साउन महिना, दिउँसो १२ बजेको समय। बिहान पानी परे पनि निकै चर्को घाम लागिरहेको थियो। बुटवलको ४० डिग्री तापक्रमको उखरमाउलो गर्मी। बिहानी सत्रको कलेज अध्ययन सकिएपछि माइक्रोमा डेरातर्फ फर्किँदै गर्दा एक जना भाइसँग मेरो भेट हुन पुग्यो।
झट्ट हेर्दा भाइ सानो र धेरै कुरामा अनजान जस्तो देखिन्थे। भाइले इन्जिनियरिङ कलेजको ड्रेसमा रहेकी मलाई देखेर प्रश्न गरे, 'दिदी, हजुर इन्जिनियरिङ गर्दै हुनुहुन्छ?'
भाइको प्रश्न सुनिसकेपछि मैले तुरुन्तै 'हो नि' को भाव व्यक्त गरेँ।
यति भन्नासाथ भाइले फेरि प्रश्न गरिहाले, 'त्यसको लागि +२ मा विज्ञान विषय लिएर पढ्नुपर्छ हो?'
कोही अनजान व्यक्तिले यसरी जिज्ञासु हुँदै प्रश्न गरेको देखेर म अलि अचम्मित हुन पुगेँ र जवाफ दिएँ, 'हो नि भाइ।'
त्यसपछि भाइको र मेरो बिस्तारै परिचय हुँदै गयो। भाइ भर्खर गुल्मीको एक सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी १०+२ अध्ययनको लागि बुटवल आएका रहेछन्।
भाइको सानैदेखि इन्जिनियर बन्ने इच्छा रहेछ। त्यसैले उनले इन्जिनियरिङ कलेजको ड्रेस देख्नासाथ केही सल्लाह सुझाव र सहयोगको अपेक्षाले मलाई प्रश्न गरेको कुरा मसामु व्यक्त गरे।
कुराकानीकै क्रममा भाइले पुनः सोध्न थाले, 'दिदी +२ विज्ञान लिएर पढ्दा सबै अङ्ग्रेजी माध्यमबाट पढाइ हुने रहेछ, म त विद्यालय जान लागेदेखि कहिले पनि अङ्ग्रेजी माध्यममा पढिनँ। सधैँ सरकारी स्कुलमा मात्र पढेँ। गाह्रो हुन्छ होला नि है दिदी?'
भाइको यो प्रश्नमा म अलिक झस्किए जस्ती भएँ किनकि उनले यस्तो भनिरहँदा मेरो मस्तिष्कमा चार वर्ष अघिको मेरो अवस्थाले भुमरी खेलिरहेको थियो। म आफ्नो अनुभव सुनाउन तयार हुँदै गर्दा भाइको डेरा नजिक माइक्रो आइपुगेको थियो। यसरी आधा र अपुरो परिचयमा नै भाइ टाढिए।
भाइ त टाढिए तर मेरो मनमा भने उनले अघि भनेको कुराले चञ्चल गराइरहेको थियो। म मेरो चार वर्ष अघिको कुराहरू सम्झिएर बसिरहेकी थिएँ। बिर्सिन खोजेँ तर पनि म मेरो विगतको झल्कोबाट टाढिन सकिनँ। अनि अनेक कुरा सम्झिँदै डेरामा पुगेर लेख्न सुरु गरेँ- एसइई पछिको अन्योलपूर्ण मेरो शैक्षिक यात्रा।
म गुल्मीको एक मध्यम वर्गीय परिवारमा जन्म लिई अनेक सुख दुःख र सङ्घर्षहरूको सामना गर्दै गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा १ देखि अध्ययन गर्दै कक्षा १० सम्म पढेकी थिएँ। सानोदेखिको चञ्चले स्वभाव, मिजासिली, हेर्दा सानी र पढाइमा पनि मेहनती र अब्बल विद्यार्थी थिएँ।
गाउँको सामुदायिक विद्यालय, परदेशी बाबा, घरमा अनेक खेतीपाती र पशु चौपाया थिए। दिउँसो विद्यालय तथा बिहान बेलुका मम्मीलाई घरको काममा सघाउने र खाली समयमा पढ्ने। यसै गरी मेरो दैनिकी बितेको पत्तो नै भएन। बिस्तारै माध्यमिक शिक्षा परीक्षा एसइई नजिकिँदै गयो। परीक्षा जति जति नजिकिँदै थियो, मनमा डर र चिन्ता त्यति नै बढ्दै गइरहेको थियो।
हाम्रो परीक्षा केन्द्र घरदेखि टाढा परेको थियो। परीक्षा सुरु हुने अघिल्लो दिन नै उतै बसेर परीक्षा दिने मेसोका साथ घरबाट मम्मीको आशीर्वाद लिएर परीक्षा केन्द्र पुगेँ। उक्त समयमा विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ का कारण परीक्षा सुरु हुनुभन्दा १२ घण्टाअघि नेपाल सरकारले परीक्षा स्थगित गरेको खबर सुन्नमा आयो।
