काठमाडौँ उपत्यकाका तीनै जिल्लामा व्यवस्थित रूपमा सहज ट्राफिक व्यवस्थापन तथा सवारी आवागमन र मालसामान ढुवानीलाई मध्यनजर गरी चक्रपथको निर्माण भएको देखिन्छ।
समय क्रममा सवारी साधनको अनियन्त्रित चाप र राजधानी केन्द्रित अव्यवस्थित एवं अनियन्त्रित सहरीकरणका कारण चक्रपथ धेरै नै व्यस्त भएकाले सडक विभागले ललितपुर खण्डमा पर्ने चक्रपथको ग्वार्को चोकमा सहज ट्राफिक व्यवस्थापन तथा सवारी आवागमन र मालसामान ढुवानीलाई मध्यनजर गरी नेपालमै पहिलो भनिएको ओभरपास फ्लाइओभर र्याम्प मोडलमा निर्माण गरिरहेको देखिन्छ।
सडक विभाग अन्तर्गतको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्ग आयोजना अन्तर्गत नागढुंगा सुरुङमार्गसम्म पुग्न गुर्जुधारा चोकमा ६१० मिटर लम्बाइको, सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर र कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन १५० मिटर लम्बाइको अर्को फ्लाइओभर बनाउने भनिएको छ।
ओभर ब्रिजले मानिस वा रेललाई अवस्थित सडक पार गर्न मद्दत गर्छ भने फ्लाइओभरले एउटा सडकमा गुडिरहेको सवारी साधनलाई अर्को सडकमा गुडिरहेको सवारी साधनहरूसंँग क्रसिङ नगरिकनै सहज पार गर्न वा तेस्रो सडकमा सहज अवतरण गर्न मद्दत गर्छ। रोड क्रसिङ फ्लाइओभर, रेलवे क्रसिङ फ्लाइओभर, ओभरपास फ्लाइओभर, अण्डरपास फ्लाइओभर, कम्पोजित फ्लाइओभर, स्टिल फ्लाइओभर आदि फ्लाइओभरका प्रकारहरू हुन्।
काठमाडौँ उपत्यकाको चक्रपथ निर्माण गर्दा चक्रपथ बाहिर नाम मात्रको/पातलो बस्ती थियो भने अब ज्यादै बाक्लो बस्ती बसी सकेको र त्यति बेलाभन्दा धेरै गुणा सवारी साधनको चाप बढी सकेको मात्र नभई राजधानीकै ट्राफिक व्यवस्थापन तथा सवारी आवागमन झन्झटिलो भइसकेको अवस्था छ।
भविष्यमा सवारी साधनको चाप बढेमा यातायात सहज बनाउने परिकल्पना गरी चक्रपथ वरिपरि व्यवस्थित टाउन प्लानिङ गरी बस्ती बसाएको अवस्था नदेखिएको, चक्रपथ निर्माणको यतिका वर्षसम्म कलंकीको अन्डरपास एउटा त्यो पनि केही वर्ष अगाडि मात्र बनेको बाहेक अन्य व्यस्त चोकहरूमा कतै फ्लाइओभर/अन्डर पास निर्माण नगरेको र व्यवस्थित फ्लाइओभर निर्माणका लागि आवश्यक ठाउँ समेत नछोडेको अवस्थाले चक्रपथ निर्माण गर्दा अहिलेको अवस्थालाई आकलन नै पो गरिएन कि वा चक्रपथमा पर्ने व्यस्त चोकहरूमा फ्लाइओभर/अन्डर पास निर्माण गर्ने योजना नै पो थिएन कि भन्ने शङ्का उत्पन्न गर्छ। ललितपुर खण्डको चक्रपथ विस्तार आयोजना बर्सौँ लगाएर सम्पन्न गर्दा पनि चक्रपथमा पर्ने व्यस्त चोकहरूमा फ्लाइओभर/अन्डर पास निर्माण नगर्नुले झन् चकित बनाएको छ।
