सदाझैँ म अफिस जाने हतारमा बिहानीको कार्य सकेर मिलन चोकबाट साखुको गाडी चढी रत्नपार्कतर्फ लागेँ। गाडी गुडिरहेको थियो। गाडीमा सुमधुर धुन बजिरहेको थियो। आज संयोगवश गाडीको सिट खाली नै थियो। त्यसैले सिटमै बस्ने मौका पाएँ।
जब नारायणटार चोकमा आइपुगेँ, त्यहाँबाट एक जना वृद्ध बुबा चढ्नु भयो। ज्येष्ठ नागरिक सिट खाली नै थियो। बुबाले चारैतिर हेर्दै त्यस सिटमा बस्नु भयो। म ज्येष्ठ नागरिक सिटकै दायाँ पट्टिको सिटमा थिएँ।
बुबालाई मैले यसो नियालेर हेरेँ। उहाँ केही हताश जस्तो, केही बोलौँ केही सोधौँ झैँ अवस्थामा हुनुहुन्थ्यो। म केही बोलिनँ। बुबा उठेर ढोका नजिक सहचालक भएको ठाउँमा गएर केही शब्द बोल्नु भयो। मैले खासै केही सुनिनँ।
बुबा त्यही सिटमा आएर बस्नु भएपछि मैले सोधेँ, 'बुबा कहाँसम्म पुग्नु हुन्छ?'
बुबाले परिचित व्यक्ति भेटिए झैँ केही अङ्ग्रेजी शब्द प्रयोग गर्दै भन्नुभयो, 'आज सेतोपुल नजिक जानु छ। मन्दिरको छेउदेखि अलि भित्र जानुपर्छ। त्यहाँ एउटा कार्यक्रम छ।'
मैले गौशलामा झरेर ट्याम्पोमा जान सुझाएँ।
ज्येष्ठ नागरिक सिटभन्दा अगाडिको सिटमा एक जना दिदी हुनुहुन्थ्यो। उहाँले रातो पुलमा झरेर खोलाको करिडोर जाँदा नि ५ मिनेटमै पुग्नु हुन्छ भन्ने शब्द नटुङ्गिँदै बुबाले अङ्ग्रेजीमै आफू धेरै भएको छैन, ८५ मात्रै पूरा भएर ८६ मा टेकेँ भनेर मुस्कुराउनु भयो।
म हिँडेर जान सक्छु भनेपछि हामी दुवै जनाले त्यही कुरा सुझायौँ।
'हुन्छ बुबा, रातोपुलमा झरेर करिडोरको बाटो जानुहोस्। तर पुलबाट धेरै छ भने ट्याम्पो चढ्न सक्नु हुन्छ। कालोपुलबाट आउने ट्याम्पो भेट्नु हुन्छ।'
बुबाले त्यसपछि झन् आफ्नै घरको परिवार भेटिए झैँ रौसिँदै भन्नुभयो, 'बाबु, म फल फयल मात्रै खान्छु। स्याउ, केरा, अनार, अङ्गुर खान्छु। खाना दुई चम्चा खान्छु, रोटी सानो टुक्रा खान्छु। मेरो शरीर शाकाहारी हो। माछा मासु खाँदिनँ। त्यही भएर म भरखरै ८५ मात्रै पूरा भएर ८६ मा लागेँ।'
यसो भन्नुको आशय बुबाले म यतिको उमेरको भएर नि हट्टाकट्टा छु, स्वस्थ छु भन्न खोज्नु भएको बुझ्न सकिन्थ्यो। बुबाले आमा पनि शाकाहारी र म पनि शाकाहारी भए मेरो सबै सन्तान शाकाहारी छन् भन्न समेत छुटाउनु भएन। हामीहरू बाको गफमा गफिन लाग्यौँ। कुरा सुन्दै गयौँ। झन् ऊर्जावान् गफ हुँदै गयो। बुबाले मान्छे जति ठुलो हुन्छ, जति धनी हुन्छ मन त्यति सानो हुन्छ। त्यसैले जहिले नि आफूलाई सानु नै सम्झनु पर्छ, ठुलाबडा बन्न हुन्न भन्ने प्रसङ्ग निकाल्नु भयो र 'सिम्पल लिभिङ हाइ थिङ्किङ' हुनु पर्छ भन्नु भयो।
गफ सुन्दा हामीलाई यो बुबा सानोतिनो मान्छे हैन लाग्यो। तैपनि गाडीमा एक्लै आउनु भयो, बाटो पनि त्यति थाहा रहेनछ। त्यही बखतमा बुबाको फोनको घण्टी बज्यो। बुबाले फोन उठाउँदै बोल्नु भयो। बुबाको बोलीमा अङ्ग्रेजी मिसिरहेको थियो। फोनमा कुन ठाउँमा आइपुग्नु भयो भनेर सोधेको रहेछ। बुबा यताउता हेर्न लाग्नु भयो। त्यही बेला बुबा चाबहिलमा भनिदिएँ। बुबाले सोही कुरा जानकारी गराउनु भयो र भोलि बिहान भेटौँ भनेर फोन राख्नु भयो।
फोन राखेपछि केही छिन मौन रह्यौँ। सोही बेला मैले खल्तीबाट मोबाइल झिकेर एउटा सेल्फी लिएँ। 'बुबा मैले एउटा सेल्फी लिएँ है' भनेर देखाएँ। बुबा खुसी हुनु भयो र राम्रो गर्यौ भन्नु भयो। अनि बुबाले भन्नु भयो, 'जो मान्छे पैसाको धनी हुन्छ, त्यो मान्छे रोगी हुन्छ।'
मैले नि दुई शब्द थपिहालेँ, 'हो नि बुबा, अहिले अर्ग्यानिक भन्ने कुरा खासै सेवन गर्दैनन्, चिल्लो पिरो, रसिलो पोसिलो, मसलादार, स्वादिलो खान्छन्।'
त्यही बेला दिदीले 'बुबाको छाला नि चाउरी परेको छैन, खासै बूढो देखिन्न' भनेपछि बुबाले 'खानपान नै सबैभन्दा ठुलो कुरा हो' भन्नु भयो। मैले नि बुबालाई 'सुका मानो घिउको कारणले हुन सक्छ' भनेर मजाक गरेँ। बुबाले नि स्विकार्नु भयो।
मैले सोधेँ, 'बुबा कता बस्नु हुन्छ? को-को हुनुहुन्छ?'
