म पढ्दा राम्रै विद्यार्थी थिएँ। कक्षामा प्रायः प्रथम, दोस्रो हुन्थेँ। मध्यम वर्गीय परिवारमा गाउँमा जन्मेर हुर्केर विद्यालयसम्मको पढाइ सकी उच्च शिक्षाका लागि काठमाडौँ छिरेँ। काठमाडौँ आउँदा के पढ्ने, के गर्ने, भविष्यमा के हुने सबै अन्योल नै थियो। एसएलसीमा गज्जब राम्रो नम्बर आएकाले विज्ञान विषय पढ्ने सुझाव आए। म गणित र विज्ञानमा अलि राम्रै पनि थिएँ। सोहीअनुसार आइएससी पढियो– डाक्टर हुने भनेर।
रहर र करले मात्र कहाँ हुन्छ र? डाक्टर हुने भनेर आइएससी पढेको मान्छे, परीक्षामा पास मात्र भएपछि व्यवस्थापन तिर लागेँ किनकि बिएससी पढ्नु भनेको शिक्षक हुनु हो भन्ने मैले बुझेको थिएँ। हाम्रो खानदानी पेसा नै शिक्षक जस्तो भएकाले मलाई शिक्षक हुनु थिएन।
अब स्नातक पढ्न थालियो, आफ्नो खर्च आफै जोहो गर्नुपर्छ भन्ने भयो। तर के गरी? उपाय खोज्दा कि ट्युसन पढाउनु पर्यो कि सानोतिनो जागिर। व्यापार, व्यवसाय हाम्रो परिवारमै थिएन। जागिर कहाँ पाउने? कि त निजी क्षेत्र– काम बढी तलब कम, पढ्न नभ्याउने। सरकारी, संस्थानतिर लामो प्रक्रिया, सरकारी जागिरको तयारी गर्दा पढाइ चौपट हुने, संस्थानतिर भनसुन पनि चाहिने जुन मसँग थिएन। त्योभन्दा राम्रो ट्युसन पढाउने जस्तो लाग्यो, त्यही गरियो।
शिक्षण हाम्रो खानदानी पेसा। म पनि रहरले हैन बाध्यताले आंशिक शिक्षक भएँ, पढ्नका लागि। हाम्रा केही छरछिमेक, इष्टमित्र र नातेदार सरकारी जागिरमा थिए। धेरै जसो खरदार, सुब्बा अनि छिटपुट अधिकृत। उनीहरूको त्यति बेलाको लवाइ, खुवाइ र रवाफ राम्रै थियो। कोही कोहीको त अचाक्ली पनि। त्यसैले होला मलाई पनि सरकारी जागिर खाने रहर पलाउन थालेको थियो, नजिककाले पनि त्यही सुझाउँथे। आंशिक शिक्षक भएर खर्च टार्ने जोहो भएकाले पहिले पढाइ अनि जागिर भन्ने मेरो दिमागमा थियो।
स्नातकोत्तर पढ्दा सिफारिसको आधारमा एक गैर सरकारी संस्थामा जागिर खाइयो। स्नातकोत्तरको परीक्षा सकिएपछि लोक सेवाका लागि अलिअलि तयारी गरियो। एक–दुई परीक्षा पनि दिइयो। फेल भइयो। केही महिनामा स्नातकोत्तरमा डिस्टिङसनसहित कलेजमै प्रथम भएँ जुन मैले सोचेकै थिइनँ। अनि मेरो जिम्मेवारी थपियो। त्यसले केही अवसर पनि आए।
लोक सेवा र राष्ट्र बैंकका लागि पढ्दै थिएँ। केही निजी क्षेत्रका बैंक अनि राम्रा भनिएका कम्पनीहरूमा पनि सोधिखोजी गर्न थालेँ। स्नातकोत्तरको परीक्षाफललाई मुख्य आधार बनाएर केहीले अन्तरवार्तामा बोलाए। अन्तर्मुखी प्रवृत्तिको म केही अन्तरवार्तामा अस्वीकृत भएँ तर दुई कम्पनीले लगभगसँगै जागिरको लागि बोलाए। उमेर थियो, जोस थियो, जसले बढी तलब प्रस्ताव गरे उतै जागिर सुरु गरियो। संयोगवश राम्रो तलब सुविधाको जागिर पाइयो, सरकारी अधिकृतको भन्दा अढाई–तीन गुणा बढी। त्यसपछि मेरो लोक सेवाको तयारी सकियो।
