मानिस जब अलि बढी बुझ्ने हुन थाल्दछ, तब उसले भविष्यको लागि सोच्न थाल्दछ। यो प्रकृतिको नियम नै हो। भविष्य बनाउने सन्दर्भमा ऊ सोच्न थाल्दछ, मैले सम्पत्ति कमाउनु छ। कतिपय परिस्थितिमा त ऊ सम्पत्ति बाहेक केही देख्दैन। बिस्तारै आर्थिक आर्जन कसरी गर्ने भन्ने प्रश्नले पिरोल्न थाल्छ। अतः उसले परदेशको बाटो नै उचित ठान्दछ।
त्यसैले परदेशको बसाइँ कतिपयको लागि पैसा कमाउने बाध्यताको रूपमा विकसित छ त कतिपयको राम्रो शिक्षाको खोजीमा विदेशको बाटो समात्नु पर्ने एउटा तितो सत्य हामी सामु छँदै छ।
दिनानुदिन बढ्दै गइरहेको देश छोड्ने एउटा प्रवृत्तिलाई मानिसहरू कोही सुख र खुसी पथ सम्झिरहेका छन्, कतिपय भने उतै भासिने परम्परा बनिसकेको छ। तथ्यअनुसार अझ भन्नु पर्दा राम्रा मानिने र भनिने देश जानेहरू मध्येको शतप्रतिशत हिस्सा नै देश नफर्केको हामी देख्न सक्छौँ।
बिदेसिने परम्परालाई हामी तीन भागमा परिभाषित गर्न सक्छौँ। एक त मानिसहरू आफ्नो आर्थिक आर्जन गरी परिवारलाई खुसी मिल्ने सोच बोकेर बिदेसिन्छन्, अर्का थरी मान्छेहरू नेपालको शिक्षा प्रणाली राम्रो नभएको भन्दै उत्कृष्ट शिक्षाको लागि बाहिरिन्छन् र केही भने आफ्ना साथीहरू विदेश छन् वा छिमेकीको छोराछोरी बाहिर छ, त्यसैले म वा मेरा छोराछोरी पनि जानुपर्छ वा पठाउनुपर्छ भन्ने स्कुलिङबाट ग्रसित छन्। बिदेसिनुलाई प्रतिष्ठाको विषय बनाउने गरेको पाइन्छ। फलस्वरूप उनीहरू पनि विदेशी भूमिमा नै रमाउने गरेका छन्।
अब प्रश्न रह्यो, देश त्याग्नु वा विदेश जानुको कारण के हो त? यसको जवाफ सजिलो त पक्कै छैन तर केहीलाई सोध्ने कोसिस गरेँ। मलाई जहिले पनि यो प्रश्नले झकझक्याइरहेको थियो, केहीको सामाजिक सञ्जालका कमेन्टहरू र विचार बुझ्ने कोसिस गरेँ। संक्षेपमा एउटै भावको जवाफ थियो, राज्यले अभिभावकत्व लिन सकेन।
एकजनाले आफ्नो विचार राखेका थिए, 'नेपाल सरकारको पोलिसीले गर्दा एकदिन देश नै समाप्त हुन्छ, पलायन बढ्दै छ। बेरोजगारी चरम सीमामा छ, व्यवसायी रुँदै छन्, राज्य अघोषित जनता मार्दै छ, यो देश अब नेताहरू, उनीहरूको परिवार र आफन्तहरूको लागि मात्र हो।'
त्यसरी नै रिस पोख्दै अर्को एक जना व्यङ्ग्य शैलीमा लेखेका थिए- 'यहाँ नेपाल सरकारले धेरै अवसर दिएको छ, जताततै अवसर जस्तै शिक्षाको अवसर, स्वास्थ्यको अवसर, सुरक्षाको अवसर, लगानीको अवसर अनि त्यसमाथि देश बस्ने पनि त सहज वातावरण छ, अब यत्रो सुविधा कसरी उपयोग गर्नु? त्यसैले देश छोड्ने नै त भए।'
समग्र विचारहरू पढ्ने र बुझ्न खोजेँ। ती सबै विचारहरूमा एकै किसिमको आवेग थियो जुन भ्रष्टाचारी नेताहरूप्रति र उनीहरूको गैर जिम्मेवारीप्रति लक्षित थियो।
