२०४७ भदौ २६ गते रोल्पाको लिबाङबाट भतिज विष्णु आचार्यले 'आवा' पठाए- 'छोरा जन्मिएको हुँदा तु. घर आउनु।'
तुरुन्त लेख्दा बढी पैसा लाग्ने हुँदा 'आवा' पठाउँदा 'तु' मात्र लेखिन्थ्यो। 'आउनु' मा 'होला' थप्दा पैसा थपिने हुँदा आउनु मात्र लेखिन्थ्यो। जनमानसमा त्यति बेला नै कम पैसामा सञ्चार सेवा लिनुपर्छ भन्ने चलन बसिसकेको थियो। अहिलेका बालबालिकाहरूलाई 'आवा' भनेको के हो थाहा नै छैन। 'आवा'को पूरा रूप आकाशवाणी हो। अहिले भने आवाको प्रचलन छैन।
भारतमा एउटा रेडियो प्रसारण संस्थाको नाम पनि आकाशवाणी नै थियो, जुन हामीहरूले सानो हुँदा सुन्ने गर्थ्यौँ। त्यसका अलावा खस्राङ रेडियो, रेडियो पेकिङ, रेडियो सिलोन र अल इन्डिया रेडियो पनि सुन्थ्यौँ। बिबिसीमा पहिला नेपाली भाषामा प्रसारण नहुने हुँदा कमैले सुन्दथे। पछि नेपाली भाषामा पनि प्रसारण हुन थालेपछि बिबिसी नेपाली सेवा धेरैले सुन्न थाले।
'यो अल इन्डिया रेडियो हो, दर्शन ठाकुरबाट समाचार सुन्नुहोस्' भनेर उक्त रेडियोले समाचार भनेको म कहिल्यै बिर्सिन्नँ। दर्शन ठाकुर महिला समाचार वाचक थिइन्। आवाकै प्रसङ्ग जोडौँ- कुनै बखतसम्म रोल्पाको लिबाङमा आवा जेनरेटरले चल्थ्यो। म घरमा खबर पठाउन कहिलेकाहीँ त्यसको प्रयोग गर्थेँ र त्यसका लागि त्रिपुरेश्वरस्थित आवा अफिसमा जाने गर्थेँ। लामो खबर पठाउनु परेमा सुनधाराकै गोश्वारा हुलाक कार्यालय जान्थेँ।
जिल्लास्थित आवा स्टेसनहरू नेपाल दूरसञ्चार संस्थानले सञ्चालन गर्थ्यो। अहिले संस्थानको नाम नेपाल दूरसञ्चार कम्पनी लिमिटेड हुँदै नेपाल टेलिकम भएको छ। मेरा पत्रहरू पोस्ट बक्स नं ४९६ मा आउँथे। त्यति बेला काठमाडौँमा पत्र मित्रताको चलन बढेको थियो। नयाँ सन्देश, मातृभूमि, नयाँ समाजलगायत केही पत्रपत्रिकाहरू मात्र प्रचलनमा थिए। दर्ता त धेरै थिए, तीमध्ये प्रायजसोले चाडबाडमा विज्ञापन उठाउने काम मात्र गर्थे।
विमर्श, देशान्तर, दृष्टि, अलि चर्का खालका पत्रिकामा गनिन्थे। पछि सिनेपत्रिकाको रूपमा कामना आएपछि नेपाली चलचित्रका बारेमा पाठकहरूले जान्ने बुझ्ने मौका पाउँथे। कामनाले पछि म्यागेजिनको रूप लियो।
