हिजोआज विदेश जानेहरूको लहर बढ्दो क्रममा छ। गाउँ सहर जताततैबाट युवाहरू रोजगारी तथा अन्य अवसरको खोजीमा विदेशिने गरेका छन्।
मुख्य गरेर अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान लगायतका देश जानेहरूले सामाजिक सञ्जालमा राखेका तस्बिरहरू र विदेश घुमेर आउनेहरूले विदेशप्रति सुनाएका अनुभवबारे हाम्रो समाजमा विभिन्न बुझाइ र अवधारणा रहेको पाइन्छ।
नेपालमा त नातिपनाति सम्मलाई पुग्ने गरी सम्पत्ति जोड्ने चलन छ तर विदेशमा सन्तानको भविष्यको कुनै चिन्ता हुँदैन। सबै सरकारले हेर्छ।
शिक्षा, स्वास्थ्य नि:शुल्क हुन्छ। छोराछोरीलाई १८ वर्षसम्म मात्र हेर्नुपर्छ त्यसपछि आफै गरिखान्छन्। घर नै किन्नुपर्छ भन्ने छैन, डेरामा वा फ्ल्याटमा बसे पनि उनीहरू खुसी हुन्छन्। पारिवारिक जीवनबारे विदेशी मुख्य गरेर अमेरिकी, अस्ट्रेलियाली र युरोपियनबारे हाम्रो समाजमा यस्तै यस्तै कुरा गरेको सुनिन्छ।
अरू देशबारे अर्थात् अरूको जीवन शैलीबारे हामीले बुझेको ज्ञान कति सत्य होला भन्ने प्रश्नको उत्तर भन्दा पनि हामी यिनै बुझाइबारे बहकिने गर्दछौं।
यस आलेखमा प्रस्तुत गरेका कुराहरूले पनि सबै तथ्य पुष्टि गर्छ भन्ने पनि होइन।
हामीले साझा मानवीय विशेषता र सामाजिक विकासको नियमभन्दा बाहिर रहेर समाजलाई बुझ्न खोज्दा वास्तविकता फरक हुन जान्छ भन्ने मात्र हो।
सम्पत्ति जोड्ने अथवा धेरै धनपैसा चाहिने नेपालीलाई मात्र हैन प्राय: सबै मानिस यसको लागि प्रयत्न गरिरहेका हुन्छन्, कसको पहुँच कति छ र माध्यम के छ भन्ने मात्र हो।
यो अहिले मात्र हैन, एउटा समाजमा मात्र हैन र आज मात्र हैन। यो प्रक्रिया त जब मानव समाज सामूहिक स्वामित्वबाट निजी स्वामित्वमा प्रवेश गर्यो त्यहीँबाट व्यक्तिगत सम्पत्ति तथा स्रोत साधनको जोहो गर्नेतर्फ प्रतिस्पर्धामा दौडिरहेको छ। अनि विदेशीहरू व्यक्तिगत सम्पत्ति जोगाउन लाग्दैनन् नेपालीहरूले मात्र गर्छन् भन्ने हुन्छ र!
विकसित देशमा स्वास्थ्य, शिक्षा नि:शुल्क हुन्छ सबै सरकारले हेर्छ, नेपालमा मात्र सरकारले केही गर्दैन भन्ने बुझाइमा पनि वास्तविकता फरक हुन सक्छ। अधिकांश विकसित देशमा माध्यमिक तहसम्मको मात्र शिक्षा नि:शुल्क हुन्छ, उच्च शिक्षा निकै महंगो छ। स्वास्थ्य पनि सबैलाई नि:शुल्क हुँदैन। स्वास्थ्य बीमा गर्नेहरूलाई नि:शुल्क हो। व्यक्तिले रोजगारमा छउन्जेल सरकारलाई कर तिर्छ, आफ्नो लागि स्वास्थ्य बीमा गर्छ। आफ्नो र आफू काम गरेको रोजगारदाताबाट सामाजिक सुरक्षाका लागि रकम जम्मा गर्छ। त्यही रकमले उसलाई भवितव्य पर्दा र भविष्यमा अशक्त हुँदा खर्चको व्यवस्था हुन्छ। सरकारले त्यस प्रकारको नीतिले बनाइदिन्छ। सक्दै नसक्नेहरूको लागि मात्र सरकारले लगानी गर्दछ।
