हरेक नवआगन्तुक तथा चिरपरिचित व्यक्तिसँगको साक्षात्कार वा वार्तालापको क्रममा प्रश्न हुन्छ- 'तपाईं विदेश किन नजानु भएको?' मेरो मनमा कहिलेकाहीँ विदेश नजानु ठुलै अपराध पो रहेछ कि के हो जस्तो भान गराउने गरी प्रश्न तेर्सिने गर्छ।
'तपाईं जस्तो मान्छे विदेश नगएर के गरेको? यस्तो ऊर्जावान् समय हेर यस्तो ठाउँमा बसेर बरबाद!' भन्नेहरूको भिडलाई छिचोल्दै आजपर्यन्त जीवनयापन हुँदै छ।
यो मनले कहिलेकाहीँ सोच्छ, मलाई विदेश किन नजानु भएको भनेर सोध्ने चाहिँ किन नगएको होला? त्यो विदेशमा के त्यस्तो फरक होला? यो गोलाकार पृथ्वी नै त हो, स्वर्ग त पक्कै हैन। म जस्तै मानिस नै त हो, अप्सरा होइन, देवी देवता होइन। होला हामीभन्दा केही विकसित, सफा, ठुला भवन, चिल्ला गाडी। यी सबै विलासिता र अल्पकालीन होइन र?
तपाईंलाई लाग्ला ममा अलिक वैराग्यतामा रहेछ अनि आत्मरतिमा डुबेको रहेछ। तर सोचेर हेरौँ न एक बार के छ आफ्नो? न धन, न आफन्त, न इज्जत, न मान प्रतिष्ठा। अनि के त्यो विलासिता जान्छ र सँगै? केही पनि त आफ्नो होइन, सबै क्षणिक होइन र? जे छ त्यसमै खुसी हुनु ठुलो कुरो होइन र?
त्यो विदेशको भूत किन सवार हो हामी नेपाली मनुवामा? फेरि यो कस्तो प्रश्न हो, तपाईं जस्तो मानिस...! कस्तो मानिस? के पढे लखेको मानिस यो देशमा बस्नु पाप हो? अभिशाप हो? यो समाजले मलाई अस्वीकारको भाषा बोल्न थालेको हो? मनमा कहिलेकाहीँ विभिन्न कुरा ज्वालामुखीझैँ विस्फोट हुने गर्छ।
केही गर्छु भन्ने मानिसलाई यो स्वर्गजस्तै देशमा कमी के छ? शासन व्यवस्था आफ्नो ठाउँमा छ। सधैँ अरूलाई दोष मात्र दिने? भोट हाल्ने को? जिताएर पठाउने को? आफू सचेत भएको खै? खबरदारी गरेको खै? त्यहाँ सबै नागरिक सचेत भएर विदेश जस्तो भएको हैन? हामी स्वतन्त्र नागरिक भएर कहिले बाँच्न खोज्यौँ? हिजो राजाका प्रजा आज दलका कार्यकर्ता हामीमा के फरक? उही दास मनोवृत्ति, उही सङ्कीर्ण अनि भ्रष्ट सोच! पहिला आफूमा हेरौँ न, कति देशलाई मात्र दोष दिने हो?
'धेरैले विदेश किन नगएको? श्रीमती नर्स केलाई? यो देशमा बस्छस्, तुरुन्तै जानु पर्दैन? यो समयमा कति कमाइ हुन्थ्यो, गुमाइस् अमूल्य समय' भन्ने शब्दले जब मन घोच्छ तब म केही मित्र तथा आफन्त जो विदेशमा छन् तिनीहरूसँग संवाद गर्छु। के वास्तवमै विदेशमा पैसा टिप्ने रुख पो रहेछ कि, मनले आफैमा प्रश्न गर्छ। कुरा गर्दै गयो पीडा उस्तै उस्तै। जति कमायो टन्नै कर काट्छ, लोनमा सबै, केही दिन काम गरेन भने नेपालमा खान पाइएला यहाँ त भोकै रहने अवस्था आउँछ। कमाइ नहुने हैन राम्रै हुन्छ तर बचत छैन। एक त कमाएर नेपाल पठाउन गाह्रो, कसैले नेपाल पैसा पठायो भने एकदम दुःखले बचत गरेको पैसा हो, धेरै गाह्रो छ।
यी तथा यस्तै उद्बोदन आउँछन्। कपोकल्पित हुन या यथार्थ तर विदेशी रेमिटेन्स हेर्ने हो भने बरु खाडी मुलुकबाट पैसा भित्रिएको छ। यत्रा नेपाली अन्य देशमा छन्, देशमा पैसा भित्रिएको सुनिन्न। तथ्याङ्कले यही भाषा बोल्छ। बरु बाहिरिएको सुनिन्छ अनि लाग्छ विदेश भने जस्तो त होइन रहेछ। किन यति मरिहत्ते होला!
