राजधानी काठमाडौं घामसँगै सुत्छ र उठ्छ भन्दा फरक पर्दैन। पचास लाखभन्दा बढी जनसंख्या भएको र विदेशी पर्यटकको नेपाल प्रवेशको प्रमुख सहर काठमाडौंको चहलपहल साँझ परेसँगै पातलिँदै जान्छ। रात ढल्दै जाँदा बजार बन्द हुँदै जान्छन्, दिनभर सवारीले भरिने सडकमा फाट्टफुट्ट मात्रै सवारी देखिन्छन्।
त्यसमाथि सार्वजनिक यातायत त ७/८ बजेपछि नै देखिन छाड्छन् भन्दा पनि हुन्छ। यस्तोमा अफिसमा अबेरसम्म काम गर्ने म जस्ताका लागि घर पुग्न पनि हम्मेहम्मे पर्छ। कुनै समय त अन्तिम बस छुट्ने समय हेरेर काम सक्नुपर्ने बाध्यता थियो। तर पछिल्लो समय राइड सेयरिङ व्यवसायले अबेरसम्म ढुक्कले अफिसमै काम गर्न सक्ने सुविधा दिएको छ।
राइड सेयरिङ व्यवसायले २४ सैं घण्टा सेवा मात्रै दिएको छैन, सुरक्षित रूपमा घरसम्म पुर्याउने जिम्मा नै लिएको मेरो अनुभव छ। तीन/चार वर्षअघिसम्म रातिमा अरूको बाइकमाथि बसेर कतै जान त्यति सुरक्षित लाग्दैनथ्यो तर अहिले त्यो डर मनबाट हराइसकेको छ। अहिले राइड सेयरिङ म जस्ताका लागि निकै राम्रो विकल्प बनेको छ।
म तपाईंहरूलाई हालैको एक घटना सुनाउँछु।
कार्यालयमा काम गर्दागर्दै रातको आठ बजिसकेको थियो। बौद्धमा मलाई कुरिरहेको साथीको फोन तारन्तार आइरहेको थियो। भोलिपल्ट शनिबारको दिन बिदा भएकाले काम जति आजै सक्नुपर्ने बाध्यताले साथीलाई कुराएरै भए पनि छिटोछिटो काम सक्ने हतारोमा थिएँ।
करिब सात वर्षपछि अस्ट्रेलियाबाट नेपाल आएको साथीले जुराएको जमघटमा नजाने कुरा पनि भएन। केही साथीहरू समयमै पुगिसकेकाले मलाई फोन गरेर छिटो आउन भनिरहेका थिए।
कलंकीदेखि बौद्धसम्म पुग्नका लागि कम्तीमा ४५ मिनेट लाग्ने निश्चित थियो। त्यसैले काम सक्दै गर्दा पठाओमार्फत् बाइक बुकिङ गरिहालेँ। बुकिङ गरेको ३/४ मिनेटमै राइडर मेरो लोकेसन खोज्दै लिन आइपुग्यो। हतारहतार बाइकमा चढेँ र बौद्धतिर लागेँ। कुन बेला बौद्ध पुगौं भन्ने भइरहेकाले बाटो कटाउन राइडरसँग कुरा गरौँ भन्ने लाग्यो। मैले राइडरको नाम र उमेर सोधेँ।
उनले आफ्नो नाम मुकुन्दराज थापा र उमेर ५४ वर्ष भएको बताए। ललितपुर सातदोबाटोकाका बासिन्दा उनले स्वदेश र विदेशका कैयौँ कम्पनीमा काम गरिसकेका रहेछन्। उनको यो कुराले मलाई उनीबारे थप जान्न उत्सुक बनायो। किनभने मलाई पाका मान्छेका अनुभव सुन्न किनै मजा आउँछ। यस्ता व्यक्तिको अनुभव किस्सा मात्रै हुँदैन, जीवनको भोगाइ र सिकाइ पनि मिसिएको हुन्छ। कहिलेकाहीँ केही कथाहरू निकै प्रेरणादायी हुन्छन्। त्यसैले उनको राइडर जीवनबारे थप खोतल्न मन लाग्यो।
