प्राविधिक तथा व्यावसायिक शिक्षाका बारेमा युनेस्कोको एउटा कथन छ 'शिक्षा विकासको ढोका हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा विकासको मूल ढोका हो।'
स्वभावतः मानिस सानातिना ढोकाभन्दा पनि मूल ढोकाबाट भित्र जान चाहन्छ। तर अहिले ससाना ढोकाहरूबाट अगाडि जानेहरू बाक्लै हुँदा मूल ढोका सुनसान छ। केही मूल ढोकामा ताल्चा लागेको छ। केही ताल्चा किनेर बसेका छन्।
पछिल्लो पटक एसइईको नतिजा आएपछि मैले मूल ढोका ढुकेर बसेकाहरूसँग भलाकुसारी गरेँ।
अधिकांश प्राविधिक शिक्षालयका प्रमुखहरू निराश भावको जबाफ दिन्छन्। चाहे सुगम ठाउँको होस् या दुर्गम नै किन नहोस् अहिले प्राविधिक शिक्षालयमा विद्यार्थीको चाप निकै फितलो देखिन्छ। धेरैलाई यो लागिसकेको छ 'अब प्राविधिक शिक्षालय सञ्चालन गर्न सकिँदैन, या सञ्चालन गर्न सक्ने अवस्था नै छैन' शिक्षाको बजारमा अहिले जबर्जस्त एउटा भाष्य निर्माण हुन थालेको छ 'प्राविधिक शिक्षा पढेर कामै छैन' यो भाष्यलाई न त प्राविधिक शिक्षालयले चिर्न सकेका छन्, न त सिटिइभिटी र सरकारले नै केही गर्ने प्रयास गरेको छ।
भाष्य यस्तो खतरनाक कुरा हो जसलाई समयमै निराकरण गर्न सकिएन भने क्यान्सरभन्दा पनि भयावह हुँदै जान्छ। प्राविधिक शिक्षाको बारेमा जे जस्ता भाष्यहरू निर्माण भएका छन्, त्यसलाई चिर्नका लागि संस्थागत रूपमा सिन्को भाँच्नेसम्मको काम पनि हुन सकेको छैन। यो प्राविधिक शिक्षाको भविष्यका लागि निकै विडम्बनापूर्ण अवस्था हो।
एकसाता अगाडि देशका विभिन्न भागबाट जुटेका प्राविधिक शिक्षालयका प्रमुखहरूले सिटिइभिटी कार्यालयमा पुगेर गुनासो गरे 'प्राविधिक शिक्षालयका बारेमा गतिलो सन्देश छैन, हामीले तलबाट मात्रै गर्दा धेरै विश्वसनियता हुँदैन लौ न हजुर भर्नाको अवधिमा केही गतिलो क्याम्पेन सञ्चालन गर्नुपर्यो' प्रमुखहरूको हारगुहारलाई सिटिइभिटीका जिम्मेवार व्यक्तिले 'यसपटक बजेट छैन, अर्कापटक विचार गरौंला' भनेर पन्छिने जबाफ दिनुभयो।
सिटिइभिटीलाई हाँक्ने पदमा बसेकाहरूलाई नै रोग लागेको बेलामा उपचार गर्ने मनसाय छैन। सबैकुराको बाधक बजेट देख्ने परम्परागत सोच छ। देशैभरका शिक्षालय प्रमुखहरू आकुलव्याकुल भएका छन्, आफ्नै आंगिक शिक्षालयहरूमा विद्यार्थी नभएर ताल्चा लागेका छन् अनि सिटिइभिटीसँग उपचारका लागि बजेट छैन।
यो एउटा उदाहरण मात्रै हो।
सिटिइभिटीका अधिकांश शाखा र महाशाखाहरूमा यही मानसिकता बोकेका मान्छेहरूको बाहुल्यता छ। अनि कसरी हामीले समयमै उपचार पाउने र निको हुने सपना देख्न सक्छौं?
