आज हामी २१ औँ शताब्दीमा छौँ। हरेक देशहरूले आफूलाई विकास गर्दै गइरहेका छन्। अहिलेका प्रायः नागरिक सचेत छन्। विकसित देशका नागरिक आफूलाई व्यस्त राख्न रुचाउँछन्। उनीहरू आफ्नो काम बाहेक अन्य कुराको मतलब गर्दैनन्। उनीहरूले यसरी देशलाई विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्दै आएका छन्।
तर हाम्रो नेपाली समाज यो अवस्थामा आएर पनि आफ्नो काम, कर्तव्य ध्यान नदिईकन अरूको चाकडी र चाप्लुसी गर्न व्यस्त छ। सामन्तवादी समाजबाट पुँजीवादी समाजसम्म आइपुग्दा पनि चाकडी र चाप्लुसीले समाजलाई दूषित बनाएको छ। सामन्तवादी समाजमा चाकडीले प्रशय पाउनु कुनै नौलो विषय थिएन तर त्यो सोचको अवशेष अहिलेको नयाँ लोकतान्त्रिक व्यवस्थामा आएर पनि हट्न सकेको छैन जुन समाज र राज्यको लागि विडम्बनाको कुरा हो।
यसको उद्गम स्थल हाम्रा पुराना शासकहरू नै हुन्। परापूर्व कालदेखि सुरु भएको चाकडी र चाप्लुसी यो अवस्थामा आएर पनि व्यापक छ। हुन त देशमा विभिन्न व्यवस्थाहरू आए, समय-समयमा विभिन्न शासकहरूले शासन गरे। राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि चाकडी र चाप्लुसी गर्ने मानिसहरूको सङ्ख्या धेरै बढ्दै गएको छ।
चाकडीको इतिहास कहिलेबाट सुरु भयो त्यो कसैलाई थाहा छैन। तर यसले समाजमा नकारात्मक तरिकाले भूमिका खेलेको छ। परिवर्तनकारी समूहले बोली भाषालाई चाकडी चाप्लुसीको संज्ञा दिए पनि त्यो बोली भाषा चाकडी लाग्दैन मलाई तर आफूलाई सही साबित गर्न अरूको कुरा काट्दै हिँड्ने, अरूको नकारात्मक कुरा गर्दै हिँड्ने जसरी पनि आफू राम्रो, अरू सबै नराम्रो भन्दै विरोध गर्दै हिँड्ने मानिसहरूलाई मैले चाकडी र चाप्लुसीको वर्गमा राखेको छु।
हो, कसैलाई यस्ता कुरा मन नपर्ला तर समाजको वास्तविकता यही हो। चाकडी गर्ने पनि विभिन्न आ-आफ्नै तरिका तथा उपायहरू हुन्छन्।
समाजका हरेक क्षेत्रमा चाकडी मौलाएको छ। कुनै मानिस आफ्नो मेहनत र परिश्रमले लोक सेवा नाम निकाल्न सफल हुन्छ। तर उसले त्यसपछि हरेक सरुवा बढुवामा कसैको चाकडी तथा चाप्लुसी गर्नु पर्ने बाध्यता हुन्छ। यो एउटा तितो सत्य कुरा हो।
चाकडी र चाप्लुसीको जालो सीमित ठाउँमा मात्र छैन। यो जताततै फैलिएको छ। प्रत्येक सरकारी कार्यालय, मन्त्रालय, राजनीतिक पार्टी तथा अन्य कुनै पनि क्षेत्रमा यसले राम्रोसँग जरा गाडेको छ। कर्मचारीले आफू कार्यरत कार्यालयको हाकिमको चाकडी गर्नुपर्ने बाध्यता नै छ। त्यसै गरी राजनीति गर्ने मानिसले पनि आफूले अवसर पाउन आफ्नो पार्टी नेतृत्वको चाकडी गर्छन्। यस्तो नगरेको खण्डमा पार्टीका हरेक अवसरबाट वञ्चित गरिन्छ। राजनीति गर्ने मान्छेले पनि आफ्नो पूरै उमेर राजनीतिमै समर्पण गरेको हुन्छ तर उसले कुनै राजनीतिक अवसर प्राप्त गर्न सक्दैन। उल्टो पार्टीबाट निष्कासन गर्ने तथा कारबाही गर्ने गरेको हामी सबैलाई थाहा छ।
