देशमा कति विकास भयो वा भएन, भएन भनेर सतही रूपमा बहस हुने गर्छ।
राम्रोसँग तथ्यांक केलाएर त्यसमाथि बहस गर्ने र सरकारलाई नीतिगत सहजीकरण गरेको विरलै पाइने गरेको छ।
यो लेखमा मैले पनि तथ्यांकका आधारमा देशको क्षमताअनुरूप प्राथमिकताका क्षेत्र खोजी र विश्लेषण गर्ने प्रयास गरेको छु।
विकासका लागि सबभन्दा जरूरी पक्ष सुशासन, उत्पादन, आम्दानी र दक्ष जनशक्ति हुन्।
यो विश्लेषणमा मैले उत्पादन र आम्दानीका प्राथमिकतामा मात्र समेटेको छु।
देशको आयात-निर्यात, आम्दानी र व्यापार घाटाका तथ्यांकहरू खोजी गर्दै आर्थिक वर्ष २०७९/८० को वैदेशिक व्यापार तथ्यांक अध्ययन र विश्लेषण गरेको छु।
सर्वसाधारण पाठकको सजिलोका निम्ति विवरणहरू समूहगत वर्गीकरण गरेर टेबलमा राखेको छु।
विस्तृत जानकारी लिन इच्छुक पाठकले भन्सार विभागको प्रतिवेदन हेर्न सक्नुहुनेछ।
टेबल १ – आयात, निर्यात र व्यापार घाटा विवरण (नेपाली रूपैयाँ अर्बमा)।
क्रम | विवरण | आयात | निर्यात | घाटा |
१ | खाद्य पदार्थ | २६९.३ | ५९.८ | २०९.५ |
२ | कृषि उत्पादन (खाद्य बाहेक) | १३९.५ | ६०.६ | ७८.८ |
३ | खाद्य उद्योगमा प्रयोग हुने पदार्थ | २० | ६.८ | १३ |
४ | रासायनिक पदार्थ (भौतिक, जैविक आदि) | १२९.५ | ५. ७ | १२३.७ |
५ | धातु र खनिज पदार्थ | २०६ | १३.५ | १९२.५ |
६ | गाडी, औजार र हतियार | २९२ | ३ | २८९ |
७ | मल | ४०.६ | | ४०.६ |
८ | खनिज तेल (पेट्रोल, डिजेल आदि) | ३५२.७ | | ३५२.७ |
९ | गर गहाना | ५१.५ | ०.६ | ५०.८ |
१० | औषधि | ४४.६ | १.६ | ४३ |
१२ | सुर्तीजन्य पदार्थ | ३.५ | ०.१ | ३.४ |
१३ | मदिरा, स्पिरिट आदि | ३.३ | ०.८ | २.५ |
१४ | ढुंगा, सिसा, सिमेन्ट आदि | ४०.३ | २.८ | ३७.५ |
१५ | कलात्मक वस्तुहरु | | ०.७७ | ०.७१ |
१६ | बाँकी विविध सामान जम्मा | १८ १६११ | ०.८ १५७ | १७.२ १४५४ |
माथिका तथ्यांकअनुसार देशको निर्यात करिब एक खर्ब ५७ अर्बको छ, जबकि आयात करिब १६ खर्ब ११ अर्ब छ। जसको कारण व्यापार घाटा १४ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ।
सन् २०२३ को तथ्यांक अनुसार यो घाटा नेपालले रेमिटेन्सबाट गर्ने आम्दानी (करिब १४ खर्ब ७० अर्ब) लगभग बराबर छ। तर नेपालको श्रमशक्ति देशबाहिर गएको अवस्थामा छिमेकबाट आएको जनशक्तिले करिब ४० अर्ब भारत लगेका छन्। अन्य देशहरूमा गएको रेमिटेन्सको तथ्यांक फेला पर्न सकेन। नेपालमा अन्य देशहरूको दक्ष जनशक्तिले विभिन्न सेवा प्रदायक र बहुराष्ट्रिय उद्योगहरूमा काम गरेको देखिन्छ।
विद्युत अर्को क्षेत्र हो जहाँ हाम्रो घाटा धेरै छ। हामी करिब साढे दस अर्बको विद्युत निर्यात गर्छौं भने करिब साढे १९ अर्बको आयात गर्छौं। यो वर्ष भने विद्युतको व्यापार नाफामा छ।
देशबाट वैदेशिक यात्रामा करिब २०३ अर्ब बाहिरिन्छ। पर्यटन, शिक्षा वा अन्य भ्रमणहरू उक्त रकम खर्च हुन्छ। विदेशी पर्यटकबाट हुने आम्दानी जम्मा ६० अर्ब छ।
विकासका प्राथमिकताहरू