अर्को पक्ष, सन्तानप्रति आमाबाबुको दायित्व कहिलेसम्म र कतिसम्म? विदेशीले त छोराछोरी अठार वर्ष पुगेपछि जतासुकै जाओस् यादै गर्दैनन् रे, हेर्नै पर्दैन रे, छोराछोरीले पनि बाबुआमा बृद्ध भएपछि हेरचाह केन्द्रमा लगेर छोड्छन् रे भन्ने बुझाइमा एकछिन घोत्लिएर सोचौं त।
प्राय: सबै जनावार तथा चराचुरूङ्गीले त आफ्नो सन्तानको ख्याल गर्छ भन्ने मान्छेलाई आफ्नो सन्तानको ममता र ख्याल हुँदैन होला? सामाजिक सांस्कृतिक मूल्य मान्यता देश र परिस्थिति अनुसार फरक हुन सक्छ तर प्राकृतिक र जैविकीय नियम सबैमा लागु हुन्छ।
विकसित देशमा फरक यति हो साबालक भएपश्चात बजारमा रोजगार पाइन्छ र युवाहरू आफै आत्मनिर्भर हुन्छन्। पारिवारिक बन्धनभन्दा स्वतन्त्र जीवन मन पराउँछन्।
बिहेभन्दा अघि पनि केटा साथी वा केटी साथी सँगसँगै बस्दा सामाजले स्वीकार्छ त्यसैले उनीहरू अभिभावक भन्दा छुट्टै बस्न रूचाएका हुनसक्छन्। नेपालमा पनि उहिले सानै उमेरमा बिहे गरिदिएर छोराबुहारीलाई बेग्लै घर बनाएर छुट्याएर राखिदिने प्रचलन थियो र अहिले पनि कतिपय ठाउँमा यो चलन र बाध्यता कायम नै छ।
अर्को भनाइ के पनि सुन्ने गरिन्छ भने विदेशमा त 'सेक्स फ्री' हुन्छ जताततै पाइन्छ, बिहेको टुङ्गो हुदैन, सम्बन्ध बिच्छेद सामान्य हो। यसको वास्तविकता एकछिन घोत्लिएर सोचौं त कुनै समाजमा सेक्स फ्री हुन्छ? सेक्स जसले जसलाई गर्न पाइन्छ? हरेक समाजमा यौन सम्बन्धलाई कुनै न कुनै नियम, कानुन र सामाजिक मूल्य मान्यताले बाँधेको हुन्छ। तर हामी विदेशमा यौन स्वतन्त्र हुन्छ नेपालमा मात्र किन बन्देज भनेर तर्क गरिरहेका छौं। यो बुझाइ विकासशील अरू देशमा पनि रहेछ सायद।
एकपटक हामी केही ल्याटिन अमेरिकी देश, भारत, पाकिस्तान लगायत तेह्र देशका अधिकारीहरू अमेरिकाको एउटा कार्यक्रममा सहभागी भएका थियौं। झण्डै एक महिना लामो कार्यक्रम सकेर अमेरिकाको हवाइबाट बिदा हुने क्रममा एक जना पाकिस्तानी साथीले झोलाबाट केही सानो पोको निकालेर डस्टबिनमा फ्याँक्दै भने 'केही प्याकेट कण्डम लिएर आएको थिएँ। अमेरिकामा त सेक्स गर्न जति पनि पाइन्छ भन्ने सुकेको थिएँ तर कतै पाइएन, यसको काम नै लागेन।'
कार्यक्रमको बीचमा ल्याटिन अमेरिकी महिलाहरू उनले राम्रो व्यवहार गरेन भनेर ती व्यक्तिसँग बोल्न छोडेका थिए। सायद त्यही सिलसिलामा उनले केही प्रस्ताव राखेका थिए कि! उनी जस्तै नेपालबाट पनि कतिपय पुरूषहरू विदेश भ्रमणमा जाँदा सेक्स फ्री पाइन्छ, महिलासँग हात मिलाउन अंगालो मार्न पाइन्छ भनेर हौसिएर जाने र हिस्स परेर फर्किने पनि छन्।
एकपटक नेपालबाट जाने सरकारी अधिकारीले अरबी मुस्लिम महिलालाई अंगालो हालेर भेट गरेको कारणले कार्यक्रम आयोजकले सिकायत दिँदा कार्यक्रम स्थलमा नै लज्जित हुन परेको चर्चा पनि सुन्ने गरिन्छ।
कसैलाई आँखा जुधाएर एकोहोरो हेर्यो भने कानुन लाग्ने देशमा जताततै सेक्स गर्न पाइन्छ भनेर सोच्नु कपोकल्पित कुरा बाहेक के हुन सक्छ?
