रात्री बसमा यात्रा गर्दै गरेको यो मेरो पहिलो पटक भने होइन। धेरैपल्ट म रात्री बस सेवाको यात्रामा आवतजावत गर्ने गरेको छु। हरेक पल्ट रात्री सेवाका लागि बसको टिकट बुकिङ गर्ने बेला मैले करिब दोहोर्याएर, तेहेर्याएर मेरो सिटको छेउमा महिला यात्रीलाई नै राखिदिनुहोस् है भन्दै अनुरोध गर्थें।
हिजो सिट बुक गर्दै गर्दा टिकट काटिदिने दाइलाई उही वाक्य दोहोर्याएर भनेको थिएँ।
साँझ फेरि सिट पक्का गर्ने क्रममा गाडी चालको फोन आएको थियो।
मैले पुनः उहीँ वाक्य दोहोर्याएर भनेको थिएँ, 'छेउमा महिला यात्री राखिदिनुहोस् है।'
उनले 'हुन्छ, हुन्छ म मिलाउँदैछु' भनेर फोन काटिदिए।
उनको एक वाक्यले म भोलिको १५ घण्टाको रात्री यात्रा गर्नका लागि निर्धक्क भएको थिएँ।
आज साँझ करिब ५ः५० तिर राजविराजबाट काठमाडौं यात्राका लागि गाडी चढेँ। मसँगै १५ घण्टा यात्रातर्फ निस्किनुपर्ने व्यक्ति अझै आइपुगेका थिएनन् शायद, छेउको सिट खाली थियो।
म आफ्नो सिट हेरेर थपक्क बसेँ।
गाडी करिब ३० मिनेट जति गुडिसकेपछि गाडीका सहचालक टिकट र सिट हेर्दै आइपुगे।
मेरो सिट ५ 'क' दायाँपट्टि रहेछ, जहाँ एक पुरूष पहिले नै छेउको सिटमा बसिसकेका थिए। म बसिरहेको सिट ५ 'ख' बायाँपट्टि पो रहेछ।
खै के हेरेर हो मैले हिजो बुक गरेको सिटभन्दा विपरीत सिटको भित्तामा बसिसकेको थिएँ। छेउको सिट खाली थियो। सहचालकलाई, 'महिला नै राखिदिनुस् छेउमा भनेको थिएँ नि मैले, खै त?,' भन्दै दुईपल्ट दोहोर्याए।
उनले 'बस्दै गर्नुस्,लहानतिरबाट चढ्ने हुन्, मिलाउला' भन्दै अगाडितिर हानिए।
यसो बुझ्दा म बसेको सिटको छेउमा बस्ने व्यक्ति विष्णपुरबाट गाडी चढ्ने रहेछन्।
यति भैराख्दा मेरो मनमा अनेक कुराहरूले कब्बडी खेल्न भ्याइसकेका थिए। १५ घण्टा बसमा रात्री यात्रा गर्नुपर्नेछ, छेउमा एक पुरूष परिदिए भने यात्राका लागि कठिन हुने त होइन! अर्को एउटा कुरा जसले मलाई पिरोलिरह्यो 'के आजको मेरो यात्रा सुरक्षित हुनेछ?'
यति सोच्दै गर्दा एक व्यक्ति सिटको नम्बर हेर्दै म बसेको छेउको सिटमा आड लाग्न आइपुगे। आफ्नो सामान सिटको मुन्तिर राखेर थपक्क छेउपट्टि बसेँ। म अवाक भएर एउटै प्रश्न आफैलाई सोधिरहेँ, 'के यी अपरिचित पुरूष सहयात्रीसँगको यो यात्रामा म सुरक्षित हुनेछु?'