ग्वार्को चोकमा फ्लाइओभर निर्माणका कारण काठमाडौँ उपत्यकाको अझ विशेष गरी कोटेश्वरदेखि सातदोबाटो बिचको सडक खण्डमा यातायात व्यवस्थापन झन्डै दुई वर्षदेखि चुनौतीपूर्ण हुँदै आइरहेको छ भने अझै सम्पन्न नहुन्जेलसम्म चुनौतीपूर्ण नै रहने छ। बालकुमारीतर्फ ४ प्रतिशत ग्रेडमा ३२० मिटरको र्याम्प, ग्वार्को चोकमा ३५ मिटरको स्ल्याब र सातदोबाटोतर्फ ४ प्रतिशत ग्रेडमा १८६ मिटरको र्याम्प रहेको ५४१ मिटर जम्मा लम्बाई रहेको, ग्वार्को चोकमा ६ मिटर ५० सेन्टिमिटर उचाइको क्लियरेन्स राखिएको र बर्सातमा फ्लाइओभरको पानी निकासका लागि र्याम्पहरूमा भर्टिकल/विक ड्रेनको व्यवस्था गरिएको भनिएको जाबो एउटा र्याम्प मोडलको फ्लाइओभर निर्माण गर्दा स्वाइल वियरिङ क्यापासिटी पुनः टेस्ट गर्नु पर्ने, डिजाइनमै समस्या देखिएर महिनौँ निर्माण ठप्प भएको र लागत बढेको अवस्थाले निराशा नै थपेको छ।
अझ निर्माण सम्पन्नपश्चात् पनि उद्देश्य अनुरूप सहज यातायात व्यवस्थापन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी नै छ। यसको सफल निर्माणपश्चात् ग्वार्को चोकमा अलि सहज भए तापनि अहिलेकै अवस्थामा सातदोबाटो र बालकुमारी चोकहरूमा थप जाम बढ्न जाने निश्चित छ। फ्लाइओभर आफैँमा ब्ल्याक स्पट वा समस्याका रूपमा देखिने सम्भावना पनि रहन्छ।
फ्लाइओभर डिजाइन गर्दा नै निर्माण पूर्व, निर्माण अवधिभर र निर्माणपश्चात् यसबाट निम्तिन सक्ने समस्याहरू र निराकरणका विषयमा गहन अध्ययन गरेकोमा शङ्का गर्नु पर्ने होइन। लक्षित समयमै फ्लाइओभर निर्माण सम्पन्न हुनु र निर्माण सम्पन्न पश्चात् प्रभावकारी सञ्चालन हुनु पनि उत्तिकै महत्त्वपूर्ण भएकाले फ्लाइओभरको प्रभावकारी सञ्चालनका लागि समयमै ग्वार्को फ्लाइओभर निर्माणपश्चात् ट्राफिक प्रहरीको उपस्थिति चाहिने/नचाहिने, ट्राफिक प्रहरीको उपस्थिति चाहिने हो भने ट्राफिक प्रहरीको लागि सुरक्षित व्यवस्था, ग्वार्को चोकको चारै कर्नरहरूमा भिजिबिलिटी पुग्ने/नपुग्ने, ग्वार्को चोकमा र सर्भिस लेनतर्फ जेब्रा क्रसिङबाट बाटो काट्ने पैदलयात्रुहरूका लागि सुरक्षित व्यवस्था, बर्सातको बेला फ्लाइओभरमा बग्ने पानीको सुरक्षित र भरपर्दो व्यवस्थापन, साँझ र रातीका लागि फ्लाइओभर मुनि चोकमा सुरक्षाका लागि प्रभावकारी लाइटिङ र कन्ट्रोल रुमबाटै सिसिटिभीबाट मोनिटरिङ हुने व्यवस्था, सवारी साधन र पैदलयात्रु दुवैका लागि टाइमर सहितको ट्राफिक लाइटको व्यवस्था र ट्राफिक लाइटको नियमित सञ्चालन आदि विषयमा गहन छलफल वा ध्यान पुर्याउनु वाञ्छनीय देखिन्छ। बर्सातको बेला फ्लाइओभर माथिबाट बग्ने पानीको उचित निकास वा व्यवस्थापन चुनौतीका रूपमा रहने निश्चित छ।
