विद्यालयमा सबै जना केटाकेटी एकअर्कालाई मित्रता दिवसको अवसरमा फ्रेन्डसिप ब्यान्ड (मित्रताको डोरी) बाँधिदिँदै एकअर्कालाई गिफ्ट, मिठा-मिठा चकलेट साटासाट गरेर रमाइरहेका थिए। कक्षामा प्रवेश गर्ने बित्तिकै सबै बालबालिकाहरूले तँछाडमछाड गर्दै मलाई पनि मित्रताको डोरी बाँध्न हतार गर्दै थिए। कसको हातमा धेरै फ्रेन्डसिप ब्यान्ड भन्ने प्रतिस्पर्धा जस्तै थियो। मेरो हातमा पनि अनेकौँ रङका ब्यान्डहरू सजिएका थिए।
अकस्मात् मेरो नजर त्यही कक्षाको एउटी छात्रामाथि पर्न गयो। सधैँभरि कक्षामा सबैलाई थर्काउने, कोही कसैसँग नडराउने स्वभावकी, पढाइमा पनि कमजोर भएकी हुँदा आकृतिको खासै कोही मिल्ने साथी थिएनन्। त्यस मित्रता दिवसको दिन उनको हातमा कुनै पनि फ्रेन्डसिप ब्यान्डहरू बाँधिएका थिएनन्। कक्षाको डनको रूपमा मानिने, सानातिना कुरालाई त्यति चासो नदिने आकृति त्यस दिन भने मलिन अनुहारमा कक्षाको अन्तिम बेन्चमा बसिरहेको पाएँ।
आकृतिको मलिन आकृति देख्ने बित्तिकै मैले उनले के महसुस गरेको सहजै पत्ता लगाइसकेको थिएँ। 'ह्याप्पी फ्रेन्डसिप डे आकृति! तिमी र म आजदेखि साथी। साथीले भनेको सबै कुरा मान्नु पर्दछ है' भनी वाचा गराई उनको हातमा आफूसँगै भएको मित्रताको डोरी बाँधिदिएँ।
उनी केही बोल्नै नसकी आँखाभरि आँसु बनाएर मलाई अङ्कमाल गर्न लागिन्। खुसीले मेरा पनि आँखाभरि आँसु छचल्किएका थिए। कक्षाको सबै बालबालिकाहरूलाई आजदेखि आफ्नो मिल्ने साथी (बेस्ट फ्रेन्ड) आकृति भएको जानकारी गराएँ।
कक्षामा सबै बालबालिकाहरूलाई विभिन्न उदाहरण दिँदै मित्रताको परिभाषा, महत्त्व बुझाएँ। सबै जना असाध्यै हर्षित मुद्रामा देखिन्थे। कोहीसँग नमिल्ने आकृति आफ्नो शिक्षकको बेस्ट फ्रेन्ड भएको हुँदा कोही केटाकेटीहरूमा ईर्ष्याको भावना पनि देख्न सकिन्थ्यो।
त्यस दिनको भोलिपल्ट उनले दिएको सबै गृहकार्य गरेर आएकी थिइन्। पढाइमा अति कमजोर, खासै हाम्रा अक्षर बनाउन पनि नजान्ने हुँदा लेखेको कुरा मुस्किलले बुझ्न मात्र सकिन्थ्यो। तर पनि पढाइमा चासो नै नदेखाउने बालिकाले नियमित गृहकार्य गरेर विद्यालय आउँदा ठुलै प्रगति गरेको पाएको थिएँ। नियमित रूपमा आफ्नो साथीले भनेको मान्नुपर्छ भन्ने वाचा उनको मनमा यसरी बिझेछ कि उनले हर कुरा मान्न तयार भएकी थिइन्।
विद्यालय आउना साथ आफ्नो बेस्ट फ्रेन्डलाई भेट्न असाध्यै हतार हुन्थिन्। मलाई देख्न साथ हाई भन्दै हात हल्लाउँदै अङ्कमाल गरी हाल्थिन् र आफ्ना सुनाउनु पर्ने सबै कुराहरू बेलिबिस्तार लगाउँथिन्। समय पाएसम्म उनी त्यो समय मसँग नै बिताउन चाहन्थिन्। उनमा आएको त्यो परिवर्तन देखेर म असाध्यै हर्षित थिएँ।
शिक्षक साथीहरूलाई पनि त्यस दिनको कहानी सुनाएँ। नियमित अभिभावकसँग छलफल, विभिन्न तरिकाले सम्झाउँदा साथै गाली गर्दा पनि पढाइमा सुधार गर्न नसकिएको आकृतिको पछिल्ला दिनमा व्यवहार परिवर्तन हुँदै गएको सुनाउनु भयो। आमूल परिवर्तन नआए पनि धेरै सुधार भने आएको थियो।
