फेसबुक हेरिरहँदा एकदिन मैले साथी सम्बन्धी टेलिभिजन कार्यक्रम देखेँ। उक्त कार्यक्रममा इन्दिरा जोशी र सन्तोष लामाको मित्रताको कुरा सुनेँ। एकदम घत लाग्यो। त्यसैले झट्ट फेसबुकमा 'केटा र केटी मिल्ने साथी हुनै सक्दैन भन्ने कमजोर मानसिकतामा विश्वास गर्नेहरूलाई यो सप्रमाण उदाहरण दरिलो झापड बनिदिन सक्छ। आहा! साथी होस् त यस्तो' लेखेर सेयर गरेँ।
तुरुन्तै धेरै सहमतिका कमेन्टको बर्सात हुन थाल्यो। त्यसको भोलिपल्ट मिल्ने साथीसँग भेट भयो। हामी एउटा शान्त ठाउँमा गएर कुरा गर्यौँ। उसले भन्न थाली, 'तिम्रो हिजोको पोस्टसँग म सत प्रतिशत सहमत छु। मेरा पनि यस्तै मिल्ने थुप्रै केटा साथी छन्। जोसँग म निर्भीक निडर भएर बस्न सक्छु। मनका भावहरू पोख्न सक्छु। केही समस्या पर्दा भन्न सक्छु। म तिमीलाई सुरुआती देखिको कुरा सुनाउँछु सुन है पहिला।'
म हाँस्दै 'ल ल भन न, आज तिम्रै कुरा सुन्न त आएको' भनेँ।
उसले सुरु यसरी गरी,
'पहिलेदेखि नै घर बनाउने काम बाँकी रहिआएकोले मनमा पोलिरहन्थ्यो। घरको काम, बैंकको काम, क्याम्पस, बालबच्चा, सबथोक आफैले गर्नुपर्दा भ्याई नभ्याई थियो। तर एकदिन एक जना सरकारी इन्जिनियर साथीलाई बानेश्वरमा भेट्ने निर्णय गरेँ। क्याम्पसको क्लास सकेर त्यहाँ जाँदा उज्यालोको रङले बेलुकी भनिए पनि घडीको गतिले रात परिसकेको थियो। त्यसैले उहाँको अफिस नजिकैको क्याफेमा हतारिँदै पुगेँ। कता कता मनमा सिचो पस्यो। डर बाघ बनेर खडा भयो। रात पर्न थाल्यो। म कोही केटा मान्छेसँग यसरी होटेलमा बसेको देख्दा यो समाजले के सोच्छ? कोही मान्छेले देखे के सोच्लान्? म त क्लियर छु, श्रीमान् र मेरो सल्लाहले काम विशेषले आएँ। तर कति भयानक डर यो समाजको! यस्तै सोच्दै टोलाइरहेछु। त्यो समय, गोधुली साँझले ढपक्कै छोपेको अँध्यारो रातको थियो।
वरिपरि झलमल्ल बत्ती बलिरहेको, एउटा कर्नरमा उहाँ। त्यही नजिकैको कुर्सीमा बसेकी म नजिकै बेप्रवाह रूपमा फैलिएका प्राकृतिक लहरा। ती लहराबाट तप तप चुहिरहेका पानीका थोपा बत्तीमा झुम्मिइरहेका भुसुना।
मेरा नयनले मज्जाले महसुस गरिरहेको थियो। म त्यही हेर्दै हराएँ।
सरले म्याम भन्दा म झसंग भएँ। त्यसपछि उहाँ फटाफट आफ्नो कामतिर लाग्नु भयो। घरको नक्सा कोर्ने काम भइसकेपछि दुवै आ-आफ्नो घर लाग्यौँ।
त्यसको ठिक एक महिनापछि हामी फेरि डिजाइनको लागि भेट्यौँ। पहिले जस्तै आफ्नो काम सुरु गर्नु भयो। म चुपचाप हेरिरहेँ। एकछिनपछि फेरि एकजना कोही पुरुष हातमा केक लिएर आए। उहाँको टेबलमा केक राख्दै 'ह्याप्पी बर्थडे साथी' भन्यो। ल यो सरको त बर्थ डे पो रहेछ। छ्या कस्तो दिनमा म आएछु भन्ने लाग्यो। उनीहरू एकअर्कालाई अङ्कमाल गर्दै खुसी साट्न लागे। म हेरिरहेँ एकटकले।
त्यसपछि मैले भनेँ, 'आहा! कस्तो मिठो प्रेम रहेछ हजुरहरू बिच। साथी होस् त यस्तो।'
मेरो कुरा बिचमा काट्दै फेरि उहाँले भन्नु भयो, 'के आजदेखि तपाईं पनि हाम्रो आत्मीय असल साथी बन्नु हुन्छ?'