कतिपय देशमा पैसा तिरेर किन्ने वा रेडलाइट एरियामा जाने भन्ने कुरा छुट्टै हो।
सम्बन्ध बिच्छेदबारे पनि भनाइहरू धेरै सुन्न पाइन्छ। नेपालमा मात्र हो विवाह बन्धनमा बस्नुपर्ने, विदेशमा जतिबेला पनि सम्बन्ध बिच्छेद गर्न पाइन्छ। हेपेर र हेपिएर बस्नै पर्दैन। सम्बन्ध बिच्छेदबारे यी र यस्तै कुरा गर्नेहरू धेरै छन्। विदेशको परम्परा राम्रो र नेपालको सनातन परम्परा गलत भन्नेहरू पनि छन्। तर विदेशीहरूको भोगाइ भने फरक फरक छन्। उनीहरूको समाजमा बिहे नगरी सँगै बस्नु र बच्चा जन्माउनु वा छुट्टिएर बस्नु सामाजिक स्वीकार्य कार्य हो। व्यक्तिको निजी जीवनबारे समाज वा छरछिमेकले उति चासो र सरोकार राख्दैन तर कानुनी रूपले बिहे गरेपश्चात् हुने सम्बन्ध बिच्छेद भने त्यहाँ पनि निकै महँगो पर्न जान्छ।
जुनसकै समाजमा सम्बन्ध बिच्छेद सन्तानका लागि र कतिपय अवस्थामा सम्बन्ध बिच्छेद गर्नेहरू बीचमा पनि पारिवारिक विखण्डन तथा पारिवारिक सम्बन्धको विध्वंश हो। सामान्य कुरामा यो विध्वंश गर्न जो कोहीले पनि चाहँदैन। तथ्यांक हेर्ने हो भने नेपालमा हजार विवाहित जोडीमा एक जोडीले सम्बन्ध विच्छेद गर्छन् भने अमेरिकामा हजार विवाहित जोडीमा तीन जोडीले सम्बन्ध बिच्छेद गर्छन्। हाम्रो बुझाइको स्तरको तुलनामा यो त्यति आकाश जमिनको फरक होइन।
उनीहरूमध्ये कतिपयले सहनशील संस्कार चाहन्छन् र त्यसको खोजीमा हुन्छन्। कतिपय अमेरिकी तथा अस्ट्रेलियालीहरू साउथ एसियनसँग बिहे गर्न चाहन्छन् त्यसको एउटा कारण दिगो पारिवारिक सम्बन्धका लागि पनि हो भन्ने गरिन्छ।
अस्ट्रेलियामा अध्ययनको क्रममा रहँदा एकपटक एक जना अस्ट्रेलियाकी युवतीले भनिन्- तिम्रो त बिहे भएको रहेछ साउथ एसियनहरूलाई त एकपटक बिहे गरेपछि ढुक्क छ। हाम्रो त साह्रै हैरानी छ। मेरो बिहे भएको छैन, मेलै अहिलेसम्म पाँच वटा ब्वाइ फ्रेण्ड फेरिसकेँ। कोसँग बिहे हुन्छ भन्ने अहिलेसम्म टुङ्गो छैन। कहिले त मलाई हाम्रो संस्कारदेखि दिक्क लाग्छ।
अस्ट्रेलियाकै अर्की एक जना महिला पनि उनको छोराले ग्रिस मूलकी केटीसँग बिहे गरेर दुई छोराछोरी भएपश्चात् सम्बन्ध बिच्छेद भएको, उनकी बुहारीले उनलाई दुर्व्यवहार गरेको, रक्सी खाएर उनका बहुमूल्य उपहार फुटाइदिएको गुनासो गर्थिन्।
उनकी बुहारीले नातिनातिना लिएर अर्कै केटासँग बिहे गरेको र बेलाबेला नाति नातिना भेट्न जाँदा पनि नराम्रो व्यवहार गरेकोले अब छोराले नेपाली वा भारतीय मूलको केटी बिहे गरोस् र परिवार सम्बन्ध स्थायी रहोस् भन्ने चाहना रहेको बताउँथिन्।
विदेशको स्वतन्त्रता र अवसरहरूमा सबै राम्रैराम्रो बुझेर, सुनेर वा सामाजिक सञ्जाल तथा इन्टरनेटको दुनियाँमा देखेर विदेशतिरै मन डुलाउने धेरै युवाहरू छन्।
सँगैको साथी विदेश गएर सफा सुन्दर सडक र गगनचुम्बी भवन, समुद्र क्षितिजका तस्बिर राखेको देखेर विदेशमा रमाइलो र सुख भोग गर्न पाइन्छ भन्दै विदेशको सपना बुन्ने गर्छन् तर सपना पछिको वास्तविकता फरक हुन सक्छ।
विकसित देशमा गुणस्तरीय भौतिक पूर्वाधार, आधुनिक प्रविधिको विकास र चकितै पार्ने विकासको अवस्था पक्कै छ। ती सबै कुराको उपयोग गर्ने मान्छेहरू हुन्। मान्छेका जैविकीय र प्राकृतिक गुणहरू भने सबैको एउटै हुन्छ। भौतिक सुखको लालायित दौरानमा मान्छेले मान्छेलाई नै फरक देख्नु त भएन नि!