'भ्रष्ट कर्मचारीले पैसा जति खाए अनि केको गतिलो काम हुन्थ्यो!'
यो भनाइ मेरो थिएन। एक दिन पोखराबाट काठमाडौँ नपुगुन्जेल गाडीमा कैयौँ पटक कर्मचारी र नेताहरूलाई गरेका यस्ता गालीहरू सुनेँ। यी गालीहरू सुन्दा सुन्दै म पनि साँच्चै हो कि क्या हो भन्न बाध्य भएँ।
'अलि अलि काम त गरेकै छन्, अब हुन्छ होला नि,' यति भन्दा नभन्दै साथी कड्किन थालिहाले, 'कति वर्ष भयो यो बाटो बन्न सुरु भएको, अवस्था उस्तै छ। बनाउलान् भन्दा झन् बिगारेको छन्।'
'यी चोर कर्मचारीले आफू कमिसनमा बिकेर काम नगराएका हुन्,' अघिल्लो सिटमा बसेका बुढा बा चर्किन थाले।
पछिल्लो सिटको दिदीले थप्नु भयो, 'कर्मचारी मात्रै कहाँ हुन् र, नेता र कर्मचारी मिलेर हो नत्र त ठेकेदारले काम गरिहाल्थ्यो नि।'
यति भएपछि अगाडि पछाडि सबै सिटका यात्रुहरूले काठमाडौँ नपुगुन्जेल जहाँ गाडी खाल्डोमा पर्छ त्यहाँ नेता र कर्मचारीलाई सम्झिहाल्ने रहेछन्। मैले मनमनै सोचेँ, सम्बन्धित कर्मचारी र नेताहरूलाई कति बाडुल्की लाग्दो हो!
अर्को दिन गाउँमा यसो सानोतिनो पसल गर्ने एक जना दाइले बिहानै फोन गर्नुभयो, 'भाइ, आज म बजार आउँछु, कर कार्यालय जाऊँ है सँगै, म केही जान्दिनँ।'
यति भनेपछि के हुन्न भन्नु, हुन्छ आउनु न भनेँ। गाउँबाट उहाँ आएपछि फोन गर्नुभयो, म तुरुन्तै निस्केर कर कार्यालय पुगेँ। त्यहाँ जाँदा लामै लाइन भइसकेको रहेछ। लाइनमा बस्नेहरू प्रायः यही देशमा बसेर केही गर्छु भनी सानोतिनो व्यापार व्यवसाय गरेकाहरू नै थिए। लाइनमा उभिइरहेका भन्दै थिए, 'राज्यलाई पैसा दिन पनि यति गाह्रो।'
यत्तिकैमा अर्कोले बिचमै भने, 'राज्यले जनतालाई केही देला त आसै छैन, उसैलाई कर तिर्न पनि यति सास्ती।'
अर्को दिदीले थपिन, 'यी नै कर्मचारी र नेताको भुँडी भर्न पैसा तिर्न पनि यति दुःख गर्नुपर्ने।'
त्यहाँ पनि मनमनै हो है भनेर भन्ने बाहेक अरू भन्न सकिएन। त्यसैले धेरै नबोली प्रक्रिया पूरा गरी पालो आएपछि कर तिरेर त्यहाँबाट निस्कियौँ।
शनिबारको दिन थियो, गाउँतिर यसो सबैलाई भेटघाट गरौँ न त भनेर निस्किएँ। गाउँको बिचमा रहेको चौतारीमा ८/१० जना जम्मा भएर गफ चुट्दै रहेछन्। भन्दै थिए- 'देश कर्मचारी र नेताले सके, विकास गर्न पर्ने केही हैन, मिलेर देश लुट्ने काम बाहेक अरू केही गर्न सकेनन्। हुँदा हुँदा नयाँ भनेर आएका पनि भागबन्डामा बिक्न लागे।'