केही प्रस्तावका भावहरू सरले पस्कनु भयो। म खुसीले गद्गद् भएँ। त्यसपछि मनमा दृढ सङ्कल्प गरेँ। अब म आफ्नो मर्यादा र नैतिकताको साँची राख्दै एउटा असल साथी बन्छु सोचेँ। आजदेखि कसले के भन्ला र देख्ला सोच्दिनँ भन्ने अठोट लिँदै उहाँलाई हस् भने।
हामी यो पुरातनवादी कमजोर सोचको खाडललाई पुरेर केटा र केटी पनि असल साथी बन्छन् है भन्ने एउटा उदाहरणीय साथी बन्नुपर्छ भनेँ। त्यसपछि त्यो बर्थ डेको दिनदेखि हामी दुःख सुखको असल साथी बन्ने प्रयत्न गर्यौँ। एकछिनपछि हामीले केक काट्यौँ, खुसी साट्यौँ। केही छिन रमाइलो गर्यौँ। अनि मलाई बल्ल केही सहजताको आभास भयो। त्यस दिनदेखि हामी सजिलै काम पर्दा कुरा राख्न सक्ने साथी भयौँ। त्यति मात्र हैन, हजुर कहाँ हुनुहुन्छबाट ओए तिमी कहाँ हो भन्नेसम्म पुग्यौँ।
हामी साँच्चिकै कसैलाई आहा त कसैलाई डाहा लाग्ने एक नमुना साथी बन्यौँ। म विवाहित महिला र ऊ विवाहित पुरुष पनि एक असल साथी बन्यौँ। यसरी मेरो कोही कलेज पढ्दाका साथी त कोही विविध कामले भेटिएका साथीहरूसँग समय मिलेसम्म कहिले महिनामा, कहिले छ महिनामा त कहिले वर्षौँ दिनमा भए नि भेटेर चिया संवाद हुने गर्छ। के हामीले यत्ति गर्दैमा समाजको आँखामा अपराधी भयौँ?'
यति भन्दै उसले गम्भीर प्रश्न मतिर तेर्साइदिई।
म उसको कुरा सुनेर लामो श्वास लिँदै भनेँ, 'यति गर्दैमा अहँ हामी पटक्कै अपराधी, अनैतिक र चरित्रहीन बन्दैनौँ।'
त्यसपछि फेरि उसले भन्न थाली, 'त्यसैले आजकल त मलाई यस्तो लाग्छ कि सोच र आफू हिँडेको गोरेटो सही हुनुपर्छ, यी बाहिरी नजर त एउटा अफवाह हो। त्यसैले हामी यो शताब्दीमा आइपुग्दासम्म पनि विवाहपछि कोही केटा मान्छेसँग मस्केर बोल्नु हुँदैन, कोही कसैसँग काहीँ सँगै चिया संवाद गर्नु हुँदैन, कोही कसैसँग बाटोमा सँगै हिँड्नु हुँदैन भन्ने कुरा वाहियात लाग्छ। यदि कसैले यी कुरालाई लिएर गलत मूल्याङ्कन गर्छ भने यो एकदम खेदजनक कुरा हो। हामी समाजको परिधिमा बाँधिएका छौ भन्दैमा के सधैँ यी नै कुराको त्रासमा बाँच्ने हो? के हाम्रो लागि पितृसत्तात्मक सोच अझै पनि हाउगुजी बन्दिने हो?'
यति भन्दै गर्दा ऊ आगो आगो भई। जत्ति उसका प्रश्न जटिल थिए, त्यसको उत्तर झनै जटिल थियो।
उसको कुरा सकिएपछि केही सहमति जनाउँदै भनेँ, 'हो साथी, तिम्रो कुरा एकदमै जायज छ।'
'यति बोलिरह्यो भने हामीलाई कति गालीको वर्षा बर्सिने होला है' भन्दै झस्किई। मैले उसलाई बिचमा रोक्दै भनेँ, 'होस्, गाली मात्र हैन गोली पनि सह्य छ यदि सहीलाई सही, गलतलाई गलत भनेर। समाज परिवर्तनको केही बीज रोपण गर्न खोज्दा हामीलाई अपराधी देख्छन् भने देखून्, हो हामी महाअपराधी हौँ। हेर न, तिमी हामी अलिकति पढेलेखेका हरूको सोच त अझै डरमै छ भने देशका दूर दराजमा रहेका बिचरा ती निर्दोष आवाजविहीन महिलाहरूको स्थिति कस्तो होला?'
