विभिन्न कारण आम नेपाली विदेश जाने लहरै चलेको छ। सपना सबैको विकसित मुलुक तिरै जाऊँ भन्ने हुन्छ। धेरै नेपालीहरू अनेक तरिका लगाएर कानुनी तथा गैह्र कानुनी रूपमा विभिन्न देशहरूमा मुख्यतः रोजगारीको लागि पुगेका छन्। कोरिया जाने विवादका क्रममा केही महिनाअघि दुई जना युवाले ज्यान नै गुमाए भने रोल्पातिर सिङ्गो गाउँ नै लाखौँ लाख तिरेर अवैध बाटोबाट अमेरिका छिर्ने गरेको तिनीहरूको पीडा र व्यथाको समाचार सबैले पढेकै हो।
सबै जनाले चाहे जस्तो विकसित भनिएका मुलुकहरू छिर्न त्यति सजिलै छैन। कसैको त केबल सपना मात्रै रहने सत्य हो। त्यसैले सजिलै भिसा दिने गल्फ देशहरू आम नेपालीको रोजाइमा पर्ने गरेको छ। तर खाडी मुलुकहरू भनेपछि आम नेपालीको बुझाइ र सोचाइ अलग छ। धेरैको नकारात्मक बुझाइभन्दा फरक नपर्ला कि।
वैदेशिक रोजगारको लागि खाडी गएको भन्दा 'ए! खाडी पो?' भनेर नाक खुम्च्याउनेहरूको अहिले पनि कमी छैन। झन् त्यसमा जो कोही डिग्री गरेर गएको रहेछ भने त सबैले भन्छन् नै- 'डिग्री गरेर पनि खाडी पो गएछ है!' एक किसिमको हल्लीखल्ली भइहाल्छ।
नेपालीहरूले अहिले पनि १०-१५ वर्ष अघिकै दाइ, दिदी, काकाहरू जाँदा जस्तैको खाडी भन्ठान्छन्। तर यो केही वर्षहरू बिचमा खाडी भनिएका मुलुकहरूले गरेको प्रगति भौतिक होस् वा जुनसुकै क्षेत्रमा होस्, हामीले सोचेभन्दा अविश्वसनीय छ। वैदेशिक रोजगारका लागि जानेहरूको विभागको सरकारी तथ्याङ्क हेर्ने हो भने पनि सन् २०२३ मा शीर्ष पाँच मध्ये ४ देश खाडी मुलुक र त्यसमा पनि पहिलो नम्बरमा युएई रहेको बताइएको छ।
सीप, शिक्षा र अनुभव वा आफ्नो काममा पोख्त व्यक्तिहरूको लागि खाडी मुलुकहरू अरू देशभन्दा कम छैन। केही महिना अघि मात्रै ३१ हजार दिराम यानिकी महिनाको ११ लाख माथि कमाउने सेफ्टी इन्जिनियरमा काम गर्ने एक जना दाइले यहाँको बसाइँ बिट मारेर जानु भयो। त्यति मात्रै होइन, मासिक ६/७ लाख कमाउने नेपालीहरूको कमी छैन। २ लाख रुपैयाँभन्दा माथि कमाइ गर्नेहरू मेरै वरिपरि ७/८ जना छन्। तर सबैले कमाउँछन् भन्ने होइन। अनेकौँ दुःख पाएर मासिक ३६ हजार रुपैयाँभन्दा कम कमाउनेहरूको सङ्ख्या पनि अधिक छन् किनकि सीप, शिक्षा र कामको अनुभव छैन। यो दु:खद् पाटो हो।
केही महिना पहिला साउदी अरबले श्रमिक भिसामा जान कम्तीमा एसएलसीको प्रमाणपत्र मागेको सबैलाई थाहा छ। फेरि विभिन्न कारण त्यो निर्णय खारेज गर्यो। 'लेबरमा जान नि एसएलसी पास?' भनेर केहीले विरोध गरे पनि खासमा त्यो लागु गर्नै पर्ने नियम थियो। केही समय र वर्षको लागि कठिनाइ हुन्थ्यो तर दीर्घकालीन रूपमा त्यो नेपालीलाई फाइदा हुने कुरा थियो।
साक्षर श्रमिकले धेरै पाटोमा आफूलाई सुरक्षित राख्दै राज्यले दिने सेवा तथा रोजगारदाताले खोजे जस्तै श्रमिक पनि पाउने। एउटा घटना सुन्नु भयो होला नि, ए, बी,सी नचिनेर नेपाली कामदार कुटिएको। हो, केही समयलाई कठिन भए पनि दीर्घकालीन रूपमा राम्रो गर्थ्यो। खासमा खाडी जान त एसएलसी चाहिने भयो भनेर कतिलाई पढ्न पनि प्रोत्साहन हुन्थ्यो।
अब हामी डिग्री गरेका शिक्षित र दक्ष कामदार नपठाएर डिग्री गरेको पनि खाडी जाने भनेर नाक खुम्च्याउने त? कि अझै ए, बी, सी नचिन्ने श्रमिक पठाउनमै व्यस्त हुने? त्यसपछि अनेक समस्या बेहोर्दै सरकार गुहारेर बसेको हेर्ने त?
हाम्रो समाजमा खाडी भनेपछि यस्तो धारणा भइसक्यो कि तल्लो स्तरको मात्रै जान्छन् भन्ने। तर त्यस्तो होइन नि। केबल ४-५ घण्टाको फ्लाइट दूरीमा, खासमा भन्ने हो भने शुद्ध नेपाली मन भएको देश प्रेमी दाजुभाइ दिदी-बहिनीहरूको बाक्लो उपस्थिति नै खाडी मुलुकहरूमा छन्। जसलाई कुनै पिआरको लोभ छैन, एक दिन अवश्य फर्किन्छु भन्ने र फर्किने नेपालीहरू नै खाडीमा छन्।
मैले पनि एमबिएस डिग्री सकेर दुबई आएको हो। गएको ७ वर्षमा ८ पटक नेपाल गइसकेँ। हप्तामा ५ दिन काम, दुई दिन छुट्टी, आठ घण्टा काम छ। कमाइसँग नि सन्तुष्ट छु। कहिले कोरिया, कहिले जापान त कहिले बेल्जियम, कहिले अमेरिकाकै साथीसँग कुराकानी हुन्छ, साथीभाइको दुःखसुख सुन्दा मलाई यही दुबई नै प्यारो लाग्छ। जान नसकेर नि हैन। चाह्यो भने जान सक्ने क्षमता र योग्यता पनि छ।
योग्यता र पढाइ भएको दाजुभाइहरूले तल्लो लेभलमा आएर पनि कत्तिले अहिले कम्पनी हाँकिरहेको छन् त कति जनाले आफ्नै व्यवसाय हाँकिरहेका छन्। त्यसैले अब धारणा परिवर्तन जरुरी छ। त्यो बेलाको खाडी रहेन। योग्यता र सीप हुनेहरूको लागि हरेक पक्षमा अमेरिका र युरोपभन्दा कुनै कम छैन। ढुक्क भएर डिग्री गरेकाहरू नि खाडी आउँदा हुन्छ। सीप, अनुभव र पढाइ भएकाहरूलाई खाडी सम्भावना, सम्भाव्यता र अवसरको भण्डार छ।