कामको सिलसिलामा म सिंहदरबारमा पुगेको थिएँ। दरबार साँच्चिकै दरबार रहेछ। चहलपहल बढी थियो सबै आ–आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो।
मन्त्रीहरू गाडीमा हुइँकिरहेका थिए। विभिन्न प्रदेश, नगरपालिका, गाउँपालिका, विभाग तथा कार्यालयका सेतो प्लेटका गाडीहरू पार्किङमा देखिन्थे। खाली ठाउँमा ती नेता तथा प्रतिनिधिलाई कुरिरहेका केही चालकहरू समय बिताउन लुडो खेल्दै थिए, केही एक आपसमा गफगाफ गर्दै बसेका थिए भने केही फोटो खिच्दै थिए।
मेरो धेरै मन्त्रालयमा विभिन्न काम थिए। ती मन्त्रालय धाउन करिब १ दिन नै लागेको थियो। करिब ७/८ वटा मन्त्रालय पुगे मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये महिला कर्मचारीहरू बढी रहेको पाएँ। निजामती ड्रेसमा कति राम्रो देखिन्थे।
कामको सिलसिलामा म एउटा मन्त्रालयमा छिरेँ।
त्यहाँ करिब २३-२५ वर्ष उमेरकी महिला कर्मचारी काम गर्दै हुनुहुन्थ्यो।
'नमस्कार मिस' भनेँ।
'नमस्कार! के थियो होला' भन्नुभयो।
अनि मेरो फाइल दिएर उहाँलाई विस्तृत विवरण बताएँ। सो काम टुङ्गाउन विभिन्न प्रक्रिया पुर्याउन पर्ने, हाकिमबाट स्वीकृत लिएर काम गर्नुपर्ने देखियो।
हाकिम सर मन्त्रिस्तरीय मिटिङमा भएका कारण १/२ घण्टा समय लाग्छ बस्नुपर्ने भयो भनेर जानकारी गराउनुभयो। खासै कामको चाप थिएन, एकछिन कुरा गर्यौं। परिचय गर्यौं, पेशाले उहाँ नायब सुब्बा हुनु हुँदो रहेछ। बीस वर्षको उमेरमा सेवा प्रवेश गर्न सफल। उहाँ अर्घाखाँचीको हुनु हुँदो रहेछ अनि मैले गुल्मीको भनेर परिचय दिएँ।
कुरा गर्दै थियौँ छिमेकीपनको आभाष पाएँ। रहनसहन सबै मिल्ने भएर होला हामी एउटै जिल्ला, एउटै ठाउँको जस्तो भयो।
सोही क्रममा 'चिया खाऊ है' भनेर सोध्नुभयो।
मैले 'हुन्छ' भनेँ।
'तपाईंले के गर्नुहुन्छ त?,' उहाँले सोध्नुभयो।
म प्राइभेटमा काम गर्ने हुँदा यस्तो कम्पनीमा काम गर्छु भनेर बताएँ। उहाँले गुल्मी, अर्घाखाँचीको मान्छे लोक सेवामा हुनुपर्ने प्राइभेटमा किन भनेर प्रश्न गर्नुभयो।
मैले ठट्यौली पारामा सबै गुल्मी अर्घाखाँचीकाले सरकारी क्षेत्र हडप्न नि भएन नि अरूलाई पनि पालो दिनुपर्यो भनेँ। अनि केही समयपछि प्राइभेटमा काम गर्दै लोक सेवा पढ्दै छु भनेर जबाफ दिएँ।
छिमेकी जिल्ला रहनसहन एउटै भए होला कुरा गर्न अप्ठ्यारो लागेन।
