बिहान उठेर ब्रस गर्दादेखि साँझ प्लास्टिकको झोलामा ल्याएको तरकारी खाई, प्लास्टिकको इयरफोन सुन्दै सुत्दासम्म होस् वा प्लास्टिककै बोतलको पानी पिउँदै, प्लास्टिककै कुर्सीमा बसेर प्लास्टिककै पेनले साइन गरेर प्लास्टिककै झोलामा हालेर दिँदासम्म होस्, आजको युगको अति उपयोगी साधन र अङ्ग जस्तो बनिसकेको छ प्लास्टिक। तर कतै यसरी हामीसँग मिलिरहेको प्लास्टिकले सूक्ष्म प्लास्टिक बनेर हामीहरूलाई नै त निलिरहेको छैन? केही उत्तर आइसकेको र धेरै उत्तर आउन बाँकी एक चुनौतीपूर्ण र गहन प्रश्न।
आखिर के हो त सूक्ष्म प्लास्टिक?
प्लास्टिक नष्ट नहुने वा नष्ट हुन सयौँ वर्ष लाग्ने वस्तु हो। यो वातावरणमा छरपस्ट हुँदा बिस्तारै सूर्यको प्रकाश र विभिन्न रासायनिक प्रक्रियाले गर्दा स-साना एकाइमा टुक्रिँदै जान्छ जसलाई माइक्रो प्लास्टिक (सूक्ष्म प्लास्टिक) भनिन्छ। यो सूक्ष्म प्लास्टिक अझै सानोसँग टुक्रिन सक्छ। फलस्वरूप अति सूक्ष्म प्लास्टिक (नानो प्लास्टिक) बन्न पुग्छ।
सामान्य बुझाइमा भन्दा, सूक्ष्म प्लास्टिक आकारमा यति सानो हुन्छ कि एक मिटर लामो डोरीलाई दश लाख भाग लगाउँदाको एक भाग हो भने अति सूक्ष्म प्लास्टिक एक मिटर डोरीलाई एक अर्ब भाग लगाउँदाको एक भाग हो। आँखाले नदेख्ने यी सूक्ष्म र अति सूक्ष्म प्लास्टिकहरू हावा, जल, जमिन जताततै छरपस्ट यत्रतत्र छरिँदा यसले स्वास्थ्य तथा वातावरणमा ठुलो असर पुराउने अध्ययनहरूले देखाइरहेको छन्।
कहाँ कहाँ भेटिएको छन् त सूक्ष्म प्लास्टिक? यिनीहरूले स्वास्थ्यमा कस्तो असर पार्न सक्छ?
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकाशन गरेको 'माइक्रो प्लास्टिक इन ड्रिङ्किङ वाटर' रिपोर्टअनुसार सूक्ष्म प्लास्टिकले मुख्य त तीन प्रकारले स्वास्थ्यमा समस्या निम्त्याउँछ। पहिलो भौतिक असर, दोस्रो प्लास्टिक निर्माणको क्रममा प्रयोग भएका विभिन्न रसायन आदि सूक्ष्म प्लास्टिकसँगै शरीरमा प्रवेश गरी देखाउने असरहरू र तेस्रो प्लास्टिक तथा यसैसँगै बसेका सूक्ष्म जीव जसलाई वायोफिल्म भन्दछ, यसले देखाउने असरहरू।
सूक्ष्म प्लास्टिकले देखाउने असरहरू बारे अध्ययनहरूमा यस्तो पाइएको छ-
कोलम्बिया र रुटगड विश्वविद्यालयको अनुसन्धानकर्ताले 'प्रोसेडिङ अफ नेशनल एकेडेमी अफ साइन्स' मा प्रकाशित गरेको अनुसन्धानअनुसार तीन ब्रान्डका प्रत्येक एक लिटर पानीमा एक लाख दश हजारदेखि चार लाख सूक्ष्म प्लास्टिकहरू भेटिएका छन्। यस अध्ययनमा मुख्यतः बोतल बनाउँदा प्रयोग हुने पोलिइथाइलिन टेरिफेलेट लगायत सात प्रकारका सूक्ष्म प्लास्टिकहरू भेटिएका छन्।