'म नारायणटारमा बस्छु। कहिले गौशला गुह्येश्वरी, कहिले अमेरिका, कहिले बेलायत बस्छु। छोरा बुहारीहरू, नाता नातिनीहरू छन्। म जताततै बस्छु,' भन्दै थप्नु भयो, 'मसँग ३/४ वटा गाडी छ, ड्राइभर छ तर यसरी हिँड्नुको मजा नै छुट्टै हुन्छ।'
मैले पुर्ख्यौली घर सोधेँ।
घर सिराहा रहेको र त्यहाँ ताप्लेजुङबाट झरेको बताउनु भयो। उहाँले मेरो घर बारे सोध्नु भयो। मैले दोलखा भनेँ। दोलखा भन्ना साथ उहाँले भन्नुभयो, 'दोलखामा मेरो मित्र हुनुहुन्थ्यो, भिमबहादुर तामाङ।'
मैले नि मेरो नातेदार पर्छ भनेँ।
'वहाँ अहिले बित्नु भयो। हामी भेट हुँदा त तिमी नै भनेर कुरा गर्थ्यौँ। बेला बेला मेरो घर सिराहामा गएर १५ दिन १ महिना बसेर लागेँ है शर्माजी भनेर फर्किनु हुन्थ्यो। भिमबहादुर असल नेता हुन् तर घर व्यवहार अलि राम्रो भएन।'
त्यही बेला फेरि बुबाको फोन आयो।
'सिवाकोटीले गरेको रहेछ, यातायात व्यवसाय संघको प्रेसिडेन्ट हुनुहुन्छ। मलाई समय लिन्छन् भेट्नलाई' भन्नु भयो। बुबाले सिवाकोटीलाई पनि 'भोलि बिहान ८/९ बजे भेट्न सक्नु हुन्छ, ग्रिनहिल सिटीको नजिकै रहेको शिव मन्दिरमा' भनेर समय दिनु भयो।
अनि बुबाले भन्नुभयो, 'आज डिप्लोम्याटिक कन्फिरेन्स छ। त्यहाँ भूपू राजदूतहरू नि आउँछन्।'
यति बेला हामी गौशला चोक पार गरिसकेका थियौँ। बुबाले खल्तीबाट ३० रुपैयाँ हातमा ठिक्क पार्नु भयो।
'बुबा हतार नगर्नुस्, म भनिदिन्छु' भनेँ अनि बुबा बसिरहनु भयो। जब रातोपुल नजिकै आइपुग्यौँ मैले गाडी रोकिदिन भनेँ। गाडी रोकिँदै थियो, बुबा उठ्नु भयो। मैले नमस्ते गरेँ। 'खुसी लाग्यो भेटेर, बिस्तारै जानुहोस्' भनेँ।
बुबा खुसी हुँदै गाडीबाट झर्नु भयो। हाम्रो गाडी गन्तव्यतिर अगाडि बढियो। बुबासँग छुटियो। मेरो मनमा केही कुराहरू खेल्न थाल्यो। साँच्ची नै त्यति ठुला विचार भएका, देश विदेश खाएर भुक्त भोगी भएका उमेरले ८५ कटेको बुबासँग भेट हुनु, भलाकुसारी गर्न पाउनु मेरो लागि खुसीको कुरा हो।
यसरी यात्रामा मैले ठुला मनका धनी व्यक्तिसँग भेटेर सँगै बसेर कुरा गर्ने मौका पाएँ।
वास्तवमै जीवन केही रहेनछ। जीवनमा केही गर्छु भन्दा भन्दै सपनाहरू अधुरो नै रहने रहेछ। त्यसैले हामी हाम्रो जीवन कालमा कसरी स्वस्थ रहने र उदार हृदयको बन्ने भन्ने कुरालाई विशेष ध्यान दिएर अगाडि बढ्न सकिएमा त्यही सफल जीवन हुने रहेछ।