भवन लगायत अन्य संरचनाको एक अभिन्न, आधारभूत र महत्त्वपूर्ण तर अपहेलित क्षेत्र वाटरप्रुफिङ हो। यसको मुख्य काम भनेको समयसँगै पानीको कारण संरचनाहरूमा देखा पर्न सक्ने जस्तै- पानी चुहिने, रसाउने, खिया लाग्ने लगायत समस्याहरूलाई न्यूनीकरण र निराकरण गर्नु हो।
वाटरप्रुफिङ एउटा आफैमा पूर्ण प्रक्रिया हो जसमा सामानको छनोट, लगाउने तरिकाको विवरण, नालाको बनावट, अवस्थित सतहको तयारी लगायत डिजाइन, निर्माण पर्दछन्। यो काम गर्दा गुणस्तर, विश्वसनीयता हुनु अति आवश्यक हुन्छ। प्रविधिमा आएको विकाससँगै धेरै प्रकारका वाटरप्रुफिङ बजारमा आएका छन् जस्तै- वाटरप्रुफ रसायन र पत्र, छर्किएर लगाइने पत्र। हरेकका आ–आफ्नै फाइदा र बेफाइदाहरू छन्।
यो लेखमा हामी वाटरप्रुफिङको प्रयोग, डिजाइन, निरीक्षण, परीक्षण लगायतका विषयमा छलफल गर्नेछौँ।
वाटरप्रुफ लगाउने क्षेत्रहरू
पानीको सम्पर्कमा हुने वा हुन सक्ने क्षेत्रमा वाटरप्रुफ गर्नु पर्छ। पानी रसाउने कारणबाट अन्य महँगो सरसामान, औजार, विद्युतीय तथा अन्य उपकरणहरूमा पनि क्षति पुग्न सक्ने जोखिम भएकाले भवनको वाटरप्रुफिङ महत्त्वपूर्ण हुन्छ। सामान्यतया भवनमा वाटरप्रुफिङ गर्नु पर्ने क्षेत्रलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ।
घरको भित्री भाग
भित्री भागमा पानीको नियमित सम्पर्कमा हुने क्षेत्रहरू (बाथरुम, लुगा धुने कोठा) मा वाटरप्रुफिङको काम गरिनु पर्छ। यी क्षेत्रहरूको सम्पूर्ण भुइँमा, गारो र भुइँको जोडाइमा १५० मिमि माथिसम्म, धारा, पानीको निकासको लागि राखिएका पाइपहरू भएको ठाउँ र नुहाउने धारा भएको स्थानमा १८०० मिमि वा धारा भएसम्मको गारोमा वाटरप्रुफिङ गर्नु पर्दछ। तर भान्सामा वाटरप्रुफिङको काम गर्न नपर्ने अध्ययनहरूमा देखिएको छ।
यी क्षेत्रमा दुई पत्रमा वाटरप्रुफिङ लगाउनु पर्दछ। यसरी कुनै पनि क्षेत्रमा वाटरप्रुफिङ लगाउँदा अवस्थित तह र लगाउने तहबिच सामञ्जस्य हुने गरी लगाउनु पर्दछ। यदि अवस्थित र लगाइरहेको तहबिच सामञ्जस्य नमिलेको खण्डमा हामीले आशा गरेअनुसारको प्रतिफल नआउन सक्छ। त्यसका साथै लगाउने समयलाई पनि उत्तिकै महत्त्व दिन जरुरी हुन्छ। जस्तै कुनै वाटरप्रुफिङ पत्र लगाएको २४ घण्टा भित्र टाइल लगाइएन भने त्यसको अर्थ नरहन पनि सक्छ।
घरको बाहिरी भाग
पानी परेको खण्डमा सबैभन्दा पहिला छत अनि त्यसपछि पानीको सम्पर्कमा आउने क्षेत्र भनेको बाल्कोनी हो। नियमित प्रयोगको हिसाबमा हेर्नु पर्दा छतभन्दा अझ महत्त्वपूर्ण क्षेत्र बाल्कोनी हुन आउँछ। यस कारण पनि वाटरप्रुफिङका लागि संवेदनशील क्षेत्रको रूपमा लिइन्छ। साथ साथै बाल्कोनीमा सजावटका लागि गमला, फूलहरू लगाइएको हुन्छ जसलाई नियमित सिँचाइको आवश्यकता पर्ने हुन्छ। त्यस क्रममा पानी बाल्कोनीमै जम्ने समस्या पनि हुन सक्छ। त्यस्तो पानीको निकास राम्रोसँग नभएको खण्डमा त्यसले समस्या निम्ताउन सक्छ।