'यस्ता प्लास्टिक प्लास्टिकका बोतल बनाउँदा प्रयोग हुने भिनाइल क्लोराइड, इथाइलिन, पोलिइथाइलिन टेरिफेलेटबाट आएको हुन सक्ने र यसले मानव स्वास्थ्यमा कुन हदसम्म असर गर्छ भन्ने कल्पनासम्म गर्न नसक्ने कुरा कोलम्बिया विश्वविद्यालयमा रसायन शास्त्रमा विद्यावारिधि गर्दै गर्नु भएका नक्सिन क्वाइनले बताउनु भएको छ।
काउस म्यासन र वाटेन्वर्गले २०१८ मा 'फ्रन्टियर इन केमेस्ट्री' मा प्रकाशित शोधपत्रमा पानीको बोतलमा बनाइएको पोलिमर (सिन्थेटिक प्लास्टिक) हरू भेटिएको उल्लेख गरेसँगै यो अध्ययन विश्वजगतलाई नै चासोको विषय बनेको थियो।
यस्तै बोतल बनाउँदा प्रयोग हुने (पेट) प्लास्टिकबाट यन्टिमोनी पानीमा निस्कन सक्ने जसले पानीलाई दूषित गराई उक्त पानी पिउँदा वाकवाकी लाग्ने, बान्ता, झाडापखाला, मात्र नभएर मुटु फोक्सोमा समेत असरहरू पार्न सक्ने कुरा पल वेस्टररफको समूहले 'वाटर रिसर्च' नामक जर्नलमा प्रकाशित शोधपत्रमा उल्लेख गरेका छन्। तर विश्व स्वास्थ्य सङ्गठनले भने यसले मानव स्वास्थ्यमा पुर्याउने असरको बारेमा अझै अनुसन्धान गर्ने र गर्नुपर्ने बताएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टकी वरिष्ठ वैज्ञानिक डा. टिष्टा प्रसाईं जोशी र उनको अध्ययन समूहले काठमाडौँका ३० ब्रान्डका ६० पानीका बोतलमा गरेको अनुसन्धानमा ५६.६७% बोतलका पानीहरू पिउन उपयुक्त नरहेको कुरा 'इनभाइरोमेन्टल एन्ड पलुसन' मा प्रकाशित शोधपत्रमा उल्लेख गरेकी छन्। यति भनिरहँदा खोला वा धाराको पानी पनि सूक्ष्म प्लास्टिक रहित भने छैनन्।
पानी मात्र नभएर हामीले खाने प्लास्टिकमा आएका नुन, बियर, मह, पेय पदार्थहरू पनि सूक्ष्म प्लास्टिकबाट बच्न सकेको छैनन्। लिइबेजित (२०१३, २०१४) मा 'फुड एन्ड कन्टामिनेसन' मा प्रकाशित गरेको अनुसन्धानमा विभिन्न ब्रान्डका बियर, मह, र चिनीमा पनि सूक्ष्म प्लास्टिक फेला परेको उल्लेख गरेको छन्। यस्तै काउठ र उनको समूहले २०१८ मा अमेरिकाको मेचिगम, अल्पीना, बजारबाट ल्याइएको बियरमा १००-५०० माइक्रो मिटरका सूक्ष्म प्लास्टिकहरू फेला पारेका छन्। याङ र साथीहरूले चीनको बजारबाट किनेको नुनमा ४५-४३०० माइक्रो मिटरका सूक्ष्म प्लास्टिक फेला परेका छन्। उक्त प्लास्टिक खाना अनि श्वासप्रश्वासमार्फत मानव शरीरमा प्रवेश गरे विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छन्।