केही समय अघिको कुरा हो। हाम्रो गाउँमा एकजना जोडी थिए। उनीहरूको एक छोरी पनि छिन्। एक दिन ती बहिनी खाना खाएर यसो कोठामा बसेर स्विटर बुन्दै थिइन् । त्यत्तिकैमा एकजना उनकै उमेरको नाताले जेठाजु पर्नेले 'के गर्दै छौ?' भन्दै रुममा छिरेछन्। उनीहरू कुरा गरिरहेको एकजना आन्टीले बाहिरबाट देखेर 'ल यिनीहरूलाई सँगै कोठामा भेट्टाइयो' भन्दै एकछिनमै गाउँभरि होहल्ला फिँजाइछन्।
उनीहरूबिच खास के भएको हो कसैले सोध्न र बुझ्न चाहेनन्, बस् हल्लाको भरमा उनीहरूलाई गलत साबित गर्न तत्पर रहे। फलस्वरूप आज तिनै अबुझ, असभ्य, कमजोर मानसिकतामा रमाइरहने मान्छेका कारण ती श्रीमान-श्रीमतीबिच असमझदारी पैदा भई डिभोर्स भएको छ जुन कुराको क्षति सन्तानलाई परेको छ। उसलाई जतिसुकै भौतिक क्षतिपूर्ति अदालतले दिलाए पनि उसको दिलमा परेको कहिले निको नहुने चोटको क्षतिपूर्ति कसैले दिलाउन सक्दैनन्।
मस्तिष्कमा परेको त्यो कहालीलाग्दो बिछोडको गहिरो खाल्डो अझै कसैले पुर्न सकेको छैन। उसलाई पैसा र सम्पत्तिको कमी हैन, एउटा मातृत्वको अभाव छ। एउटा पिताको साहसको ढाडसको अभाव छ। आज यही कारण कति परिवारमा बालबच्चाको शारीरिक, मानसिक एवम् संवेगात्मक रूपमै खलल पुगेको छ। कति सन्तान कुलतमा फसेका छन् त कति डिप्रेसनमा पुगेका छन्।
यति हुँदासम्म पनि किन मानिस अझै हावाकै भरमा पारपाचुकेको निर्णयमै पुग्छन्? किन समाजका मान्छेहरू यति वैज्ञानिक युग र यो विकसित शताब्दीसम्म आइपुग्दा पनि अझै कसैले सुनाएको भरमै विषालु हावाकै पछाडि बहिरहेका छन्? आखिर यो हावा कति शुद्ध र अशुद्ध छ भनेर नाप्ने चेष्टा किन गर्दैनन्? किन अझै समाजले यसरी निर्दयी, निष्ठुरी र अन्धभक्त भएर हामीलाई बाँधिरहन्छ? किन अझै एकपक्षीय मात्र आधार केलाएर बहस गर्दै महिलालाई दोषीको ठहर गर्दै फैसला सुनाइरहन्छ?