पुनः ठट्यौली पारामा तपाईंजस्तो भाग्मानी सबै हुँदैनन् २० वर्षको उमेरमा सुब्बा साप बन्ने! मलाई पनि तपाईंले जस्तै निजामती ड्रेस लगाएर जिम्मेवारी बहन गर्न मन छ हेरौँ सफलता प्राप्त गर्न सकिन्छ सकिँदैन। यदि लोक सेवा पास भए भने लड्डु लिएर तापाईंलाई भेट्न आउँछु भनेर जबाफ दिएँ।
'उहाँले सफलताको शुभकामना छिट्टै लड्डु खान पाइयोस्,' भनेर जबाफ दिनुभयो।
सो अवधि पश्चात हाकिम सरको आगमन भयो। सबै सुब्बा सापले तयार गरिसक्नु भएको थियो र साइन मात्र बाँकी। झन्झटिलो काम थिएन केबल अनुमति प्रदान गर्नुपर्ने थियो। प्रक्रियाको आधारमा काम छिटोछरितो भयो। धेरै धेरै धन्यवाद भनेर म त्यहाँबाट छुटिएँ।
सिंहदरबारकै अर्को मन्त्रालयमा सेवा लिन पुगेँ। कार्यक्षेत्रमा धेरै कुर्ची कर्मचारीविहीन थिए। सार्वजनिक बिदा जस्तै सुनसान थियो। कार्यालय सहयोगीहरू मात्र आफ्नो कार्यकक्षमा हुनुहुन्थ्यो भने कोही मोबाइलमा व्यस्त हुनुहुन्थ्यो।
'सरहरू हुनुहुन्न?,' भनेर प्रश्न गरेँ।
'खै थाहा भएन यतै हुनुहुन्थ्यो,' त्यहाँ हुनुभएका कर्मचारीले भन्नुभयो।
'कति बेला आउनुहुन्छ होला फोन गरिदिनुन है?,' फेरि सोधेँ।
'बस्दै गर्नुस् आउनुहुन्छ होला,' उहाँले जबाफ फर्काउनुभयो।
करिब १/२ घण्टा कुरेँ तर सरहरूलाई भेट्न सकिएन। यसो विचार गरे कार्यालय सहयोगलाई डकुमेन्ट छोडेर जाऊँ कि ? अनि फेरि विचार गरेँ, अहँ काम फत्ते गरेर जान्छु।'
धेरै कुरेँ तर सरहरू भेट्न पाइनँ।
एक जना महिला कर्मचारी काम गर्दै हुनुहुन्थ्यो उहाँ पेशाले खरिदार हुनुहुँदो रहेछ। उहाँलाई दर्ता/चलानीको जिम्मा दिइएको रहेछ।
अनि सोधेँ, 'सरहरू कहाँ जानुभएको होला?'
'यतै हुनुहुन्थ्यो बस्दै गर्नुस् न आउनुहुन्छ।'
करिब १ घण्टा कुरेँ तर भेट भएन।
काम सकेर जानुपर्ने थियो अनि पुनः सोधेँ, 'आउनुहुन्न र? उहाँले भन्न गाह्रो मानि मानि भन्नुभयो। 'कोही उपसचिवको तयारीमा हुनुहुन्छ, कोही शाखा अधिकृतको तयारीमा। खासै काम हुँदैन, काम नहुने शाखा पनि हो, त्यही भएर खासै बस्नुहुन्न। केही परे हामी तल्लो तहका कर्मचारीले गर्छौं। डकुमेन्ट छोडिदिनू म गरेर राखिदिन्छु भोलि १/२ बजेतिर आउनु न त।'
डकुमेन्ट छोडेर घर गएँ। बेलुका घरमा गएर फोन गरेँ, फोन रिसिभ भयो।
'सर सानो कामले आएको थिएँ। हजुरसँग भेट भएन। दर्ता/चलानी शाखामा डकुमेन्ट छोडेको छु। भोलि कतिबेला आऊँ होला?,' भनेर प्रश्न गरेँ।
'कार्यालय समयमा आउनुहोला म हेरौँला,' भन्नुभयो।
भोलि सोही समय आएँ।
'साइन भएछ नि,' उहाँ मिसलाई 'धन्यवाद सहजीकरणको लागि भनेर' फर्किएँ।