घण्टौँसम्म मोबाइलमा घोत्लिइरहेका केटाकेटीहरू देखेर उनीहरूका अभिभावकहरू दिक्क छन्। केटाकेटी मात्र नभएर युवायुवती र बुढापाकाहरूले पनि मोबाइल चलाउनलाई आफ्नो दैनिकी बनाएका छन्। तर पनि अलि परिपक्व मान्छेहरू टिप्पणी गर्न छोड्दैनन्- 'हामी केटाकेटी हुँदा त यस्तो गर्दैन थियौँ। अचेलका केटाकेटीहरू के भाका!'
यही टिप्पणी ती युवायुवती अथवा केटाकेटीहरूका परिपक्व आफन्तले गर्दा तिनीहरू ओठे जवाफ फर्काउँछन्, 'तपाईंको पालोमा यस्तो थियो र? भएको भए तपाईं पनि यस्तै हो।' उनीहरू अभिभावकहरूलाई पनि यसै गरी उडाउँछन्।
मेरा केही आफन्त पट्टिका भाइबहिनीहरू मलाई कुनै बेमेल कुराहरूमा गिज्याउँछन्। मानौँ म अघिल्लो पुस्ताकी हुँ। उनीहरूको मनोविज्ञानमा पारिरहेको असरका बारे म एकदम सचेत छु। तर उमेरले हो कि किन हो, उनीहरू भने सचेत छैनन्। मलाई आफ्नो उमेरभन्दा धेरै अघि उनीहरू परिपक्व भएका हुन् कि भन्ने लाग्छ। यसलाई सकारात्मक वा नकारात्मक जस्तो तरिकाले पनि लिन सकिएला। तर मैले चर्चा गर्न खोजेकी त्यो होइन।
मलाई बालबालिका तथा किशोर किशोरीहरूका मनोदशा र उनीहरूले दैनिक जसो सामना गर्ने मानसिक अपराधका बारेमा जान्ने उत्सुकता जागेको छ। अझ सामाजिक सञ्जालमा बाल मस्तिष्कको प्रयोग अनियन्त्रित र भयावह जस्तो देखिन्छ।
प्रयोगकर्ताको मानसिक स्थिति
सुरु सुरुमा सामाजिक सञ्जालमा आउने सामान्य प्रतिक्रियाले मेरो मनमा प्रायः दिनभर जसो खुलदुली भई नै रहन्थ्यो। कसैले राम्रो भन्दा खुसी लाग्थ्यो भने मन नपर्ने टिप्पणी गर्दा झनक्क रिस उठ्थ्यो। एउटा सामान्य पोस्टले सिर्जना गरेको मानसिक द्वन्द्वले घण्टौँ सताउँथ्यो। प्रतिक्रियाको सङ्ख्याका लागि साथीहरूसँग प्रतिस्पर्धा हुन्थ्यो। मानिसहरूको स्वभाव पनि रोचक लाग्थ्यो।
सोझामा बोल्न नसक्नेहरू पनि अनलाइनमा घण्टौँ बोल्न सक्थे। प्रत्यक्ष भेटघाटका क्रममा दिनभरि मुस्किलले एक दुई जनासँग बोलिने समयमा सामाजिक सञ्जालमा हजारौँ साथी पुगेका थिए। यस्तो मेरा लागि सामाजिक सञ्जाल प्रयोगका सुरुआतका दिनमा हुन्थे। तर अचेल यस्तो हुँदैन। अहिले यस्ता प्रतिक्रिया र सम्पर्कले कुनै अर्थ राख्दैनन्। तर पनि अधिकांश प्रयोगकर्ताको यही मानसिकता हुने गरेको देखिन्छ। प्रयोगकर्ताहरू यसबाट पाइने प्रतिक्रियाहरूबाट चाँडो उत्साहित हुन्छन् र चाँडै विक्षिप्त पनि। उनीहरूको मनोभावना अक्सर सञ्जालभित्र र यसको वरिपरि मात्र घुमिरहेको हुन्छ।
सुन्दर हुनुपर्छ भन्ने मानसिकताको विकास