काठमाडौँमा पत्र मित्रतापछि पेनफ्रेन्डको प्रचलन पनि आयो। धेरै पछिसम्म पनि विश्वभरका मान्छेलाई साथी बनाउने लहर चल्यो। त्यसले गर्दा गोश्वारा हुलाकले थप काम पाएको थियो। मलाई घानाबाट एक युवतीले पठाएको पत्र पनि कहिल्यै बिर्सिन्नँ। उनले 'माई हाइट इज फोर फिट एन्ड आई एम ब्ल्याक गर्ल' भनेर लेखेकी थिइन्। उनले लेखेका अक्षर असाध्यै सुन्दर थिए। नेपालभरबाट पेनफ्रेन्डको माध्यमबाट मलाई पत्रहरू आई नै रहन्थे भने मैले पनि पत्र कोरेर पठाइहाल्थेँ। त्यति बेला २५ पैसाको हवाई पत्र ज्यादै प्रचलनमा थियो। पत्र रजिष्ट्री गरेर पठाउन भने १ र पछि २ रुपैयाँ लाग्दथ्यो। तौल हेरेर सोही अनुसारको टिकट टाँसेर पत्रहरू पठाउने गरिन्थ्यो।
हाम्रा बाजेका पनि बाजे षदानन्द गुल्मीको इस्माबाट हालको रोल्पाको खुंग्रीमा आउनुभएको थियो। वहाँका एक मात्र छोरा विष्णुप्रसादको विवाह खुंग्रीबाटै भयो। वहाँका पनि एक मात्र छोरा गजाधरले रोल्पाको नम्जाबाट बिहे गर्नुभयो। हाम्रा बाजे गजाधरबाट भने तीन छोरा र एक छोरीको जन्म भयो। वहाँका तीनमध्ये जेठा तेजप्रसाद मेरा पिता हुनुहुन्छ। हाल वहाँ नब्बेको हाराहारीमा पुग्न लाग्नुभएको छ। वहाँ २०२४ सालअघि आफ्ना बाबाआमा छुट्टिएपछि हामी मानबहादुर हमालको गोठमा रहेको एउटा कोठामा गुजारा गर्यौँ। हामीले भोगेका दुःख कष्टका बारेमा यहाँ वर्णन गरेर साध्य छैन। २०२४ सालमा पिताजीले घर बनाउँदै हुनुहुन्थ्यो, त्यसताका वहाँ रोल्पाकै खुमेलमा शिक्षक हुनुहुन्थ्यो। घर निर्माण भइसकेपछि वहाँले शिक्षकको जागिर छाडेर पसल गर्न थाल्नुभयो।
उर्लँदो माडी जोखिमपूर्ण पार
राप्ती नदीका मुख्य दुई शाखा नदीहरूमा लुंग्री र माडी हुन्। बर्खा लागेपछि हामीलाई उर्लँदो बाढीसहितको माडी पार गर्न डर लाग्थ्यो। त्यति बेला माडीमा पुल बनिसकेको थिएन। माडीचौरबाट झोलुङ्गे पुल तरेर विद्यालय जानका लागि थप एक घण्टा व्यतीत हुन्थ्यो र हामी समयमा विद्यालय पुग्न सक्दैनथ्यौँ। त्यही भएर जे पर्ला पर्ला भन्दै हिम्मतका साथ बर्खाको उर्लँदो माडी पार गर्दथ्यौँ।
बायाँ हातमा चप्पल र झोला अनि दायाँ हात र दुई खुट्टा चाल्दै पानीको वेग र छालहरू छिचोल्दै हामी पारिपट्टिको किनारामा पुग्दथ्यौँ। कम्मरमुनिको भित्री वस्त्र भिजेकै अवस्थामा विद्यालय जान्थ्यौँ। पटक-पटक गरेर केही समय छात्रावासमा पनि बस्यौँ। मैले जिन्दगीमा गहुँको रोटी बनाउन सिकेको त्यही छात्रावासमा हो। मकैका सुकेका ठुटाले समेत बिहान भात र बेलुका रोटी बनाउँथ्यौँ। खाली समयमा दाउरा लिन माथि वनतर्फ पनि लाग्थ्यौँ।
आठ कक्षामा चार विषय लाग्यो
दैनिक पाँच घण्टाको बाटो आउजाउ गर्ने विद्यार्थीले कसरी पो गृहकार्य गर्न भ्याउला र? कसरी पो पाठको तयारी गर्न सक्ला र? सहजै अनुमान लगाउन सकिन्छ। पढ्ने वातावरण अर्थात् अनुकूलता नमिलेपछि २०३६ सालको वार्षिक परीक्षामा म लगायत अरू साथीहरूलाई पनि चार वटासम्म विषय लागेको थियो।