निजी क्षेत्रको जागिर, स्थायी भन्ने केही नहुने। पन्ध्र महिनापछि जागिर छोड्नु पर्ने भयो। लिसोझैँ टाँसिएको भए त हुन्थ्यो तर स्वाभिमानले दिएन। अझ स्नातकोत्तरको परीक्षाफलको धङधङी पनि ताजै थियो, राजीनामा दिए। फेरि सुरु भयो जागिर खोज्ने काम। त्यो बिचमा मैले बुझिसकेको थिएँ, लोक सेवा दिएर सरकारी जागिर खाएर तलब भत्ताले जीवन चलाउन गाह्रो छ। अनि राम्रो तलब भत्ता हुने जागिरको खोजी सुरु भयो। त्यो बिचमा अध्ययन जारी राखेँ, पत्रपत्रिकामा लेख्न थालेँ, बिहान कलेजमा पढाउन थालेँ। अन्तिम विकल्पको रूपमा बिदेसिनु पर्ने हो कि भनेर जिम्याट पनि लुकिलुकी पढ्न थालेँ। अविवाहित थिएँ, मेहनत पनि गर्थेँ। छ महिनापछि भनेजस्तो जागिर भेट्टियो।
नौ वर्ष जति मजैले जागिर खाइयो। धेरै कुरा सिकियो, जानियो। अन्तिम दुई वर्षमा केही उतार चढाव आएपछि त्यहाँबाट बाहिरिएर उस्तै प्रकृतिको नयाँ कम्पनीमा काम गर्न थालेँ। यो बिचमा मेरो व्यावसायिक प्रोफाइल पनि गज्जब बनेको थियो। देश, विदेश र बहुराष्ट्रिय कम्पनीको अनुभव बटुलेको थिएँ। त्यति बेलासम्म मैले आफ्ना लागि काम गरेको थिएँ।
सोचेँ, सरकारी संस्थान वा कम्पनीको व्यवस्थापकीय पदमा गए मेरो ज्ञान, सिप, अनुभवले त्यस्ता कम्पनीलाई पुनर्जीवन दिन सक्छु। अझ देश र जनताका लागि केही सार्थक योगदान गर्न सक्छु। अनि सुरु भयो आफ्नो अनुभव र विज्ञता मिल्ने सरकारी कम्पनीको प्रमुख कार्यकारी पदमा 'खुला प्रतिस्पर्धा' आह्वानको खोजी।
मलाई हतार थिएन। राम्रो जागिर चलिरहेकै थियो। केही समयपछि अनुभव र विज्ञता मिल्ने दुई कम्पनीले प्रमुख कार्यकारी पदमा 'खुला प्रतिस्पर्धा' आह्वान भयो। मेरो पहिलादेखिकै बानी, कुनै काम गर्दा योजना बनाएर तयारी गर्ने। प्रतिस्पर्धामा आवेदन दिनुभन्दा पहिले मैले केही अनुभवीहरूसँग भेटेर 'खुला प्रतिस्पर्धा' को चिरफार गरेँ। अनि बल्ल बुझेँ ती 'खुला प्रतिस्पर्धा' थिएनन्। आवेदन दिन खुला हुने तर छनौट बन्द सूचीबाट हुने रहेछ।
कौतुहलता साथ अझै बुझ्दै गएँ। त्यस्ता पदमा नियुक्ति पाउन सत्तारुढ दलसँग आबद्ध हुनुपर्ने रहेछ। अझ प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्री र शक्तिकेन्द्रसँग नजिक हुनुपर्ने रहेछ। त्यतिले पनि नपुगेर नियुक्ति प्रक्रियामा निर्णायकहरूको आर्थिक अपेक्षा पनि हुने रहेछ, कम्पनीको प्रकृति र कार्यक्षेत्रअनुसार फरक–फरक।
त्यति बुझेपछि मलाई सरकारी जागिर चाहिएन। स्कुल पढुन्जेल खानदानी राजनीतिमा जोडिए पनि आइएस्सी पढ्न काठमाडौँ आएसँगै म राजनीतिबाट अलग थिएँ। चुनावमा भोट हाल्थेँ तर दलभन्दा व्यक्ति हेरेर। प्रधानमन्त्री, मन्त्री र शक्तिकेन्द्रसँग मेरो कुनै नाता सम्बन्ध थिएन। नाता सम्बन्ध सुरु गर्ने मनसाय पनि थिएन। राम्रो तलब भत्ता भएको जागिर चलिरहेको थियो। मलाई सरकारी कम्पनीमा गएर पैसा कमाउनु थिएन, उल्टै आर्थिक रूपमा घाटा हुन्थ्यो। अनि मैले आफैलाई 'खुला प्रतिस्पर्धा' का लागि 'अयोग्य' घोषणा गरी आवेदन नगर्ने निर्णय गरेँ।