एक दिनको कुरा हो। म यतिकै फोन खेलाउँदै बसिरहेको थिएँ। त्यतिकैमा नचिनेको नम्बरबाट फोन आयो। फोन उठाएँ। फोन उठ्ना साथ 'हेल्लो डियर!' भन्यो।
म अक्क न बक्क भएँ। उसो त म खासै फोनमा नबोल्ने मान्छे। 'के!' भनेर ठुलो आवाजमा भनेँ। उताबाट मुस्कानसहित आयो, 'किन रिसाएको?'
'तिमी को हो म चिन्दिनँ।'
फेरि हाँस्दै भन्यो, 'साँच्ची!'
'केको साँच्ची नसाँच्ची हो, नम्बर एकपल्ट हेरेर डायल गर्नु पर्दैन?'
जवाफ आयो, 'रिसाउने मान्छे मनको सफा चाहिँ हुन्छन् है।'
फोन काटिदिए।
फेरि त्यही नम्बरबाट फोन आयो। रिसमै थिएँ फोन काटिदिएँ। केही मिनेटमै सरी भनेर म्यासेज आयो। लाग्यो कसैले झुक्किएर डायल गर्यो।
त्यसको भोलिपल्ट त्यही नम्बरबाट फोन आयो। फोन उठाएर भनेँ, 'नचिनेको मान्छे किन फोन गरिरा?'
उसले भन्यो, 'फोन गर्न पनि चिनेको नै हुनुपर्छ र?'
'अनि यतिकै पनि अरूलाई फोन किन गर्नु पर्यो?'
त्यति भनिसकेपछि हाँस्यो र फोन काट्यो।
कस्तो अचम्मको मान्छे! न धेरै कुरा गर्छ, न त मेरो कुरा नै सुन्छ। लाग्यो मलाई चिने जानेको मान्छे नै हुनुपर्छ। त्यसपछि भने फोन आएन।
एक हप्तापछि फोन बज्यो, हेर्दा उसैको नम्बर थियो। फोन रिसिभ गरिनँ। आज पनि जिस्काउनलाई त फोन गरेको होला भन्ने मनमा लाग्यो। त्यसपछि भने महिना पछि नै फोन गर्यो। त्यो बेला मैले कुरा गर्ने सोच बनाएँ। उसको बारेमा सबै कुरा सोध्न भ्याएँ। तर उसले जवाफमा भेटेर भन्छु भन्यो।
अब फोन नगर भनेँ। उसले 'धेरै बोल्न पर्दैन, हेलो मात्र भनिदिए पुग्छ मलाई' भन्यो।
कस्तो अचम्मको मान्छे, न केही भन्छ न त फोन गर्न नै छोड्छ। म त्यति धेरै रिसाएर बोल्दा पनि ऊ हाँसेर बोलिरह्यो। त्यो दिन अलि बढी ऊसँग फोनमा कुराकानी भयो।
सोधेँ, 'नम्बर कहाँबाट पायौ?'
उसको जवाफ, 'मोबाइलमा थियो।'
'कस्तो बाङ्गो हुन सकेको, कुनै जवाफ सिधा सिधा गर्न आउँदैन?'
उसले फेरि भन्यो, 'भएको कुरा भन्दा तिमी बाङ्गो सोच्छौ त म के भनौँ?'
