रोल्पाको खुंग्रीमा पर्ने चतुर्भुजमा उहिल्यै भत्किएको शिव मन्दिरलाई पुनः निर्माण गर्ने अभिप्रायले हाम्रा बा र ससुरा बा मिलेर केही सहयोगीहरूका साथ भारतका विभिन्न सहरहरूमा जानुभयो। त्यहाँ नोकरी गरिरहेका जिल्लावासी तथा गाउँलेहरूबाट आर्थिक सहयोग अर्थात् चन्दा रकम जम्मा भयो। तिनै सहयोग रकमले चतुर्भुज धाममा विभिन्न देवी देवताका मन्दिरहरू निर्माण गरिने सुरसार हुँदै थियो।
२०५५ सालअघि अर्थात् ससुरा बा बित्नुभन्दा केही वर्षअघि बाले मलाई हिसाबकिताबका लागि बिल, भर्पाई, टिकट र रसिदहरूको पोकाहरू भएको बाकस दिनुभयो। त्यति बेला म काठमाडौँबाट दसैँ मान्न बिदा लिएर रोल्पा गएको थिएँ। बाकसमा सायद दुई/तीन वटा पोका भएजस्तो लाग्छ। मैले एक-एक गरी केलाएर हिसाब गरेर केही दिनमै आम्दानी खर्चको विवरण तयार पारिदिएँ।
पोकाहरू रहेको टिनको बाकसमा यसो खोतलेर हेरेँ, त्यहाँ बाले तमसुकहरू पनि राख्नुभएको रहेछ। मैले एक-एक गरी हेरेँ र पढेँ। कुनै तमसुकमा चिनेका मान्छेका नाम देखिन्थे भने धेरै नचिनेका अर्थात् पल्लो गाउँ र माथिल्लो गाउँका मान्छेहरूको नाम भएजस्तो लाग्थ्यो। म किशोरावस्थामै काठमाडौँ प्रवेश गरेको हुँदा मैले गाउँका कतिपय मान्छेहरूलाई चिन्दैन थिएँ। बाले तमसुक मात्र लेखेर राख्ने तर रकम उठाउन सकेको जस्तो देखिँदैन थियो। आसामी झार्न बेलाबेलामा गाउँतिर डुल्नुहुन्थ्यो तर खाली हात फर्केर आउनुहुन्थ्यो। बा नभएको मौकामा मैले बाकसबाट एक एक गरेर तमसुक झिक्दै, च्यात्दै, फाल्दै गरेँ। बालाई जानकारी नदिईकन मैले त्यसरी तमसुकहरू च्यात्दै गएँ।
बाले टिनको बाकसमा राखेका तमसुकको प्रसङ्ग थप्न मनासिब ठान्दछु। कतिपय तमसुकहरू धमिराले खाएर कुनैमा रकम नै मेटिएका थिए त कुनैमा व्यक्तिको नाम निशान नै देखिँदैन थियो। सापटी लैजानेबाट बाले रकम असुल गरेको जस्तो पनि लाग्दैनथ्यो। यी तमसुक त एउटा रकम लेनदेनको आधार मात्र थियो। रकम असुली हुन गाह्रो नै थियो। किनकि गाउँघरमा आम्दानीका स्रोतहरू केही हुँदैन थिए। अरूले जस्तो बाले आसामीहरूको खोरबाट बोका घिच्च्याएर पनि ल्याउन सक्नु हुन्न थ्यो। बाकसमा केबल सीमित थिए ती तमसुकहरू।
बाले दोकान गर्दा दाङको घोराहीमा रहेको भूपनारायण श्रेष्ठ एन्ड सन्स नाम गरेको थोक बिक्री पसलबाट सामान ल्याउने गर्नुहुन्थ्यो। घोराहीदेखि खुंग्रीसम्म दिनभर भारी बोक्ने एक जना भरियाको ज्याला जम्मा चार रुपैयाँ थियो। पछि घोडाबाट सामान ढुवानी हुन थाल्यो। घोडाबाट सामान ल्याइपुर्याएपछि सामान झारेर घोडाहरू हाम्रो आँगन छेउको चउरमा लहरै बाँधिन्थे। घोडाहरूले भुस वा घाँस खाइरहन्थे। घोडालाई देखेर गाई भैँसी जल्किने अर्थात् तर्सने गर्दथे र भाग्दथे। सायद गाई-भैँसीले कहिल्यै पनि घोडा नदेखेकै कारण होला।