आर माफेल र उनका समूहले सन् २०२४ मा ' द न्यु इङ्गल्यान्ड जर्नल अफ मेडिसिन' मा प्रकाशित गरेको शोधपत्रअनुसार ३०४ जना बिरामीहरूको मुटुको धमनीहरूबाट निकालिएको नमुना परीक्षणमा १५० जना (५८.४%) मा पोलिइथाइलिन (सूक्ष्म प्लास्टिक) र ३१ जना (१२.१%) मा पिभिसि (प्लास्टिक) भेटिएको छ र यस्ता मानिसहरू मुटु रोग हृदयाघातको उच्च जोखिममा हुने भएकोले कुनै पनि बेला मृत्युसम्म हुन सक्ने सम्भावना रहन्छ।
कार्लस, सोनिया र अनुसन्धान समूहले 'जर्नल अफ हाजार्डअस मेटेरियल' मा सन् २०२२ मा प्रकाशित गरेको शोधपत्रअनुसार एक जना ४४ वर्षे युरोपियन नागरिकको तल्लो श्वास नलीमा पनि पोलिइथाइलिन फाइबर भेटिएको छ र उक्त कुराले श्वासप्रश्वास सम्बन्धी रोग ल्याउन सक्ने उल्लेख गरेका छन्।
यस्तै काजी हसेन र उनको समूहले 'इनभाइरोमेन्ट साइन्स एन्ड टेक्नोलोजी' मा सन् २०२३ मा प्रकाशित शोधपत्रअनुसार खाना, जुसहरू प्याक गर्ने प्लास्टिकका कन्टेनर र प्याकेट वा बोतलबाट निस्कने सूक्ष्म अनि अति सूक्ष्म प्लास्टिकले ७५-७८ % मानव भ्रूणको किड्नी कोष मार्न सक्ने डरलाग्दो सङ्केत गरेको छन्।
यस्तै चट्ट प्लास्टिकको डब्बाको स्याम्पु, पाउडर, लगाई राम्रो भएर विवाह, पार्टी, नाचगान आदिमा गएर प्लास्टिककै चपिङ बोर्डमा काटेर बनाएको खानेकुराहरू प्लास्टिक प्लेट, थाल र चम्चाले जिब्रो पड्काउँदै खाइरहँदा कतै खाना र यससँगै खाइरहेको प्लास्टिकले हाम्रै स्वास्थ्यलाई नै चड्काइरहेको त छैन? यो देख्दा छेउमै रहेको दुना, टपरीले हामीलाई कति गिजाइरहेको होला है?
अनुसन्धानमा क्रिमहरूमा पनि सूक्ष्म प्लास्टिकहरू भेटिएको तथ्यहरू फेला परेका छन्। लौरा एमको समूहले तीन वटा मुख धुने क्रिममा गरेको अनुसन्धानमा २४-५२ नानो मिटरका अति सूक्ष्म प्लास्टिकको सेम र एक्स-रे फोटो इलेकट्रोन सपेक्ट्रोस्कपीद्वारा पुष्टि गरेको खोज, सन् २०१७ मा 'इनभाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजी' मा प्रकाशित गरेका छन्। प्लास्टिक बनाउँदा प्रयोग हुने रसायनहरू जस्तै मोनोमर, बेन्जिन, १-३ ब्युटाडाइन, प्लास्तिसाइजर आदि सूक्ष्म प्लास्टिकहरूसँगै रहेर विभिन्न माध्यमबाट शरीरमा प्रवेश गरी रगतमार्फत अङ्गहरूमा पुगी दीर्घकालीन रूपमा मुटु रोग, दम, पाचन समस्या, रोग प्रतिरोधात्मक शक्तिमा कमी मात्र नभएर क्यान्सर जस्तो डरलाग्दो रोगहरूको उच्च जोखिमसम्म बनाउन सक्ने विभिन्न अध्ययनहरूले देखाइरहेका छन्। कतै प्लास्टिकमा हामी र प्लास्टिकले हामीलाई त खाइरहेको छैन?