म पनि चौतारीको छेउमै थुचुक्क बसेर गफ सुन्न लागेँ। यसो माहौल शान्त भएपछि भनेँ, 'हुन्छ, बिस्तारै विकास त भएकै छ नि। २/४ वर्ष अगाडि वर्षैपिच्छे भत्किएर ढुङ्गाले चिन्नु पर्ने चौतारी अहिले प्लास्टर गरेर कति राम्रो भएको छ। अहिले यसैमा बसेर राज्यले केही गरेन भनेर गाली गर्न त पाउनु भएको छ नि।'
मैले यत्ति के भनेको थिएँ, सबैले एकै स्वरमा भन्न लागे, 'यति चौतारी बनाइदिएर राज्यले खुबै ठुलो काम गर्यो हैन? यही बनाउँदा त नेता र कर्मचारी मिलेर कति खाए।' उनीहरू ममाथि जाइलागे।
म पनि त्यहाँभन्दा बढी प्रतिवाद गर्ने अवस्थामा थिइनँ किनकि म पनि यही समाजको सदस्य थिएँ अनि नेता र कर्मचारीसँगै राज्यले जनताको मन जित्ने गरी उल्लेखनीय काम के नै गरेका छन् र भनेर भन्ने ममा पनि थियो।
'गाउँकै गन्यमान्य कान्छा साहुको एक्लो छोरा श्याम, यही बसी बसी खाए पनि चार पुस्तालाई पुग्ने सम्पत्ति छ' भन्दै गाउँमा चर्चा परिचर्चा हुने गर्थ्यो। तर श्याम दाइलाई यसले पुगेन, आफ्ना बाबाले चलाइरहेको व्यापार व्यवसाय छोडेर अमेरिकाको सपना देखे। ७०/८० लाख रुपैयाँ खर्च गरेर वर्ष दिनमा अमेरिका पुगेपछि एक दिन फेसबुकमा स्ट्याटस लेखे- 'मेरो सपनाको देश।'
एक दिन साहुनी कान्छी आमाले भन्दै थिइन्, 'अमेरिका पुगेर भाँडा माझेको छ मोरोले, यही बाले गरेको व्यापार सम्हालेर बस् भन्दा मानेन।'
उनको भनाइबाट सहजै बुझ्न सकिन्थ्यो कि छोराले यही देशमा केही नगरेर बिदेसिएकोमा उनी असन्तुष्ट रहिछन् भन्ने। मैले मनमनै सोचेँ, दाइको भाँडा माझ्ने ठुलो सपना रहेछ। मनमा कुरा खेल्यो, त्यो त यही नेपालमै पनि त हुन्थ्यो निर। के के न अमेरिका पुगेर डाक्टर, पाइलट नै हुने सपना रहेछ कि भनेको त।
दाइ अमेरिका पुगेपछि भाउजू अब गाउँ बस्ने त कुरै भएन। सहर त्यस्तै जमातले भरिएको छ जो आफूमा उपलब्ध भएको कुरामा कुनै सम्भावना नदेखी र नखोजी अर्कैको सुखमा रमाइरहेका छन्।
गाउँमा तीन खेती हुने उब्जिलो खेतबारी बाँझै छोडेर दुई वटा छोराछोरी च्यापेर सहर झरेकी भाउजू, दिउँसो छोराछोरी स्कुल पठाएर वल्लो पल्लो कोठाका दिदीहरूसँग गफिँदै थिइन्- 'कति छोई नसक्दो भएको हो तरकारी पनि, अरू सामान हेर्यो त्यस्तै छ। यो देशमा बसेर जीउ पाल्न नसकिने भइयो। सरकार के हेरेर बसेको होला, कमसेकम महँगी नियन्त्रण गर्न त पर्छ।'
जवाफ फर्काउन मन थियो, 'तपाईं जस्तै युवायुवतीहरू गाउँमा खेतबारी बाँझै छोडेर आएपछि कसले खेती गरेर सस्तो होस त नि!' तर त्यहाँ पनि केही नबोली सुनिरहेँ।