बाल्कोनी लगायतका क्षेत्रमा दुई चरणमा वाटरप्रुफिङ लगाउनु पर्दछ। पहिलो चरणमा ढलानको समयमा नै कङ्क्रिटमा वाटरप्रुफ रसायन मिसाएर गर्नु पर्ने हुन्छ। दोस्रो चरण बाल्कोनीको सतह मिलाउँदा गर्नु पर्ने हुन्छ वा फिनिसिङ गर्दा गर्नु पर्ने हुन्छ। जस्तै- टाइल लगाउँदा, स्कृडिङ गर्दा। जसले गर्दा बाल्कोनी लगायतका ठाउँहरूलाई दोब्बर सुरक्षा मिल्छ।
अर्को मुख्य पानी रसाउने क्षेत्र भनेको कन्स्ट्रक्सन जोइन्टमा हो। यसमा पहिला भएको निर्माण र पछि भएको निर्माण बिचमा हुने छिद्रहरूबाट पानी रसाउने जोखिम हुन्छ। जस्तो कि घरको ढलान गर्दाको समयमा लगातार काम हुन सकेन र कुनै कारणवश ३० मिनेटभन्दा बढीले काम रोक्नु पयो भने त्यो रोकिएको क्षेत्रमा कन्स्ट्रक्सन जोइन्ट बन्न जान्छ। नेपालको परिप्रेक्ष्यमा जनशक्तिको प्रयागले नै प्रायः ढलानहरू गर्ने चलन रहिआएको छ जसले गर्दा खाजा, खाना खान ढलानको काम रोकिएको समयमा त्यस्तो जोइन्ट बन्ने गर्छ। सुरुको चरणमा कुनै समस्या देखा नपरेमा पनि कालान्तरमा सोही क्षेत्रमा पहिला पानी रसाउने समस्या देखिएको हुन्छ। त्यस्तो क्षेत्रलाई विशेष ध्यान दिनु पर्ने हुन्छ र उपयुक्त वाटरप्रुफिङ प्रयोग गर्नु पर्दछ।
जगमा
जमिनमुनि बनेका संरचनामा पानीले क्षति गर्न नसकोस् भन्ने उद्देश्यले जगमुनि वाटरप्रुफिङ गरिन्छ। जमिनमा पानीको सतह केही गहिराइमा हुन्छ। त्यस्तो सतहसम्मको गहिराइलाई हामी वाटर टेबल भन्छौँ। जब वाटर टेबल जगको तहभन्दा माथि आउन थाल्छ त्यसपछि संरचनामा पानी पस्ने सम्भावना बढेर जान्छ। त्यसले जमिनमुनि र माथिका संरचनालाई असर नगरोस् भन्नका लागि हात्तीपाइले र भुइँ तल्लामा हुने ढलानमा वाटरप्रुफिङ गर्नु पर्दछ। नेपालमा बन्ने आवासीय घरहरूमा भुइँ तल्लामा वाटरप्रुफिङ गराइयता पनि हात्तीपाइले, म्याट लगायतका संरचनामा भने गर्ने पाइएको छैन। सो क्षेत्रमा पनि वाटरप्रुफिङ गर्न आवश्यक हुन्छ।
पानी रसाउने समस्या र त्यसको न्यूनीकरणका उपायहरू
घरमा पानी रसाउने समस्या हुँदा मुख्य चार लक्षणहरू देखिन्छन्
क) कलरको पत्रहरू फुल्ने
ख) गारोमा चिसोपन देखा पर्ने
ग) पानी जम्ने
घ) ढुसी वा झारहरू पलाउने
प्रभावशाली वाटरप्रुफिङको पहिलो चरण भनेको कुनै पनि स्थानमा पानी जम्न नदिनु हो। लामो समयसम्म पानी जम्ने कारणबाटै धेरैजसो वा केही समयपछि पानी रसाउने समस्या देखिन थाल्दछ। त्यसैले पानी पर्ने सतहको ढलौट मिलाई पानीलाई सहज रूपमा बग्ने व्यवस्था मिलाउनु पर्दछ। यसरी ढलौट मिलाइएको खण्डमा आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छन् भने बाँकीको लागि वाटरप्रुफिङ लगाउनु पर्ने हुन्छ।