नेपालमा कुनै पनि किसिमको व्यापार-व्यवसाय, उद्योग धन्दा सञ्चालन गर्नुपर्दा र त्यसको अनुमति लिँदा कसै-कसैको चाकडी गर्नुपर्ने। वित्तीय संस्थाबाट ऋण लिनुपर्यो, कुनै ठेक्कापट्टा लिनुपर्यो, छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गर्नुपर्यो, हुँदा-हुँदै बिरामीलाई कुनै राम्रो अस्पतालमा उपचार गराउन पर्दा पनि चाकडी गर्नुपर्ने बाध्यता छ। आजको बदलिँदो समाजमा पनि चाकडी नराम्रोसँग मौलाउनु विडम्बना हो।
यहाँ मानिसका चाकडी गर्ने आ-आफ्ना तरिका छन्। एक समूह आफ्नो नेतृत्वसँग कुरा काटेर, भए नभएका कुरा लगाएर चाकडी गर्छन् भने कोही समूह विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर चाकडी गर्ने गरेको पाइन्छ। कोही मानिस आफ्नो काम कर्तव्य छोडेर नेतृत्वको वरिपरि घुमिराख्ने फुर्सद भए पनि नभए पनि एकपल्ट चाकडी गर्न पुगिहाल्ने चलन छ।
समय यस्तो भएकी कसै मानिसको माया पाउनको लागि पनि चाकडी गर्नुपर्ने। भोको पेटलाई भर्न पनि चाकडी गर्नु पर्ने। हुँदा-हुँदा आफूले दिएको सापटी पैसा फिर्ता माग्न पनि चाकडी गर्नुपर्ने अवस्था आएको छ।
आफूले सहयोग गरेका साथीभाइको सहयोग पाउन पनि चाकडी गर्नु पर्ने बाध्यता छ। सँगैका साथीहरूले पनि आफ्नो सफलता पाउन आफ्ना सहकर्मीहरूको कुरा काटेर विरोध गरी आफूले सफलता हासिल गर्न खोज्छन्।
चाकडी गर्नेहरूको सबैभन्दा ठुलो कमजोरी भनेको उनीहरूमा चाकडी गर्ने बाहेक अरू विशेष क्षमता हुँदैन। विशेष कला हुँदैन। विशेष दक्षता हुँदैन। यदि उनीहरूसँग अरू कला, क्षमता, सीप हुँदो हो त चाकडीबाजी गर्नेतर्फ लाग्दैन थिए होला। आफूमा केही क्षमता नभएकाले चाकडीबाजी गर्न थाल्छन्।
चाकडी बाजले निम्त्याउने खतरा भनेको असल, इमानदार र सोझा व्यक्तिहरू हरेक अवसरबाट वञ्चित हुनु पछाडि पर्नु हो। चाकडी गर्ने धूर्त र फटाहरूले हरेक अवसर एवं मौका हत्याउँछन्। उनीहरूकै रजगज चल्छ। यसले गर्दा इमानदारहरू निरुत्साहित हुन पुग्छन्। धूर्तहरू फस्टाउँदै जान्छन्। आखिरमा यसले समाजमा नराम्ररी जरा गाड्छ।
चाकडीबाजीको भय चाकडी गर्नेहरू कामचोर हुन्छन्। उनीहरू चाकडीकै भरमा अरूलाई रिझाउने, भुलाउने मनोवृत्तिका हुन्छन्। यस्ता चाकडीबाजीले आफ्नो काम फत्ते भइसकेपछि धोका दिन सक्छन्। उनीहरू आफैप्रति विश्वस्त हुँदैनन्। अरूलाई विश्वास गर्दैनन्।
