बाघ एक मांसाहारी जनावर हो। पाटे बाघ (बेंगाल टाइगर) हाम्रो देशबाहेक भुटान, भारत र बङ्गलादेशमा पनि पाइन्छ। बाघको सङ्ख्या झन्डै चार हजारदेखि ४५ सयसम्मको हाराहारीमा छन्। नेपालमा भने ३५५ बाघ रहेको तथ्याङ्क छ।
नेपालमा पाटे बाघ पूर्वी नेपालको पर्सा राष्ट्रिय निकुञ्ज र छेउछाउका क्षेत्रदेखि पश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पाइन्छ। तर पछिल्लो अध्ययनहरूले केही थप क्षेत्रहरू जस्तै कपिलवस्तु र जाजरकोटमा पनि बाघ देखिएको थियो। तर तराई बाहेक अन्य क्षेत्र जस्तै पहाडी वा मध्य पहाडी क्षेत्रमा देखिएको बाघ घुमन्ते भएको हुन सक्छन् अथवा आहारा प्रजातिको खोजीमा वा यस्तै अन्य कारणले गर्दा आफ्नो निश्चित वासस्थानबाट थोरै समयका लागि टाढा गएको हुन सक्छन् भन्ने धेरै अनुसन्धानकर्ताहरूले भनेका छन्।
बाघ पारिस्थितिक प्रणालीको एउटा सबैभन्दा महत्त्वपूर्ण प्रजाति हो। बाघले पारिस्थितिक प्रणाली सन्तुलन राख्नमा अहम् भूमिका खेल्छ। पारिस्थितिक प्रणाली सन्तुलन राख्न बाघले जङ्गलमा भएका आहारा प्रजातिहरू जस्तै बँदेल, बाँदर, मृग, आदि जनावरहरूलाई आहाराका रूपमा खाने गर्छ। यसरी बाघले आहारा प्रजातिहरूलाई आफ्नो आहाराको रूपमा खाने हुँदा ती जनावरहरूको सङ्ख्या सन्तुलनमा रहन्छ।
उदाहरणका लागि- यदि जङ्गलमा बाघ छैनन् भने आहारा प्रजातिहरू जस्तै बँदेल, बाँदर, मृग, आदि जनावरको सङ्ख्यामा उल्लेखनीय रूपमा बढ्छ जसले गर्दा यी जनावरहरूलाई पर्याप्त मात्रामा चरन क्षेत्रको अभाव हुन्छ र अन्तमा गाउँछेउ वा मानिसले लगाएको खेतबारीसम्म आउँछन्। जसले गर्दा मानिससँगको द्वन्द्व बढ्न सक्छ।
बाघले मन पराउने मुख्य जनावरहरूमा बँदेल, बाँदर, मृग, गौरी गाई र अन्य केही जनावरहरू पर्छ। बाघले समग्रमा मन पराउने जनावरहरू सामान्यतया ३० देखि ६० किलोग्राम तौल भएको भनेर विभिन्न लेखहरूले भनेका छन्। यद्यपि कतिपय लेखहरूमा बाघले १०० किलोग्रामदेखि १५० सम्मको जनावरलाई धेरै मन पराउने भनेर भनेका छन्।
बथानमा देखिने मृगहरूमा बाघले आकारमा ठुला भएको मृगलाई रोज्ने गर्छ। यसरी ठुला मृग रोज्नुको मुख्य कारण एक पल्ट शिकार गर्दा बाघलाई २-३ दिनसम्म आहार पुग्छ भनेर हो। साना साना जनावरहरू जस्तै २-३ किलोग्राम तौल भएको खरायो, दुम्सी आदि मार्नु पर्दा बाघलाई आहारा पुग्दैन, तसर्थ त्यस्ता जनावर धेरै पटक मार्नु पर्ने हुन्छ। धेरै समय र शक्ति खर्च हुन्छ।