र्याम्प मोडलका कारण बालकुमारी तर्फबाट ग्वार्को चोकमा मोडिने र सातदोबाटो तर्फबाट ग्वार्को चोकमा मोडिने सवारी चालकले दायाँतर्फ पूरै नदेख्ने, बालकुमारी तर्फबाट आएका ग्वार्को चोकमा टर्न लिई बालकुमारी तर्फ नै जाने तथा इमाडोलबाट बालकुमारी जाने सवारी साधन र सातदोबाटो तर्फबाट आएका सवारी साधन बिच (तीव्र गतिमा हुने अत्यधिक सम्भावना रहेको) र सातदोबाटो तर्फबाट आएका ग्वार्को चोकमा टर्न लिई सातदोबाटो तर्फ नै जाने तथा मंगलबजारबाट सातदोबाटो जाने सवारी साधन र बालकुमारी तर्फबाट तीव्र गतिमा आएका सवारी साधनबिच (तीव्र गतिमा हुने अत्यधिक सम्भावना रहेको) दुर्घटना हुने सम्भावना अत्यधिक देखिन्छ।
मंगलबजार तर्फबाट आएका इमाडोलतर्फ जेब्राक्रस गरी बाटो काट्ने पैदलयात्रुले फ्लाइओभरको मुनि पुगेपछि बायाँतर्फ पूरै नदेख्ने र बालकुमारीतर्फबाट सातदोबाटो जाने सवारी चालकले दायाँतर्फ पूरै नदेख्ने तथा इमाडोल तर्फबाट आएका मंगलबजारतर्फ जेब्राक्रस गरी बाटो काट्ने पैदलयात्रुले फ्लाइओभरको मुनि पुगेपछि बायाँतर्फ पूरै नदेख्ने र सातदोबाटो तर्फबाट बालकुमारी जाने सवारी चालकले दायाँतर्फ पूरै नदेख्ने भएकाले पनि सवारी साधन र पैदलयात्रुबिच दुर्घटना हुने सम्भावना अत्यधिक देखिन्छ।
ग्वार्को चोकमा फ्लाइओभर निर्माणपश्चात् सामान्य प्रकृतिका भन्दा गम्भीर प्रकृतिका दुर्घटनाहरू हुने प्रबल सम्भावना छ। तसर्थ फ्लाइओभरको मुनि चारै तर्फका कुनाहरूमा उपयुक्त कन्भेक्स मिररको प्रयोग वा अन्य उपयुक्त उपाय अपनाउनु आवश्यक देखिन्छ।
सहज यातायात व्यवस्थापनका लागि करोडौँ लगानीबाट निर्माण गरिएको संरचनाले निर्माण सम्पन्न भएपश्चात् सडकमा बाटो काट्ने पैदलयात्रुहरूलाई सुरक्षित बनाउने मानवीय पक्षतर्फ पनि विशेष ध्यानाकर्षण हुनु जरुरी छ।
यदि ग्वार्कोमा बन्न लागेको र्याम्प मोडलको फ्लाइओभर निर्माणले समाधानको सट्टा भिजिबिलिटीको कारण ब्ल्याक स्पटका रूपमा समस्या निम्त्याएमा अन्यत्र फ्लाइओभर निर्माण गर्दा तुलनात्मक रूपमा महँगो भए पनि पिल्लरमा आधारित फ्लाइओभर निर्माण गर्नु उपयुक्त हुन्छ। भौगोलिक अवस्थाले सहज चोकहरूमा फ्लाइओभर निर्माणभन्दा अन्डर पास निर्माण समाधानको उपयुक्त विकल्प मात्र नभई फ्लाइओभरभन्दा सस्तो र छिटो पनि हुन्छ।
चक्रपथमा रहेका अन्य चोकहरूमा क्रमिक रूपमा फ्लाइओभरहरू निर्माण गर्दै जाने हो भने राजधानीमा निरन्तर वर्षौँ वर्षसम्म जाम हुने मात्र नभई लागत पनि बढ्दै जाने चुनौती निश्चित छ। हालको काठमाडौँको रिङरोडलाई दीर्घकालीन रूपमै व्यवस्थित गर्ने हो भने एउटा एउटा चोकको व्यवस्थापनतर्फ केन्द्रित हुनुभन्दा एकीकृत रूपमा अध्ययन गरी एकीकृत योजना बनाई चरणबद्ध सम्पन्न गर्नु बुद्धिमानी हुने छ। चक्रपथका कतिपय चोकहरूमा व्यवस्थित फ्लाइओभर निर्माणका लागि आवश्यक ठाउँ समेत नछोडेको अवस्थाले गर्दा व्यवस्थित फ्लाइओभर निर्माण गर्ने चुनौती पनि रहेको छ। उदाहरणका लागि ग्वार्को चोकलाई नै लिन सकिन्छ।
