म कुनै पनि दृष्टिले चलचित्र समीक्षक होइन। एकाध पटक किताबका बारे पठन प्रतिक्रिया लेखेको थिएँ। अचेल पढाइ रोकिएको छ। एक त पढ्नै पर्ने भनेर विभिन्न छापा, अनलाइन, सेलेब्रेटीका अन्तर्वार्ता र साथी सर्कलका सिफारिस सबै समेटेर केही किताब पढियो, केही होइन धेरै नै पुगे होलान्। अझै केही गजबका किताबहरू छुटेका छन्। पढ्नु छ कुनै दिन।
अनि अर्को कारण लेखकहरूमा हुने राइटर्स ब्लकजस्तै मलाई नि केही कालदेखि रिडर्स ब्लक भएको छ। जे होस् पढ्नमा ब्रेक लागेपछि केही समय मैले चलचित्र हेराइमा बिताएँ। लापत्ता लेडिज, प्यारासाइट, मन्जुमेल बोइज हेरेँ। एकदोटा अरू पनि हेरेँ। यी घरैमा हेरिए। समय कटाउने मेलो।
गत शुक्रबार म झन् फुर्सदिलो भएँ। सोचेँ आज गाउँ आएको बाटो हेरेर समय व्यतीत गर्दिन्छु। अनि दुई घण्टा हलमा बिताएँ। यस चलचित्रको चर्चा सामाजिक सञ्जालभरि पढिरहेकै थिएँ, चर्चाका कारण हल गएको थिइनँ म। म त समय बिताउन चलचित्र हेर्न लागेको थिएँ जसरी यो लेखाइ पनि म मात्रै समय बिताउनलाई नै लेखिरहेको छु। अर्थात् म चलचित्र समीक्षक होइन।
अलिकता हल बाहिरको माहौलमा जान अनुमति चाहेँ। म करिब पन्ध्र मिनेट अगाडि पुगेकोले त्यहाँ पनि समय बिताउने मेलो गर्नुपर्ने भयो। अनायास मैले मान्छेहरूको अवलोकन गर्न थालेँ। उनीहरूको अनुहार पढ्न थालेँ। राजनीतिक नसुनियोस् तर नाक चुच्चो अनि मुख ढाकिने गरी दाह्रीले छोपिएको एक जना मात्रै दर्शक थिएँ म। उसो त चलचित्र हलमा लागेको पनि थुप्रै दिन भएकोले मानिसहरूको सङ्ख्या हल भरिने गरी थिएन नै। औसत चलचित्र भए त यति खेरसम्म कहाँ लाग्थ्यो त हलमा?
मैले मान्छे गन्न सकिनँ, उनीहरू चलायमान भएकोले। तर साबिकभन्दा उल्लेख्य उपस्थितिले मानिसहरूमा आफ्नो संस्कृति, आस्था, जातीयता र चाल व्यवहारको अगाध प्रेम रहेको पाएँ मैले। ती दर्शकहरूमा थियो भने केबल आफ्नो उद्गम, चिनारी, इतिहासलाई बुझ्न पाउने अभिलाषा थियो, तिनीहरूमा थियो भने आफ्नाप्रतिको सम्मान र माया थियो।
कुनामा बसेर मैले आँखा दौडाउँदा सामाजिक चलचित्र नबुझ्ने उमेरका दश जना बालबालिकाहरू पाएँ। अभिभावकहरूले आफ्ना साना नानीहरूलाई गह्रौँ विषयका चलचित्रमा लगेको दृश्य मेरो लागि नौलो त थिएन। अस्ति आफैँले पनि यस्तै गरेको थिएँ। यस्तो दृश्य पहिलो पटक भने नाटक घरमा देखेको थिएँ। बिचरा मेरो छेवैकी बच्ची पल्पसा क्याफे नाटक हेर्न विवश थिइन्। पिताले सम्झाए पनि नबुझेर, दिमागले भ्याउन नसकेर र बाल सुलभ नभएर झिँजो मान्दै थिइन्। बालबालिकाहरूलाई चलचित्र, नाटक, कविता गोष्ठी वा जुनसुकै कार्यक्रममा लैजाँदा पनि अलिकति रुचि, उमेर र बुझ्ने क्षमतामा ध्यान दिनुपर्दछ भन्ने मान्यता राख्ने गरेको छु मैले, आफ्नै भोगाइ र यी दृश्यबाट पनि।