तसर्थ बाघको पहिलो रोजाइ ठुला जनावरहरू जस्तै मृग, जरायो, बँदेल, गौरी गाई नै हुन्छ। ती जनावरहरू शिकार गर्न बाघलाई त्यति सजिलो भने हुँदैन। बाघलाई एउटा जनावर समात्न धेरै समय खर्च गर्नु पर्छ। कहिलेकाहीँ एउटा मृग मार्न बाघलाई २-३ दिनसम्म कुर्न पर्छ। बाघले एक पटकमै मृग, जरायो, आदि समात्न सकेन भने उसले अर्को प्रयासको लागि फेरि समय र शक्ति खर्च गर्नु पर्ने हुन्छ। तसर्थ बाघले शिकार गर्दा समय र शक्ति दुवै अत्यधिक मात्रामा खर्च गर्छ।
बाघले आफ्नो आहारा फुत्केर नजाओस् र एकै पटकमा शिकार गर्न सकियोस् भन्ने उद्देश्यले गर्दा शिकार गर्न समय र शक्ति सँगसँगै जुक्ति लगाउँछ। उदाहरणका लागि मृग, जरायो, बँदेल आदिको चरन क्षेत्र वरपर वा पानी मुहान छेउछाउ अरूले नदेख्ने गरी घण्टौँसम्म लुकेर बस्छ। मृग, जरायो, बँदेल, आदि चर्दै बाघको नजिक आएपछि अनि बल्ल बाघले समात्छ। मृग, जरायो चरिरहेको ठाउँमा गएर समात्नु पर्यो भने बाघले झाडी, माटोको थुम्का आदिको मद्दतले लुक्दै मृग, जरायोको छेउसम्म पुग्छ र आफूले रोजेको जनावर समात्छ। यसरी बाघले शिकार गर्दा त्यहाँको वातावरण आफ्नो अनुकूल बनाउँछ। जस्तै कताबाट मृग, जरायोको छेउ पुग्दा सजिलो हुन्छ अथवा उनीहरू भागेर कता जान्छन्, वरपरको भौगोलिक वातावरण कस्तो छ आदि सबै अनुकूल मिलाएर बल्ल शिकार गर्ने गर्छ।
बाघले कहिलेकाहीँ ठुला प्रजातिका मृग जस्तै जरायोलाई धरापमा पारेर पनि शिकार गर्ने गर्छ। उदाहरणका लागि, बाघले जरायो चरिरहेको ठाउँ परैबाट पत्ता लगाउँछ र त्यस क्षेत्रको वरपर आफ्नो गन्ध छोड्ने गर्छ। यसरी गन्ध छोड्ने बेला बाघले दिसा पिसाब गर्ने, माटोमा आफ्नो जीउ घस्ने आदि गर्ने गर्छ र वातावरण अनुकूल आफू एक छेउमा जरायोलाई पर्खेर बस्छ। यसरी जब जरायो चर्दै जाँदा बाघले गन्ध छोडेको ठाउँ नजिक पुग्छ अनि जरायो आत्तिएर बाघको गन्ध नभएको ठाउँतिर भाग्छ जहाँ बाघले जरायोलाई सुरुबाटै पर्खेर बसेको हुन्छ। यसरी आत्तिएर जरायो आउन साथ बाघले आफ्नो आहारा बनाउँछ।
यसरी माथि प्रस्तुत गरेको बाघको बानीहरू बाहेक अन्य धेरै प्रकारले बाघले शिकार गर्ने गर्छ। उदाहरणको लागि- जनावरको आवाज सुनेर, अरू जनावरको गन्ध थाहा पाएर लगायतबाट।। यद्यपि यो विषयमा अझ धेरै अध्ययन अनुसन्धान गर्न बाँकी छ।
(लेखक मोर्गन स्टेट युनिभर्सिटी मेरिल्यान्ड, अमेरिकाबाट जीवविज्ञानमा विद्यावारिधि गर्दै छन्।)