हामी परिवारमा ६ जना थियौँ। जुन दिन मेरी आमा समान भाउजूले जब छिटै आफू आमा बन्ने शुभ खबर दिनुभयो, त्यही दिनदेखि हाम्रो तयारी सुरु भयो। परिवारमा नयाँ आगन्तुक अर्थात् ७ औँ सदस्यलाई स्वागत गर्ने तयारी। उसलाई भित्र्याउन हामी हतारमा थियौँ।
म काठमाडौँ बाहिर गएर काम गर्नु पर्ने भएकाले दिनहुँ घर जान सक्ने अवस्था थिएन। त्यसैले भाउजूको गर्भवती अवस्थामा मैले खासै सहयोग गर्न सकिनँ। तर जब जब म छुट्टीमा घर जान्थेँ, उहाँको माया पहिलेभन्दा ज्यादा लागेर आउँथ्यो।
हरेक भिडिओ कलमा म सोध्ने गर्थेँ, 'भाउजू पेटमा किक हान्न थाल्यो?'
उहाँ उत्साहित हुँदै भन्नुहुन्थ्यो, 'अ हो नि, झन् भोक लागेको बेला त ड्याम्मै हान्छ।'
म त्यति सुनिरहँदा औधी खुसी हुन्थेँ, सँगसँगै यस्तो बेला भाउजूको साथमा हुन सकिनँ भन्ने पनि लागिरहन्थ्यो। म जुन जुन बेला घर जान्थेँ, मैले उहाँलाई कहिल्यै निराश भएको देखिनँ। सधैँ एउटै जोस, जाँगर र मिहिनेत। हुन त जबदेखि परिवारमा भाउजूको आगमन भएको थियो त्यसै बेलादेखि नै उहाँको जोस, जाँगर र सकारात्मक सोच मैले जस्ताको त्यस्तै पाएको छु। लाग्थ्यो मैले थप एक अभिभावक पाएको छु।
परिवारको सेवा गर्न पाए उहाँ सधैँ खुसी हुनुहुन्छ। मेरी भाउजू अत्यन्तै राम्री। रूप जत्तिकै व्यवहारमा पनि अब्बल, राम्रो, सहनशील र शालीन। हामीलाई चिन्नेहरू मध्ये केहीले त रहर गरेर भन्ने गरेको सुन्नमा पनि आएको थियो, 'बुहारी होस त सोजनकी दुलही सरु जस्ती।'
मैले मेरी भाउजूबाट धेरै कुरा सिक्ने मौका पाएको छु। एउटी छोरी, बहिनी, बुहारी, श्रीमती, भाउजू इत्यादि भएर निभाउनु पर्ने कर्तव्य मैले उहाँबाटै प्रस्ट सिकेको छु।
यस्ती राम्री महिलाले जन्मदिने बालक कस्तो होला भन्ने हेर्न हामी सबै व्यग्र प्रतीक्षामा थियौँ। अन्ततः हाम्रो प्रतीक्षाको घडी सकिएको थियो। अङ्ग्रेजी वर्षको अन्तिम महिनामा हामीले उपहारको रूपमा बाबु पाएका थियौँ, सार्भिन।
२०८० मङ्सिर २८ गते बाबु जन्मियो। बिहानीपख करिब ३:३० तिर यो खबर पाउँदा म मधेसको एक कुनामा निदाइरहेको थिएँ। त्यसै बेला मैले मेरो बाबुको अनुहार पहिलो पल्ट डिजिटल माध्यममा हेरिरहँदा खुसीले मन भक्कानिएर रोएको अझै सम्झन्छु। मेरा दाइ-भाउजू अब आमाबुबा भए, मेरो बाआमाले नाति पाउनुभयो अनि मैले नजन्माएको मेरो छोरा पाएर म फुपू भएँ।
बाबु जन्मेको करिब आठ दिनपछि म बाबुलाई हेर्न हतार कसेर काठमाडौँ तिर हानिएँ। १५ घण्टा लाग्ने सप्तरीदेखि काठमाडौँको दूरी मलाई मेरो जिन्दगीकै सबैभन्दा लामो यात्रा जस्तो लागिरहेको थियो।
जब म घरभित्र पस्दै थिएँ मेरो मन निकै उत्साहित थियो- उसलाई पहिलो पल्ट काखमा लिन, ऊ रोएको आवाज सुन्न अनि बिस्तारै हुर्कँदै गरेको देख्न। हो, म अत्यन्त आतुर थिएँ। त्योभन्दा बढी आतुर भाउजूको उज्यालिएको सुन्दरता हेर्न थिएँ।