उल्लेखित परिदृश्य त केही प्रतिनिधिमूलक मात्रै थिए। समाजमा कर्मचारी, नेता र समग्र राज्यप्रति आम नागरिकको धारणा बुझ्न केही समय घरबाट बाहिर मात्रै निस्के पुग्छ। देश विकासको मुख्य दुई पक्ष हुन् राजनीति र सार्वजनिक प्रशासन। यिनैका संवाहक नेता र कर्मचारीमाथि यति धेरै नकारात्मक सोचले राज्यप्रति समेत नागरिकको आशा र भरोसा गुमेको अवस्था छ।
यो देशमा बसेर काम छैन भन्ने सोचबाहेक देश बन्छ र यही केही गर्न सकिन्छ भन्ने चिन्तन स्थापित हुन सकेको छैन। सयौँ जनाले सत्य कुरालाई पनि झुट भनेर भन्दै हिँडेपछि आखिरमा झुट नै साबित हुन्छ भनेझैँ 'यो देशमा बसेर केही गर्न सकिन्छ, राम्रा सम्भावनाहरू छन्' भनेर सुन्दर सपना देख्नेहरू विरलै मात्र भेटिन्छन्। कर्मचारी, राजनीतिज्ञ र समग्र राज्यप्रति नै यति धेरै नकारात्मक भाष्य स्थापित गरियो कि यो सहजै हट्न निकै कठिन हुने भइसक्यो।
यसरी निराश मानसिकतामा रुमलिएका नागरिकहरूलाई झनै निराश र राज्यप्रतिको केही हुँदैन भन्ने गलत भाष्यलाई अझै बल पुग्ने गरी अहिलेका उदीयमान राजनीतिक दलहरू समेत उद्धत भएको देख्दा लाग्छ, राज्यले आफूप्रति सकारात्मक सोच र चिन्तनशील नागरिक पाउन अझै पर्खिनु पर्ने भयो। आशा र सम्भावनाको खोजी गरी राज्यप्रति चिन्तनशील नागरिक बनाउनुभन्दा पनि निराशा र पुरानाले केही गरेनन् र हुँदैन भन्ने नकारात्मक मनोवृत्ति अनि चिन्तनबाट ग्रसित नयाँ राजनीतिज्ञबाट समेत आम जनताको मनमा स्थापित गलत भाष्य हटाउन सक्ने देखिएन।
विद्यमान व्यवस्था ठिक नहोला, पात्र र प्रवृत्ति खराब होलान् तर त्यसको समाधान निराशा बाँड्ने पक्कै होइन। सर्वप्रथम त आम नागरिकले यो देश बन्छ, यहाँ निकै सम्भावनाहरू छन् र हामी बनाउन सक्छौँ भन्ने सपना देख्नु पर्यो। ८/१० कक्षा पढ्दैबाट यो देशमा बसेर काम छैन भन्ने गलत चिन्तनबाट ग्रसित मानसिकताले सपना त देख्छ तर यो देशमा भन्दा अमेरिका, अस्ट्रेलिया अनि जापान पुगेर आफ्नो भविष्य सुन्दर भएको।
अतः राज्यको समुन्नति र विकासको लागि सबै राजनीतिक दल र नागरिक समाजले राज्यमा रहेका सम्भावनाहरू प्रस्फुटित गरिदिनु पर्यो, देश बन्दै बन्दैन भन्ने स्थापित गलत भाष्य निर्मूल पार्न आम नागरिकको मनोवृत्ति बदल्नु पर्यो, राज्यप्रति चिन्तनशील बनाउनुपर्यो जसले आम नागरिकले यही देशमै सुन्दर सपनाहरू देख्न सकुन्। तब मात्रै अन्य विकास र सुधार क्रमशः हुँदै जाने छ। अनि देश कसो नबन्ला र?