हुँदाहुँदै काखे शिशु बोकेकी महिला पनि देखेँ मैले। सायद उनको बाध्यता पनि हुनसक्छ। उनलाई धेर दोष पनि नदिऊँ। मेरो दृष्टिमा अब भने केही मनमोहक दृश्यहरू पर्न थाले। कम्मरमा पटुकी डम्म बेह्रेका, मुखका केही दाँतहरू गइसकेका अनि चोली र गुन्यु लगाएका वृद्धा बोजुहरू पनि भित्र पस्न थाले। मलाई गज्जब लागिरह्यो। बाजेहरू समेत गरेर सात जनासम्म गनेँ मैले। मेरै सम्मुखमा पनि एकजना बाजे नाति र नातिनीसँग गफिँदै थिए। अब भित्र पस्ने बेला भयो। पसिसकेर एक मिनेट जति चलचित्र चलेपछि पनि कसैको हातको सहारामा मात्रै हिँड्न सक्ने कुप्रो पर्नु थालेका तीन जना बोजुहरू पस्नुभयो।
यतिको परिवेशको चर्चा गरेपछि चलचित्रकै बारे पनि त केही लेख्नु मुनासिबै होला। नुमाफुङजस्तो सफल चलचित्र बनाएका नवीन सुब्बाको चलचित्र कम कोटीको कहाँ हुनु? शुक्रबारकै दिन मैले एक्समा ट्विट लेखेजस्तै कोरियन चलचित्रभन्दा केही कम थिएन, छैन। भलै केही भद्र समीक्षकहरूले यसका कमजोरीहरू लेखमार्फत वा सामाजिक सञ्जालमै पनि लेखेका छन्।
राई माइलाकी पत्नी पशुपति राईको भूमिकालाई जति शब्दमा बयान गरे पनि कम हुन्छ। जीवन्त अभिनय। कतै पनि उनी लाग्दिनन् कि अभिनय गरिरहेकी पात्र हुन्। उनी साँच्चिकै बेजोड छिन्। सानो बच्चाको भूमिकामा रहेको बिन्द्रेले पनि भूमिकालाई न्याय गरेको छ। कतैकतै बाल सहज रोदन, प्रतिक्रिया, संवाद नभएर अलि अभिनयात्मक लागेको छ। अन्यथा ती बालकलाकारले भविष्यमा अभिनय क्षेत्रमा केही गर्न सक्ने छाँट देखाइसकेका छन्।
सबभन्दा मजा दृश्यको छायाङ्कनमा प्रयुक्त सट् र एङ्गलहरू हुन्। म यसको जानिफकार त होइन तर आँखाले पाएको मिठो आनन्दका कारण मुग्ध हुँदै यति लेखिहालेँ। हिमाल, जङ्गल, घरहरू, कच्ची बाटोको धर्सो देखिएका पहाड आदि दृश्यलाई प्रसङ्ग मिल्ने गरी प्रस्तुत गरिएको छ। चलचित्र आफैँ सरर बग्छ दृश्यहरूमा। दृश्यको प्रशंसामा पटक पटक अहा कति राम्रो भन्ने आवाज मैले हलमा सुनेँ। अँ, मास्तिर मूल भूमिकामा रहेका दयाहाङ राईको कुरा गरेन भन्ने सोच्नुभयो कि कुर्दै हुनुहुन्छ? रिसानी माफ तर अभिनय, संवाद, संवेग, उत्तेजना र भावनाको प्रस्तुतिमा कहीँ कतै खोट लाउने ठाउँ नभए पनि किन किन उनको चरित्रलाई केही अपुग थियो।
चलचित्रमा कास्टिङको पनि स्थान छ। तब न दयाहाङ यसमा ठ्याक्कै मिल्ने पात्र हुन्। तर यदि राई माइलाभन्दा पत्याइन्थ्यो भने यो भूमिका विपिन कार्कीलाई सुहाउने छ। मैले केही केही ठाउँमा मनमनै दयाहाङलाई विपिन बनाएर हेरेँ। मेरो कुरा ममै सीमित। म जान्ने भइटोपलेको नसुहाउन सक्छ।