एसएलसी टेस्टमा फेल
बडो कठिनाइका साथ विद्यालय आउजाउ गरेकै कारण र राम्रोसँग अध्ययन गर्न नपाउँदा म २०३८ सालको एसएलसी परीक्षामा असफल हुनुपरेको थियो। तर अर्को वर्ष राम्रो होला, पाठहरू दोहोरिएलान्, २०३९ सालको एसएलसी परीक्षामा राम्रै होला भन्ने सोचियो। टेस्टमा असफल भएकोमा चिन्ता थिएन। हुन पनि २०३९ सालको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण हुन पुगेँ। त्यति बेला दोस्रो श्रेणीमा उत्तीर्ण हुनु ठुलै कुरा मानिन्थ्यो।
एसएलसीमा खुंग्रेलीले रेकर्ड राखेको त्यो वर्ष
२०३९ सालको एसएलसीमा समग्रमा २७ प्रतिशत उत्तीर्ण भएजस्तो लाग्छ। तर हामीले आठ कक्षादेखि अध्ययन गरेको प्युठानको भिंग्रीस्थित अमर माविबाट ७५ प्रतिशत उत्तीर्ण भएका थियौँ। अर्थात् टेस्टमा १२ जना उत्तीर्ण भएका मध्ये ९ जना उत्तीर्ण भयौँ। त्यसमा पनि उत्तीर्ण हुने रोल्पाली परीक्षार्थीको सङ्ख्या छ थियो। रोल्पालीमा पनि चार जना हाम्रो गाउँ अर्थात् त्यति बेलाको खुंग्री पञ्चायतका थियौँ। त्यति बेलासम्म रोल्पाबाट एक दुई जना मात्र उत्तीर्ण हुन्थे।
खुंग्रीको त्रिपुर्श्वरी निमाविबाट सात कक्षा उत्तीर्ण गरेपछि आठ कक्षादेखि प्युठानको भिंग्रीमा पढेर एसएलसी पास गरेका चारै जनाले सरकारी जागिर भेटाएको रेकर्ड पनि छ। हुन त एसएलसी उत्तीर्ण गरेपछि हामीहरूको लक्ष्य भनेको शिक्षक बन्ने नै थियो। तर लक्ष्य एउटा थियो, उपलब्धि अर्कै भइदियो।
बा-आमाका हामी चौध सन्तान
बा-आमाका हामी चौध सन्तानमध्ये छ सन्तान सानैमा बिते भने आठ जना भाइबहिनी बाँच्यौँ। नजिकमा स्वास्थ्य संस्था नहुँदा गाउँघरका धेरै बालबालिकाहरूले ज्यान गुमाउनु त्यतिखेरको सामान्य कुरा नै थियो। कतिपय बालबालिकाहरू झाडापखाला, निमोनिया र कुपोषणबाट पनि बिते। कतिपय खोलाले बगाएर पनि बिते। अहिले हामी चौध भाइबहिनीलाई जन्माउन र हुर्काउन आमालाई कति गाह्रो भयो होला त्यति बेला भन्ने लाग्छ। घर व्यवहारमा सघाउन बा त्यति तत्पर हुनुहुन्थेन। मान्छे जम्मा पार्ने र गफ धेरै गर्नुहुन्थ्यो।
बस भाडा पचास पैसा र हवाईजहाज भाडा २१० रुपैयाँ