नेपालमा अहिले ४ खालका प्राविधिक शिक्षालयहरू सञ्चालनमा रहेका छन्। पहिलो सिटिइभिटी आफैले सञ्चालन गरेका शिक्षालयहरू हुन्। जसलाई आंगिक शिक्षालय भनिन्छ। यस्ता शिक्षालयहरू अहिले देशैभर ६५ वटा छन्। दोस्रो निजी शिक्षालयहरू छन्। जो मुनाफाका लागि सञ्चालनमा आएका छन् र यस्ता शिक्षालयको संख्या ४ सय ७ रहेको छ।
पछिल्लो समय विद्यार्थी भर्नामा आएको मन्दीसँगै करिब १५ प्रतिशत यस्ता शिक्षालयहरू बन्द अवस्थामा छन् भने एक दुई वर्षमा ६० प्रतिशतभन्दा माथि पुग्ने खस्कँदो तथ्यांकले देखाउँछ।
तेस्रो स्थानीय सरकार या विभिन्न संघसंस्थाको साझेदारीमा सञ्चालित शिक्षालयहरू रहेका छन्, यस्ता शिक्षालयहरूको संख्या ५८ रहेको छ।
चौथो भनेको टेक्स शिक्षालयहरू हुन्। यस्ता शिक्षालयहरूको संख्या ६ यस ३९ रहेको छ। नेपालमा पाँच वर्षयता यस्ता शिक्षालयहरू रकेट गतिमा स्थापना भए र दुई वर्ष यता सोही गतिमा बन्द हुने क्रम पनि चलिरहेको छ। यो संख्या डिप्लोमा र प्रि-डिप्लोमा कार्यक्रम मात्रै अध्यापन गराउने शिक्षालयको हो।
सीप हुने, रोजगारी हुने, आत्मनिर्भर बन्न सकिने, उद्यम खोल्न सकिने, सरकारी जागिरमा धेरै सम्भावना हुने यस्ता अनेकानेक लोभलाग्दा विशेषता हुँदा पनि प्राविधिक शिक्षालयहरू किन विद्यार्थीहरू नपाएर हायल कायल भएका हुन् त? के प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको संख्या ओरालो लागेकै हो त? के प्राविधिक शिक्षाप्रति विद्यार्थीहरूको वितृष्णा सृजना भएकै हो त? आम रूपमा सहर बजारको कुरा सुन्ने र शिक्षालयको अवस्था हेर्ने हो भने माथिका कुरामा हो मा हो थप्न सकिएला तर कुनै पनि कुराको वस्तुनिष्ठ विश्लेषण तथ्यांकले मात्रै गर्दछ। र, पछिल्लो ५ वर्षको तथ्यांकले सिटिइभिटीमा विद्यार्थीको संख्या ओरालो होइन, उकालो लागेको देखाउँछ।
एकैछिन तथ्यांक विश्लेषण गरौं।
डिप्लोमा तहमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको संख्याको आधारमा हेर्दा विद्यार्थीहरूको संख्या समानान्तर जस्तो देखिन्छ। बरू नयाँ नयाँ शिक्षालयहरू सञ्चालन र कार्यक्रम थप गर्दा शिक्षालयको विद्यार्थी भर्ना क्षमतामा वृद्धि भइ भर्ना प्रतिशत निरन्तर ओरालो भने लागिरहेको छ। भर्ना क्षमता प्रतिशतमा कमी आए पनि विद्यार्थी भर्ना संख्यामा भने कमी आएको तथ्यांकले देखाउँदैन।
शैक्षिक सत्र २०७५/७६ मा ९ सय ३८ शिक्षण संस्था हुँदा करिब ६१ प्रतिशत विद्यार्थी भर्ना भएको अवस्थामा हरेक वर्ष कार्यक्रमको संख्या वृद्धि गर्दै लगेको देखिन्छ। शैक्षिक सत्र २०७७/७८ मा विद्यार्थी भर्ना प्रतिशत केही उकालो लागेको देखिए पनि लामो समयको रिक्ततापश्चात स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएकाले विद्यार्थी संख्या उकालो लागेको हो। अन्यथा विद्यार्थी भर्नाको दर एकै अनुपातमा अर्थात् २५ हजार आसपास नै देखिन्छ। विद्यार्थी संख्या २५ हजार आसपास रहे पनि हरेक वर्ष कार्यक्रम थप्दा विद्यार्थी विभाजन भई सबैतिर अभाव देखिन गएको तथ्यांकले देखाउँछ।
