बिदाको दिन, दिउँसो घरधन्दा सकेर यसो फेसबुक चलाउँदै थिएँ।
यत्तिकैमा एक जना चिनजानकै अधबैंसे महिलाको पोष्ट आयो। जसमा एउटा फोटोमा स्ट्याटस राखिएको थियो- छोराले बुहारी ल्याएछ!
ओहो! बाबुको बिहे भएछ भन्दै मैले अल्लि चासो दिएर त्यो फोटो हेरें तर त्यहाँ दुलहीको साटोमा एउटा कपडा धुने मेसिनको फोटो राखिएको थियो।
त्यसपछि मैले झन् चासो दिएर त्यस फोटोमा आएका प्रतिक्रिया (कमेन्ट) पढ्नतिर लागें। त्यस फोटो र स्ट्याटसमा प्रतिक्रिया दिने अधिकांश महिलाहरूले बधाई भन्नुभो तर कसैले पनि बुहारीलाई मेसिनसँग दाँजेकोप्रति असन्तुष्टि या भनौं प्रश्न उठाउनु भएको देखिएन।
त्यसको केही दिन पहिला छोरोको विवाहको तयारीमा जुट्नुभएकी एक जना आफन्तसँग मैले 'बाबुको अझै पढाइ नै सकिएको छैन, जागिर खान बाँकी नै छ किन यति छिट्टै विवाह गरिदिन लाग्नु भएछ त?,' भन्ने प्रश्नमा उहाँको जबाफ थियो, 'त्यसैलाई घर बाहिर पढ्न पठाउनु पर्यो, हामी गर्न नसक्ने भयौं घरको कामकाज गर्नका लागि त विवाह गरिदिन लागेको हो नानी।'
यस्तै यस्तै उदाहरणबाट पनि हामी महिलाले नै आफूलाई कुन दर्जा दिइरहेका छौं भन्ने कुरा प्रष्ट हुन्छ।
केही महिनाअघि मात्र यस वर्षको मातातीर्थ औंशी अथवा आमाको मुख हेर्ने दिन गयो। त्यस दिनमा कतिपयले आफ्नो आमा र सासूआमालाई जन्मदिने आमा र कर्मदिने आमा भन्ने सम्बोधनका साथ मातातीर्थ औंशीको शुभकामना दिएको देखियो भने कतिपयले आफूलाई जन्मदिने आमाको स्थान अरू कसैले पनि लिन नसक्ने भाव प्रस्तुत गरेको पनि देखियो। तर प्राचीन कालदेखि हालसम्मको परिपाटीलाई हेर्ने हो भने कुनै पनि परिवारमा बुहारीको काम गराइप्रतिको असन्तुष्टि ससुराबुवाहरूको तुलनामा सासूआमाहरूमा नै बढी देखिन्छ या भनौं सजिलै महसुस गर्न सकिन्छ।
सबैको हकमा यो लागु नहुन सक्छ तर पनि औसतमा हेर्ने हो भने यो अवस्थालाई निर्मूल पार्न वर्षौं लाग्ने देखिन्छ। जसका लागि हामी स्वयम् महिलाहरू नै तत्पर हुन आवश्यक छ।
पछिल्लो समयमा छोरी र बुहारी एउटै हो कि फरक हो भन्ने विषयमा धेरै नै चर्चा, परिचर्चा, छलफलहरू सुन्न र पढ्न पाइराखिएको छ। अहिलेको समयमा पनि जति नै शिक्षित परिवारका बुहारी नै किन नहोस् तर उसलाई काम गर्न राखिएको मान्छे, मेसिनको रूपमा लिइन्छ भने हामी महिलाहरूको अस्तित्व समाजमा भन्दा पहिला परिवारमा कायम गर्नुपर्ने अवस्था छ।
समाज अहिलेको २१ औं शताब्दीको उत्तरार्धमा आइपुग्दा पनि अधिकांश विवाह घरमा काम गर्ने मान्छेको आपूर्तिका लागि गर्ने गरेको हामीले देखेका, सुनेका र भोगेका छौं।
घरमा आमाबुवा बिरामी,अशक्त हुनुभयो, त्यसको समाधान छोराको विवाह, छोरो बिग्रियो, त्यसको सामाधान विवाह, घरमा कामै नचल्ने भयो, त्यसको समाधान विवाह अथवा अधिकांश घर परिवारहरूमा बुहारी नै यी तमाम समस्या समाधानको एक मात्र उपायको रूपमा लिने गरिएको हामीले देखेका, सुनेका र भोगेका पनि छौं।
घरमा सासूआमाले आफ्नै कपडा धोएका देख्दा, आफूले नै खाएको भाँडा माझेको देख्दा, आफ्ना लागि मात्रै भए पनि खाना, खाजा पकाएको देख्दा आज बुहारी खोइ र? भन्ने प्रश्न गर्ने महिलाहरूले नै गर्दा हामी महिला पछाडि पर्यौं, हाम्रो अधिकारका लागि लड्नुपर्छ भनेको देख्दा र सुन्दा ती 'महिला अधिकारकर्मी' प्रति दया जागेर आउँछ।
समाज परिवर्तन गर्न हिँडेकाहरूले पहिला त स्वयम् आफू र आफ्नो परिवार परिवर्तन गर्नुपर्ने होला नि त। अहिले पनि घर परिवारमा सामान्यदेखि महत्वपूर्ण निर्णयहरू लिँदा वा कुनै पनि विषयमा छलफल गर्दा बुहारीलाई सो छलफलमा समावेश गरेको पाइँदैन वा उसको विचारलाई त्यहाँ समावेश गरेको पाइँदैन।
यो सबै ठाउँमा नहुन सक्छ, कतिपय परिवारमा बुहारीलाई नै निर्णायकको जिम्मेवारी पनि दिइएको छ। त्यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन र सकिँदैन। तर यो अवस्थाको सृजना समान तवरले सम्पूर्ण परिवारमा लागु हुनुपर्ने अहिलेको आवश्यकता हो, जसले समतामूलक समाजको निर्माणको अभियान पूरा हुन सक्छ।
ठिक छ बुहारीलाई छोरीको दर्जा दिनु पर्दैन, बुहारीलाई बुहारीको ठाउँमै राखौं, छोरीलाई छोरीकै ठाउँमा राखौं अरू केही गर्नुपर्दैन बस् व्यावहारिक रूपमा बुहारीहरूलाई पनि परिवारको सदस्यकै रूपमा स्वीकार गर्न सकौं। अहिलेलाई यत्ति गरे पुग्छ।