रातिको १२ बजेको थियो। घरको साइडमा बिहेमा भोज खाँदै थिए मसँग एक जना काठमाडौं बस्ने साथी पनि थियो।
उसले भन्दै थियो 'यति राति पनि भोज खान्छ र? बेला न कुबेला हो यो त' हाम्रोतिर त दिनभरी बिहे पनि हुने, भोज पनि खाने, टन्टै साफ' भन्दै हाँस्यो।
अनि फेरि थप्यो, 'तिमी यतिका कार्यहरू गर्छौ। बिहे गर्न पनि छाँटकाँट गर्दैनौ, गरे पनि यतिका विधि हुन्छ त्यसको लागि तिमीलाई फुर्सद थोरै नै हुन्छ। झण्डै एक हप्ता जति बिहे हुने रहेछ यार।'
यसले भनेको कुराको केही जबाफ दिइनँ तर सोच्न बाध्य बनायो।
बिहे गर्नेहरूको लागि समय, तिथि कुर्नुपर्छ जस्तौ लाग्दैन। इच्छा भए सबै कुरा मिल्यो भने बिहे गर्न सकिन्छ। तर महत्वपूर्ण इच्छा चाहिँ हुनुपर्छ।
मेरो केसमा बिहे गर्न फुर्सद पनि हुनुपर्छ जस्तो लाग्छ। म ‘प्रोफेसनली’ काम गर्छु सँगै पढ्दै पनि छु र सँगसँगै स्वयंमसेवक रूपमा देश र समाजका लागि काम गर्दैछु। यी सबै गरिरहँदा बिहे गर्दिनँ सोचेँ पनि घरपरिवार र समाजले यो सोचलाई साथ दिँदैन जस्तो लाग्छ।
बिहे गर्ने निधो गरे त्यसको लागि म आफ्नो हुनेवाली खोज्नुपर्ने हुन्छ, ल म आफ्नो हुनेबाली चिनेको होस् भने अनुरूप जीवनसंगी खोजेँ।
आफैले खोजे पनि प्रक्रिया अनुसार मेरो घरमा उनका परिवारका मान्छेहरू मेरो घरमा आवश्यक कुरा गर्न र मेरो घरका मान्छेहरू उनका घरमा आउने जाने गर्नुपर्ने हुन्छ जुन 'फर्मालिटी' नै हो।
साइतअनुसार मिति र दिन तय गरेपछि हामी तयारीमा लाग्छौं जसको पहिले नातेदारहरूलाई बिहेको सरिक हुनका लागि निमन्त्रणादेखि लिएर कार्ड छपाएर अन्य नजिकदेखि चिनेका साथीहरू लगायत दिनुपर्ने हरेक व्यक्तिहरूलाई निम्तो दिनुपर्ने हुन्छ।
यसका बीचमा उनका परिवार र मेरो परिवारका सदस्य एक ठाउँमा भेला भएर एकअर्काका लागि कपडा खरिद गर्नुपर्ने हुन्छ, जहाँ उनका परिवारले मेरो लगायत मेरा घरपरिवारका सबै सदस्यहरूको हाम्रो 'च्वाइस' अनुसार किन्छ भने मेरो परिवारले उनी लगायत उनका परिवारका सबै लागि उनकै चाहना अनुसार खरिद गर्ने गर्छ तुलानात्मक रूपमा मेरो खर्च बढी हुन्छ।
बिहे नजिकिँदै गर्दा कामको चाप बढ्छ। बिहेको १० दिन या ६ दिन अगाडिदेखि छरछिमेकीहरूका महिलाहरू मेरो घरमा आई बिहेको दिनसम्म हरेक दिन बेलुका गीत गाउने गर्छन् र हरेक दिन उहाँहरूलाई कोसेली स्वरूप केही न केही दिनुपर्ने हुन्छ।
बिहेको केही दिन अगाडि तिथि अनुसार मटकोर हुन्छ सँगसँगै आजकाल नवचलन हाम्रोतिर सुरू भएको छ ‘हल्दीमेहन्दी सेरोमनी’ त्यो पनि गर्नेदेखि लिएर घरमा पूजा हुन्छ। सकभर यी सब बिहेको पूर्व सन्ध्यामा हुने गर्छ तर प्राय:को तिथिअनुसार नै हुन्छ।
बिहेको दिन गामघरहरू लगायत अन्यहरूलाई भोज खुवाउनेदेखि लिएर उनको घरमा जान तयारी हुन्छ। दिनभरी थरीथरीका विधिहरू भई उनलाई लिन उनको घर जानका लागि तयार भई उतातिर लाग्नु पर्ने हुन्छ। नाच्दै, गाउँदै उनको घर पुगिन्छ सोमबर, तिलक, रातभरीमा विभिन्न विधिसँगै विवाह सम्पन्न हुन्छ।
दिनभरी उनका घरमा रही अन्य विभिन्न विधि भई बेलुकातिर उनलाई लिएर म आफ्नो घरमा आउँछु। यहाँ विभिन्न किसिमका विधि गरी दुवैलाई घर भित्र्याइन्छ। त्यसको अर्को दिन अन्य पूजाहरू भई लगभग बिहे सकिन्छ।
चिनेको भएर मसँग उसलाई खासै कुनै किसिमको अप्ठ्यारो हुँदैन तर मेरो घर परिवारका प्राय: सदस्यहरूको धेरै हदसम्म फोटो देखेको थियो भने को हुन ठम्याउन खासै गाह्रो हुँदैन। तै पनि उनी मेरो जीवनको यात्रामा अधिकारिक रूपमा र मेरो परिवारका नवसदस्यको रूपमा आएकी हुन्। त्यहाँ सबैसँग भिज्न गाह्रो हुनु स्वाभाविक हो।
मेरो यतिका जिम्मेवारी छोडेर घरमै बस्नु पनि भएन। यी अवस्थामा उसले खोजेको साथ, उसलाई चाहिएको समिप्यता म कसरी पूरा गर्न सक्छु? परिवार माहोलमा घुलमिल नभएसम्म त बस्नु पर्ने हो तर म चाहेर बस्न सक्ने अवस्थामा छैन। अनि, मनमा प्रश्न उब्जिन्छ उसलाई बिहे गरेर घरमा बस्न ल्याएको हो र?
मानौं, उनी जागिरे छे तै पनि बिहे भएपछि एकअर्काको साथ हुनुपर्छ हैन र? अरे ‘करियर’ का लागि सधैं साथ हुने कुरा पनि आउँदैन तर बिहे भएपछि तुलानात्मक रूपमा बस्नुपर्ने हैन र? यदि यी कुराहरू हुँदैन भने बिहे नै गर्नुपर्छ र?
यी प्रश्नहरूका उत्तर खोज्न कोसिस गरेँ तर चाहिने उत्तर भेट्टाउन सकिन्न।
जस-जसले बिहे गर्नुपर्छ भन्छन्, उसले एकपल्ट पनि सोध्दैन कि कस्तो चलिरहेको छ जीवन, फेरि भन्नले भन्छ- बिहे गरेपछि एकअर्कासँग परिवारलाई बुझ्दै आधा जीवन जान्छ अरे। त्यो पनि ठिक हो तर कुनै किसिमका समस्या आएन भने।
बिहे बडो अप्ठ्यारो काम हो जीवनमा, गरे पनि नहुने, नगरे पनि नहुने। बिहे गर्नु चाहिँ पर्छ होला त्यसको लागि फुर्सद निकाल्नु पर्छ।