समयले आज हरेक क्षेत्रमा अगाडि बढिसकेको छ तर पनि हाम्रो सोच र काम गर्ने शैली अरूको चाकडी गर्नमा नै व्यस्त छ। चाकडी बाजी हटाउन सकिएको छैन। किन मानिस चाकडी बिना अगाडि बढ्न सक्ने क्षमता नभएको हो कि चाकडी गर्न रमाउने वा त्यसैमा खुसी हुने हो कि के रहेछ, यो सबैको लागि रहस्यमय छ।
जो मानिस चाकडी गर्ने गर्छ, सम्झनुहोस् यो मान्छे हरेक कुरामा कमजोर छ, यसमा कुनै क्षमता छैन। क्षमता नहुने मानिसले अरूको चाकडी गर्ने हो। क्षमतावान् मानिस आफ्नै बल बुद्धिले अगाडि बढेका हुन्छन्। उनीहरूलाई कसैको चाकडी चाप्लुसी गर्न आवश्यक हुँदैन।
कसैको पनि चाकडी गरेर आफूमा भएको क्षमतालाई किन खेर फाल्नु पर्यो? एक समय आउने छ, चाकडी गर्ने मानिसहरूलाई समाजले बहिष्कार गर्ने छ र सबैले धिक्कार्ने छन्। यो क्षणिक समयको लागि हो भन्ने कुरा थाहा पाए हुन्छ।
किन हरेक क्षेत्रमा चाकडी चाप्लुसी मौलाएको छ, यसमा विचार विमर्श गर्न आवश्यक देखिन्छ। यसलाई हामीले समाजबाट बहिस्कार गर्न आवश्यक देखिन्छ। सबैले आ-आफ्नो क्षेत्रबाट यस्तो प्रवृत्तिलाई बहिष्कार गरेको खण्डमा यसले प्रशय पाउने थिएन।
यदि कुनै पनि मानिसमा आफूमा आत्मविश्वास नभएको खण्डमा पनि अरूको आलोचना गर्ने तथा चाकडी चाप्लुसीतिर बढी अग्रसर हुन्छन्। सचेत नागरिकले पनि राज्यको मुख हेरेर मूकदर्शक भएर बस्नु हुँदैन। समाजलाई सभ्य, सकारात्मक एवं आशा र विश्वासले भरिपूर्ण बनाउनु सबै सचेत नागरिकको कर्तव्य र दायित्व पनि हो।
यहाँ मानिस अरूको विरोध र आलोचना नगरी खुसी हुँदैनन् जस्तो लाग्छ। हाम्रा शासक पनि अरूले आफ्नो चाकडी र चाप्लुसी गरोस् भन्ने सोच राखेको भान हुन्छ। समाजमा कहिलेसम्म यस्ता भाइरसहरूले ठाउँ पाउने छन्, त्यो कुरा कसैलाई थाहा छैन।
आफूमा भएको ज्ञान क्षमताले अगाडि बढ्ने हो। अरूको आलोचना गरी आफू राम्रो बन्ने कोसिस नगरौँ। त्यसले तपाईंलाई क्षणिक रूपमा फाइदा होला तर कालान्तरमा गएर यसले बेफाइदा गर्नेछ।
जुन देशमा लोकतन्त्र बलियो हुँदैन त्यो देशमा चाकडीको विकृति धेरै हुन्छ। हामी समाजलाई बदल्न लाग्ने होइन, सबैभन्दा पहिला आफैँलाई बदलौँ, त्यसपछि समाज आफै बदलिन्छ र समाजबाट यस्ता किसिमका चाकडी बाज हराउँदै जान्छन्।
चाणक्य नीतिमा भनिएजस्तै कसैको निन्दा नगरौँ। यदि मद्दत गर्न सक्छौँ भने हात बढाऊँ, यदि सक्दैनौँ भने हात जोडौँ। त्यसैले कसैको चाकडी र चाप्लुसी गर्दै नहिँडौँ, आफूमा सकारात्मक सोचको विकास गरौँ।