उदास एक जोडी अनुहार काखमा सानो दुधे बालक च्यापेर म्यानपावरको दैलोमा अनेकन सपना बोकेर उडान भर्न आएको दृश्यले मेरा आँखा खै किन हो किन अनायासै रसाए।
थाहा छैन उनीहरू को हुन्, कहाँबाट आएका हुन् जसलाई म पहिलोपटक देख्दैछु र यो पनि थाहा छैन खोइ किन हो किन यो दृश्यले मलाई किन यति बिचलित बनाइरहेछ, किन यति दुखाइरहेछ?
बस्, मलाई यति चाहिँ थाहा छ त्यो दुधे बालक र मेरी सानी छोरीमा कत्ति भिन्नता छैन।
मलाई १०-५ को अफिस गर्दा मात्रै पनि मेरो बच्चासँगको त्यो मिठो साथ एकैछिनको लागि छुट्दा त कताकता के नभएजस्तो, के नपुगेजस्तो हुन्छ। त्यो नानीको बाबा अब वर्षौंवर्षको लागि आफ्नो रगत र पसिनासँग रियल र रिङ्गेट साट्न जाँदैछु भन्दा कति मन भाँचिएको होला।
कति याद आउला त्यो तोतेबोलीको, त्यो बालापनको अनि उस्तै बच्चाले झन् उसको हर सुखदुःखमा के बाबा मिस नगर्ला?
टाठाबाठा अलि हुनेखानेहरू अलि राम्रै देश जान्छन्, पढ्छन्, कमाउँछन्, रमाउँछन्, कहिले फिर्ता आउँदैनन्। यो देश यस्तो, उस्तो भविष्य छैन त्यसैले यता आयौ अब यतैको बानी परिसक्यो। बिस्तारै आफ्नालाई नि तान्ने सोचिरहेका छौं एक खालको टिप्पणी हुन्छ।
एक खालका हुन्छन् पढेलेखेका, जो थोरै लगानीमा धेरै कमाउने सोच बनाएर खाडीतिरै पनि आफ्नो क्षमता, वुद्धि विवेक र परिश्रम गरे राम्रै कमाउन सकिने सोचका हुन्छन्। उनीहरूलाई अरूबाट ठगिनुपर्ला कि भन्ने खासै चिन्ता हुँदैन। कमाउने न कि पैसा, त्योभन्दा धेरै सीप क्षमता र अनुभव बटुल्ने र आफ्नै देशमा फर्किने र केही गर्ने। उनीहरूलाई कुनै पिआर या ग्रीन कार्डको लोभ हुँदैन।
अनि अर्का खालका जो हुन्छन् परिस्थिति र मनस्थिति दुबै कमजोर भएकाहरू, जसलाई केबल परिवार पाल्नकै लागि पनि बिदेशिनु पर्ने बाध्यता हुन्छ र धाउँछन् म्यानपावरको ढोकाढोका र अन्ततोगत्वा भासिन्छन् खाडी जसको भाग्य दलालको हातमा हुन्छ।
राम्रो कम्पनी परे दुई चार वर्षमा राम्रै कमाइ हुन्छ र परिवारको मुहार फेरिन्छ तर कहीँकतै यस्तो पनि हुन्छ जो घरखेत सबै बन्धकी राखेर म्यानपावरमा पैसा बुझाएर सपना किन्न उडान भर्छन् तर भनेको जस्तो कम्पनी हुन्न सोचेको जस्तो कमाइ हुन्न। पशुलाई जस्तो व्यवहार हुन्छ, मान्छेले मान्छेलाई मान्छे गन्दैनन्, समयमा खाना हुँदैन, बिरामी पर्दा उपचार हुँदैन अनि परिवारको यादले सताउँछ 'होम-सिक' हुन्छ र रित्तो फर्कन्छन् ऋणमाथि ऋणमा पर्छन् अझै कोही त फर्कन पनि सक्दैनन् र उतै विलिन भएका कयौं घटना छन्।