सतहलाई राम्रोसँग नमिलाइनु, कामदारसँग काम कौशलको कमी, गलत सामानको छनोट, उपभोग अवधि सकिएका सामानको प्रयोग, वाटरप्रुफिङको तह र अन्य तहबिच समन्वयन नहुनु, वातावरणीय कारणहरूलाई बेवास्ता गर्नु, वाटरप्रुफिङ तहलाई राम्रोसँग नलगाइनु, लगाइएको वाटरप्रुफिङ पत्र पनि संरचनाको सतहसँग मेल नखानु, वाटरप्रुफिङ पत्रलाई मर्मत सम्भार नगर्नु लगायतका कारणहरूले वाटरप्रुफिङले सोचेजस्तो काम नगर्न सक्छ। यस्ता समस्याहरूका लक्षणहरू संरचनामा देखिएमा तुरुन्तै मर्मत सम्भार गर्नु पर्दछ। जस्तै वाटरप्रुफिङको पत्रमा कतै फोकाहरू देखा परेमा सो क्षेत्रलाई सफा गरी पुनः वाटरप्रुफिङ लगाउनु पर्दछ।
कामको शैलीलाई पनि विशेष ध्यान दिनु पर्दछ। जस्तै पत्रको मोटाइ पुर्याउन नै भनेर एकै पत्रमा लगाउनु हुँदैन। सामानको विशेषता हेरेर दुई वा दुईभन्दा बढी पत्रहरू लगाई आफूलाई चाहिएको मोटाइ पुर्याउनु पर्दछ। अर्को काम गर्दा मुख्य रूपमा बाहिरको तापमानलाई पनि ध्यानमा राख्नु पर्दछ; अत्यधिक गर्मी अथवा अत्यधिक चिसोमा पत्र बन्ने प्रक्रिया (पोलिमराइजेसन)मा समस्या पर्ने हुनाले पत्रहरूमा फोकाहरू देखिने जस्ता समस्या देखिन सक्छन्।
कतै वा कुनै क्षेत्रमा चिसोपना देखिनु भनेको पानी रसाएको छ भन्ने पुष्टि हुन्छ। यस्ता पानी रसाउने समस्याका कारणबाट सम्पूर्ण संरचनाको अखण्डतामाथि नै प्रश्न उठ्न सक्छ। त्यसैले यसलाई निर्माणको सुरुआतभन्दा पहिलेदेखि नै कसरी काम गर्ने भन्ने योजना बनाउन जरुरी हुन्छ।
डिजाइनको बेलादेखि नै समावेश गर्दै, निर्माण र निर्माणपछिको चरणमा लगियो भने पानीको चुहावटलाई रोक्न सकिन्छ। डिजाइनको बेलामा हामीले विशेष गरी निम्न कुरामा ध्यान दिनु पर्छ-
१) वाटरप्रुफिङ क्षेत्रको माथि वाटरप्रुफिङ क्षेत्र नै डिजाइन गर्ने (जस्तै- बाल्कोनीको माथि बाल्कोनी)
२) कमसल सामानलाई अस्वीकार गर्ने
३) अत्यधिक सस्तो कामलाई अस्वीकार गर्ने। साथै निर्माणको अवधिमा हामीले यी कुराहरूमा ध्यान दिनु पर्छ-
क) वाटरप्रुफिङका क्षेत्रहरू निर्धारण गर्ने
ख) वाटरप्रुफिङको प्रकृति चयन गर्ने
ग) वाटरप्रुफिङको लागि सही सामानको चयन गर्ने
घ) वाटरप्रुफिङ लगाउने समयको सही पहिचान गरी लगाउने
ङ) विश्वसनीय र दक्ष कामदारलाई काममा लगाउने।
च) निर्माण पछिको अवधिमा निरन्तरको निरीक्षण र मर्मत सम्भार गरिरहनु पर्ने हुन्छ।
डिजाइनका तरिकाहरू
मुख्यतः वाटरप्रुफिङको डिजाइनमा पानी निकासको तरिका, वाटरप्रुफिङ पत्र र निर्माण सामग्रीसँगको उपयुक्तता, वाटरप्रुफिङ पत्र बाहिरी वातावरणको सम्पर्कमा भएको वा नभएको, फिनिसिङ र संरचनामा आउन सक्ने हलचललाई ध्यान दिनु पर्ने हुन्छ।