विकट गाउँमा हातमा सीप भएको राई माइला र उसको जीविकामाथि आधुनिकताहरूले एक्कासि गरेको आक्रमण वा हस्तक्षेप नै चलचित्रको केन्द्र हो। तर यति मात्रै भनेर पुग्दैन। गाडी कुद्ने बाटो पुगेपछि गाउँले जीवनमा कसरी नयाँ कुराहरूले सबैको मानसिकतामा प्रभाव पार्छ भन्ने पाटो त छँदै छ, अझ भुल्नै नहुने कुरा पिताको पुत्र प्रेम पनि हो। पिता पुत्रलाई केन्द्रमा राखी हलिउडमा बनाइएका कतिपय चलचित्रको झझल्को अवश्य दिन्छ यसले।
राई संस्कृतिको आफ्नै स्थान छ। त्यसमा चलचित्रले कत्तिको न्याय गर्न सक्यो, त्यो म भन्न समर्थ छैन तर जुनसुकै फरक चालचलन देखाइएका दृश्यमा म आनन्द पाउँछु। अफ्रिकी कुनै जातिमा ओठ छेड्ने चलन देखाएको वृत्तचित्र हेर्दा जस्तो अनुभूति भएको थियो यहाँ देखाइएको चुल्हो उठाउने चलन र मृतकको दाहसंस्कारको चलनले उस्तै अनुभव दियो।
प्रशंसा मात्रै पो भयो कि? सामाजिक सञ्जालमा त आलोचना पनि यताउति आएको छ। कसैले बाटोको नकारात्मक पक्ष मात्रै बटुल्यो भनेका छन्, कसैले सतही भयो पनि भनेका छन्, कतिपयले साना घटना जस्तै छोरी हराएको वा चुल्हो ढलेको प्रसङ्गलाई पर्याप्त बुझिने गरी नराखेको भनेका छन्। यी कुरामा कतै म पनि सहमत, कतै विमति। तर नमिलेको कुरा पहिलो पटक गाडी पुग्दा नेताले गरेको भाषण अवश्य थियो। चलचित्रले समेटेको विषयको गाम्भीर्यलाई जता पनि भेटिने राजनीतिको व्यङ्ग्य आवश्यक थिएन, भाषणको विषय समयअनुसार नमिलेको त हो नै, त्यसमाथि राजनीतिको प्रवेशबेगर नै गम्भीर विषय भएकोले त्यो दृश्यले चलचित्रको ओज घटाएको छ।
बाँकी साना-साना कुरामा फलानो ठाउँमा नहाँस्नु पर्ने, फलानो ठाउँमा त्यो नगरेर त्यो गर्नुपर्ने भन्न मैले चाहिनँ अथवा जानिनँ पनि। चलचित्रको बगावटलाई हेर्दा त्यस्तरी खट्किएको मैले पाइनँ। तर उत्कर्ष वा अन्त्य भने चित्तबुझ्दो लागेन। यहाँनेर म प्यारासाइट नामको कोरियाली चलचित्रलाई सम्झिन्छु। एक गरिब परिवारले अर्को सम्पन्न परिवारमा परजीवी बनेर पसेर जीवन चलाएको रमाइलो गरी देखाइएको छ। अनि पहिलो ट्वीस्ट आउँछ। यसको कुरा बढेर जाँदा अगाडि भयानक हिंसामा चलचित्र पुग्छ। कसैको हत्या हुन्छ, कोही भाग्छ आदि। अब यहाँ नै चलचित्र वियोगान्त सकिए पनि हुन्थ्यो होला तर सकिँदैन। योभन्दा अगाडि पुग्छ र अझ धेरै पछिसम्म जान्छ। समाजमा हुने पनि यस्तै हो।