बाको काम मिटर ब्याज गर्ने त थिएन, वहाँ पण्डित र ज्योतिष पनि हो। कुनै जमानामा शिक्षक पनि हुनुभयो र शिक्षकको जागिर छोडेर दोकान सुरु गर्नुभयो। दोकानबाट राम्रै किसिमले कमाइ भएपछि घर व्यवहार सहज रूपमा चल्यो। २०३६ सालमा हाम्रा दाइको विवाहपछि भने दोकान सुक्दै गयो र घर व्यवहार चलाउन बालाई हम्मे हम्मे भयो।
चौध जना छोराछोरी जन्माउनु भएकी हाम्री आमालाई घरको कठिन धन्दाले सधैँ पिरोलिरह्यो। गोठमा सधैँ दुई वटा भैँसी हुन्थे, एउटा बकेर्नू र अर्को लैनो। एउटा गाई र एक हल गोरु टुट्दैन थिए। गाई-भैँसीले स्याहार नपाउँदा अरूहरूका तुलनामा दुब्ला नै देखिन्थे। मैला नाम गरेको गोरुले मान्छेलाई हान्न खोज्थ्यो भने मृगे गोरु सोझो थियो। जोत्दा खेरि गोरु पनि दायाँ र बायाँ तोकिन्थे। दायाँ गोरु बायाँ र बायाँ गोरु दायाँ गरेर नारियो भने सही तरिकाले जोत्दैन थिए।
जोत्दा बारीमा राँटो (जोताइले छलेको जमिन) रहन्थ्यो र गोरु असन्तुलित भएर जोत्न सक्दैन थिए। जोतिसकेपछि बारीको माटो सम्म्याउन हलो झिकेर गोरुसहितको जुवामा हिँगा (हलोको ठाउँमा तेर्सो र च्याप्टो काठ) लगाइन्थ्यो। हामीलाई हलीले हिँगामा चढ्न लगाउँथे। हिँगामा वजन थपिएर माटो राम्रोसँग सम्म हुने हुँदा केटाकेटीलाई हिँगामा चढाइन्थ्यो, केटाकेटीहरू रमाउँथे। कहिलेकाहीँ चढ्न नजान्दा पल्टिएर खुट्टा हिँगामुनि पर्दा पीडा सहनुपर्थ्यो।
आमाको दुःख भनेको चौध जना छोराछोरी जन्माउनु र हुर्काउनु थियो। तर छ जना भाइबहिनीहरू सानैमा बितेपछि हामी आठ जना भाइबहिनीमा सीमित भयौँ। छ जना बाँचेको भए आमालाई झनै दुःख हुने थियो भने बालाई पढाउन लेखाउन गाह्रो पर्ने थियो। बाको बानी के थियो भने बाटोमा हिँडेका चिनेका मान्छे देखेपछि बोलाइहाल्ने र आमालाई चिया बनाउन भनिहाल्ने। भ्याइ नभ्याइले सताइरहेको बेला समय-समयमा आउने पाहुनाहरूका कारण आमा झनै दुःखमा गाँजिनुपर्थ्यो। तर आमाले गुनासो भने गर्नु हुन्नथ्यो।