डिजाइनमा सबैभन्दा महत्त्वपूर्ण भनेको पानीको सही निकास नै हो। सही ढङ्गबाट पानीको निकास गर्न सकिएको खण्डमा पानी छिर्ने सम्भावना आफैमा न्यूनीकरण हुन जान्छ। यसमा पानी बग्ने स्थानमा दोस्रो तह लगाउने र पानी निकासको लागि प्वाल राख्ने कामहरू समावेश भएका हुन्छन्। यसरी पानी झर्ने क्षेत्रमा दोस्रो तहको कङ्क्रिट नगरिएको खण्डमा कम्तीमा वाटरप्रुफिङ पत्रको माथि स्कृडिङ गर्नुपर्ने हुन्छ जसले गर्दा सो तहको संरक्षण हुन्छ।
वाटरप्रुफिङको पत्र कङ्क्रिट, स्कृडिङ वा अन्य कुनै माथिल्लो वा तल्लो तहसँग उपयुक्त तरिकासँग सम्बन्ध बनाउने खालको हुनु पर्छ। साथै बाहिरी वातावरणसँग देखिने वा नदेखिने स्थान अनुकूलको सामान छनोट गर्नु पर्ने हुन्छ। यसमा प्रयोग गर्ने सामानको भौतिक गुण र रासायनिक गुण, क्षयीकरण, तन्कने गुण र यसभन्दा पहिला प्रयोग भएका ठाउँमा भएको प्रभावका बारेमा विश्लेषण गर्नु पर्ने हुन्छ। वाटरप्रुफिङ पत्रको लचिलोपनालाई संरचनामा भएको कङ्क्रिटको हलचल, वातावरणीय कारणबाट तन्कने वा खुम्चिने गुणको पनि उत्तिकै महत्त्व रहन्छ।
जमिनमुनि हुने निर्माणमा साधरणतया यदि स्ल्याब वाटर टेबल (जमिनमा भएको पानीको सतह) भन्दा तल भएको खण्डमा स्ल्याबको तल्लो भागमा वाटरप्रुफको पत्र लगाउनु राम्रो मानिन्छ। र, यदि स्ल्याब वा बेसमेन्ट वाटर टेबलभन्दा माथिल्लो तहमा भएमा बास्पप्रुफ तहद्वारा सुरक्षित गराउनु पर्दछ। अन्य क्षेत्रमा भने पानी, हावा र रासायनिक तत्त्वहरूलाई ध्यानमा दिनुपर्दछ।
यसमा वाटरप्रुफिङको डिजाइनसँगै प्लम्बिङको डिजाइन पनि ठिक तरिकाबाट हुन जरुरी हुन्छ। प्लम्बिङमा समस्या आएको खण्डमा तुरुन्तै समाधान गर्ने र त्यस क्षेत्रको वाटरप्रुफिङलाई पनि मर्मत गर्नु पर्दछ।
कङ्क्रिट सतहको तयारी
वाटरप्रुफिङ लगाउँदा प्राविधिक रूपमा कङ्क्रिट सतहको तयारी, अबगपिष्लन, पत्रको लगाउने काम र पत्रको सुरक्षा पर्दछन्। सेट भइसकेको कङ्क्रिटमा वाटरप्रुफको पत्र लगाउँदा वा फरक-फरक प्रविधि अपनाउँदा पत्र र कङ्क्रिटबिचको उपयुक्ततालाई सधैँ ध्यानमा राख्नु पर्ने हुन्छ। सामान्यतया कङ्क्रिट गरिएको २८ दिनसम्म वाटरप्रुफिङको काम गर्नु हुँदैन किनभने त्यस्तो कङ्क्रिटमा बाष्पको मात्रा अत्यधिक बढी हुने हुनाले लगाएको पत्रमा फोकाहरू देखिन सक्छन्।
यदि कङ्क्रिटमा हनिकम्ब वा अन्य कुनै समस्या छन् भने वाटरप्रुफिङको पत्र लगाउनुभन्दा पहिले नै समाधान गरिसक्नु पर्ने हुन्छ जसका कारणबाट भविष्यमा अन्य समस्याहरू देखा नपरून्। यस्ता सतहहरूलाई मिलाउन धेरै उपायहरू अपनाउन सकिन्छ जस्तै: घोट्ने, पानीको फोहोराले सफा गर्ने। यसरी तयारी गरिएका सतहहरूलाई वाटरप्रुफिङका प्राविधिकबाट निरीक्षण गराइसकेपछि मात्र पत्र लगाउनु पर्दछ।
वाटरप्रुफिङ पत्रका प्रकारहरू
अनुपयुक्त वा अव्यवस्थित तरिकाबाट वाटरप्रुफिङ लगाउँदा संरचनामै क्षति पुग्ने वा पानी रसाउने समस्या झन् बढ्न सक्छ। यसले बाहिरी सतहदेखि संरचनाको अखण्डतामा नै समस्या बनाउन पनि सक्छ। त्यसैले उपयुक्त प्रविधिबाट, उपयुक्त सामान लगाउन सकिएको खण्डमा अधिकतम लाभ लिन सकिन्छ।