विकासका प्राथमिकताहरू के के हुनुपर्छ र तत्कालीन र दीर्घकालीन लगानी कहाँ गर्नु उपयुक्त हुन्छ भन्ने ठम्याउन माथिको तथ्यांकले केही मद्दत गर्न सक्छ। केही सिद्धान्तहरूका आधारमा प्राथमिकता निर्धारण गर्न सकिन्छ।
टेबल २ – आयात, निर्यात र व्यापार लाभ विवरण (नेपाली रूपैयाँ अर्बमा)
क्रम | विवरण | आयात | निर्यात | लाभ |
१ | केही कृषि उत्पादन, कफी, चिया र मरमसला, केही फलफूल, नट्स, छाला र प्वाँख, धागो, डोरी आदि। | १४ | २९.४ | १५.४ |
२ | कार्पेट र अन्य टेक्स्टायल | ०.३ | १२.२ | ११.९ |
३ | कलात्मक वस्तु | ०.०६ | ०.७७ | ०.७१ |
४ | अन्य | ०.४ | १.७ | १.३ |
| जम्मा | १४.७ | ४४.२ | २९.४ |
१. लाभका क्षेत्र प्रवर्द्धन र विकास
टेबल २ का क्षेत्रहरूको प्रवर्द्धन, लगानी वृद्धि र बजार व्यवस्थापन पहिलो प्राथमिकता हुनुपर्छ। विगतमा कार्पेट र पस्मिनाले पाएको बजार फर्काउन जरूरी छ। त्यसका लागि सरकारले ती उत्पादनका गुणस्तर सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्छ।
इलामको चिया, काभ्रे र गुल्मीको कफी तथा विभिन्न जिल्लामा उत्पादन हुने मरमसलाले उचित बाजार पाएका छैनन्।
भनिन्छ, इलामको चिया अन्य देशको ब्रान्डमा बिक्री हुने गरेको छ। पस्मिनाको अवस्था पनि यस्तै छ। यी उत्पादन प्रवर्द्धनका लागि नियमित अनुसन्धान हुन जरुरी छ।
टेबल १ मा निर्यात भइरहेका उत्पादनहरू प्रोत्साहन गर्ने र आयात भइरहेको तर देशमै उत्पादन गर्न सकिने वस्तुको उत्पादन बढाउने वातावरण बनाउन जरूरी छ। उत्पादनको उचित वातावरण बनाउन र बजार विस्तार गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सक्छ।
२. परनिर्भरता घटाउने
आयात घटाउन परनिर्भरता पनि घटाउनुपर्छ। देशमा उत्पादन हुन सक्ने वस्तुहरू पहिचान गरेर लगानीको वातावरण सुनिश्चित गर्न सक्नुपर्छ। देशको प्रमुख आयस्रोत कृषि हुँदाहुँदै पनि खाद्यमा करिब २०९ अर्ब र अन्य कृषि उत्पादनहरूमा करिब ७८ अर्ब घाटा छ।
हाम्रो परनिर्भरता कम गर्न आन्तरिक उत्पादन बढाएर आयात घटाउनु नै हो। यसको देशमा उत्पादन हुन सक्ने वस्तुहरू पहिचान गरेर लगानीको वातावरण सुनिश्चित गर्न सक्नुपर्छ। देशको प्रमुख आयस्रोत कृषि हुँदाहुँदै पनि खाद्यमा करिब दुई खर्ब नौ अर्ब र अन्य कृषि उत्पादनहरूमा करिब ७८ अर्ब रूपैयाँ व्यापार घाटा छ।
खाद्य वस्तुमा माछामासु, दूध र दूधका उत्पादन, तरकारी, फलफूल यही उत्पादन गर्न सकिन्छ तर यी वस्तु ठूलो परिमाणमा आयात गर्न बाध्य छौं। चीनबाट सिन्की र गुन्द्रुकसमेत आयात हुने गरेको हाम्रो भन्सार तथ्यांकले देखाउँछ। ऊन, धागो, कपास, सिल्क, लत्ता कपडा, जुत्ता, कागज, काठका सामान आदि पनि हामी ठुलो परिमाणमा आयात गर्दै छौं। यी वस्तु पनि हामी आफैं उत्पादन गर्न सक्छौं।
दीर्घकालीन योजना बनाएर यी वस्तुहरू देशमै उत्पादन गर्नसके रोजगारी बढ्नेछ, आयात घटेर देशको आम्दानी बढ्ने छ र अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ। आम्दानी बढाएर आइटी क्षेत्रमा लगानी गर्न सकिन्छ। विश्वमा आइटी सेवाको आवश्यकता कहिल्यै कम हुने छैन। सस्तो श्रम बजारका कारण उत्तरी विश्वका कम्पनीहरू हाम्रोतिर हेर्ने गर्छन्। यसको फाइदा लिन सही नीति–नियम आवश्यक पर्छ। लगानीको उचित वातावरण बनाउनु सक्नुपर्छ।