म २०४० सालमा काठमाडौँ आउँदा कान्छी बहिनीको आँखा एक महिना अघिदेखि नै बन्द थियो। उपचारका लागि कहीँ लगिएन, पछि आफै खुलेछ। परिवार ठुलो भएको कारण हामीहरूले खासै पोषण तत्त्व भने पाउन सकेनौँ। हाम्रो पढाइलेखाइ पनि सालाखाला नै हुन्थ्यो। म २०३८ सालको एसएलसीको टेस्टमा फेल भएको थिएँ भने २०३९ सालको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेर गाउँको रेकर्ड राखेको थिएँ। म र एक जना अंकल दुई जना रोल्पाको खुंग्रीबाट दोस्रो श्रेणीमा उत्तीर्ण हुने पहिलो परीक्षार्थीमा गनियौँ। रोल्पाको हाम्रो गाउँ खुंग्रीमा सात कक्षासम्म मात्र पढाइ हुने हुँदा आठ कक्षादेखि पढ्न प्युठानको भिंग्रीमा जान्थ्यौँ। त्यस सालसम्म रोल्पा केन्द्रबाट एसएलसीमा एक जना पनि उत्तीर्ण हुँदैन थिए।
दोकान चलेका बखत उधारो लगेका ग्राहकहरूको विवरण बेग्लै रजिस्टरमा उल्लेख थियो। उधारोले गर्दा पनि दोकान सुक्दै गयो। उधारो नदिँदा दोकान नचल्ने र दिँदा रकम उठ्ने सम्भावना ज्यादै कम हुने हुँदा बाले २०३७ सालतिर दोकान गर्न छोड्नु भएको थियो। गाउँभरिमा एउटै मात्र दोकान हाम्रै थियो। चतुर्भुजमा लाग्ने श्री पञ्चमी मेलामा उत्तरी भेग बाइसखुवाबाट मेला भर्न आउनेहरूले हाम्रो दोकान बाहिरबाटै 'बेटारी छ बाजे? बेटारी दिनुस् त!' भन्दै जोडले कराउँथे, श्री पञ्चमी मेलाका लागि टर्चको ब्याट्री धेरै नै बिक्री हुन्थ्यो। श्री पञ्चमी मेलामा बेलुका जान हामीहरूलाई बन्देज थियो। भोलिपल्ट बिहान मात्र हामी मेलामा जान पाउँथ्यौँ।
बेलुका जानेहरूले मेलाबाटै केटी भगाएर घरमा ल्याउने र घरजम गर्ने चलन थियो। हामी बिहान मेला भर्न जाँदा बाले दुई/चार वटा चाँदीका एक रुपैयाँका सिक्का दिनुहुन्थ्यो। जिलेबी, बर्फी, बतासा किनेर पनि मोहर सुका फिर्ता हुन्थ्यो र उखु किनेर लौरोले टेकेझैँ टेक्दै घरमा ल्याउँथ्यौँ। त्यति बेलाको मेलामा जिलेबी घिउमा बनाइने हुँदा ज्यादै मिठो लाग्थ्यो। मिठाई बिक्री गर्ने व्यापारीहरू भारतीय नागरिक जस्ता देखिन्थे। मेलामा पाँच रुपैयाँले धेरै चिज वस्तु किन्न सकिन्थ्यो।
एसएलसीपश्चात् कानुन पढाउने उद्देश्यले बाले मलाई ल क्याम्पसमा भर्ना गर्ने भनी काठमाडौँ ल्याउनुभयो। घरबाट हिँडेको तीन दिनमा काठमाडौँ आइपुगेका थियौँ। त्यति बेला गाडीको सुविधा थिएन। खुंग्रीबाट भालुबाङसम्म हिँडेर आउन दुई दिन लागेको थियो। राप्ती नदीमा पुल थिएन, भदौको उर्लँदो बाढीमा काठको डुंगा पार गरेर केही घण्टाको हिँडाइपश्चात् वनकस र कालाकाँटेपछि बुटवलका लागि गाडी चढ्यौँ र बुटवलमा खाना खाई त्यहाँबाट रातभरको यात्रापछि अर्को दिन बिहान काठमाडौँ आइपुग्यौँ।