सकारात्मक र नकारात्मक पाटोका पत्रहरू
यदि पत्र पानी पर्ने वा पानीको दबाबको क्षेत्रतिर लगाइन्छ भने त्यस्तो तहलाई सकारात्मक पत्र भनिन्छ भने त्यसको ठिक उल्टो पाटोमा लगाइने पत्रलाई नकारात्मक पत्र भनिन्छ।
सकारात्मक पत्रले मूल सतहबाट नै पानीलाई संरचनामा छिर्नबाट जोगाउँछ। यो वाटरप्रुफिङको पहिलो सुरक्षा पद्धति पनि हो। यसले गर्दा कङ्क्रिटको सुरक्षा, डन्डीमा हुनसक्ने खियाको समस्या, रासायनिक प्रतिक्रिया, आद्रतालगायतका समस्याहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ। यसका साथै कङ्क्रिटको तहमा दोस्रो सुरक्षाको उपायको रूपमा रासायनिक पदार्थहरूलाई राखेर निर्माण गर्न सकिन्छ, जस्तै ढलान गर्दा 'डा. फिक्सइट' जस्ता केमिकलको प्रयोग गर्नु।
यदि सकारात्मक भागतिर निर्माण क्षेत्रतिरको पहुँच नभएको खण्डमा नकारात्मक पत्र लगाउने गरिन्छ। तर कतिपय स्थानमा दोहोरो सुरक्षा नीति अवलम्बन गरी सकारात्मक र नकारात्मक दुवै तिर लगाउने गरिन्छ। साधरणतया जगमा हुने वालहरू, लिफ्टका लागि छोडिएका खाल्डाहरूमा सकारात्मक साइडतिर पहुँच हुँदैन। त्यस कारण त्यस्ता क्षेत्रहरूमा नकारात्मक क्षेत्रमा मात्र पत्रहरू लगाउने काम गरिन्छ।
जमिनमुनि र जमिनमाथि वाटरप्रुफिङ
जमिनमुनिका संरचनाहरूमा गरिने वाटरप्रुफिङ कामलाई जमिनमुनिको वाटरप्रुफिङ भन्छौँ। यसमा जमिनमुनि हुने जग, गारो, लिफ्टको खाल्डो, रिटेनिङ गारोहरू पर्दछन्। जसमा जग र गारोहरूमा कङ्क्रिट गर्नुभन्दा पहिले नै वाटरप्रुफिङको काम गरिसकेको हुनु पर्छ भने रिटेनिङ गारोमा गारोको काम भइसकेपछि पनि काम गर्न सकिन्छ।
जमिनमाथिको वाटरप्रुफिङमा जमिनमाथिका संरचनामा लगाइने वाटरप्रुफिङको कामहरू पर्दछन्। जमिन माथि लगाउनु पर्ने क्षेत्र जस्तै बाथरुम, बाल्कोनी, छत, पोडियम, लगायतका ठाउँहरू हुन्छन्। यस्ता कामहरूलाई सामान्यतया भित्री र बाहिरी वाटरप्रुफिङका कामहरूमा विभाजन गरी गर्न सकिन्छ।
बाहिर देखिने र नदेखिने वाटरप्रुफिङ
यदि वाटरप्रुफिङको काम गरिसकेपछि सो तह बाहिर देखिन्छ भने त्यस्तो कामलाई हामी बाहिर देखिने वाटरप्रुफिङ भन्छौँ। यो तह बाहिरी वातावरणका तत्त्वहरू- घाम, पानी, धुलो-धुवाँ, रासायनिक पदार्थसँगको सिधा सम्पर्कमा हुने हुँदा नियमित रूपमा निरीक्षण र मर्मत सम्भार गरिरहनु पर्ने हुन्छ। यसको विपरीत नदेखिने वाटरप्रुफिङ लामो समयसम्म टिक्ने, नियमित मर्मत सम्भारको आवश्यकता नपर्ने र संरचनाको आयुसम्म नै त्यसले सुरक्षा प्रदान गने प्रकारको हुनुपर्छ।
(लेखक द्वय अधिकारी र चौधरी इन्जिनियर हुन्। हाल दुवै जना सिनो हाइड्रो कर्पोरेसनमा कार्यरत छन्।)