३. प्राकृतिक स्रोत परिचालन र प्रवर्द्धन
नेपालमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको हुने गरेको छ। डिजेल, पेट्रोल र मट्टितेल मात्रै करिब तीन खर्ब ५२ अर्ब ७० करोडको आयात भएको छ। हामीसँग यी खनिज तेलको प्राकृतिक स्रोत नभएकाले आयात गर्नु हाम्रो बाध्यता हो। यसको विकल्प नभएको होइन। द्रुत गतिमा जलविद्युत् र सौर्य ऊर्जा विकास हाम्रो प्राथमिकतामा हुनपर्छ।
पहाडै पहाडले भरिएको देशमा ढुंगा र सिमेन्ट पनि आयात हुने गरेको थियो। दीर्घकालीन योजना नभएका कारणले यसो भएको हो। अहिले हामी सिमेन्ट त निर्यात गर्न सुरू गरेका छौं। ग्रेनाइट लगायत उद्योगलाई आवश्यक पर्ने ढुंगा आयात गरेर चलाएका छौं। दीर्घकालीन नीति बनाएर वातावरण प्रवर्द्धन गर्दै ढुंगा र सिमेन्ट उत्पादन र निर्यात गर्न सक्छौं।
नेपाल जडीबुटीले सम्पन्न देश हो। तर, जडीबुटी व्यापारको उचित व्यवस्थापन हुन सकेको छैन। यार्सागुम्बाको व्यावसायिक उत्पादन गर्न सकिने हुन सक्छ तर यसका लागि अनुसन्धान भएको छैन। व्यावसायिक उत्पादन हुने हो भने ठूलो आम्दानी हुन सक्छ। यार्सागुम्बा खोज्दा हुने दुर्घटना पनि न्यूनीकरण हुन्छ।
नेपालले प्राकृतिक स्रोत परिचालनबाट यथेष्ट आम्दानी गर्न सक्छ। त्यसका लागि उचित नीति, योजना, अनुसन्धान र लगानी प्रवर्द्धन आवश्यक पर्छ।
४. अत्यावश्यक सामग्री उत्पादन–
यसको सूची निकै लामो हुन्छ। यो लेखमा विशेष गरी दुईवटा क्षेत्र समेटिएको छ। मल आयातमा देशले ४० अर्ब ६० करोड खर्च गरिरहेको छ। देशमै मल उत्पादन गर्न नसकिने होइन तर यसमा काम हुनै सकेको छैन। देशमै मल उत्पादन हुँदा हामी आत्मनिर्भर त हुनेछौं नै, आयातको खर्च जोगिने छ। त्यो पैसा अन्य क्षेत्रमा लगाउन सकिन्छ।
देशमा आवश्यक मलको एक तिहाइ मात्र उत्पादन हुने हो भने पनि करिब १३ अर्ब ४० करोड जोगिन्छ। त्यति मल उत्पादन गर्दा आधा रकम खर्च भए पनि करिब ६ अर्ब जोगिन्छ। यसबाट करिब २५ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजना बन्छ। हाल एक मेगावाट उत्पादन गर्न २६–२७ करोड रूपैयाँ लाग्छ।
विद्युत प्रयोगले खनिज तेलको आयात घटाउँछ। आयातबाट बचेको रकम औषधि, मल वा यस्तै अन्य उद्योगमा लगानी गर्न सकिन्छ।
चिकित्सक र जनस्वास्थ्य विज्ञको हैसियतमा मैले औषधि आयातको कुरा नगरे लेख अधुरो नै हुनेछ। करिब ४४ अर्ब ६० करोड रूपैयाँ औषधि आयात हुने गरेको छ। अति आवश्यक औषधि ७०–८० थरीका छन् जो सबैभन्दा बढी प्रयोग हुन्छन्।
यस्ता अत्यावश्यक औषधिमध्ये करिब ७० प्रतिशत नेपालमै उत्पादन गर्न सकिन्छ। औषधि संसारको सबैभन्दा धेरै नाफामूलक व्यापार हो। फ्रोन्टियर्स जर्नलमा प्रकाशित एक लेखअनुसार मलेसियामा रूघाखोकीमा वा एलर्जी हुँदा दिइने औषधि Chlorpheniramine tablet मा २६०२ प्रतिशत, Cetirizine tablet मा ८०९ प्रतिशत र दुखाइको औषधि Diclofenac sodium 50 mg tablet मा ९०३ प्रतिशत नाफा हुन्छ।