सन् २०२२ मा नेदरल्यान्डको ब्रिज विश्व विद्यालयमा आम्स्टर्डमले गरेको अध्ययनमा मानिसको रगतमा पहिलो पटक पोलिमरका सूक्ष्महरू फेला परेका थिए। यसरी रगतमा मिसिएर बग्ने सूक्ष्म प्लास्टिकले नसा तथा मानवको कोषहरूमा पनि हानी पुर्याउने अनुसन्धानहरूले देखाइरहेका छन्। ह्वांग र उनको समूहले मुसा तथा मानवको विभिन्न कोषमा गरेको अनुसन्धानअनुसार २० माइक्रो मिटरभन्दा माथिका सूक्ष्म प्लास्टिकले कोषहरूमा हानी गर्ने कुरा 'साइन्स टोटल इनभाइरोमेन्ट' मा २०१९ मा प्रकाशित गरेका छन्। यस्तै समुद्री जीवहरूमा पनि माइक्रो प्लास्टिकहरू भेटिएका छन्। समुद्री माछाहरू बढी उपयोग गर्ने व्यक्तिहरूमा यसको सङ्क्रमण अझ उच्च हुन सक्ने अध्ययनहरूले देखाउँछन्।
ए जे रोस्को अनुसन्धान समूहले 'क्यान्सर, कजेज एन्ड कन्ट्रोल' नामक जर्नलमा २००५ मा प्रकाशित खोजअनुसार कपडा र कपडा उद्योगमा काम गर्ने मानिसहरू क्यान्सरको उच्च जोखिममा रहन सक्ने कुरा उल्लेख गरेका छन्। सांघाई चीनमा महिलाहरूमा गरिएको अनुसन्धानमा उक्त कामदार महिलाहरू उच्च कोलेट्रोल क्यान्सरको जोखिममा रहन सक्ने पाइएको छ। यसको मुख्य कारण लामो समयसम्म बनावटी फाइबर र सूक्ष्म प्लास्टिकसँगको सङ्गत नै हो।
यस्तै सेलवेन चामोटले 'इन्टरनेशनल अर्चिएभ्स अफ अकुपेसनल एन्ड इनभाइरोमेन्टल हेल्थ' नामक जर्नलमा प्रकाशित शोधपत्रअनुसार पनि टायर उद्योगका कामदार क्यान्सर जस्ता रोगको उच्च जोखिममा रहने कुरा भेटिएको छ। यस्तै पिलेन्ट र उनको समूहले यस्ता फाइबर श्वासप्रश्वास नली, आन्द्रा जस्ता रही घाउ बनाउन सक्ने कुरा बुङ्गुरलाई लिएर गरिएको अनुसन्धानमा देखिएका छन्।
यति मात्र नभएर डा. एन्ड्रयू र उनको समूहले डुक विश्व विद्यालयमा गरेको अनुसन्धानमा पोलिइस्टेरिनले दिमाग र नासाको कोषहरूमा जोडिन सक्ने र जसको कारणले हातका औँलाहरू काम्ने, सामान्य उठबस गर्न, लेखपढ गर्न गाह्रो हुने जस्ता दीर्घकालीन समस्या आउन सक्ने उल्लेख गरेका छन्।
आइ नेपिएर र उनको अध्ययन समूहले 'वान अर्थ' मा प्रकाशित शोधपत्रअनुसार सगरमाथाबाट सङ्कलन गरेको नमुनाहरूमा पनि सूक्ष्म प्लास्टिक भेटिएको उल्लेख गरेसँगै सूक्ष्म प्लास्टिक भेटिएको क्षेत्र अझै धेरै फराकिलो भएको छ। उक्त अध्ययनमा उच्चतम ८४४० मिटरसम्म पनि पोलिस्टर भेटिएको अनुसन्धानमा उल्लेखित छ। यस्तै राजेश्वरी प्रधान मल्ल र उनको अध्ययन समूहले सन् २०२२ मा 'वाटर, एयर एन्ड सोइल पलुसन' मा प्रकाशित अनुसन्धानमा नेपालको फेवा तालको किनारमा पनि मुख्यतः पोली इथाइलिन र पोली प्रोपाइलिन जस्ता सूक्ष्म प्लास्टिक भेटिएको उल्लेख गरेका छन्। उक्त कुरा प्लास्टिक प्याकिङ, प्लास्टिक झोला, माछा मार्ने जाली आदि बनाउन निकै प्रयोग हुने गर्छ।
