मरुभूमिबाट मातृभूमि पर्खिनु र मातृभूमि फर्किँदा भावनाहरू पोखिनु स्वाभाविक हो। मातृभूमिमा हवाईजहाजबाट अवतरण गर्दै गर्दाको त्यो मिठो अनुभवलाई सधैँ जीवित राख्ने त्यो क्षण स्मरण गर्दा प्लेनभित्रै रहँदाको सोही पल महसुस भयो। टाउकाको रौँ अलि ठाडा भए। छाती सधैँभन्दा अलि ठुलै भए।
'जहाजबाट अब केही मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छौँ तर मौसम खराबीका कारण केही असहज मात्र भएको हो। कृपया हजुरहरू धैर्य साथ सिट बेल्ट बाँधेर बसिदिनु हुन अनुरोध गर्दछु' भनेर एयर होस्टेसले उद्घोष गर्दै गर्दा आँखाले नेपालका दृश्य देखिसक्दा प्लेनबाट हाम फालेर सबै छातीमै टाँसौँ जस्तो लाग्ने।
प्लेन अलि अलि हल्लिँदै गर्दा पनि मन ढुक्क हुने। लाग्यो, अब त प्लेन खसेर मरिएछ भने पनि देशको माटोमा मरिन्छ। त्यस क्षण साथीहरू पनि खुसी हुँदै रमाइलो गरेका थिए। लगाइराखेको सिट बेल्ट पनि खोलेर बसेको अवस्थालाई फेरि सम्झन बाध्य बनायो।
हो, मातृभूमिको मायाको अर्थ के हो त्यतिखेर मात्र थाहा हुने रहेछ जब त्यो चिजबाट टाढा हुन्छ। तब मात्र त्यस चिजको महत्त्व अझ बढ्दो रहेछ।
धेरै समय प्रदेश बसाइँपछि स्वदेशमा फर्किँदा मातृभूमिको अथाह मायाले छाती पट्ट फुट्ला झैँ हुनु, यस्तो खालको पीडा बोध मलाई मात्र नभई परदेशिएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू सबैमा लागु हुने कुरा हो। त्यस कारण हाम्रो देश नेपालको महत्त्व स्वदेशमा रहनुभएका ठुला बडा नेताहरूले भन्दा विदेशमा धेरै दुःख कष्ट गरी पसिना बगाइरहनु भएको दाजु-भाइ, दिदी-बहिनीहरूले बुझ्नुभएको कुरा प्रस्ट हुन्छ।
हो, त्यस समय मौसम प्रतिकूलका कारण आकाशमै केही मिनेट प्लेन घुमाइरहनु परेको अवस्थाले यात्रारत सम्पूर्ण साथीहरू डराएको अवस्था थियो। त्यहाँ यात्रारत कोही जानकारहरू भन्दै हुनुहुन्थ्यो- अब यहाँ ल्यान्डिङ गर्न सक्दैनन्, दिल्ली लैजान्छन्। कोही साथीहरू भन्दै हुनुहुन्थ्यो- 'स्थिति गम्भीर छ, प्लेनमै समस्या आएको हुन सक्ने बुझिएको छ।'
त्यस कारण अब यो नै सायद हाम्रो अन्तिम दिन हुने होला भनेर सोच्ने अवस्था थियो। कोही साथीहरू भन्दै हुनुहुन्थ्यो- 'मैले त धेरै वर्ष भयो बाबाआमालाई नभेटेको, नदेखेको। श्रीमती, सानो छोरालाई छोडेर गएको। उहाँहरूलाई एक चोटि भेट्न पाए त हुन्थ्यो।'
भेट्नै नपाएर मर्ने भएँ जस्ता पीडाका भावहरू गुन्जिन थालेको थियो तर पनि साथीहरूलाई एउटा हौसला स्वरूप मैले उच्चारण गरेको शब्दलाई धेरै साथीहरूले मन पराएर ताली बजाउनु भयो।
थोरै थोरै डर भए पनि धेरैजसो मनमा खुसी नै थियो किनकि हामी अब सही तरिकाले ल्यान्डिङ गर्न सकेनौँ, अचानक कुनै समस्या आइहाल्यो भने पनि नेपालकै भूमिमा नेपालकै माटोमा मर्न पाउने छौँ भनेर त्यो क्षणमा यो गर्व लाग्नुले छुट्टै महसुस भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिग्नलले केही समय होल्ड गर्नु भनेर ल्यान्डिङ गर्न अनुमति नदिएपछि प्लेन केही बेर आकाशमा राउन्ड लगाउन बाध्य भएको थियो।
यो घटनाबाट मातृभूमि प्रतिको माया कति हुने रहेछ भनेर प्रस्टै बुझ्न सकिन्छ। हो, मलाई मात्र भएको भए अरू साथीहरूले ताली बजाएर खुसी हुनुपर्ने कारण त केही थिएन। मलाई जस्तै अरू साथीहरूलाई पनि त मातृभूमिको धेरै माया रहेछ भन्ने कुरा यहाँबाट थाहा पाउन सकिन्छ।
मलाई लाग्छ अहिले जस्तो सामाजिक सञ्जाल, मिडियाका माध्यमहरू यही किसिमले सक्रिय भएको भए निकै चर्चामा आउने घटना हो त्यो दिनको, मलाई स्मरण छ। सामाजिक सञ्जालको त कुरै भएन तर पनि केही मिडियाहरूले के कसो गरे त्यो थाहा भएन। तर मेरो स्मरणमा छ, त्यो दिनको घटना सम्झिँदा निकै कहाली लाग्छ।
भगवान्को कृपा, केही समय आकाशमा राउन्ड लगाइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्यान्डिङ गर्न अनुमति प्राप्त भयो र सही सलामत ल्यान्डिङ गर्न सफल भयो। त्यसपछि पाइलटलाई धेरै-धेरै धन्यवाद दिँदै खुसीका आँसु बगाएर त्यस दिन धेरै पटक मातृभूमिलाई ढोग गरेर सबै जना खुसीले घरतर्फ लागेका थियौँ।