आफ्ना सानातिना रहरका (उसका लागि त विशाल नै हुन्) लागि गरिएको सङ्घर्षले फलिफाप नभएपछि गावैँ छोडी पलायन हुने राई माइला र उसकी पत्नीको निर्णयले चलचित्रको खास अन्त्य गर्दैन। जसरी सुरुदेखि अस्तित्ववादी यथार्थपरक कोणबाट चलचित्र हिँडेको छ, यसले हठात् र अपूरो अन्त्य माग्दैन। संसार त्यसरी चलेको हुँदैन। राई माइलाहरूले अनिश्चिततातिर यात्रा गर्दैनन्। अलिअलि मातृसत्ता धारण गरेका राई माइलीहरू त्यति सहजै यस्तोमा राजी पनि हुँदैनन्।
एकातिर दुर्घटनाको प्रसङ्गलाई यत्तिकै सामसुम बनाएर हतार त गरिएको नै छ, अर्कोतर्फ झोलातुम्बी बोकेर बसको ढोकामा धकेलिदिएर नवीन सुब्बाले यी निर्दोष राई दम्पतीमाथि अन्याय गरेका छन्। दुर्घटनाको हतारोलाई पत्याइदिऊँ। यसपछि दम्पतीबिचमा बसमा जानुअघिका संवादहरूसम्म ठिक छ तर पलायनतिरको यात्रा त्यो पनि बसको ढोकानेर मात्रै पुगेर यत्ति राम्रो चलचित्र बिसाइनु मलाई चित्त नबुझेकै हो।
हुनुपर्थ्यो के त? यसमा पनि जान्ने भइटोपलूँ न त।
राई माइला र उसकी बूढी झगडा गरून्, गाउँ छोड्न अड्डी कसोस् माइलो र नमानोस् माइली। अनि नयाँ दृश्यमा त्यही गाउँ पुगेको कच्ची बाटोमा टाढाबाट एउटा सानो गाडी देखियोस्। घुमाउरो बाटोमा फिलीली कुदेको गाडी अब नजिक देखिँदै जाओस्। त्यसको अघिल्तिरको भाग देखाउँदा त्यो एम्बुलेन्स होस्। अलिकता काटेर मान्छे बोक्न सजिलो पारिएको डोकोलाई राई माइलोले काँधमा देखाइयोस् तर को हो भन्ने एम्बुलेन्सअगाडि मात्र देखाइयोस्। त्यो माइली होस् र उसकी उछिट्टिएको पेटले गर्भिणी भएको जानकारी देओस्। एम्बुलेन्स बाटो लागेपछि मात्रै दर्शकहरू लामो सास तान्दै सिटबाट उठून्।
एक मिनेट अझै थपूँ? यो किनभने यो चलचित्र हेर्न जानु एक दिन अगाडि मेरै अफिसमा कुरा चलेको थियो। त्यहाँ कार्यरत मेरै पूर्वविद्यार्थीले चलचित्र उहिल्यै हेरिसकेकी थिइन्। उनी राई भाषी भएकोले मैले सोधेथेँ, 'तिमीलाई त आफ्नै विषयवस्तु भएकोले मजा आयो होला नि?'
उनको प्रतिक्रिया भिन्न थियो। भन्दै थिइन्, 'मुभी त धेरै राम्रो। उतै बस्नेले मजाले बुझ्छ होला तर सहरमा बस्ने कनेक्ट नभएजस्तो। हलबाट निस्किँदा खेरि पूरै दुःखमा डुबिने।'
हो, उनी र मजस्तै दर्शक जो हलबाट बाहिर जाँदा अलिकति आशा चाहन्छन्, निराशालाई हलमै बिसाउन चाहन्छन्। यस्ता दर्शकका लागि भने अझ एक मिनेट मेरो तर्फबाट थपेँ है त। राई माइलाले लाहुरेको ट्याक्टर चलाउँदै गरेको अनि माइली कोक्रोलाई थाप्लामा बोकेर गाईको दूध लिन आएको कुनै राई भाषी नाम गरेको डेरीको गाडीनेर केही बोल्दै। डेरीको गाडी बाटो लागेपछि चलचित्र समाप्त।
हस् त गन्थन सकियो। पूरै पढ्नेलाई माया है त।