यात्रा सहज होस् भन्ने हेतुले छेउमा बसेका सहयात्रीसँग मैले केही कुरा गर्न भ्याइसकेको थिएँ।
उनी कहाँबाट हुन्, कता जान लागेका आदि इत्यादि। हामीबीच दोहोरो वार्तालाप भैसकेको थियो।
उत्तरमा मैले 'म छुट्टीमा घर जान लागेको कुरा बताएको थिएँ, सँगसँगै यो मेरो सिट होइन उतापट्टिको भित्ताको सिट हो, झुक्किएर यतै पट्टि बसेछु' भनेर पनि उनलाई जानकारी गराइदिएँ।
उनले, 'यतै बसे पनि भैहाल्छ, अर्का व्यक्ति उताको सिटमा बस्छन्, कुरा उस्तै त हो।'
उनले यति भनिसकेपछि म दुविधामा परेँ, यतै बसौं कि उता आफ्नै नाममा बुक गरेको सिटमा।
उनले एक महिलालाई सुरक्षा दिने हिसाबले त्यसो भने या सामान्य रूपमा भने मैले ठ्याक्कै अड्कल काट्न सकिनँ। सहचालकले पनि ती पुरूषको कुरा सुनिसकेपछि 'त्यतै सजिलो होला त्यतै बस्नुस् न त' भने।
यति गफ हुँदै गर्दा लहान आइपुगिसकेको थियो। त्यहाँबाट अर्का एक पुरूष आएर दायाँपट्टि छेउको सिटको व्यक्तिलाई पन्छाउँदै भित्ताको सिटमा जाँदै थिए, त्यो सिट त्यही थियो जुन मेरो नाममा टिकट काटिएको थियो ५ को 'क' दायाँ पट्टिको सिट। सहयात्री र सहचालकको कुरालाई मध्यनजर गर्दै मैले सुरूबाटै ओगटेको सिटमा बस्ने निधो गरेँ।
वास्तवमा यो रात्री यात्राको कुरा तपाईंले सुनिरहँदा या पढिरहँदा कस्तो सामान्य जस्तो लाग्न सक्छ। टिकाटिप्पणी पनि हुन्छन् होला कस्तो कहिल्यै यात्रा नगरे जस्तै सुनिन्छ भनेर। यस्ता कुरा गर्नेहरूका लागि मेरो उत्तर 'बरू कहिलेकाहीँ यात्रा गर्नुपर्यो भने परेको टर्छ यो पल्ट त हो नि सक्किहाल्यो' भन्ने विचारले सान्त्वना दिन्छ। तर हप्तैपिच्छे र महिनैपिच्छे यात्रा गर्नुपर्ने महिला यात्रीहरूलाई हरेक पल्ट एउटै प्रश्नले पिरोल्छ, 'के मेरो आजको यात्रा सुरक्षित हुनेछ?'
अरूका लागि सामान्य जस्तो लाग्ने भए पनि धेरैजसो यात्रा गर्ने महिलाहरूलाई यो कुरा निकै ठूलो लाग्ने गर्छ। नलागोस् पनि कसरी? दैनिक रूपमा समाचार पत्रपत्रिकाले अनैतिक र यौनजन्य घटना विभिन्न स्थान, परिवेश र अवस्थाहरूमा भैरहेको समाचार प्रकाशित गरिरहेको हुन्छ।
यसै पनि हिजोआज वर्षाको समयमा यात्रा गर्दैगर्दा 'यो पल्ट घर बेलैमा पुगिने हो कि होइन' भन्ने प्रश्न गाडी चढिसकेपछि हरेक यात्रीको दिमागमा एकपल्ट त पक्कै आउँछ।
त्यैमाथि १५ घण्टाको रात्री यात्रामा छेउमा एक पुरूष व्यक्ति भएपछि महिलाले यात्रालाई कठिन मान्नु पक्कै पनि सामान्य त हुँदै होइन। कम्तीमा मेरो लागि होइन।योभन्दा अगाडि दिउँसो करिब २० मिनेटको बस यात्रा गर्दैगर्दा मैले त्यस्तै खालको अनैतिक व्यवहार झेलेको छु। त्यसबेला डर भयावह र सानै उमेर भएकाले मैले ममाथि भएको व्यवहार गलत छ भनेर आवाज उठाउन सकिनँ। हिजोआज घटिरहेका घटनाले हामीलाई डराउनै पर्ने अवस्था सिर्जना गरिदिएको छ।
सायद डर हुँदैन पनि थियो होला, साथमा एक जना परिचित साथी वा अन्जान नै भए पनि महिला सहयात्री हुन्थिन् भने। डर सधैंभरी नराम्रो पनि हुँदैन होला। डरले कहिलेकाहीँ दुर्घटनाबाट बचाउँछ, अप्रिय र अप्रत्याशित घटना हुनबाट जोगाउँछ।
मेरी आमा भन्ने गर्नुहुन्छ, 'आँटिलो मान्छे पनि कहिलेकाहीँ डराउनुपर्छ है छोरी। कहिलेकाहीँ डराउनाले ठूलो हानि हुनबाट जोगाउँछ।'
यति सबै भन्दै गर्दा सबै पुरूष जातिहरू उस्तै प्रवृत्ति र व्यवहारका हुन्छन् भन्ने मेरो मनसाय होइन। सधैं सबै पुरूष सहयात्रीसँग डराउनुपर्छ भन्ने आशय पनि होइन। तर हरेक पल्ट आफू सजग र होसियार रहनुपर्छ भन्ने सिकाइ चाहिँ सबैमा हुनुपर्छ, चाहे महिला हुन् वा पुरूष। सधैंभरी सहयात्री गलत मनसायका हुँदैनन्।
१५ घण्टाको मेरो यात्रामै पनि ती पुरूष मेरा लागि सुरक्षाको बाँध बनेर १५ घण्टासँगै यात्रा गरे। बीचबीचमा उनले मलाई असहज त भएको छैन भन्ने कुरा पनि याद गर्दै गरेको महसुस भएको थियो। म गाडीबाट उत्रने बेलामा मीठो मुस्कानसहित उनलाई धन्यवाद दिएको थिएँ।