यस्तै डा. भानुभक्त न्यौपाने र उनको अध्ययन समूहले 'नेपालको सप्तगण्डकी नदी प्रणालीमा माइक्रो प्लास्टिक प्रदूषणको वितरण' विषयमा गरेको अनुसन्धानमा सप्तगण्डकी नदी प्रणालीमा तीस विभिन्न स्थानबाट सङ्कलन गरेको पानीको नमुनामा करिब ७०% सूक्ष्म प्लास्टिक ३०-१०० माइक्रो मिटरका भेटिएको उल्लेख गरेका छन्। साथै राजमार्ग र बस्ती क्षेत्रमा सङ्कलन नमुनामा तुलनात्मक धेरै सूक्ष्म प्लास्टिकहरू फेला परेको र उक्त प्लास्टिकहरू पोलिभिनाइल क्लोराइड, पोलिइथाइलिन, सेलोफेन, पोलिइथाइलिन टेरिफेलेट रहेको अनुसन्धानमा खुलाएका छन्।
सावधान र विकल्पहरू
प्लास्टिकको प्रयोग दिन दुई गुणा रात चौगुना बढ्दै गर्दा यसको उचित व्यवस्थापन, प्रशोधन र प्रदूषण नियन्त्रण गर्नु आज विश्व जगतका लागि चुनौती रहेको छ। यसका लागि जनस्तर, सरकार र विश्वव्यापी नै लाग्नु निकै आवश्यक छ।
सामान्यतः यसको मुख्य सावधान भनेको कम प्रयोग गर्नु, यत्रतत्र छरिन नदिई उचित व्यवस्थापन नै हो। जन जनस्तरदेखि सकेसम्म र सम्भव भएसम्म प्लास्टिक वस्तुहरूको प्रयोग नगर्ने वा त्यसको वैकल्पिक वस्तुहरू प्रयोग गर्ने हो भने धेरै हदसम्म यसको प्रयोग न्यूनीकरण गर्न सकिन्छ। जस्तै प्लास्टिकका बोतल, भाँडाकुँडा अथवा प्याकेजिङका सट्टा सिसाको, स्टेनलेस स्टिल आदिको प्रयोग, यस्तै प्लास्टिक प्लेटको सट्टा सामान्य दुना टपरीको प्रयोग, पानीको जारको विकल्पमा तामाको गाग्रीको प्रयोग, प्लास्टिकको चपिङ बोर्ड, पिर्काको विकल्पमा काठको पिर्का फल्याकको प्रयोग, प्लास्टिकको सार्वजनिक डस्टबिनको सट्टा डोको वा कार्टुनको प्रयोग, फाइबर ज्याकेट र सिरकको सट्टा कपासको वैकल्पिक प्रयोग गर्न सकिन्छ।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। यस्तै हरेक नागरिकलाई प्लास्टिकको प्रदूषणको असर, आधार, र न्यूनीकरण बारे सचेत गराउनु निकै आवश्यक छ।
सरकार स्तरबाट पनि यस्ता प्लास्टिकजन्य सामानको विकल्प सहित निषेध जारी गर्नु, खानेकुरा वा दैनिक उपयोग वस्तुहरूको गुणस्तरको परीक्षण आदि सँगै जनस्तरलाई सचेत गराउनु निकै आवश्यक छ। यस्तै विश्वव्यापी रूपमा पनि प्लास्टिक उत्पादनमा प्रयोग हुने रसायनहरूको विकल्प खोजी र केही परिमार्जनसँगै 'हरित प्लास्टिक' र 'बायो प्लास्टिक' को अवधारणासँगै विभिन्न ध्यान अनुसन्धान र परीक्षणहरू भइरहेको छन्। यसलाई निरन्तरता र जोड दिनु आजको आवश्यकता हो।
अतः बहु उपयोगी, तुलनात्मक हल्का हुने प्लास्टिक र यसका असरहरूलाई हल्का लिने हो भने यसले स्वास्थ्य, पर्यावरण आदिमा देखाउने सक्ने बहुआयामिक असरहरू हामीहरूको लागि निकै महँगो पर्न जाने कुरा निश्चित छ।
(अर्याल रसायनशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर अनुसन्धानरत छन् भने अधिकारी रसायनशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हुन्।)