पछिल्लो केही वर्षयता पठाओमा राइडरका रूपमा काम गरिरहेको सुनाए। विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा कामविहीन बनेका थापालाई पठाओ आम्दानीको नयाँ स्रोत बनेको रहेछ। सात दोबाटोमा घर भएका उनी परिवारमा कमाउने एक्ला रहेछन्। विश्वका अधिकांश देशमा कोरोना संक्रमण बढ्दै जाँदा सन् २०२० को तेस्रो सातादेखि उनले पठाओमा राइडरका रूपमा काम सुरू गरेको सुनाए।
भाउजूले म्यासेजरमा पठाओ कम्पनीले राइडर खोजिरहेको र महिनामा ५० हजार रुपैयाँसम्म कमाउन सकिन्छ भन्ने विज्ञापन पठाएको र त्यही विज्ञापन पछ्याउँदै मध्य बानेश्वरस्थित पठाओ कार्यालय गएको र केही घण्टाको तालिम लिएपछि राइडर बनेका रहेछन्।
तालिम लिएको केही समयपछि युजरनेम र पासवर्ड आउँदा के गरौँ गरौं भन्ने लागेको थियो रे। सुरूमा प्रविधिमा अभ्यस्त नभएकाले पनि एक सातासम्म त एप नै नचलाएको उनले सुनाए।
मेरो मोटरसाइकलमा आएर को चढ्दा र भन्ने चिन्ता पनि लागेको थियो रे त्यो बेला। तर प्रविधि प्रयोग गर्दै जाँदा सिकिएला नि भनेर एक सातापछि राइड लिनका लागि एप अन गरेपछि पहिलो राइड सातदोबाटोमै भेटिएको थियो रे।
पठाओको मोबाइल एपमा राइडका लागि पहिले यात्रु भएको ठाउँ पुग्ने र यात्रु मोटरसाइकलमा बसेपछि स्टार्ट बटन थिच्ने प्रणाली उनले छिट्टै सिकेछन्। यात्रुलाई गन्तव्यमा पुर्याएपछि इन्डको बटन थिच्ने र पैसा लिँदा बार्गेनिङ पनि नगर्ने भएकाले थापाले आफूलाई सजिलो लागेको बताए।
उनले सुरूआती दिनमा १५/१६ वटासम्म राइड लिन्थे रे। अरू काम केही थिएन। जसरी हुन्छ पैसा कमाउने मात्रै ध्याउन्न थियो, बिहान ६ बजेदेखि राति ८ बजेसम्म राइड चलाउने उनको दैनिकी नै बन्यो। पछि त बिहानको खाना पनि बाहिरै खान थालेका रहेछन्।
कोभिडको समयमा उनले राइडिङलाई व्यवसायभन्दा पनि सेवा सम्झिए। उनले कोरोनाको समयमा बिरामीदेखि डाक्टरसम्मलाई बोकेर गन्तव्य पुर्याएको सम्झिए। मध्यरातमा त कैयौँ पटक मोटरसाइकलमा बिरामी बोकेर अस्पताल गएका थिए। त्यो समयमा १२ घन्टासम्म काम गर्दा ११ हजार रुपैयाँसम्म दैनिक आम्दानी भएको उनले सुनाए। उनको नाम पठाओको टप राइडरहरूको लिस्टमा जहिल्यै पर्न थालेको थियो। अधिकांश दिनमा त उनको नाम सबैभन्दा माथि हुने गरेको उनले सुनाए।
उनलाई पठाओले टायरलेस अर्थात् थकानरहित राइडरको उपाधिसहित सम्मान गरेको रहेछ। लाखौं राइडरमध्ये आफू अब्बल बनेको क्षण निकै खुसी लागेको थियो रे।