मैले कति सुनेकी छु यो देशमा खानै नपाएर चाहिँ कोही मर्दैनन् तर मरेतुल्य चाहिँ हुने रहेछन्, त्यसैले त दालभातकै लागि पनि खाडी भासिन्छन्। मेरो ख्यालमा मलाई लाग्छ रूकुम रोल्पा त आधा रित्तिसक्यो जो दालभातकै लागि पनि सयौंको संख्यामा दैनिक दलालका साथमा हिँडिरहेका दृश्य हामी काठमाडौंको गल्लीगल्लीमा देख्न सक्छौं। उता जाजरकोट, बाग्लुङ, प्युठान, उदयपुर, ताप्लेजुङ, पाँचथरबाट उत्तिकै घुइँचो हुन्छ विदेशिनेको।
कतिपयलाई त यो सहर एकादेशको कथा नै हुन्छ जो पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगको लागि काठमाडौं आउँछन्।
काठमाडौं छेउछाउका पहाडी भेगका तुलनामा सुदूरपश्चिमकाहरू अलि सोझासाझा नै हुन्छन्, जसले काठमाडौं त्यति राम्ररी बुझेका हुँदैनन्। यहाँ त खानबस्न त के खाएको कुरा फाल्न समेत पैसा तिर्नुपर्ने कुराले उनीहरूलाई आश्चर्यचकित नै बनाउँछ। उनीहरूले आफ्नो गाउँको जस्तो सदाचार, सहयोगभाव, नम्रता, आत्मीयता अनि थोरै मानवता पनि कति ठाउँमा महसुस नै गर्न पाउँदैनन्। बहुत दु:खको कुरा नैतिक शिक्षा हराएको जस्तो महसुस हुन्छ बेलाबखत यो सहरमा।
यो समस्या ती विवश पात्रका मात्र नभएर देशको समस्या हो। एक जनाले दु:ख गरे परिवारले सास फेर्ला, बालबच्चाले पढ्लान् भन्ने आशले कयौं परदेशिएका छन् र भित्र्याएका छन् रेमिटेन्स। एक हिसाबले बुझ्दा यो देशलाई धान्न रेमिटेन्सको बलियो साथ छ, त्यसैले सरकारले पनि आँखामा छारो हालेजस्तो रेमिटेन्स भित्रिएको स्वाद मान्ने एकातिर र अर्कोतिर वैदेशिक रोजगारलाई दोष लाउनुभन्दा कि वैदेशिक रोजगारमा क्राइटेरिया राखिदिने, उमेरको हद, तलबको हद, लगानीको हद, समयको हद तोकिदिने र यसलाई फर्मालिटी मात्र नभई पूर्ण रूपमा कार्यान्वयन गराउने होइन भने यो देशका नागरिकलाई यही टिकाउन, यही बचाउन, यही कमाउन, यही सिकाउन र यहाँ जन्मिएकोमा गर्व महसुस गर्ने यात्रामा जुट्नुपर्छ।
हामी आशावादी छौं। हामी अझै यही देशमै छौं। आफ्नो तर्फबाट हरेक दिन राम्रो गर्ने प्रयासमा छौं। हामी बिग्रिएका छैनौं, आफ्नो धरातल बिर्सिएका छैनौं। अनुशासन र इमानदारिता हराएको छैन। केही राम्रै होला भन्ने अझै आशमा छौं। बिन्ती सरकार हामीलाई पनि विदेशिन बाध्य नबनाइदिनुस्। जति ठगिए दु:खको कुरा यो ठग्ने ठगिने यात्राले पूर्णविराम पावस्। गौतमबुद्धको ज्ञान जोगाइदिनुस्, सगरमाथाको शिर बचाइदिनुस्, नेपाल आमाको काख सबैलाई दिलाइदिनुस् ताकि दुई छाकको लागि विदेशिनु नपरोस्।