म २०४० सालमा उच्च शिक्षाको सिलसिलामा काठमाडौँ प्रवेश गरेँ। बिहानको कलेज र दिउँसोको जागिरले गर्दा मैले बिहानको खाना पकाएर खान भ्याउँदैन थिएँ। लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसबाट बिहान नौ बजे कक्षा सकिएसँगै क्याम्पसको नजिक पर्ने एक चिया र नास्ता पसलमा पस्थेँ। साहुले चार पिस पाउरोटी र त्यसमाथि चिनी छरेर अनि माथिबाट दूध खन्याएर दिन्थे। दस मिनेटमै खाएर लगनखेलबाट पचास पैसा भाडामा साझा बस चढेर रत्नपार्क आउँथे र दश मिनेट हिँडेर पुतलीसडकस्थित कार्यालयमा हाजिर गर्न भ्याउँथेँ। २०४३ सालमा पहिलो पटक हवाईजहाज चढेर तीन सय रुपैयाँ भाडामा काठमाडौँबाट भैरहवा र भैरहवाबाट दुई सय दश रुपैयाँमा रोल्पा उडेको थिएँ।
चौध सयमा एउटा फ्ल्याट
२०४० सालमा म कार्यरत कार्यालय पुतलीसडकस्थित एक घरको तेस्रो तलामा थियो। त्यति बेलाको फ्ल्याट भाडा जम्मा चौध सय मात्र थियो। २०४१ सालमा कार्यालय पुतलीसडकबाट डिल्लीबजारस्थित अनन्तमणि दीक्षितको एक भवनमा सर्यो। तीन तले उक्त भवनको भाडा जम्मा चार हजार थियो। करिब दुई रोपनी कम्पाउन्डसमेत भएको उक्त भवनको एउटा कोठा मलाई बस्नका लागि उपलब्ध थियो।
बाध्यतामा एक मात्र सन्तान
काठमाडौँको चर्को महँगी उहिलेदेखिकै हो। कतिपय तरकारी दाङको घोराही वा तुलसीपुरको तुलनामा काठमाडौँको बजारमा दोब्बरको हाराहारीमा महँगो हुने गरेको पाइन्छ। उतातिरको जस्तो प्राङ्गारिक तवरबाट उत्पादन गरिएका तरकारी काठमाडौँमा पाउन गाह्रो छ। जथाभाबी रासायनिक मलको प्रयोग र विषादीका कारण तरकारी सलक्क परेको र आकर्षक देखिए तापनि काठमाडौँमा मोफसलको तरकारी जत्तिको स्वादिलो हुँदैनन्, साथै पोसिलो पनि हुँदैनन्।
२९ वर्षको अवधिमा हामीलाई बाह्र ठाउँ डेरा सर्नु परेको थियो। एक्लो हुँदा १२५ रुपैयाँ भाडामा पनि बसियो भने परिवार भएपछि अन्तिममा ७५०० सम्म भाडा तिर्नुपरेको थियो। काठमाडौँको बसाइँ र यहाँको महँगीकै कारण हामी एक मात्र सन्तानमा सीमित रह्यौँ। तलबले नपुगेपछि कहिले ट्युसन पढाउने त कहिले अन्य पार्ट टाइम काम पनि गर्नुपरेको थियो।
छोराले विद्यावारिधि गर्दाको खुसी
काठमाडौँमा कति दुःख काट्नुपर्छ र कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुराको म पनि एक भरपर्दो उदाहरण र साक्षी हुँ। मेरा सत्य कथा तथा लेखहरू पाठकहरूले रुचाउँदै आउनुभएको पनि छ। आठ कक्षादेखि आइएससीबाहेक विद्यावारिधिसम्म छोराले छात्रवृत्तिमा अध्ययन गर्दा हामीलाई आर्थिक राहत पनि भयो। छोराले हालै मात्र संयुक्त राज्य अमेरिकाको सिकागोस्थित युआइसीबाट आर्टिफिसियल इन्टेलिजेन्स विषयमा विद्यावारिधि अर्थात् पिएचडीको उपाधि प्राप्त गरेको खबरले हामी गौरवान्वित भएका छौँ।
सन्तानका लागि जसको पनि बा-आमाले धेरै त्याग गर्नुपर्छ। अनेकन् दुःख कष्ट पनि भोग्नुपर्छ, सुख मात्र जीवन होइन।