यस्ता औषधि सरकारले उत्पादन गर्ने वा निजी क्षेत्रलाई दिने हो भने देशमा आयात निकै कम हुनेछ। निर्यात पनि गर्न सकिनेछ। सरकार र नागरिक दुबैका लागि महँगो औषधिको भार घट्नेछ। स्वास्थ्य बीमामा सरकारको खर्च पनि जोगिनेछ। बंगलादेशले धेरै खालका औषधि निर्यात गरेर आम्दानी गर्ने गरेका उदाहरणहरू छन्।
५. पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन
कोभिडपछि पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ। सन् २०२३ मा करिब तीन खर्ब २८ अर्ब आम्दानी भएको देखाउँछ तर देशले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा खासै ध्यान दिएको छैन। गुणस्तरीय बाटो, विमानस्थल, बिजुली, पानी, स्यानिटेसन, सुरक्षा आदि पूर्वाधार राम्रो विकास भएको पर्यटनमा भरपूर मात्रामा स्वदेशी र विदेशी लगानी हुन्छ। यसले देशको आम्दानी बढाउँछ, ठूलो परिमाणमा रोजगारी पनि सिर्जना गर्छ।
परम्परागत पर्यटनमा केही सुधार पनि गर्न सक्नुपर्छ। धार्मिक पर्यटन राम्रो भए पनि आवश्यकता अनुरूप पूर्वाधार विकास हुन सकेको छैन। आर्थिक विकासका लागि थोरै खर्च गर्ने पर्यटक भन्दा, धेरै खर्च गर्ने पर्यटक आवश्यक हुन्छ।
धरै खर्च गर्ने पर्यटक भित्र्याउन धार्मिक (हिन्दु र बौद्ध) पर्यटनका प्याकेजहरू विकास गर्नुपर्छ। विलासी पर्यटनका प्याकेज पनि आवश्यक हुन्छ। देशको कठिन भौगोलिक स्थिति साहसिक पर्यटनका लागि वरदान हुन्छ। यसतर्फ पनि धेरै काम हुन बाँकी छ। पर्यटनबाट बढी आम्दानी लिन परम्परागत र आधुनिक पर्यटनका मिश्रित प्याकेजहरू प्रोत्साहन र प्रवर्द्धन गर्नु आवश्यक छ।
६. स्नो बल इफेक्ट र ज्यामितीय प्रोग्रेसन
प्राथमिकताको आधारमा लगानी गर्दै जाँदा सुरूका केही दशक ज्यामितीय प्रोग्रेसनमा विकास हुन्छ। त्यसपछि अंक गणितीय प्रोग्रेसन हुन्छ। हाम्रो विकासमा ज्यामितीय प्रोग्रेसन हासिल गर्न उल्लिखित बुँदाहरूमा ध्यान दिनु जरूरी छ जसले ‘स्नो बल इफेक्ट’ पनि ल्याउनेछ। आयात घटाउन वा प्रतिस्थापन गर्न र निर्यात बढाउन सक्दा व्यापार घाटा कम हुन्छ, रोजगारी बढ्छ, देश आत्मनिर्भर हुँदै जान्छ। यसो भएपछि देशको आम्दानी बढ्छ। यो स्नोबल इफेक्टले देशको समग्र आय र नागरिकको आय बढाउँछ।
विकासका लागि सुशासन अपरिहार्य हुन्छ। सुशासनमा मात्र उल्लिखित सबै विषयमा सन्तोषजनक प्रगतिका हुन्छ। अनुकूल नीति र योजना पनि चाहिन्छ। पूर्वाधार चाहिन्छ। जनशक्ति आवश्यक पर्छ। अनुसन्धानमा पनि लगानी बढाउनुपर्छ।
गुणस्तरीय शिक्षा र सीपमूलक तालिममा ध्यान पुर्याउन सके पढ्न र रोजगारीका लागि विदेश जाने प्रवृत्ति पनि कम हुनेछ। यसो हुँदा भारत र अन्य मुलुकबाट आउने श्रमिकहरू विस्थापित हुन सक्छन्। नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै सेवा सर्वसुलभ बनाउनु र उत्पादन बढाउन लगानी अभिवृद्धि गर्नु सरकारको दायित्व हो। यसतर्फ ध्यान दिन अत्यावश्यक भएको छ।
ट्विटरः @kandelnirmal
(डा निर्मल कँडेल जेनभा कार्यरत मेडिकल एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन्।)