यी कार्यका लागि अधिक समय र लागत लाग्ने हुँदा तत्काल राजधानीको जनघनत्व र सवारी साधनको प्रयोगलाई नियन्त्रित गरी चक्रपथका प्रमुख व्यस्त चोकहरूमा ओभरब्रिजहरूको निर्माण गरी पैदलयात्रुहरूलाई सुरक्षित बाटो काट्ने वातावरण बनाई चोकमा देखिने सवारी साधन र पैदलयात्रुहरूको द्वन्द्व घटाउने, ट्राफिक इन्जिनियरिङलाई अधिकतम उपयोग गर्ने, सडक सुरक्षा सम्बन्धी शिक्षामा जोड, जनचेतना अभिवृद्धि तथा ड्राइभिङ इन्स्टिच्युटहरूको स्तर वृद्धि गर्ने जस्ता तुलनात्मक अति सस्तो कार्यलाई अविलम्ब अगाडि बढाउनु जरुरी छ। काठमाडौँ उपत्यकाका कतिपय चोकहरूमा यी कार्यहरूलाई अगाडि बढाउनु बाहेक फ्लाइओभर र अन्डर पास निर्माण अहिलेको सडक संरचनामा असम्भव छ।
यी कुराहरूलाई मध्यनजर गर्ने हो भने दीर्घकालीन सहज यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि काठमाडौँमा पर्ने चक्रपथ खण्डको विस्तार आयोजना सुरु गर्दा नै व्यस्त चोकहरूमा फ्लाइओभर वा अन्डर पास निर्माणका कामहरू एकीकृत रूपमा सँगसँगै अगाडि बढाउनु पर्ने देखिन्छ। काठमाडौँमै बाहिरी चक्रपथको निर्माण गर्नु परेको अवस्थामा होस् वा अन्यत्र रिङरोड बनाउनु परेको अवस्थामा, नयाँ बन्ने चक्रपथ वरिपरि आवश्यक हुन सक्ने फ्लाइओभर वा अन्डरपासका कुराहरू एकीकृत रूपमै सँगसँगै निर्माण गर्ने तथा ती चक्रपथ वरिपरि सहरीकरणलाई ध्यानमा राखी व्यवस्थित बस्ती बसाउने र चोकहरूमा व्यवस्थित फ्लाइओभर निर्माणका लागि आवश्यक ठाउँ कायम राख्नेतर्फ पनि बेलैमा सचेत हुनु पर्ने देखिन्छ। काठमाडौँमा पर्ने चक्रपथ खण्डको विस्तार आयोजना त बर्सौँ भइसक्दा सुरु समेत नभएको अवस्थालाई हेर्दा निराशा मात्रै देखिन्छ।
जे जस्तो भए पनि ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर हालको चक्रपथमा फ्लाइओभर निर्माण नै समस्याको समाधान हो/होइन, र्याम्प मोडलको फ्लाइओभर र पिल्लरमा आधारित फ्लाइओभर मध्ये कुन उपयुक्त हुन्छ, ब्ल्याक स्पटका रूपमा देखिन सक्ने अवस्था छ/छैन र थप सुधार गर्नु पर्ने विषयका बारेमा गहन अध्ययन गर्ने एउटा नमुना प्रोजेक्ट हुने भएकाले यस फ्लाइओभर निर्माणको विशेष महत्त्व छ।
(लेखक अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक तथा नेपाल प्रहरीका पहिलो ट्राफिक इन्जिनियर हुन्।)