सुन्दरताको लागि प्रतिस्पर्धा त सायद मानिसको चेतनाको अस्तित्वसँगै सुरु भएको होला। सुन्दरतालाई आआफ्नै तरिकाले जसरी विश्लेषण गरे पनि मान्छे आफू सुन्दर देखिनै पर्छ भन्ने हठ छोड्दैन। न मानिस सुन्दर हुन सकिनँ भनेर छटपटाउन छोड्छ न ऊ कुरूप जस्तो शब्द समातेर अरूको भद्दा मजाक बनाउन पछि पर्छ। यस्तो धेरै अघिदेखि भइरहेको छ र कतिपय कुरा सामाजिक नियन्त्रणभन्दा बाहिर गइरहेको पनि छ।
वर्तमान सूचना प्रविधिको दुनियाँमा सुन्दरताका नाममा हुने अपराध संहितालाई कसरी अर्थ्याउन सकिन्छ त? राम्रो मान्छे हुन सुन्दर नै देखिनु पर्छ र सुन्दर नदेखिनु दुर्भाग्य हो भन्ने मान्यता कसरी दिनानुदिन विकसित भइरहेको छ? यस कुरामा संवेदनशील हुन जरुरी छ।
आजकाल फोटो इडिटिङजस्ता एप्सहरूको प्रयोगबाट हामीले आफ्नो फोटो सुन्दर मात्र हैन, आफ्नो शारीरिक ढाँचा, अनुहारको बनोट आदि विविध कुरा परिवर्तन गर्न सक्छौँ। यस्ता इडिट गरिएको फोटो हामी सञ्जालहरूमा राख्छौँ। त्यसपछि भर्चुअल संसारमा यस्ता चिजहरूको सीमित अथवा बृहत् घेरामा प्रतिस्पर्धा चल्छन्। तर यसरी इडिट गरेका फोटो सामाजिक सञ्जालमा हालेपछि अब हाम्रो मनोविज्ञान कसरी चल्न थाल्छ? हाम्रो जीवनमा अब त्यहाँ पाउने हरेक प्रतिक्रियाले निकै अर्थ राख्न थाल्छ। भ्रमपूर्ण जीवन जिउन अभ्यस्त गराउन थाल्छ। वास्तविकता र भ्रमको द्वन्द्वमा हामी नराम्ररी फस्ने गर्दछौँ।
मनोचिकित्सकहरू गम्भीर प्रश्न उठाउँछन्- एउटा अप्राकृतिक रूपले परिवर्तन गरिएको फोटो सामाजिक सञ्जालमा हाल्दा र त्यसबाट तपाईं हामीले पाउने प्रतिक्रियाले के साँच्चिकै प्राकृतिक रूपमा बन्द कोठा या सञ्जाल बाहिर भौतिक रूपमा रहिरहेको हामीलाई आत्मसम्मान र प्रोत्साहन मिलिरहेको हुन्छ?
यो वास्तवमा गम्भीर प्रश्न नै हो। यस्ता गतिविधिले हाम्रो खराब मनोदशालाई बढवा दिइरहेको हुन्छ। यसले हामीमा असुरक्षा र बेचैनी मात्र बढाइरहेको हुन्छ। हामी वास्तविक संसारसँग घुलमिल हुन, यसलाई सामना गर्न झन्-झन् पछि परिरहेका हुन्छौँ। एउटा राम्रो इडिट गरिएको तस्बिर राखेपछि कल्पना गरौँ! अर्को दिन घरबाहिर निस्कँदा प्रशस्त कस्मेटिक र मेकअप प्रयोग नगरी हामी निस्केका हुँदैनौँ।
कस्मेटिक र सर्जरी
केही वर्ष अगाडि अन्तर्राष्ट्रिय मिडियामा कुरूप हुनु दक्षिण कोरियामा कति पीडादायी छ भनेर समाचार छापिएको थियो। दक्षिण कोरियालाई प्लास्टिक सर्जरीको मक्का भनेर पनि चिनिन्छ। तथ्याङ्क यति तीव्र गतिमा बढ्दै थियो कि महिला अधिकारकर्मीहरूले यसका विरुद्ध प्रदर्शन नै गर्नु परेको थियो। उनीहरूको मुख्य निशाना कस्मेटिक सामानहरू जसले मानिसलाई पलभरमै सुन्दर बनाइदिने दाबी गरिरहेका छन्, तिनका विरुद्धमा थियो।