जो मात्र परिवारको खुसी देख्छ, छोराछोरी पढाइ हेर्छ, भविष्य सम्झिन्छ, आफ्नो दुई छाक भात सोच्छ, ऊ लाग्छ दुबई, कतार वा रोमानिया, माल्टा जस्ता देशहरू। उसलाई मात्र यति छ, परिवारको खुसी वा केहीलाई शिक्षा वा बालबालिकाको भविष्य। उसलाई न गर्मीको गम छ, न त दुःख कामको चिन्ता। ऊ मात्र जान्छ, जसरी कमाउँछ, फर्किन्छ र सानो आफ्नै घर बनाउने अपेक्षा राख्छ। ऊ यसैमा खुसी छ र आफ्नो देश फर्किन्छ अनि नेपाली हुनुमा फेरी गर्व गर्न कहिल्यै छोड्दैन।
अर्को समूह बेग्लै छ। पढ्ने बहानामा बाहिर जान खोज्ने तप्का जो अमेरिका, युरोप वा अस्ट्रेलिया जान्छ। यही समूहका मानिसहरू मध्ये केही भविष्य पनि उतै बनाउने सपना बुनेर परदेश हानिन्छन्। यिनीहरू कुरा यही रोकौँ। यहीभित्र पनि अर्को समूह छ जो राम्रो शिक्षा लिएर नेपाल फर्किने र केही गर्ने लक्ष्यसहित परदेश लाग्छन्। अब फरक यति छ, कोही बिस्तारै उतै बस्ने निर्णयमा पुग्छन् भने केही फर्किन चाहन्छन् तर फर्किन सक्ने स्थिति हुँदैन। यी समूहका प्रायः मानिसहरू स्वदेश फर्किँदैनन्, हुनसक्छ इच्छा वा बाध्यताले! यी मान्छेहरूबिच पनि फरक छ। कोही बौद्धिक श्रम गरिरहेका छन् त केही शारीरिक श्रम। अझ यीमध्ये केही सङ्ख्या फर्किने चाहना हुँदाहुँदै किन नेपाल फर्किरहेका छैनन् त? यसको उत्तर एकदमै निराशाजनक छ। संक्षेपमा जवाफ यसरी आउँछ- न त योग्यताअनुसारको मूल्य छ न त इज्जत, यो त भयो एउटा कारण। थप लगानी गर्छु, व्यवसाय गर्छु भन्दा पनि न त व्यवसायमा लगानी गर्ने वातावरण नै छ।
धेरै जसो यही समूहका मानिसहरू जसको विवरण फेला पारेँ। त्यसमा सन् २०२३ मा मात्र ७० हजार नेपाली पिआर लिएर बसेका रहेछन्। उनीहरू मध्ये २० हजार अमेरिकामा, १६ हजार युकेमा, ११ हजार हङकङमा, ८००० अस्ट्रेलियामा, २००० जापानमा, १५०० क्यानडामा छन्। त्यसै गरी क्रमशः पोर्चुगल, जर्मनी, न्युजिल्यान्ड र युएईमा पिआरको रूपमा थप बसोबास गर्छन्, यो मात्र एक वर्षमा थपिएकाहरूको विवरण हो।
किन मानिसहरू आफ्नो देश फर्किने स्थिति बनिरहेको छैन त? कि उनीहरूलाई यो देशको माया नभएकै हो? त्यो त पक्कै नहुनु पर्ने। तर केही भने नेपाल फर्किनै नचाहनेहरू पनि छन्। यति नै भन्ने आँकडा त छैन।
पछिल्लो समय बाहिर जानेहरूसँग किन फर्किनु हुन्न भनेर प्रश्न सोध्ने कोसिस गरेँ। त्यसको जवाफ यस्तो पाए- हामी यति पढ्यौँ, दुःख गर्यौँ, केही विषयमा राम्रो ज्ञान पनि छ, केही पैसा पनि छ, अहिले पनि राम्रै जागिर छ, तलब छ। नेपाल फर्किऊँ भने त लाग्छ तर नेपाल फर्केपछि न हाम्रो ज्ञानको सम्मान छ, न त लगानी गर्ने वातावरण, न सुरक्षाको ग्यारेन्टी नै छ।
यी सबै कुराहरूको जवाफ मसँग थिएन। हुने कुरा पनि भएन जब कि यसको जवाफ राज्यसँग हुनुपर्ने थियो।