मैले उसलाई पहिलो पल्ट काखमा लिएको त्यो क्षण अझै यो मानसपटलमा ताजै छ। उसलाई समाउँदाको त्यो कोमल स्पर्शलाई म कुनै असल कुराहरूसँग दाँज्न सक्दिनँ। उसलाई काखमा न्यानो गरी समाइरहँदा संसारमा सबैभन्दा खुसी सायदै म नै थिएँ भन्ने लागिरहेको थियो। त्यसै खुसीसँगै रमाउँदै हामीले पुस १० गते क्रिसमस मनायौँ, बडो अनन्दका साथ।
दिनहरू यसरी नै खुसी खुसी बाबुको स्याहारमा बित्दै थिएँ। अचानक केही दिनपछि बाबुको स्वास्थ्यमा समस्या देखियो। अस्पतालमा पुर्याएपछि उसको मुटुमा गम्भीर समस्या देखिएको छ भन्ने खबरले हामीमा डर पैदा गरायो। तर पनि हामी आत्तिएनौँ, भयभीत भएनौँ।
परिवार एक भए जस्तोसुकै समस्या आइपरे पनि टार्न सकिन्छ भन्ने विश्वास हामीमा थियो। बाबुलाई अस्पतालमा भर्ना गरिएको थियो। २ दिन कान्ति अस्पताल र बाँकी दिन गङ्गालाल अस्पतालको शय्यामा ऊ पल्टिरहेको थियो। भर्खर सुत्केरी भएकी मेरी भाउजू अस्पतालमा बाबुसँगै बस्न सक्ने अवस्था थिएन।
मेरो दुई हप्ताको काठमाडौँ बसाइँ लगभग अस्पताल र घर गरेर नै बित्यो। हामी निरन्तर लागिरह्यौँ बाबुको उपचारको लागि। मुटुको शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहअनुसार हामी तयारी तिर जुटिरहेका थियौँ।
बाबु जम्मा १७ दिनको भएको थियो। १४ दिन मात्रै आफ्नो घरमा बसेर बाँकी दिनहरू उसले अस्पतालको शय्यामा बिताइरहेको थियो। बाबुलाई मेरी भाउजूले काख भरिने गरी न्यानोपनमा लिन पाउनु भएको थिएन। १४ औँ दिनदेखि पुस महिनाको ठन्डीमा अस्पतालको बेडमा पल्टिएको हाम्रो बाबुको लागि हामी निरन्तर प्रार्थना गरिरहेका थियौँ, एउटै आशामा कि ऊ निको हुनेछ र आफू सँगसँगै परिवारमा खुसी लिएर घर फर्किनेछ।
अस्पतालमा बाबुसँग बिताएको त्यो रातको अझै झलझली याद आउँछ। आँखा झिमिक्क नगरी म बाबुको हात समाएर छेउको कुर्सीमा बसेको थिएँ। उसको हात समाएर म ईश्वरसँग बिन्ती गरिरहेको थिएँ कि 'यति सानो बाबुलाई किन यति विधि दुःख दिएको, चाडै ठिक बनाइदिनुहोस्, उसले छिटै चङ्गाई पाए घरमा फेरि शान्ति आउने थियो।'
म उसको हात समाएर ईश्वरका भजनहरू गाउँथेँ, प्रार्थना गरिरहन्थेँ। ईश्वरले बालकहरूलाई निकै प्रेम गर्नुहुन्छ, बालकहरूलाई निर्बल तुल्याउनुहुन्छ भन्दै बाबुको हात समातेर ईश्वरको बखान हामी सँगै गरिरहेथ्यौँ।
'बालक उनका हुन वरदान, ती निर्बल उनी बलवान' भन्दै म सानो स्वरमा उसको लागि ईश्वरको भजन गाइदिन्थेँ। लाग्थ्यो, मैले गाएको ईश्वरको भजन र हाम्रो निरन्तर प्रार्थनाले ऊ निको हुनेछ।
उसको सुस्वास्थ्यको लागि हामी उपवास प्रार्थना गरिरहेका थियौ। हत्तपत्त आँखाबाट आँसु नझार्ने मेरी भाउजू हरेक साँझ बिहान मुर्छा पर्ने गरी भक्कानिँदै प्रार्थनामा ईश्वरसँग आफ्नो सन्तान फिर्ता मागिरहनु हुन्थ्यो।