प्लास्टिक सर्जरी कतिका लागि वरदान साबित पनि भएको उदाहरण पनि छन्। यसले हीनताबोध भएर बाँचिरहेकालाई प्रोत्साहन दिन्छ। तर अत्यधिक प्रयोग र दुरुपयोगले मानसिक समस्यालाई बढवा दिन्छ। कस्मेटिक्सले कुरूपता छोपे पनि यसको दुरुपयोगले सुन्दर देखिनु पर्छ भन्ने मनोदशामा कुनै फेरबदल ल्याउँदैन।
केही महिना अगाडिको एक अन्तर्वार्तामा नेपालकी एक चर्चित सेलिब्रेटीले भनेकी थिइन्, उनी मेकअप बिना बाहिर निस्कनै सक्दिनन् रे! अनि उनले सँगै थपिन् 'बाहिर निस्कँदा अरू मानिसहरूले फलानो सेलिब्रेटी त कति नराम्रो रहेछ भनेको सुन्नुपर्छ।' योबाट पनि के प्रस्ट हुन्छ भने नेपालमा सेलिब्रेटीहरू कुन लेभलमा ब्युटी प्रोडक्टप्रति आश्रित छन्। उनीहरूलाई नै आइडल मानेर बस्ने बाँकी मानिसहरूको अवस्था झन् कति विकराल होला। कल्पना गरौँ त।
सेलिब्रेटीहरूका जीवनशैलीबाट प्रभावित हुनु र उनीहरूको जस्तै जीवन बाँच्न खोज्नु, उनीहरूले जस्तै कपडा, ब्याग, फोन तथा कस्मेटिक प्रोडक्ट प्रयोग गर्ने चाहना राख्नु आदि कारणहरूले गर्दा पनि आजकल आफ्नो अनुहार लुकाएर कस्मेटिकको भुमरी भित्र युवा पुस्ता धेरै होमिँदै छ। अघिल्लो पुस्तामा पनि यो समस्या नभएको भने होइन। यो त्यसैको निरन्तरता नै हो। तर प्रविधिको प्रयोगले यसलाई अझ विकराल बनाइदिएको छ। आँखाको चाउरी हटाइदिने प्रोडक्ट, आफ्नो उमेरभन्दा कम उमेरको जस्तो देखिने प्रोडक्टहरूको प्रयोग ज्यादा बढिरहेको छ।
कुनै पनि सामान प्रयोग गर्दा त्यसको सामग्री नहेर्ने हाम्रो बानी विकसित भएको छ। हामीलाई त्यसतर्फ फुर्सद नै छैन। अझ कुनै प्रोडक्टले आफूलाई गोरो बनाउँछ भनेपछि त त्यो सामान अमृत जस्तै भइहाल्यो। किन हेर्नु पर्यो र? यो समस्या आजभोलि एकदमै धेरै बढेको छ। यसको अनुतित लाभ गोरो हुनु नै राम्रो हुनु हो भन्ने भाष्यलाई जोड दिएर बनाइने फेयरनेस क्रिम जस्ता प्रोडक्टहरूले उठाइरहेको छ।
अपराध र हिंसा
सन् २०१७ नोभेम्बरमा यूक्याइपा क्यालिफोर्निया निवासी १३ बर्सिया रोसेली एभिला आफ्नो घरमा मृत भेटिइन्। स्कुलमा उनका साथीहरूले उनलाई कुरूप भनेर मानसिक पीडा दिएका कारण गलत बाटो रोज्न पुगिन्। यी कुरालाई उनको मृत शरीरसँगै फेला परेका प्रशस्त चिठीहरूले प्रमाणित गरेका थिए। ती चिठीहरू आफैमा आधारहरू थिए कि मानसिक रूपमा उनी कति प्रताडित थिइन् भनेर।
तर कतिपय अवस्थामा बच्चाहरू आफ्ना घरपरिवारलाई यस्ता कुराहरू बताउँदैनन्। उनीहरू भित्रै भित्र विक्षिप्त भइरहेका हुन सक्छन्। यस्तै घटना ११ बर्सिया गेइल म्याकिनीलाई भएको थियो। उनी आफ्नो मोटो शरीरका कारण मजाकको पात्र बनिरहेकी थिइन्। उनले करिब पाँच वर्ष उक्त पीडा सहेकी थिइन् र पनि उनले आफ्नो परिवारलाई यस विषयमा झनकसम्म हुन दिइनन्। जब उनकी आमाले त्यो थाहा पाइन् त्यस बेलासम्म धेरै ढिलो भइसकेको थियो। १६ वर्षको उमेर उनले आफ्नो ज्यान गुमाइन्।