देशमा केही छैन अरे, विदेशमा चाहिँ के छ? सबै नेपालीले के उच्च ओहोदाकै काम पाएका छन् त? हो सिस्टम छ। कामको महत्त्व दिइन्छ। हामीमा के समस्या छ? समस्या अभिमान होइन, मानसिकता होइन, त्यहाँ सक्ने सिस्टममा बस्न यहाँ नसक्ने अनि देशलाई दिने दोष? दोष हामीमा छ अनि हाम्रो सोचमा छ। हामी उदार कहाँ बन्न सक्यौँ, हामी खट्न कहाँ खोज्यौँ? हामीलाई विलासिता चाहिएको छ, आफ्नो देशमा काम गर्दा लाज हुन्छ, हामीलाई ठालु पल्टिन कसले भेट्छ? एकै चोटिमा ठुलो भाग खोजेर कहाँ पाइन्छ र? मानिसलाई कतिले पुग्छ? जति पायो झन् महत्त्वाकाङ्क्षा बढ्दै जान्छ।
जिन्दगीको रस नै यही होला सायद तर विदेशमा मात्र रस देख्ने अनि आफ्नो देशमा आफ्नो परिवारजनसँगको अमूल्य समय र जे जस्तो भए पनि भएको जागिरको कुनै रस छैन है? यहाँ काम गर्दा अलि बेसी खट्नु परेमा फ्रस्टेसन, वर्क प्रेसर अनि के विदेशमा चाहिँ काम नै नगरी पैसा कमाइने हो? प्रश्नकर्ताहरूको तपाईं किन विदेश नजानुभएको अवाक् प्रश्नले मलाई विचलित बनाउँछ।
अहिले त झन् ठुलो लहर छ विदेश जाने। १२ सकिएको छैन सबैको ध्यान छ विदेश। प्राविधिक जनशक्ति जसको खपत अनि माग देशमै अथाह छ, सम्भावना पनि अथाह छ, खट्न सके आम्दानी पनि राम्रो छ। त्यस्ता जनशक्तिको समेत मनमस्तिष्कमा विदेश। स्वदेशमा बस्ने को रहेछ खै! यस्तै पाराले त देशमा खडेरी पर्ला जस्तो छ, राम्रा जनशक्ति अनि युवा वर्गहरूको। यसमा केही अङ्कुश लगाउनु परेन? विदेश गएकाहरू फर्किएको सूचना पनि सुन्छु अनि भन्छु, यति मरिहत्ते गरेर लाखौँ खर्च गरेर विदेश गएर फर्कनु पर्दा कति पीडा होला! देशको पैसा बिदेसिनबाट यसरी कसरी रोकिन्छ?