चौध भाइबहिनी मध्येको म बाआमाको दोस्रो सन्तान, मैले भने एकभन्दा बढी सन्तान जन्माउन सक्ने अवस्था थिएन। काठमाडौँको महँगीले गर्दा एक मात्र सन्तानमा सीमित रहनुपर्यो। गाउँका केही अबुझहरूले कुरा पनि काटे, एउटा मात्र सन्तान जन्माउने? अरू जन्माउन नसक्ने? भनेर शाब्दिक वाणले घोच्ने पनि गरे। हाम्रो दम्पती चुप लागेर सही नै रह्यौँ। सहरको हाम्रो बसाइ कठिन थियो, काठमाडौँको चरम महँगीले गर्दा व्यवहार चलाउन मलाई साह्रै अप्ठेरो नै थियो। एक मात्र भए पनि सन्तानलाई राम्रोसँग पढाउन सकेकोमा आफूलाई गौरव नै ठान्छु। सायद दुई सन्तान भइदिएको भए राम्रोसँग पढाउन सकिने थिएन र मलाई व्यवहार चलाउन धौ-धौ हुने निश्चित थियो।
बाँचेका मध्ये हामी चार दाजुभाइले व्यापार नै गर्लान् भन्ने उद्देश्यले बाले ठुलो आकारको थप एउटा नयाँ घर बनाउनु भयो। २०३० सालतिर तीस हजारकै लागतमा घर बनाउनु भयो। त्यो घर भने अहिलेसम्म खासै काममा आएको छैन। त्यति बेला त्यो पैसाले दाङमा चार-पाँच बिघा खेत आउँथ्यो। छोराहरूले खुंग्रीमै बसेर व्यापार गरून् भन्ने बाको सोचाइ भने पूरा भएन।
अहिले नब्बेको हाराहारी पुग्न लाग्नु भएका बा अझै पनि रोल्पा-दाङ-रोल्पा बसमा एक्लै आउने-जाने गर्न सक्नुहुन्छ। वहाँको ज्यान अझै तगडा छ, किनकि वहाँले बच्चामा धेरै स्याहार पाउनु भएको कुरा माइला बा र फुपूले पनि भन्नुहुन्थ्यो। बाल्यकालमा बाको जस्तो स्याहार हामीले नपाएकै कारण हामीहरू शारीरिक हिसाबले अहिले पनि कमजोर छौँ।
बाजे गजाधर उपाध्यायले खुंग्रीकै हिले भन्ने ठाउँमा सत्यनारायणको पूजा लगाउन जाँदा मलाई साथमा लैजानु हुन्थ्यो, म पनि खुसी भएर जान्थेँ। पूजा सुरु हुनुअघि यज्ञ अर्थात् जग्गे बनाइन्थ्यो र वरपर केराका थामहरू गाडिएका र छेउछाउमा पाकेका केराका घरीहरू झुन्ड्याइएका हुन्थे। विभिन्न रङका हजारी अर्थात् सयपत्रीका र गुर्धौली अर्थात् गोदावरीका फूलहरूले यज्ञ स्थलको तोरणमा झुन्ड्याएर सजाइएका हुन्थे। लालुपातेका फुलका लाल-लाल रङहरूले आँखालाई आनन्दित तुल्याइदिन्थे।
पूजा सकिएपछि सहयोगीले घरभित्रबाट डोकोमा प्रसाद ल्याइदिन्थे र टपरीमा राखिएका प्रसाद पूजामा सहभागीहरूलाई वितरण गरिन्थ्यो भने यज्ञ स्थलको छेउमा सिँगारु नाच सुरु हुन्थ्यो। सिँगारु नाचमा रामायणका श्लोकहरू पनि गाइन्थे, नाच निकै हेर्न लायक हुन्थ्यो। बिहानीपख पूजाका कर्ताले पूजा लगाउने पण्डित हाम्रा बाजेलाई चामल, घिउ, दही, तरकारी दिन्थे र बाजेले बारीमा इल्टा अर्थात् ढुङ्गाको चुलो बनाएर खाना पकाउनु हुन्थ्यो। स्थानीय जातका सिमी-बोडीमा आलु मिसाइएको रसिलो तरकारी र गोरससँग बिहानको खाना खाएर हामी खुंग्रीतिर झर्थ्यौँ।