मैले कुरालाई मोडिहालेँ र सोध्न भ्याइहालेँ। त्यसपछि मात्र उसले नाम, ठेगाना बतायो। नाम मिसन (परिवर्तित नाम), घर पहाड, पेसा बेरोजगारी। अर्को दिनदेखि नियमित फोन गर्न थाल्यो। दिनमा एक पल्ट। कहिले गुड मर्निङ त कहिले इभिनिङ। एक डेढ महिना जति त्यसै गरी फोन गरिरहन्थ्यो।
भेटेको छैन, देखेको छैन। के आधारमा बोल्ने जस्तो लाग्थ्यो। तर उसको आवाजमा यति मिठास थियो। उसको आवाजले पनि नजिक बनाइरहेको थियो।
आवाज मन परेर बोल्दै गइयो। बिस्तारै कुरा पनि बढ्न थाल्यो। अचम्म यो मानेमा लाग्छ कि, खै उसको आवाजले किन मलाई नजिक बनायो! दुई वर्षसम्म उसको मेरो फोनमा कुरा हुन्थ्यो। फोनबाट भए पनि एकअर्कालाई बुझिसकेका थियौँ। तर वास्तविकता भने त्यस्तो थिएन। उसले सही नभनेको पनि हुन सक्छ।
मैले पनि आफ्नो नाम, घर सही भनेको थिइनँ। तर उसलाई मन पराइसकेको थिएँ, आवाजको भरमा। ऊ राम्रो छ भन्ने मेरो दिमागमा सेट भइसकेको थियो। सबै सत्य नै बोल्छ होला जस्तो लाग्थ्यो।
सुनेको थिएँ जब मान्छे कसैलाई प्रेम गर्न थाल्छ, त्यसपछि ऊ उसलाई मात्र देख्न थाल्छ। अहिले सम्झिँदा लाग्छ, म पनि एकतर्फी भइसकेकी थिएँ मायामा। तर उसलाई थाहा थिएन। उसको हरेक कुरा साँचो नै होला सम्झिन्थेँ। फोनबाट बोलेको भरमा उसलाई आफूलाईभन्दा माथि राखेर विश्वास गर्न थालेको थिएँ म।
२०७७ बाट हाम्रो कुरा हुन लागेको ०७९ भएछ कुरा हुन थालेको। दुई वर्षपछि उसले मेरो बारेमा सबै थाहा पाएको सुनायो।
मैले भनेँ, 'चिने जानेको भएर पनि झुट बोल्न माहिर रहेछौ तिमी।'
उसले कुनै-कुनै कुरा झुट नै मिठो हुन्छ भन्यो।
उसलाई झुटसँग निकै प्यार छ जस्तो लाग्यो। तर उसको झुट मेरो लागि जीवनको सबैभन्दा नमिठो थियो। आज पनि ऊ मेरा लागि अनजान बनेर बसेको छ। तर यादमा भने आइरहन्छ।
बालापनदेखि मलाई मन नपर्ने एउटा कुरा हो झुट। साँच्ची जुनै पनि सम्बन्धमा झुट हुनु हुँदैन मेरो विचारमा। उसले बुझेर गर्यो अथवा नबुझेर त्यसको गहिराइ उसलाई मात्र थाहा होला। तर उसको एक झुटले मलाई ऊप्रतिको सबै विश्वास टुट्यो र सम्बन्ध रोक्ने सोच गरेँ मैले। म भने उसलाई अनजान भनेर माया गरिरहेँ, ऊ भने जाना जान पनि अनजान बनिरह्यो।
प्रायःले मिठो लाग्ने झुट हो। यो मान्नुस् जब झुट थाहा हुन्छ त्यसले छुराले रोपेको भन्दा सयौँ गुणा घाउ दिन्छ। नदेखिने तर पोलिरहने। बरु साँचो बोलेको भए उसले कि अघि जान सकिन्थ्यो वा बोलचाल केही समय बन्द हुन्थ्यो होला। यसरी सम्बन्धले विश्राम लिने थिएन होला।
त्यही कुरालाई लिएर मैले उसलाई ब्लक लिस्टमा राख्दिएको थिएँ। त्यसपछि ऊ अहिले पनि मेरो ब्लक लिस्टमा नै छ। सायद उसको त्यो झुट नै मेरा लागि घृणा बन्यो। कसैसँग सम्बन्धमा रहन मलाई लाग्दैन रूप हुनु पर्छ, धन हुनु पर्छ या त जाने बुझेकै हुनुपर्छ। हरेक सम्बन्धमा झुट भने हुनुहुँदैन। सत्य बोल्नुस्, केही समय तितो होला तर सधैँ तितो रहँदैन। झुटले संसार चल्दैन।
सम्बन्ध जोड्न झुट बोल्नुपर्छ र? माया गर्छु भन्दै भन्नुपर्छ र?
सम्बन्धमा विश्वास हुनुपर्छ एकअर्काको अनि साथ रहन्छ अवश्य जीवन भरको। संसारलाई देखाएर माया गर्नुपर्छ जस्तो लाग्दैन मलाई। विश्वासबिना जिन्दगी अघि बढ्छ जस्तो लाग्दैन मलाई।