२०७६ कार्तिक २१ गते महेन्द्र बहुमुखी क्याम्पसको पहिलो दिन। उसो त पहिले पनि नगएको होइन तर नयाँ रूप, केही उद्देश्य लिएर केही सिक्न विद्यार्थी भएर क्याम्पसमा छिरेको पहिलो पल्ट नै थियो। केही थान सपना बोकेर भविष्यको बाटो बनाउन त्रिविमा अध्ययन गर्न उत्साह बोकी आएको थिएँ। मलाई लाग्छ त्रिविको फितलो व्यवस्थापनले धेरैका सपनाहरू तुहिएका छन्। धेरैको जोस मरेको छ, त्यो उत्साह, त्यो जाँगर सायद बढ्दो उमेरले पनि हो कि बिस्तारै हराउँदो रहेछ।
चार वर्षको कोर्स ६ वर्ष पुग्न लाग्यो, बल्ल चौथो वर्षको परीक्षा भएको छ। रिजल्टको अत्तोपत्तो छैन। डेढ वर्षपछि रिजल्ट आएको अवस्था हामीले भोगेका छौँ। परीक्षा चलिरहेको हुन्छ, अघिल्लो वर्षको रिजल्ट आइदिन्छ। जसले कसैलाई त हौसला पनि दिन्छ तर धेरैजसोलाई द्विविधामा पारिदिन्छ। चिन्ताले भइरहेको परीक्षाले पनि साथ छोडिदिन्छ।
निरन्तर पढाइ नहुँदा कोर्स नसकिने समस्याले अधिकांश विद्यार्थी स्व-अध्ययनकै भरमा परीक्षा दिने गर्दछन्। सधैँ जसो त्रिविको उही रङ जसले साढे चार लाख विद्यार्थीको त्यो जोस, ती आकाङ्क्षाहरू उडाइरहेको छ। नेपालको सबैभन्दा ठुलो विश्वविद्यालय त्रिवि होइन र? साँच्चै हो रहेछ! त्रिविले विद्यार्थीको भविष्य हैन भविष्यप्रतिको चिन्ता बढाएको छ।
नीति कक्षा सञ्चालन भएको १० महिनामा परीक्षामा लिने छ तर हाम्रो २२ महिनासम्म परीक्षा नभएको अवस्था थियो। त्योसँगै २२ महिना लगाएर लिएको परीक्षाको परीक्षाफल १८ महिनापछि आएको छ। यसरी हेर्दा चार वर्षको कोर्समा एउटै वर्षलाई साढे तीन वर्ष लागेको छ। अनि ४ वर्षको कोर्सलाई ६ वर्ष किन नलागोस्। नयाँ भिसी आउनुभएको छ, आशा छ यो समस्या छिट्टै हल भई त्रिविकै नीति अनुरूप परीक्षा भएको तीन महिनाभित्र परीक्षाफल आउनेछ र आउँदो पिँढीले यो तमासा देख्नुपर्ने छैन। यस्ता यावत समस्याहरूबाट विक्षिप्त विद्यार्थीले राहतको सास फेर्ने छन्।
त्रिविको हालको अवस्था र व्यवस्था हेर्दा स्नातक सकेपछि के गर्ने भन्ने प्रश्न प्रत्येक विद्यार्थीको मनमा दैनिक जसो उब्जने गरेको पाइन्छ। स्नातक सकेपछि खुल्नुपर्ने दैनिकी बाँधिने गरेको छ। त्रिवि बेरोजगार युवा उत्पादन गर्ने थलो भएको छ। वर्षौँ, हजारौँ सङ्ख्यामा त्रिविबाट विद्यार्थी उत्तीर्ण भएर निस्किन्छन् तर धेरैजसो विद्यार्थी जिन्दगीको परीक्षामा अनुत्तीर्ण नै हुन्छन्। न गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकेको छ न उत्पादित जनशक्तिलाई व्यवस्थापन गर्न सकिएको छ। यसप्रति सरकारवाला पक्षको ध्यान जान जरुरी छ।
बेरोजगारीको छायादेखि बच्न प्रत्येक वर्ष हजारौँ विद्यार्थी स्नातकको खोस्टा लगेर निस्कन्छन् तर जागिरका अवसरहरू सीमित भएको हुँदा एउटा विपन्न वर्गबाट आएको विद्यार्थीलाई साहुको ऋणले पिरोल्न थाल्छ। अनि आजित हुँदै खाडीतिर पसिना बगाउन जान्छ, सबै उसका रहर र सपनाको ढोका बाध्यताको चाबीले बन्द गरिदिन्छ।
यसरी हेर्दा अधिकांश युवाहरू विदेश पलायन हुने देखिन्छ। नेपालमा रोजगारीको अवसर नभएपछि के गर्ने? यहाँ अवसरको अभाव छ र विदेशमा कमाइको मौका हुनुको साथै श्रमको उचित मूल्य छ।। यथार्थमा विदेश पलायनले न त विद्यार्थीहरूको जीवनमा स्थायित्व ल्याउँछ न त राष्ट्रकै विकासमा योगदान गर्छ। बरु ब्रेन ड्रेनले गर्दा दक्ष जनशक्ति बाहिरिने हुँदा यसको प्रभाव देशको आर्थिक विकासमा पर्ने देखिन्छ।
सरकारी सेवामा पारिश्रमिक कम हुनु। जसको परिणामस्वरूप ब्युरोक्रेसीले गर्दा भ्रष्टाचार बढ्दै जानु, व्यापार व्यवसायको लागि लगानी पुँजीको अभाव हुनुका साथै सरकारी नीति लगानी मैत्री नभइदिनु, श्रमको उचित मूल्य नहुनुले त्रिवि उत्तीर्ण युवाहरूलाई बेरोजगारीले पिरोलिरहेको छ। जसको परिणाम स्वरूप अहिले हजारौँ युवा विद्यार्थीहरू स्नातकपछि अवसरको खोजीमा विदेशी भूमिमा गई आफ्नो श्रम सीप र दक्षता बेचिरहेका छन्। त्यसैले त्रिविले विद्यार्थीलाई ओझेलमा पार्ने गरेको छ।