मैले यो सब सुनाइरहँदा एकटकले सुनिरहेकी साथी बोल्न थाली, 'तिम्रा कति जटिल र जायज प्रश्न तर यसको जवाफ हामी कहाँ पाउँछौ? यसरी भेटेकै भरमा यहीँ कुरालाई लिएर यदि मेरो श्रीमानको दृष्टिमा पनि उही पितृसत्तात्मक सोचकै मोतिया बिन्दुले ढपक्कै ढाकेको भए उहीले डिभोर्स हुन्थ्यो।'
उसको कुरालाई सहमति जनाउँदै टाउको हल्लाएँ।
'कास सबैको श्रीमान् तिम्रो जस्तै बुझ्ने भइदिए किन यो समस्या हुन्थ्यो र? तिमीलाई पनि त थाहै छ, शास्त्रमै लेख्या छ, पति पत्नी दुवै सम्बन्धमा प्रतिबद्धता भएर एक अर्काको धर्म निभाउनु पर्नेछ। त्यसै गरी कानुनले समेत वर्जित गरेको एक आधार छ, त्यो हो शारीरिक सम्बन्ध। नेपालको कानुन मुलुकी देवानी संहिता (ऐन) २०७४ अनुसार दफा (९३-१०४) मा उल्लेख गरिएअनुसार सम्बन्ध विच्छेद हुने आधारहरूमध्ये एक हो, पति अथवा पत्नीले कुनै महिला अथवा पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा श्रीमान् श्रीमतीले डिभोर्स दिन मिल्नेछ। त्यसैले नि साथी, मलाई लाग्छ यदि विवाहपश्चात् कोही महिला पुरुष यो हदसम्म पुग्छन् भने त यो सरासर विकृति हो। यो पितृसत्तात्मक मात्र दोष हैन।
आज पनि केही महिला पुरुषले अचाक्ली गल्ती नै गरेका छन्। समाजको मर्यादा मान्नु त परैको कुरा समाजमै खलल पुर्याउने काम गरेका छन्। जसले कानुनले नगर्नु भनेको काम गर्दैनन्। नैतिकताभन्दा बाहिर जाँदैनन्। तर समय समयमा कोही पुरुष साथी वा महिला साथीलाई भेट्छन्। दुःख साट्छन् भने यो गलत हो भनेर कुन शास्त्रमा लेख्या छ? कुन कानुनको दफामा लेख्या छ र यस्तो गर्नु अपराध हो भनेर?'
साथीले पनि सहमति जनाउँदै भन्न थाली, 'आज पनि एकजना फेसबुकको साथीले एउटा फोटो राख्दै क्याप्सन लेखेको थियो- घरमा बुढी हुँदाहुँदै के मस्केको रे। यसको मतलब यहाँ कोही पुरुषहरूलाई नि आरोप आउँछ यो कुरा।'
त्यसैले म त भन्छु हेर, बोल्नु पाप होइन। सँगै बसेर हाँस्दै चिया खाजा खानु अपराध होइन। क्याफेका कर्नरहरूमा विवाहित भिन्न महिला पुरुष सँगै देखिँदैमा गलत हुँदैन। एक असल साथी हुन पुरुषको पुरुष र महिलाको महिला नै हुनु पर्छ भन्ने हुँदैन। कुनै गलत उद्देश्यबिना बनेका साथी जो भए नि साथी नै हुन्। उनीहरूलाई लैङ्गिकताका आधारमा विभेद गरिनु हुँदैन र सँगै देखिएमा गलत मान्नु आवश्यक छैन। श्रीमान्-श्रीमतीले एकअर्कालाई धोका दिनु पो गलत हो। अवैधानिक सम्बन्ध पो गलत हो। मित्रतामा के पो गलत!
काम विशेषले कसैसँग सल्लाह सहयोग लिन खोज्दा नीच सोच भएका मान्छे पनि भेटिए जसको कुरा गर्ने तरिकाबाटै थाहा हुन्थ्यो। त्यस्ता मान्छेलाई सिधै इगनोर गरिन्थ्यो। त्यसैले दुनियाँको प्रवाह नै नगरी मज्जाले मर्यादामा अडिग रहेर मिल्ने साथी बन्न केही गल्ती हो जस्तो लाग्दैन। केटा होस या केटी, विवाहित होस या अविवाहित, विवाह भयो भन्दैमा गुमनाम गुपचुप बस्नुपर्ने यो कुनै प्रथा हैन। यस कुरामा कसैले औँला उठाउँछ भने चर्को बहस गरौँ। यस्तो साथीत्व कुनै हालमा अवैधानिक र अनैतिक हुँदैन। यदि हुन्छ भने त त्यो हुन्छ जसले स्वार्थको मोह पालेर मित्रता गाँसेको हुन्छ। त्यसतालाई सिधै बहिस्कार गरौँ, नो नट अगेन भनौँ।
विवाहपश्चात्को साथीत्व सम्बन्धमा, मनसँगै कल्पनामा हराउने होइन। त्यो कल्पना जुन सपना बुन्नसम्म नमिल्ने हुन्छ। अझै भन्नुपर्दा अर्थविहीन हुन्छ। त्यसैले साथी बन्दा पनि प्रस्ट गन्तव्य राखेर एकअर्काको कदर गर्दै साथी बनौँ। यदि सोच र दृष्टि सफा छ भने मात्र साथी बनौँ। मानिसभित्र उसको मानसिकता हुन्छ। सबैको एउटै हुँदैन। उसको मानसिकतावश उसले आफ्नो व्यवहार गर्छ। त्यसैले मानिसको व्यवहार हेरेर साथी बनाऊँ।