो भनौं, मानिस मृत्युसँग हरक्षण सिङ्गौरी खेल्छ, हिमालमा। मृत्युबोधले ल्याउने शून्यभावलाई पराजय गर्न सके मानिस अर्थपूर्ण जीवन बच्दो हो। भन्छन्, मृत्यु बुझेमा मात्र जीवन बुझ्न सकिन्छ।
आदिमकालदेखि नै मानिसहरू अर्थको खोजमा भौंतारिरहेको देखिन्छ। पश्चात्य दार्शनिक (सार्त्र, क्रिक्गार्ड, कामु, हाईडिगर, लगायत्) अस्तित्ववादी चिन्तकहरू जीवनको कुनै ठोस अर्थ हुनेमा विश्वास गर्दैनन्। यद्यपी, जीवनमा निरन्तर अर्थ खोज्नु मानवीय स्वभाव हो। यही खोजबीच ब्रह्माण्डले मानिसहरूप्रति देखाउने शून्यभावले मानिसमा सृजित गर्ने उदासीनता पनि कामु लगायत् विचारकहरूको सिद्धान्तमा देख्न पाइन्छ। कामुले सोही एब्सर्ड भावनाबारे धेरै लेखे, आफ्ना लेखहरूमा। सो भावनालाई स्वीकार्दै अगाडि बढ्नु र सिसिफस जस्तो प्रतिकूल अवस्थामा पनि एक नायक बन्नु, सही अर्थमा बाँच्नु हो। मैले मिङ्मामा एक सिसिफस देखेँ।
मानवीय जीवनमा हिमाल साहसको मानक हो। कति धेरै हिमाल चढ्नु छ, जीवनमा मानिसले। कति असफलता बेहोर्नु छ। अनि लामो संघर्षपश्चात् प्राप्त हुने सफलता कति क्षणभंगुर छ। जीवनको ठोस अर्थ खोज्न निस्किनेहरूमा शून्यवाद हाबी हुनु नौलो विषय होइन। यसकारण पनि, आफ्नै मौलिक अर्थ बनाएर जीवन जिउनु मनासिव ठहरिन्छ। नित्सेको शून्यवादी चेतबाट उठेर कर्मशील जीवन जिउनु न्यायोचित हो। मिङ्मासँगको भेटले केही सकारात्मक ऊर्जा प्रदान गर्यो। केही हलुका महसुस गरेँ।
अक्सर काठमाडौं खाल्टोमा, विशेष प्रकृतिका मानिसहरू दिनहुँजसो भेट भइरहन्छन्। मेरा थुप्रै जिज्ञासाको जबाफ दिए, मिङ्माले। अग्लो मानिस, शिखर छुने मानिस, बोलीमा निकै नम्र। यस्तो लाग्थ्यो उनको शिर आकाशमा छ, यद्यपि उनले जमिन भुलेका छैनन्। निकै रोचक प्रसंगहरूमा समय बित्यो।
जाने बेला उनले भने, 'भाइ तपाईंको तिरिसकेको छु है। सि यु!' म निरूत्तरित रहेँ।
बिस्तारै भनेँ, 'हजुर, ए, हो!.. थ्याङ्क यु!' क्याफेमा निस्फिक्री हाँसो छर्दै उनी निस्के।
शेर्पाहरूप्रति नौलो भाव जागृत भयो। छाती ठूलो हुन्छ भन्थे, त्यस्तै देखेँ। यस्तो लाग्यो, बुद्धको आत्मा बोकी, मृत्युलाई छल्दै, हिमालमा क्रेम्पोनका पाइला चाल्ने मिङ्माहरू, जेन दर्शनका मानक हुन्। बादलमाथि, हिमाली चुचुरा देखेका छन्, तिनले। उनले चालेका पाइतालाका डोबहरू, गगनचुम्बी हिमालमा सुरक्षित रहनेछन्, युगौं-युग।
मिङ्माको चम्किलो मुहार धेरैबेर मस्तिष्कमा कुदिरह्यो!
संवाद यति रोचक थियो कि फोटो खिच्ने समय मिलेन। या भनौं आवश्यक देखिनँ।
मनमा कतै-कतै हिमाल चढ्ने रहर जागृत भयो..