यी त प्रतिनिधि घटना मात्र हुन्। एसिड आक्रमण, लैङ्गिक विभेद, सुन्दरतालाई लिएर सामाजिक हिंसा, पीडा र मनोभावनामा बाँच्नु परेका धेरै बालबालिका तथा किशोर किशोरीहरू समाजमा कति छन् कति। न उनीहरूको पीडा कसैले बुझ्दछ न चर्चा नै गरिन्छ। कतिपय अवस्थामा उनीहरू यी कुराहरू बाहिर ल्याउन सक्दैनन् र सिकार भइरहन्छन्। नेपाली समाज पनि यसबाट अछुतो छैन। यो फैलिने क्रममा छ। फाट्टफुट्ट सतहमा आइरहेको पनि छ। शरीर र सुन्दरताका विषयमा भइरहेका हिंसा र अपराधलाई कसरी लिन सकिन्छ? यसलाई के-के कुराले बढवा दिइरहेका छन्? यसलाई गम्भीर ढङ्गले लिइनु पर्दछ।
विज्ञापन र अनलाइन सपिङ
जब हामी अनलाइनमा कुनै सामान अथवा बस्तु किन्नका लागि हेर्छौँ हामी कस्ता चिजमा आकर्षित हुन्छौँ? हामीलाई आकर्षित गर्न कस्ता कुरा राखिएका हुन्छन् त? प्रोडक्ट मार्केटिङ गर्नेहरूले वर्षौँदेखि अपनाउने विधि भनेकै क्रेतालाई बस्तुतिर आकर्षित गर्नु हो। यस कारण सामानहरूको फोटो अथवा भिडिओ सुन्दर बनाइएका हुन्छन्। हामी कोही सुन्दर व्यक्तिलाई सामाजिक सञ्जालमा पछ्याउँछौँ या मन पराइरहेका हुन्छौँ। हामी ठिक त्यसै गर्छौँ जुन हामी अनलाइनमा बस्तु खरिद गर्दा गरिरहेका हुन्छौँ। हामी सुन्दरता प्रति नै आकर्षित भइरहेका हुन्छौँ।
विज्ञापनकर्ताहरू प्रोडक्टभन्दा पनि विज्ञापनमा खेल्ने मोडल केन्द्रित हुन्छन्। जबकि उक्त मोडलको प्रोडक्टमा कुनै लेनादेना हुँदैन। कपाल उमार्ने तेलदेखि सुन्दर बनाउने कस्मेटिक यसैका उदाहरणहरू हुन्। यस्ता विज्ञापनहरू नियन्त्रणमुखी हुनु पर्दछ। यो नियन्त्रण र नियमन गरिएन भने सुन्दरताको आडमा हुने अपराध र हिंसा कहिल्यै अन्त्य हुने छैन।
अन्त्यमा, वर्तमान समयमा बालबालिका, किशोर किशोरी, र युवाहरूले सामना गरिरहेका मानसिक दबाब र अपराधहरूलाई खुला रूपमा बहसमा ल्याउनु पर्दछ। सामाजिक सञ्जालमा लोकप्रियता र सुन्दरताको प्रतिस्पर्धाले मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। सामाजिक सञ्जालमा सुन्दर देखिनको लागि फोटो सम्पादन र कस्मेटिक अत्यधिक प्रयोगले वास्तविकता र भ्रमको बिचमा द्वन्द्व गराएको छ।
प्लास्टिक सर्जरी र कस्मेटिक दुरुपयोगले मानसिक समस्या बढाइरहेको छ। विज्ञापन र अनलाइन सपिङले सुन्दरताको भ्रम फैलाइरहेको छ, जसले गर्दा समाजमा सुन्दरताका नाममा हुने हिंसा र अपराधहरू बढिरहेका छन्। यसले गर्दा सामाजिक नियमन र संवेदनशीलता जरुरी छ, ताकि रूप र आवरणका नाममा हुने विभेद र हिंसा अन्त्य हुन सकोस्। हामी सबैको दायित्व हो कि समाजलाई यस्ता अपराध र हिंसाबाट मुक्त राख्न प्रयास गरौँ।
(लेखक इन्जिनियर हुन्।)