कार्यक्रम र शिक्षालय सम्बन्धनमा सिटिइभिटीले खुकुलोपन अपनाएसँगै हरेक पालिकामा शिक्षालयहरू स्थापना हुने क्रम बढेर गयो। यसले विद्यार्थी संख्यामा वृद्धि गर्न सकेन। नयाँ नयाँ कार्यक्रम र शिक्षालय सञ्चालनले विद्यार्थी संख्या भने टसकामस भएको देखिँदैन। हाम्रा प्राविधिक कार्यक्रम र शिक्षालयको थप कतै अवैज्ञानिक त थिएन ? या अनावश्यक थियो कि ? तथ्यांकले प्रश्न गर्न बाध्य बनाउँदछ।
वर्ष | कार्यक्रम संख्या | विद्यार्थी संख्या | भर्ना क्षमता | भर्ना प्रतिशत |
२०७५/७६ | ९३८ | २३८६४ | ३८९७६ | ६१.२२ |
२०७६/७७ | १०८७ | २५६४६ | ४५३८४ | ५६.५१ |
२०७७/७८ | ११०३ | ३२५५९ | ४६०७२ | ७०.६७ |
२०७८/७९ | १३१६ | २६५७० | ५४७१८ | ४८.५६ |
२०७९/८० | १३७६ | २६६४६ | ५७०७० | ४६.६९ |
स्रोतः सिटिइभिटी वार्षिक प्रतिवेदन
तथ्यांकले पनि विद्यार्थी संख्या उकालो नलाग्दा पनि प्राविधिक शिक्षालय स्थापना र कार्यक्रम थप गर्ने क्रम बढिरहँदा यो संकट निम्तिएको देखाउँछ। अहिलेको संकटबाट प्राविधिक शिक्षालयहरूलाई पार लगाउने मूल उपाय भनेको शिक्षालय र कार्यक्रमको वैज्ञानिक विश्लेषण गरेर शिक्षालय र कार्यक्रम मर्ज गर्नु नै हो।
धेरै शिक्षालय खोलेर विद्यार्थी संख्या बढाउन सकिन्छ भन्ने सोच यहाँनेर गलत सावित भएको छ। शिक्षालय र कार्यक्रम मर्जका लागि सिटिइभिटीले समिति समेत बनाइसकेको छ। तर यसको वैज्ञानिक कार्यान्वयन हुने बारेमा कैयौं आशंकाहरू छन्।
विद्यार्थीको मागभन्दा बढी शिक्षालय र कार्यक्रम संख्यालाई व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती हो। धेरै शिक्षालय सञ्चालन गर्दा राज्यको लगानी पनि एकातिर त्यसै खेर गइरहेको छ भने अर्कातिर खुलेका शिक्षालयहरू पनि स्रोत साधनयुक्त भएका छैनन्। अवैज्ञानिक निर्णयबाट पछाडि हटेर शिक्षालय र कार्यक्रम मर्जमा अगाडि बढ्नु भन्दा शुल्क घटाउनमा नै सिटिइभिटी व्यस्त देखिन्छ। तर यसले सार्थक प्रतिफल दिएको छैन।
अहिले देशको माटोले खोजेको नै प्राविधिक कार्यक्रम हो। प्राविधिक सीपयुक्त जनशक्ति आजको आवश्यकता हो। प्राविधिक शिक्षाका कार्यक्रम अहिले जुन तरिकाले अगाडि बढ्नुपर्ने हो सो अनुसार अगाडि बढाउनका लागि सामूहिक रूपमा गर्नुपर्ने केही महत्वपूर्ण कामहरू छन्।
सबैलाई बुझाऔं
अहिले पनि प्राविधिक शिक्षाका बारेमा सतही ढंगले विश्लेषण गर्ने प्रवृत्ति हामीकहाँ हाबी छ। विशेष गरेर प्राविधिक शिक्षाको व्यापकताका बारेमा सबैलाई जानकारी प्रदान गर्नका लागि सामूहिक रूपमा प्रयत्न गर्नुपर्दछ। कतिपयलाई डिप्लोमा कार्यक्रम केबल तालिम मात्रै हो भन्नेसम्मको भ्रम पनि यदाकदा सुन्न पाइन्छ। यसका लागि मिडियामार्फत् क्याम्पेन गर्न सकिन्छ। यसका अलावा प्राविधिक शिक्षा अध्ययन गरेर जीवनमा सफल भएका, स्वरोजगार भएका कैयौं व्यक्तिहरू अहिले पनि समाजमा छन्। तिनका सफलताका कथाहरूलाई समावेश गरेर पनि विद्यार्थीहरूलाई यसतर्फ आकर्षित गर्न सकिन्छ।