दिन, महिना साथै वर्ष पनि बित्यो। आकृतिलाई ४ वर्ष दैनिक २-२ ओटा विषय पढाउने अवसर मिलेको थियो। ४ वर्षसम्म पढाउँदा आकृति धेरै नै नजिकिएकी थिइन् मसँग। साथी मात्र नसोची आफूलाई अभिभावक जसरी नै सबै कुराहरू निर्धक्क भन्न सक्दथिन्। सबै बालबालिकाहरूको मनोवैज्ञानिक भावना बुझ्दै उनीहरूलाई आवश्यकताअनुसार परामर्श, सल्लाह सुझावहरू दिँदै शिक्षण गरिरहन्थेँ।
समय परिवेशले मैले विद्यालय परिवर्तन गर्ने बेला आयो। त्यस विद्यालयको अन्तिम दिन हामीलाई छाडी नजानु है भन्दै प्रायः बालबालिकाले आँखाभरि आँसु राखी भनेको वचन अझै पनि मनमा ताजै छ। आकृतिको मलिन अनुहारको म शब्दमा बयान गर्नै सक्दिनँ। जोसँग पनि खुल्न नसक्ने स्वभावकी आकृतिले एउटा अभिभावक, मिल्ने साथी पाएकी थिइन्। उनमा आफ्नो मिल्ने साथी गुमाउँदाको पीडा सजिलै महसुस गर्न सक्दथेँ।
दिन, महिना अनि वर्षहरू बित्दै गए। फरक विद्यालय भएको हुँदा कहिलेकाहीँ मात्र पुरानो विद्यालयमा जाने गर्दथेँ। जाँदा ती बालबालिकाहरूको सामीप्यता पहिलेको जस्तै महसुस गर्दथेँ।
एउटै विद्यालय नभएको हुँदा आकृतिसँगको सम्पर्क पनि पातलिँदै गएको थियो।
एवम् रीतले त्यो विद्यालय छाडेर गएको पनि १० वर्ष भइसकेको थियो।
फेरि मित्रता दिवस आयो। त्यस दिन मलाई खोज्दै मैले अध्यापन गर्ने स्कुलसम्म आएकी एकजना किशोरीको आवागमनले मलाई अचम्मित बनायो।
म विद्यालयमा नै थिएँ। बालबालिकाहरू सँगसँगै हुँदा रमाउने म उनीहरूसँगै हाँस खेल गरिरहेको थिएँ।
'ह्याप्पी फ्रेन्डसिप डे प्रतिमा मिस, के हजुर मेरो साथी बन्न सक्नुहुन्छ?' त्यो आवाजले मलाई पुराना दिनको झझल्को मानसपटलमा ताजा गरायो।
१९ वर्ष उमेरकी, नर्सको पोसाक लगाएकी, चट्ट जीउ डाल मिलेकी, लामो समयको अन्तरालमा झट्ट हेर्दा पहिचान गर्न गाह्रो भए पनि त्यो बोली बिर्सेको थिइनँ मैले। उनीतर्फ हात लम्काएँ। उनले फ्रेन्डसिपको डोरी मेरो हातमा बाँधिदिइन्।
पढाइमा अति कमजोर आकृति स्टाफ नर्स बन्न सक्लिन् भनेर कसैले अनुमान गर्नै सकेका थिएनौँ। त्यस दिनको फ्रेन्डसिप ब्यान्ड र अर्ती उपदेशले आफू यो स्थानमा पुगेको कुरा बताउँदा मेरो खुसीले सगरमाथाको शिखर चुमिसकेको थियो। मनमा शिक्षक भएर कसैको जीवन परिवर्तन गराउन सफल भएकोमा गौरवान्वित महसुस गरिरहेँ।
हामीले शिक्षण पेसा रोजिसकेपछि किताबका सैद्धान्तिक ज्ञान मात्र नरटाई उनीहरूको मनोवैज्ञानिक भावना पनि बुझेर कमजोर प्रकृतिको बालबालिकालाई सोही अनुसारको उपचारात्मक शिक्षण सिकाइ गराउन सकेमा आकृति जस्तै कमजोर क्षमता भएका बालबालिकाहरूले पनि जीवनमा आमूल परिवर्तन गर्न सक्नेछन्।
सबै पेसाको जननी नै शिक्षण पेसा हो। केही शिक्षकहरूले शिक्षण पेसालाई लापरबाही गरेको कारण शिक्षकप्रति हेर्ने नजर कमजोर बनेको हो। हुन त सरकारले शिक्षकहरूप्रतिको सेवा सुविधाको विभेदको कारणले आफ्नो पेसाप्रति नै सन्तुष्ट छैनन् तर पनि सर्वप्रथम शिक्षक बन्छु भनी यस पेसामा आबद्ध भएपछि आफ्नो पेसालाई सम्मान गर्न सक्नुपर्छ।
हुन त अत्यधिक विद्यार्थी भएको कक्षाकोठामा सबै बालबालिकाको मनोवैज्ञानिक क्षमता पहिचान गरी शिक्षण गर्नु सजिलो कार्य होइन तर पनि केही सुधारको आवश्यकता भएका केही बालबालिकाहरूको मनोवैज्ञानिक क्षमता पहिचान गरी शिक्षण गराउन सके सबै बालबालिकाहरूको भविष्य उज्ज्वल हुन सक्नेछ।