आजभन्दा सायद छ महिना अगाडिको कुरा हो, हामीलाई वर्कसप गराउन केही पिएचडी होल्डर सरहरू आउनु भएको थियो। कति अमेरिकाको प्रोफेसर भइसक्नु भएको थियो। केही कुरा सोध्ने आँट गरेँ, केही कुरा उहाँहरूको गन्थनबाट बुझ्ने मौका पाएँ। उहाँहरू नेपाल नै रहने सोचेर आउनु भएको रहेछ। उहाँहरू आफ्नो ज्ञानको सम्मान हुने ठाउँ खोज्दै हुनुहुन्थ्यो। जस्तै कुनै संस्थामा कुरा गर्न जानुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो। उहाँहरूलाई डर थियो, हामी ठाउँ पाउँछौँ त भन्ने। यदि पाइएन भने फेरि उही आफ्नोपन नभएको देश र सहर फर्किनु पर्ने थियो। त्यति मात्र हैन, मैले मेरा बाहिर भएका साथीहरूको नि केही सुनेँ र बुझेँ। उनीहरूलाई भने वर्तमान शिक्षा मन्त्रीप्रति केही आस भने रहेछ। उनीहरूको अबको ५/१० वर्षमा नेपाल फर्किने वातावरण बन्छ कि भन्ने सुनाउँदै थिए।
अब कुरा गरौँ साथीहरू विदेशमा छन् वा छिमेकीका छोराछोरी विदेश छन्, हामी पनि जानुपर्छ वा हाम्रो पनि पठाउनु पर्छ भन्ने विषयलाई प्रतिष्ठा बनाउने परिवारको। दुःखका साथ भन्नुपर्छ, हाम्रो समाजमा ईर्ष्या गर्ने प्रवृत्ति त जरो नै गाडेर बसेको छ। यो समूहका मानिसहरू यहीका तुलनात्मक रूपले सम्पन्न मान्छे पनि छन् भन्ने लाग्छ। कोही व्यवसायी त कोही पुर्ख्यौली सम्पत्ति पुग्ने भएकाहरू बढी जस्तो युरोप, अमेरिका जाने कुरालाई प्रतिष्ठा ठान्छन् र फलानोको परिवार हामीभन्दा कमजोर हुँदा हुँदै गयो, हामी पनि पठाउनु पर्छ भन्ने ठान्छन्। अन्ततः उनीहरू जतिसुकै पैसा खर्चेर पनि राम्रो भनिने देश जान्छन् र उतै रहने भन्ने सोचाइबाट निर्देशित हुन्छन्।
कुनै देशका नागरिक त्यो देशमा खुसी छैनन्, देश छोड्न चाहन्छन् वा देश फर्किन तयार छैनन् भनेको अर्थ हुन्छ, त्यो देशको भविष्य बिग्रँदो छ वा रित्तिँदै छ, गरिब हुँदै छ। यी यावत कुराहरू त हाम्रो कतिपय नेताहरूले, देश सञ्चालनको अधिकार पाएकाहरूले भनेकै र बुझेकै कुराहरू हुनुपर्छ। तर नागरिकका असन्तुष्टिका विषयहरू, अधिकारका कुराहरू र राज्यको दायित्वका सवालहरू झन्झन् कमजोर बन्दै गइरहेको छ। यसले नागरिकको दैनिक जीवनमा र देशको लागि समस्या थोपर्छ। प्रकारान्तरले भोलि देश शून्य नहोला भन्न सकिन्न। यो देश नेता र नेताको आफन्तको मात्र नरहला भन्न सकिन्न।
त्यसैले हामी नागरिक सविनम्र अनुरोध गर्दछौ- अब त तपाईंहरू अभिभावक बन्नुस्। अब त जिम्मेवारी बोध गर्नुस्। हामी सुखी र खुसी नेपाल र नेपाली हेर्न आतुर छौँ। हामी हाम्रो खुसी यही खोज्न र पाउन चाहन्छौँ, अरू देशमा गुलाम हुनुभन्दा आफ्नै देशमा केही गरौँ भन्ने हुटहुटी छ। कम्तीमा अब त यो अवसर सिर्जना गर्ने जिम्मेवारी लिनुस्। मेरो देश, हाम्रो देश प्राणभन्दा प्यारो छ। हामी हाम्रो आफ्नो मौलिक सुखी र खुसी देश चाहन्छौँ।