मेरो दाइलाई यस्तो समयमा पनि यति धैर्यताका साथ दिनरात नभनी अस्पतालमा दौडधुप गरेको मैले जीवनमा पहिलो पल्ट देखेको थिएँ। मैले जीवनमा पहिलो पल्ट बाबुको लागि मेरो बुबालाई रोइरहेको भेटाएको थिएँ। मेरी आमा जति नै पीडा, दुःख आइपरे पनि निकै सहनशील र धैर्य गर्न सक्ने गुणले भरिएकी भएकाले हामी सबैलाई हरेक पल्ट सान्त्वना दिइरहनु हुन्थ्यो।
अङ्ग्रेजी नयाँ वर्ष (जनावरी १) को पहिलो दिन बाबुको मुटुको शल्यक्रिया चलिरहेको थियो। त्यो दिन हाम्रा लागि कठिन परीक्षाको घडी थियो। अस्पताल बाहिर बसेको हाम्रो परिवारमा केही आशा, केही डर, केही रोदन थिए। हामीलाई भेट्न र सान्त्वना दिन आउनेहरूको राम्रै जमात थियो। तर को-को आए को-को गए, कसले कस्ता कुराहरू गरे भन्ने हामीलाई राम्रो याद थिएन।
बाहिर घाम चर्किएको थियो, तर यता हाम्रा मनहरू चिसो भएर कठ्याङ्ग्रिएको थियो। परीक्षाको घडी समाप्त हुने समय पर्खिरहेका थियौँ। हामी अर्ध होसमा थियौँ सायद। ९ बजे अप्रेसन कोठामा लगिएको बच्चाको करिब ४ बजिसक्दा पनि कुनै खबर आएको थिएन। त्यो दिन जस्तो लामो र भयानक दिन हाम्रा लागि कुनै दिन थिएन।
साँझ ५:३० मा अप्रेसन कोठा अघि माइकिङ गर्दै बोलाएर डाक्टरले 'अप्रेसन सफल भयो, पछि केही कम्प्लिकेसनस हुन सक्छ ध्यान दिनुहोला' भन्ने वाक्य सुनेपछि हामी छ्याङ खुलेको आकाश जस्ता भएका थियौँ।
हामी साह्रै खुसी भयौँ। घरमा शुभ खबर सुन्न दिनरात ननिदाई आफ्नो पहिलो बच्चा पुनः काखमा फिर्ता पाउने आशाले उपवास र प्रार्थना गर्दै आँसु बगाइरहनु भएकी मेरी भाउजूलाई पहिलो खबर सुनाउँदा उहाँ जतिको खुसी त्यो बेला सायदै दुनियाँमा कोही थियो।
मेरो दाइ त्यो दिन जति खुसी मैले कहिल्यै देखेको थिइनँ। उहाँ यसरी रोएको हामीले सँगै यतिका वसन्त पार गरिसक्दासम्म मैले कहिल्यै देखेको थिइनँ। कसैले 'दाइ नरुनुस् न' भन्ने वाक्यको जवाफ दिँदै उहाँ भन्दै हुनुहुन्थ्यो, 'खुसी भएको हो म, कहाँ रोएको छु र!'
हामी एक अर्कालाई अङ्कमाल गरेर दाजु बहिनी निकै बेर रोयौँ, ईश्वरलाई धन्यवाद भनिरह्यौँ। के थाहा उहीँ धन्यवाद दिएको ईश्वरले भर्खर कथा लेख्न सुरु गरिएको पाना बन्द गरिदिन्छन् भनेर।
बाबुको अप्रेसन सकिएको केही दिनसम्म म काठमाडौँमा नै समय बिताइरहेको थिएँ। करिब एक हप्तापछि म पुनः कामको सिलसिलामा मधेस फर्किएँ। यो वाचासहित कि बाबु छिटै पूरा ठिक भएर घरमा आउनेछ र म ऊसँग समय बिताउन, उसलाई काखभरि न्यानोपनमा लिनलाई लामो छुट्टीमा आउने छु।
हरेक दिन हामी बाबुको सुस्वास्थ्यको लागि प्रार्थना गर्थ्यौँ। विभिन्न ठाउँहरूबाट आफन्त, साथीभाइको सान्त्वनाका कुराहरू सुन्थ्यौँ। हामीलाई विश्वास थियो कि ऊ खुसीको बहार लिएर फर्कनेछ।
२०८० साल माघको सुरुआती दिन। मधेसमा मेरो महिनावारीको दोस्रो दिन। निकै आलस्य, थकान र दुखाइका साथमा रात कटेको थियो। बिहान लगभग सात जति बजेको हुनपर्छ। मलाई बुबाको फोन आएको थियो।
फोनमा बुबा भन्दै हुनुहुन्थ्यो, 'छोरो उठ्यौ?'