मुकुन्दले पाँच वर्षमा ३० हजारभन्दा बढी राइड गरिसकेको भन्दै एप देखाए। उनले पठाओ जस्ता राइड सेयरिङ कम्पनीका कारण लाखौँ खर्चेर खाडी मुलुक जानेहरूका लागि विकल्प भएको बताए। नेपालमै काम गर्नेलाई सेकेन्ड ह्यान्ण्ड बाइक किनेर दैनिक दुई हजार कमाउन सक्ने सुविधा यो व्यवसायले दिएको उनको भनाइ थियो।
उमेर बढ्दै जाँदा उनलाई अहिले राइड संख्या घटाए पनि यसलाई निरन्तरता दिने सोच रहेछ। परिवारका सदस्य र साथीभाइले पनि उनलाई सोही सुझाव दिइरहेको सुनाए। त्यसैले अहिले बढीमा २५ वटा मात्रै राइड गर्ने गरेका रहेछन्। जबकी त्यो पनि निकै ठूलो संख्या हो। मलाई उनको कामप्रतिको लगाव देखेर निकै गर्व लाग्यो।
मानिसहरू खाडीको चर्को घाममा जीवन नै सुम्पेर ४० हजार मुस्किलले कमाउँछन्। तर उनीहरू नेपालमै थापाले जस्तै मेहनत गर्न भने किन सक्दैननन् भन्ने लाग्यो।
एक महिनामा ७५ वटा राइड गरेबापत कम्पनीले प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ दिँदो रहेछ। त्यति मात्रै होइन, पठाओले बच्चाका लागि वार्षिक २५ हजार रुपैयाँ बराबरको स्कलरसीपको रूपमा दिने रहेछ। इन्टरनेट चलाउनलाई समेत शुल्क दिने गरेको छ। इमानदारिताका साथ काम गर्ने हो भने पठाओले विभिन्न सुविधा पनि दिने कुरा मैले पहिलो पटक थाहा पाएको थिएँ। जुन निकै राम्रो लाग्यो।
मुकुन्द कुनै समयका सरकारी कर्मचारी (खरदार) रहेछन्। खरदार बन्नुअघि उनले मर्स्याङ्दी हाइड्रो प्रोजेक्टमा करिब चार वर्ष काम गरेका रहेछन्। एसएलसी सकाएपछि खरदार भएका रहेछन्। एक वर्ष काम गरेपछि उनी रोजगारीका लागि जापान पुगेर झण्डै सात वर्ष काम गरी नेपाल फर्केका रहेछन्। उनी नेपाल फर्कंदा नेपालमा जनयुद्धको समय रहेछ। त्यस समयमा नेपालमा बस्न उपयुक्त वातावरण नभएको महसुस गरेर रोजगारीका लागि उनी दक्षिण कोरिया पुगे। त्यहाँ केही वर्ष बसेर नेपाल फर्किएका उनी आफ्नो दाइको रेस्टुराँ व्यवसायलाई सघाउँदै आइरहेका थिए। तर कोभिड महामारीले हस्पिटालिटी र रेष्टुरेन्ट क्षेत्रमा नराम्रो धक्का दिँदा रोजगारविहीन बन्न पुगेका उनलाई पठाओ वरदान सावित भएको रहेछ।
थापाको कुरा सुनिनसक्दै हामी बौद्ध पुगिसकेका थियौं। मैले उनीसँग थप कुरा पछि गर्ने बाचा गर्दै मोबाइल नम्बर सेभ गरेर रेष्टुराँ छिरेँ। त्यहाँ रहेका साथीलाई यो कुरा सुनाएँ। साथी अस्ट्रेलिया जाँदा नेपालमा नाकाबन्दी भर्खरे सकिएको थियो। नाकाबन्दीमा पेट्रोल र डिजल नपाएका हाम्रा लागि निकै कष्टदायी क्षण थियो। साथीले पनि त्यो बेलामा लिफ्ट माग्ने चलन थियो, अहिले विदेशमा जस्तै सुरक्षित राइडको चलन आएछ भन्दै विगत सम्झियो।