विदेशको भिसा लागेन केही छैन, जे चिजको घाउ हो त्यही चिजको मलहम लगाऊँ रे। यो कस्तो तर्क हो? घाउ जे चिजले दियो त्यही चिजले मलहम कसरी हुन्छ? देशमै राम्रोसँग पढेर केही उद्यमशील बन भन्ने प्रेरणा कसैको मुखबाट सुनिन्न। अभिभावक आफ्नो बच्चा विदेश गएन भनेर पीडामा बस्ने, आफूबाट सन्तान टाढा भए खुसी हुने। यो कस्तो उल्टो समय आएको हो? मर्ने बेलामा मुखमा पानी हाल्दिने कोही छैन। पैसा छ, सन्तान साथमा छैनन् अनि आफू घर छोडेर 'केयर होम'मा बस्नु परेको छ। यस्तो पनि जिन्दगी जहाँ आफन्त कोही छ, जीवन निराश छ। हामी गद्गद् छौँ मेरो सन्तान फलानो देश, तिलानो देशमा भनेर। तर मृत्यु भएपछि दागबत्ती दिन सन्तानलाई कैयौँ दिन कुर्नु परेको छ। इहलीला समाप्त भएपछि समेत सन्तानको आगमनको ढिलाइले पञ्च तत्त्वको शरीर माटोमा मिल्न पाउँदैन।
उमेर हुँदा सन्तान बिदेसिँदा अति हर्ष लाग्छ, नेपालमै सन्तानले केही गरेको आँखा लाग्दैन। काम लागिनस् भन्ने आरोप खेप्छन् सन्तानले कैयन अभिभावकको तर सानो काम आफ्नो देशमा किन नगरोस्, त्यसले आत्मसन्तुष्टि दिन्छ। मलाई लाग्छ मेरो देशमा अथाह सम्भावनाहरू छन् बस् हामीले टिप्न जान्नुपर्छ। लाजले हुँदैन, अरूले के भन्यो भन्नेसँग के सरोकार? अनैतिक काम गर्नु हुन्न नत्र काम नगर्नेभन्दा काम गर्नेको महत्त्व ठुलो छ।
जीवन उसले जित्यो जसले काम गर्यो, जसले मेहनत गरेर आफ्नो पसिनाले केही प्रगति गर्यो। बाउको इज्जतमा हैन थोरै भए शान, आफ्नो नाम बनायो। जीवनमा सन्तुष्टि नै सबै कुरा हो। विदेश यही हुन्छ जो खट्न सक्छ।
यो देश, मेरो जन्मभूमि, मातृभूमिमा बस्दा मलाई सोधिने अनेकन् प्रश्नले अवाक् छु म। छक्क पर्छु अनि अचम्मित हुन्छु। यो स्वर्गत्तम भूमिमा के छैन? मन्दी विश्वमै छ, गाह्रो सबैलाई छ, विदेशीलाई पनि गाह्रो छ, हामीलाई पनि गाह्रो छ। सबै कुरा मन हो जस्तो लाग्छ।
तपाईंलाई लेखक अलिक भावुक लाग्ला र अवसर नपाएर विदेश नगएको पगरी लगाइएला। जे लागोस् यो देशमा प्रचुर सम्भावनाहरू छन्। हाम्रो स्कुलिङ नै पलायनवादी भयो। देशमा केही बिजनेस गर्ने, आफ्नो क्षेत्रमा अब्बल बनेर देशमा आफ्नो अलग्गै पहिचान बनाउने भन्ने सोच नै हामीमाझ रहेन। अभिभावकलाई सन्तान चाँडो विदेश पठाउनु छ अनि सन्तानलाई पनि चाँडै विदेश जानु छ।
हामी बसेर खबरदारी गरे पो देशमा राम्रो नीति आउँछ, राम्रो कार्यक्रम आउँछ। योग्य जनशक्ति सबै पलायन भएपछि यहाँ बाँकी रहन्छ भ्रष्ट सोच, भ्रष्ट नीति र भ्रष्ट कार्यक्रम। एउटा व्यक्तिले चाह्यो भने देश बन्ने रहेछ भन्ने उदाहरण हामीसामु छैन र? किन वितृष्णा? कति विदेश पलायनवादी बन्ने? आफ्नै देश बनाऊँ न सबै मिलेर।
आशा गरौँ यो प्रश्न र सोच हामी नेपाली माझबाट सधैँका लागि पारपाचुके होस्। नीति निर्माताको पनि बेलैमा होस आओस्। नत्र यो देशनै वृद्धाश्रम मात्र हुनेछ। यही देशमै केही गरौँ भन्नेहरू पनि विदेश पलायन हुन बाध्य हुनेछन्।
(लेखक नेपाल अर्थोपेडिक अस्पतालमा वरिष्ठ प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।)