'छैन' जवाफमा मैले भना।
एक्कासि उहाँ भक्कानिन थाल्नुभयो र भन्नुभयो, 'बाबु रहेन।'
यति सुन्दै गर्दा म सपना हो कि बिपना छु जस्तो भयो। म के सुन्दै छु, म कहाँ छु, कता छु, के भइरहेको छ भन्ने थाहै पाउनै सकिनँ। मलाई यति याद छ कि म फोनमा भक्कानिइरहनु भएको मेरो बुबालाई भन्दै थिएँ, 'के भन्नुहुन्छ? म घर आउँछु।'
त्यसपछि फोन काटियो। म आलस तालस भएँ। मैले होस गुमाएँ। धेरै बेर आँखाका धाराहरू खुलमखुला भए। आफैलाई थाम्न सकिनँ।
त्यति बेला म घरबाट केही दूरी टाढा थिएँ, तर मेरी ममतामयी भाउजू र मेरो प्यारो दाइको अवस्था म सम्झिन सक्थेँ। उनीहरूले जति दुःख र पीडा भोगे, मैले या अरू कसैले त्यो अनुभव पनि गर्न सक्दैन। सन्तानको माया बाबुआमाभन्दा ज्यादा कसलाई हुन सक्छ र?
मैले नजन्माएको मेरो पहिलो छोरा थियो, सार्भिन। म यति पीडामा छु भने काखमा मन भरिने गरी बाबु समाउन नपाएकी मेरो भाउजू पीडाले कति ग्रस्त हुनुभएको होला भन्ने सोचेर नै मन भक्कानिएर आयो।
भोक, प्यासलाई बेवास्ता गरेर त्यो चिसोमा दिन रात नभनी कठ्याङ्ग्रिएर बिरामी छोरालाई ठिक पारेर सँगै लिएर घर फर्किन्छु भनेर अस्पतालमै ढिट कसेर बसेको मेरो दाइ, घर त फर्किनु भयो तर एक्लै, रित्तो हात लिएर।
त्यसै दिनको करिब ४ बजे म घर छिरेको थिएँ। २४ दिनअघि जुन उत्साह लिएर म घरभित्र छिरेको थिएँ, त्यो उत्साह शोक र पीडामा बद्लिएको थियो। सबै शान्त थिए। जब मेरी भाउजूले मलाई देख्नु भयो, भक्कानिन थाल्नुभयो।
मसँग सान्त्वनाका शब्दहरू थिएनन्। अङ्कमाल गरेर एक छिन हामी सँगै रोयौँ। त्यसपछिको १० दिनसम्म यो घटना थाहा पाएका आफन्त, साथीभाइ हामीलाई भेटेर सान्त्वना दिन आएका थिए। ती सबैप्रति मेरो आदर र सम्मान छ।
तर कतिपय आफन्त र साथीभाइले बिस्तारै निको हुने क्रममा रहेको हाम्रो घाउलाई विचार नगरी गरिएको प्रश्न, 'कसरी यो सब भयो? एउटा गएर के ठुलो कुरा भयो त अर्को भइहाल्छ' आदि इत्यादि जस्ता सान्त्वनाका शब्द मलाई फिटिक्कै मन परेन।
विचार नगरी सान्त्वनाका शब्द फिँजाउन खोज्ने प्रत्येक आफन्तलाई मेरो आग्रह, हरेक शोक गरिरहेको ठाउँमा गएर तपाईं बोल्नै पर्छ भन्ने छैन। के बोलौँ, कस्तो प्रकारको सान्त्वना दिऊँ भन्ने कुरामा अलमल हुनुहुन्छ भने तपाईंको मौन उपस्थितिले मात्रै पनि शोकित परिवारलाई सान्त्वना मिल्छ।
पहिले पनि हामीले धेरै दुःख भोगिसकेको र त्यसमाथि विजय प्राप्त गरेको कुराहरू बारम्बार हाम्रा बुबा र आमाले हामीलाई उत्साहका निम्ति नसुनाउनु भएको होइन। तर आजसम्म यो जतिको दुःखद र अविस्मरणीय घटना हामीले कहिल्यै भोगेका थिएनौँ।
कहिलेकाहीँ हामीले घुर्की लगाएर रिस देखाउँदा आमा भन्ने गर्नुहुन्थ्यो, 'तिमीहरूका छोराछोरी भएपछि थाहा पाउलाऊ।'
आमा, हामीले थाहा पायौँ। हो, हामीले थाहा पायौँ सन्तानको माया।
उक्त घटनापछि मेरो प्रेम र सम्मान मेरा दाइ भाउजू र परिवारप्रति अझै धेरै बढेर आएको छ। मैले धैर्य गर्न सिकेको छु। सायद आफन्त चिन्न पनि मैले यही समयमा सिकेको छु।
आफू पीडामा हुँदाहुँदै पनि परिवारलाई सम्हाल्न र जिम्मेवारी बहन गर्न भाउजूबाट सिकेको छु। जस्तोसुकै परिस्थितिमा पनि स्थिर भएर काम गर्नुपर्ने कुरा मैले मेरो दाइबाट सिकेँ। जस्तोसुकै परिस्थिति आइपरे पनि परिवार एक भए शान्त भएर अवस्थालाई सम्हाल्न मैले मेरो बुबा र आमाबाट सिकेको छु।