पाठ्यक्रम सुधारौं
प्रविधि तीव्र परिवर्तनशील हुने गर्दछ। आज प्रयोग भएको प्रविधि भोलिका लागि आउटडेटेड हुन सक्दछ। प्रविधिको परिवर्तनशील प्रकृतिलाई मध्यनजर गरेर प्राविधिक शिक्षाका पाठ्यक्रमहरू पनि परिवर्तन गर्दै लैजानुपर्दछ। प्राविधिक शिक्षाका पाठ्यक्रमहरूलाई सैद्धान्तिक रूपमा सरल बनाउनुपर्दछ। हामीले मध्यमस्तरको जनशक्ति उत्पादनको लक्ष्य राख्ने भएको हुँदा यसको पाठ्यक्रमलाई आवश्यकता अनुुसार परिमार्जन गरिरहनुपर्दछ।
उद्योगहरूका लागि कस्तो सीप सिकेको जनशक्ति आवश्यक रहेको छ सोही अनुसार नै पाठ्यक्रम निर्माण गर्नुपर्दछ। यसका साथै हामीले उत्पादन गरेको जनशक्तिले बजारको आवश्यकतालाई परिपूर्ति गर्ने खालको पनि हुनुपर्दछ।
संरचनात्मक विकास
प्राविधिक शिक्षामा प्रयोगात्मक अभ्यासको महत्व निकै नै हुने गर्दछ। प्रयोगात्मक अभ्यास बिना यो अपुरो र अधुरो हुने गर्दछ। यसको मुख्य ध्येय नै सीपयुक्त जनशक्ति निर्माण भएकाले ल्याब र वर्कसपको अझ धेरै आवश्यकता पर्ने गर्दछ। अहिले खुलेका धेरै प्राविधिक शिक्षालयहरूले यो मापदण्ड पूरा गर्न सकेका छैनन्। पढाउने कक्षाकोठाका भरमा प्राविधिक शिक्षा प्रदान गर्न सकिँदैन। उपकरणयुक्त ल्याबहरूको व्यवस्था पनि अहिलेको आवश्यकता हो। विद्यार्थीहरूमा प्राविधिक शिक्षातर्फको आकर्षण वृद्धिका लागि ल्याब लगायतका संरचना निर्माणमा ध्यान दिनुपर्दछ। धेरै विद्यालय सञ्चालन गरेर संरचनाविहीन बनाउनुभन्दा अत्यावश्यक मात्रै शिक्षालय सञ्चालन गरेर संरचना परिपक्व बनाउनुपर्दछ।
रोजगारका अवसर सृजना
प्राविधिक शिक्षाले स्वरोजगार र उद्यमशील बनाउनुका साथै रोजगार प्राप्तिमा पनि सहजता थप्ने गर्दछ। तर हामीले यसका लागि हाम्रा उत्पादित जनशक्तिहरूलाई उद्योगहरूसँग जोड्नुपर्दछ। प्राविधिक कार्यक्रम सञ्चालन गर्दा आफ्नो वरपर कस्ता खालका उद्योगहरू रहेका छन् र ती उद्योगहरूमा कस्तो खालको जनशक्ति आवश्यकता पर्दछ भन्ने कुराका बारेमा सामान्य विश्लेषण गर्नुपर्दछ। यसरी जनशक्ति आवश्यकताको विश्लेषण गर्नाले शिक्षालयबाट उत्पादन हुने बित्तिकै रोजगार प्राप्त गर्ने आधार प्रशस्त मात्रामा हुन्छ।
करिअर काउन्सिलिङ
कुनै पनि विद्यार्थीले आफू पुग्ने ठाउँ कहाँ हो भन्ने कुराको भेउ पायो भने उसले पढ्नका लागि मेहनत गर्दछ। प्राविधिक विषय अध्ययन गर्ने अधिकांश विद्यार्थीहरूलाई आफूले अध्ययन गरेको विषयको सामर्थ्यका बारेमा सामान्य जानकारी समेत हुँदैन। यसरी करिअरका बारेमा जानकारी नहुँदा विद्यार्थीहरूले बीचमै पढाइ छाड्ने खालका समस्याहरू देखिने गरेका छन्। यसकारण विद्यालयहरूले विद्यार्थीहरूलाई करिअरका बारेमा सही ढंगले जानकारी दिनुपर्दछ। कतिपय शिक्षालयहरूले विद्यार्थीहरू आकर्षण गर्ने निहुँमा बढाइचढाइ व्याख्या गरिरहेका हुन्छन्। यसले विद्यार्थीहरूलाई झनै निराश बनाउने गर्दछ।
(लेखक तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन् )