उक्त खबर सुनेपछि यति दिनसम्मको त्यो मेहनत र परीक्षा सकेको अन्तिम दिन एक महिना अघिदेखि नपुगेको निद्रा पुर्याउने मेरो रहर रहरमा मात्र सीमित भयो। अर्को दिन परीक्षा दिन नपाएपछि मन खिन्न बनाउँदै घर फर्कनु बाहेक अरू विकल्प ममा रहेन।
केही समयपछि कोभिड-१९ को अवस्था सामान्य हुने नदेखिएपछि राष्ट्रिय परीक्षा बोर्डले प्री-बोर्ड परीक्षाको आधारमा नतिजा सार्वजनिक गर्ने भन्यो र सोही बमोजिम नतिजा आयो। तर परीक्षा नै नदिई आएको नतिजालाई हेर्ने सबैको दृष्टिकोण फरक थियो।
यस्तै क्रम चल्दा चल्दै बिस्तारै कोरोना अलि सामान्य हुँदै गएपछि सुरु भयो मेरो नयाँ गन्तव्य, नयाँ ठाउँ बुटवल (धेरेको लागि विकसित र सपनाको सहर तर मेरो लागि सुन्दर भविष्य निर्माणको लागि सङ्घर्षको सहर) को यात्रा सुरु भयो।
माइक्रोमा भेटिएको भाइले विज्ञान कसरी पढ्ने भनेर प्रश्न गरे जस्तै त्यो समयमा म पनि त्यस्तै अज्ञान र अनविज्ञ थिएँ। तर जे जति अप्ठ्यारो भए पनि विज्ञान नै पढ्छु भन्ने मनदेखि नै अठोट लिएकी थिएँ।
त्यसैअनुरूप बुटवलकै एक सामुदायिक विद्यालयबाट म कलेज जीवनमा प्रवेश गरेँ। कोभिडको प्रकोप राम्रोसँग नसकिएकोले सुरुका केही महिना कक्षाहरू भर्चुअल माध्यमबाट हुन थाले। ती दिनहरू रमाइलो रमाइलोमा नै बिते पनि जब भौतिक रूपमा कक्षा सञ्चालन भए त्यसपछि बल्ल नोटहरू बनाएर पढ्नु पर्दो रहेछ भन्नेदेखि लिएर अन्य पढाइका शैलीहरू थाहा पाएँ।
एसइईसम्म गुरुहरूले पढाएकै आधारमा किताबको सहायताले घोकेर परीक्षा दिने बानी थियो तर यहाँ परिस्थिति फरक पर्न आयो। एउटै विषय फरक-फरक खण्डहरूको लागि फरक-फरक गुरुहरू, त्यसैमाथि अङ्ग्रेजी माध्यमबाट पढाइ। विज्ञान लिएको विद्यार्थी तर विज्ञानको स्पेलिङ अङ्ग्रेजीमा कसैले सोधे पनि भन्न सक्ने अवस्था थिएन।
अहिले ती दिनहरू सम्झिँदा निकै अचम्म लाग्छ। यो कुराको अनुभव म मात्र नभएर मेरो जस्तै अवस्थाबाट आएका अधिकांश विद्यार्थीहरूलाई होला। कति पढ्ने? के पढ्ने? कसरी पढ्ने त्यी फिजिक्सको डेरिभेसन, केमेस्ट्रीका रियाक्सन कसरी सम्झिने? सबै कुरामा अन्यौलता थियो। परीक्षाको समयमा डेरामा राति दुई बजे उठेर 'ह्वाट इज फिजिक्स?' को उत्तर अङ्ग्रेजीमा घोक्न नसक्दा अब म यहाँ बस्न सक्दिनँ, यो विषय पढ्दिनँ भनेर रुँदै-रुँदै मम्मीलाई फोन गर्दा उहाँले दिएको माया, विश्वास र हौसला सायदै जीवनभर भुल्न सकिँदैन होला।
बाल्यकालदेखि नै यतै पढेका साथीहरूसँग +२ पछि के पढ्ने भन्ने कुरामा छलफल हुँदा साथीहरू कसैले इन्जिनियरिङ, कसैले विदेश जाने त कसेले एमबिबिएसको इन्ट्रान्स तयारी गर्ने हो भनिरहँदा इन्ट्रान्स भन्ने के रहेछ भन्दै डेरामा आएर गुगलमा खोज्दाको त्यो अवस्था र अहिले फेरि त्यही इन्ट्रान्स दिएर पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ पढ्दै गरेको यो अवस्थालाई नियाल्दा मलाई साँच्चिकै समय निकै परिवर्तनशील छ र मेहनत नै सफलता प्राप्तिको पहिलो स्रोत हो भन्ने अनुभूति हुन्छ। समयमा नै विकसित ठाउँतिर पढ्नेहरूलाई यो कुरा अचम्म लाग्न सक्छ तर मेरो जस्तै अवस्था र परिवेश भोगी आउने धेरैको यथार्थ अवस्था यस्तै नै हुन्छ।