क्यान्सर अस्पतालमा कामको लागि आवेदन दिँदा मैले यो सम्भावित अनुभवलाई 'अर्काको काम’ को रूपमा लिएको थिएँ। चितवनको बसाइँ रमाइलो हुनेछ भनेर सोचेको थिएँ। तर हरेक दिनले नयाँ पात्र, नयाँ कथासँग नजिक बनायो। विभिन्न प्रकारका क्यान्सर भएका बिरामीसँग कसरी रोग पत्ता लागेको देखि उपचारसम्मको जानकारी लिन विभिन्न प्रश्नहरू सोध्नुपर्थ्यो।
जागिरको पहिलो दिन नै हामीले क्यान्सर भएका बालबालिकाका अभिभावकसँग अन्तरवार्ता लिनुपर्यो। हरेकको कथा बेग्लै थियो तर आफ्ना बच्चाप्रतिको माया र उपचारप्रतिको अडिग विश्वास समान थियो। त्यसै क्रममा मैले एक दिन राधा (नाम परिवर्तन) लाई भेटेँ।
डे केयर (किमोथेरापी तोकिएको स्थान) मा उपयुक्त बिरामी खोज्ने क्रममा मैले एउटा बेडमा एउटा बालिका देखेँ। किमोथेरापी लिइरहेकी तिनी नानीको नजिक जाँदै गर्दा मैले त्यही बेडमा एक जना महिला एक सानो काखे बालकसँग देखेँ। जति जति पाइला बढाउँदै गएँ, त्यति मेरा आँखा ठुला हुँदै गए।
भदौको त्यो गर्मीमा पनि मेरो मन चिसो भयो। एउटै बेडमा दुवै बालबालिकालाई किमो दिइँदै थियो। एउटै परिवारका बालबालिकालाई किमो चढाइरहेको भन्ने कुरा ज्ञान भइहाल्यो किनभने प्रत्येक बिरामीलाई एउटा बेड प्रयोग गर्न लगाइन्थ्यो।
आफ्नो बारेमा जानकारी दिएसँगै मैले राधासँग कुरा गर्न सुरु गरेँ। उमेरले १९ वर्षकी उनी, आफ्ना सन्तानहरूलाई उपचार गर्न आएकी रहेछिन्। तीन सन्तान मध्ये कान्छो छोरा (आठ महिना) लाई दिसा भइराख्ने समस्याले उपचार गराउने क्रममा कुनै स्वास्थ्यकर्मीको सल्लाहमा क्यान्सर अस्पताल आएकी रहेछिन्। उनलाई सोभन्दा पहिला क्यान्सरको बारेमा जानकारी थिएन, अझ बच्चालाई क्यान्सरले असर गर्न सक्दछ भन्ने कुरा त बादल पारिको कुरा भयो।
अस्पतालमा छोराको रोग पत्ता लाग्न सक्छ भन्ने कुराले विश्वसित हुँदै उनले जेठी छोरी (उमेर ५ वर्ष) को पेट फुलेको समस्यालाई पनि देखाइन्। जब डाक्टरले छोरीलाई पनि क्यान्सरले समाइसकेको जानकारी दिए, राधा दम्पती छाँगाबाट खसेजस्तै भए।
आर्थिक स्थिति कमजोर भएकाले राधा र उनको श्रीमान्लाई छोराछोरीको उपचार कसरी गर्ने भन्ने कुराले एक छिन सोच मग्न बनायो। छोराछोरीको उपचार त गराउने तर पैसाको जोहो कसरी गर्ने भनेर समस्या भयो। जसोतसो सापटी लिएर उनीहरूले उपचार सुरु गरे।
आफ्नो घरभन्दा टाढा आएर उपचार गराउँदा हुने आर्थिक भार एक जना कमाउने मान्छेले मात्र धान्ने अवस्था रहेन। त्यसैले उपचारको १ महिनामै राधाका श्रीमान् बिदेसिए।
राधा त प्रतिनिधि पात्र मात्रै हुन्। अस्पतालको बालबालिकाको वार्ड राधाकै जस्ता बालबालिकाले भरिएको थियो। यी र यस्तै अन्तरक्रियाले मलाई स्वास्थ्य हुनु र स्वस्थ भएकै कारण स्वास्थ्य संस्था जान नपर्नु एकदमै भाग्यको कुरा भन्ने सिकायो। परिवारको साथ र सहयोग भयो भने समस्या पक्कै आधा कम हुन्छ।
त्यसै गरी आर्थिक हिसाबले पनि सबल हुनु जरुरी छ। जे जस्तो अवस्था भए पनि आमाबुवाले आफ्नो सन्तानलाई दुःख नहोस् भनेर सुख दिन सक्दो कोसिस गर्दछन्। बेला मौकामा भेट हुँदा पनि छोराछोरीसँग मुस्कुराएर राधाले आफ्नो मुटु दरो गरेर सन्तानको सुधारमा लागिरहिन्। जिन्दगीलाई स्वास्थ्यकर रही रमाउन अझ प्रेरित गर्यो।
राधा जस्तै कैयौँ अभिभावक छन् जसले स्वास्थ्य सम्बन्धी सही जानकारी नपाएर समयमै उपचार सुरु गर्न सक्दैनन्। हुन त हामीले स्वास्थ्य क्षेत्रमा विशेषतः तीन प्रकारका ढिलाइ; उपचार खोज्ने निर्णयमा ढिलाइ, उपचार प्राप्त गर्ने स्थानमा पुग्न ढिलाइ र उचित स्वास्थ्य उपचार प्राप्त गर्न ढिलाइ बारेमा त पढिरहेका हुन्छौँ। तर वास्तवमा यी ढिलाइ किन हुन्छ र यसको असर देख्दा अझ धेरै कुरा बुझ्न सकिन्छ।
स्वास्थ्यका बारेमा सही जानकारी प्राप्त नभएर भन्ने हो भने समयमै रोग पत्ता लगाए तापनि आर्थिक स्थिति कमजोर भएका कारण उपचार गर्न उचित खर्चको जोहो गरेर उपचार सेवा लिन आएका पात्रहरूलाई नि देखेँ।
आम रूपमा आफूलाई रोगले ग्रसित बनाएपछि बल्ल स्वास्थ्य संस्थामा जाने अभिभावक, आफ्नो सन्तानलाई अलिकति पनि समस्या हुने बित्तिकै उपचार गर्न दौडिन्छन्। यही त हो आमा बुवाको माया।
क्यान्सर अस्पतालको अनुभवले मलाई मैले किताबमा पढेको भन्दा फरक दुनियाँसँग चिनायो। स्वास्थ्यकर जीवनयापन गर्नु एकदम नै जरुरी छ। जनस्वास्थ्यको मूल मन्त्रलाई वास्तविक पात्रहरूले सिकाए। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु पक्कै पनि बेस हो तर रोगको अवस्थाका बारेमा समयमै स्वास्थ्य संस्थामा गएर सही पहिचानसहित उचित उपचार पाउनु पनि ठुलो कुरा हो।